गोरखा दरबारको दसैँघरमा जमरा राखियो

गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९:१३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए । ‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो’, उनले भने, ‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’ गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए । घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ । गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

बडा दसैँ आजदेखि प्रारम्भ, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१३ बजे आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । ९ दिन ९ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुने गर्छ । विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताए ।  आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताए ।  दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।

दोस्रो पक्कु फेस्टिभल भोलिदेखि काठमाडौंमा

काठमाडौं । परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट ग्रुपले ‘दोस्रो पक्कु फेस्टिभल’ भोलि (सोमबार) देखि शनिबारसम्म आयोजना गर्ने भएको छ । गत वर्षको सफल पहिलो संस्करणपछि यस पटक २०८२ सालको दोस्रो पक्कु फेस्टिभल आयोजना गर्न लागिएको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष टीआर भण्डारी (शंकर)ले जानकारी दिए । प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगन्जको आयोजनामा हुने यस फेस्टिभलमा अनुभवी मास्टर सेफहरूको साथमा नेपाली स्वादलाई विशेष प्राथमिकता दिइनेछ ।  अध्यक्ष भण्डारीले भने, ‘हाम्रो संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै पाककला र पक्कु खाजाको संस्कृतिको जगेर्ना गर्ने यो मेलाले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अवसर दिनेछ ।’ मेलामा दशैंमा प्रयोग हुने स्थानीय हस्तकला, सांस्कृतिक तथा परम्परागत बाजा र परिकारहरू प्रदर्शनीमा राखिने छन् ।  आयोजकका अनुसार मेलाले केवल आर्थिक कारोबार मात्र नभई मनोरञ्जन, रहनसहन र खानपानको ज्ञान दिने, नयाँ पुस्तालाई उत्साहित बनाउने र अनुभवी पुस्तालाई संस्मरण र पुनर्ताजगी दिलाउने लक्ष्य लिएको छ । फेस्टिभल विशेषगरी शहरमा विभिन्न कारण बसाइसराइँ गरेका र गाउँ जान नसक्नेहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।  स्वाद, स्वास्थ्य र आतिथ्यलाई मुख्य मन्त्र बनाउँदै २०६३ सालदेखि सुरु भएको प्रेसिडेन्ट ग्रुपको यो व्यवसायिक यात्रा अहिले १५ औं वर्षमा प्रवेश गरिसकेको छ । हाल प्रेसिडेन्ट होट रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरी गरी काठमाडौंका सुन्धारा, बालाजु, माछापोखरी, बत्तिसपुतली, महाराजगन्ज, रविभवन, एयरपोर्ट, चितवनको नारायणगढ र रूपन्देहीको लुम्बिनी महिलवारलगायत १६ स्थानमा सेवा विस्तार भइसकेको छ ।