एनपीएलका खेल डिशहोम ‘गो’ बाट मात्र हेर्न सकिने, अन्य प्लेटफर्मबाट प्रसारण गर्न नपाइने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ को ओभर–द–टप (ओटीटी) प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गर्दै अनधिकृत डिजिटल प्रसारणप्रति चेतावनी दिएको छ। मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य सबै देशहरूमा ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेड लाई प्रदान गरिएको क्यानले जनाएको छ । दर्शकले डिशहोम ‘गो’ नामक अनुप्रयोग (एप) डाउनलोड गरी सम्पूर्ण खेलहरू सोही प्लेटफर्ममार्फत हेर्न सक्नेछन् । क्यानका अनुसार नेपाल प्रिमियर लिगका सबै खेलहरूको डिजिटल तथा ओटीटी अधिकार डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) लाई मात्रै दिइएको छ। डिशहोम ‘गो’ बाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम वा कुनै पनि वेबसाइट तथा अनुप्रयोगबाट खेल प्रसारण गर्नु पूर्ण रूपमा अवैध हुनेछ । त्यसैले, खेलको अनधिकृत पुनःप्रसारण, बिक्री–वितरण, रेकर्डिङ, सम्पादन तथा अन्य किसिमले प्रयोग गर्न वा गराउन खोज्ने कार्य कानूनअनुसार दण्डनीय हुने क्यानले स्पष्ट पारेको छ । क्यान र डिशहोमले संयुक्त रूपमा सबै दर्शक, विज्ञापनदाता, सञ्चार माध्यम र सरोकारवालाहरूलाई केवल आधिकारिक प्लेटफर्म डिशहोम ‘गो’ मार्फत मात्र नेपाल प्रिमियर लिगका खेल हेर्न आग्रह गरेका छन् । साथै, अनधिकृत लिंक वा साइटमार्फत खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिम रहने हुँदा त्यस्ता अवैध माध्यम प्रयोग नगर्न र नगराउन समेत अनुरोध गरिएको छ । कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको जानकारी प्राप्त भएमा क्यान वा डिशहोम लाई तुरुन्तै जानकारी गराउन अपिल गर्दै क्यानले प्रचलित कानूनी व्यवस्थाअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।

गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ, अरू तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विविध तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।  समितिका अनुसार सोमबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) ८५, गोलभेँडा सानो (टनेल) १०४, गोलभेँडा सानो (भारतीय) ११० र तराई गोलभेँडा १२० रुपैयाँ तोकिएको छ । आलु रातो ५०, रातो (भारतीय) ४५, आलु सेतो ४२ र प्याज (भारतीय) ३२ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । तरकारीतर्फ गाँजर (लोकल) १४०, तराई गाँजर १२०, बन्दा (लोकल) ६५, बन्दा (तराई) ५५ र काउली (लोकल) ६५, काउली (तराई) ६० कायम छ । सेतो मूला (लोकल) ३०, हाइब्रिड ४५ र भन्टा ५०–६० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ । त्यस्तै तने बोडी १७५, मकै बोडी ६०, मटरकोसा १२०, घिउसिमी (लोकल १५०, हाइब्रिड १६०) र टाटेसिमी ११० कायम गरिएको छ । तिते करेला १५०, लौका ७०, परवर (१००–११०), घिरौला ११०, पाकेको फर्सी ३०, हरियो फर्सी ६०–७०, भिन्डी १४०, तरुल ८०, च्याउ २३०–३७०, कुरिलो १०००, ब्रोकाउली १३०, रातो बन्दा १०० रुपैयाँ तोकिएको छ । सागसब्जीमा रायो साग ७०, पालुङ्गो १८०, चमसुर १३०, तोरीको साग ६०, मेथी साग १५०, हरियो प्याज ६०, बकुला १४०, जिरी साग ५००, पार्सले ६५० र पुदिना ५५० पुगेको रुपैयाँ छ । फलफूलमा स्याउ (झोले) २००, फुजी २८०, केरा दर्जन १३०, कागती १००, अनार ३८०, सुन्तला (नेपाली) १००, तरबुजा ७५, जुनार २५०, नास्पाती (चाइनिज) २००, मेवा ९०, अम्बा ८०, स्ट्रबेरी ५००, सरिफा १८० र आभोकाडो २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ ।  

आज विराटनगर र जनकपुर, सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साबिक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न  जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौं विरुद्ध  जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ । दोस्रो खेलमा आजै  दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन् । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रबाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए । गत संस्करण रनरेटमा माथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहनामा छ । गत संस्करणमा  सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो । आज उक्त हार दोहोर्याउने पक्षमा  कर्णाली हुनेछैन । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।