प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलन शुक्रबार अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता रामचन्द्र भण्डारीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित समितिमा उपाध्यक्षमा थरी कडेल, सचिवमा सान्तना दाहाल न्यौपाने, कोषाध्यक्षमा प्रचन्न नाउला चयन भएका छन् । साथै ११ सदस्यीय कार्यसमितासहित उपत्यकाका सातवटै बारका विशेष जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्यका रूपमा समावेश गरिएको संगठनले जनाएको छ । पदेन सदस्यमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर जिल्ला अदालत बार, काठमाडौं जिल्ला अदालत बार, विशेष अदालत बार, भक्तपुर जिल्ला अदालत बार तथा काभ्रेपलाञ्चोक जिल्ला अदालत बारका अध्यक्षहरू रहनेछन् । अध्यक्षमा निर्वाचित रामचन्द्र भण्डारी पछिल्ला २२ वर्षदेखि कानुन व्यवसायमा निरन्तर क्रियाशील व्यक्तित्व मानिन्छन् । संगठनको आन्तरिक जीवन, पेशागत अनुभव तथा इमानदार छविका कारण भण्डारीले पाएसँगै संगठनभित्र नयाँ उत्साह पैदा भएको टिप्पणी गरिएको छ । कानुनी क्षेत्रमा सक्रिय भण्डारीको नेतृत्वले न्यायक्षेत्रमा समेत सशक्त भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
कृष्णसार एफएम ‘जेसी च्याम्पियन मिडिया २०८२’ बाट सम्मानित
काठमाडौं । नेपालगन्जमा रहेको रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्राप्त गरेको छ । समुदायका लागि सञ्चार अभियान नेपालद्वारा सञ्चालित यस एफएमलाई नेपालमा लैंगिक समानता तथा समावेशितामूलक पत्रकारिताको प्रवर्द्धनमा देखाएको प्रभावकारी भूमिका, नवीन पहल र निरन्तर अभ्यासको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । सम्मानपत्रमा समाचार कक्षमा महिलाको सक्रिय सहभागिता, समावेशी भर्ना प्रक्रिया, लैंगिक तथा सामाजिक समावेशीकरण नीतिको कार्यान्वयन, महिलासम्बन्धी मुद्दाको प्राथमिकता, गुनासो व्यवस्थापन संरचना, अपाङ्ग–मैत्री पूर्वाधार, र पत्रकार सुरक्षा जस्ता विषयमा रेडियोले अपनाएका नमूना अभ्यासहरू विशेषरूपमा प्रशंसनीय रहेको उल्लेख छ । उपलब्धि सम्मानित गर्न राजधानीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले रेडियोका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो । आयोजकका अनुसार सम्मान छनोट समिति मार्फत् तोकिएको विभिन्न सूचकका आधारमा उत्कृष्ट संस्थाहरूको मूल्यांकन गरिने र सोही प्रक्रियाबाट कृष्णसार एफएमलाई यस वर्षको अवार्डका लागि छनोट गरिएको हो ।
एनपिएल : शनिबार दुई खेल हुँदै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली शनिबार विजयी हुन चाहन्छ । यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।