नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न आग्रह
काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए । महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ । यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गरेको अनुरोधपत्रमा उल्लेख छ । अनुरोधपत्रमा भनिएको छ, 'समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।' उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् । चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ । रासस
सुनको मूल्य तोलामा एक हजार घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबारका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे । उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’ अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।