मेरो घर जलाइयो, सम्पत्ति खरानी बनाइयो तर हाम्रो यात्रा रोकिने छैन : गोकर्ण विष्ट
काठमाडौं । नेकपा (एमाले) सचिव गोकर्ण विष्टले हालै भएको घटनापछि आफ्नो भावनात्मक विचार सार्वजनिक गरेका छन् । निजी निवासमा आगजनी र सार्वजनिक सम्पत्ति ध्वस्त भएपछि उनले एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएका हुन् । विष्टले भनेका छन्, 'यतिबेला हामी विगतको समीक्षा गर्दै आगामी यात्रा तय गर्ने र घटनाका पीडितलाई सहयोग तथा ध्वस्त संरचनाको पुनर्निर्माणमा जोड दिने घडीमा छौं । यतिबेला मैले शोषण, दमन, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्दै गरिबीबाट जनतालाई मुक्त गर्ने र सशक्त राष्ट्रको रूपमा नेपाललाई माथि उठाउने उद्देश्यका साथ निर्माण भएको हाम्रो पार्टीको यात्रासँगै आफ्नै राजनीतिक यात्रा पनि सम्झिरहेको छु ।' जीवनभर सामाजिक काममै समर्पित रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'जे सकेँ, देश र जनताकै लागि सोचेँ र हरसम्भव प्रयास गरेँ । तर यतिबेला मेरो घर पनि जलाइएको छ। सयौं व्यक्तिको निजी सम्पत्ति र सार्वजनिक सम्पत्ति नष्ट गरिएको छ । देशका ऐतिहासिक र महत्वपूर्ण दस्तावेज खरानी बनाइएको छ । यो कसले र किन गर्यो ? छिट्टै समयले बाहिर ल्याउने नै छ ।' विष्टले आफू इमानदार र मेहनती रहेको दाबी गर्दै थपेका छन्, 'म मेहनत र इमानदारीतामा विश्वास गर्दछु । मेरो राजनीतिक र सामाजिक यात्राको सन्दर्भमा समाजमा उठ्ने जुनसुकै प्रश्नको कसिमासमेत उभिन तयार छु ।' अचानकका घटनाले निराशा ल्याउन खोजे पनि विष्टले पार्टी र कार्यकर्तालाई दृढ सन्देश दिएका छन् । उनले भने, 'कमरेडहरू, अचानकका घटनाले सबैकुरा सकिए जस्तो र आगामी यात्रा पनि रोकिए जस्तो लाग्न सक्छ। तर हाम्रो यात्रा रोकिने छैन । इतिहासका अनेक प्रतिकूलतामा हाम्रो पार्टी नेकपा (एमाले) अझ बलियो भएर उठ्ने छ । यस पटक पनि हामी पार्टीलाई नयाँ जीवन दिनेछौं र अझ बलियो भएर उठ्नेछौं ।' उनको भनाइमा अहिलेको चुनौतीबाट पार्टीलाई पुनः एकजुट बनाउन, जनभावना अनुसार सच्चिन र नयाँ ऊर्जा सिर्जना गर्न जोड दिइएको छ । विष्टले भने, 'एकता, सामूहिकता, आत्मविश्वास र नयाँ ऊर्जा नै हाम्रो शक्ति हो। समयको माग र जनभावना अनुसार सच्चिनेछौं । थप बलियो भएर उठ्नेछौं ।'
संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह
काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आइतबार सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, 'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।'
ओली निवास बालकोटमा जले २० लाखका पुस्तक
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको आगजनीमा करिब २० लाख रुपैयाँ बराबरका पुस्तक जलेर नष्ट भएका छन् । लामो समयदेखि ओलीको सचिवालयमा कार्यरत एक सहयोगीका अनुसार आगलागी अतिथि भवनतर्फ फैलिँदा त्यहाँ रहेको सम्पूर्ण पुस्तकालय ध्वस्त भएको हो । 'अत्यन्तै दुर्लभ पुस्तकहरूसमेत जलेर खरानी भएका छन्,' ती सहयोगीले विकास न्यूजसँग भने । उनका अनुसार पुस्तकालयमा विभिन्न मित्रहरूले उपहार दिएका तथा ओलीले आफैं किनेका संग्रहसमेत रहेका थिए । जलेर नष्ट भएका पुस्तकको मूल्य २० लाख रुपैयाँभन्दा धेरै मूल्यका पुस्तकहरू थिए । भवनसँगै जलेका ती पुस्तक अहिले खरानीको थुप्रोमा परिणत भएका छन् ।