रवि लामिछानेको रिटमा बुटवल उच्च अदालतमा आजको सुनुवाइ स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीको आग्रहपछि बुटवल उच्च अदालतमा दायर रिट निवेदनमाथिको आज निर्धारित सुनुवाइ स्थगित गरिएको छ । गोला प्रणालीअनुसार तीन नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा परे पनि स्थगन माग गरेपछि पेसी अगाडि बढ्न नसकेको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेसी बिहीबारका लागि तोकिएको थियो । एकै दिन पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी मुद्दा परेकोले, कानुन व्यवसायीले बुटवलमा स्थगन माग गरेका हुन् । अदालतका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार सोही माग स्वीकृत गरिँदै सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मूल अभियोग मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त हुने अपेक्षासहित आजको पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएपछि अब अर्को मिति पुनः निर्धारण गरिने अदालतले जनाएको छ ।
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
वाग्मती । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी
काठमाडौं । निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ । आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । ‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन’, कार्कीले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो ।’