अंग्रेजी बोल्दैमा र देश परिवर्तन गर्दैमा भविष्य राम्राे हुँदैन-गायक संजीव पराजुली, अष्ट्रेलिया
संजीव पराजुली गायन क्षेत्रमा उदाउँदा युवा कलाकार हुनुहुन्छ । उहाँले गाएको गीत ‘नाई मलाई थाहा छैन’ले निकै चर्चा पाएकाे छ । शुक्रबारसम्ममा यो गीत यूट्यूवबाट मात्र २ करोड पटक हेरिएको छ । गत साता मात्र उहाँले गाएको गीत हिट्हिट्को भिडियो सार्वजनिक भएको छ । विराटनगरमा जन्मेका, वाणिज्य शास्त्र र शास्त्रीय संगीतमा औपचारिक अध्ययन गर्नु भएका पराजुली पेशाले ग्राफिक डिजाईनर हुनुहुन्छ, त्यो पनि अष्ट्रेलियामा स्वरोजगारको रुपमा । अष्ट्रेलिया रहेर पनि गायनमा सफलताकाे सिंढी चढ्न सफल भईरहनु भएका पराजुली नेपाल फर्कने सोचमा हुनुहुन्छ । युवा पुस्ता विदेश जानको लागि घर, परिवार, समाज, देश पुरै छोड्न तयार भईरहेको समयमा अाखिरी किन उहाँ नेपाल फर्कने कुरा गर्दै हुनुहुन्छ ? यसै सन्दर्भमा विकासन्युजले पराजुलीसँग गरेको अन्तरवार्ताको सार । गायन क्षेत्रमा कसरी आउनु भयो ? म विराटनगरमा जन्मे, हुँर्केको हुँ । सानैदेखि गीत गाउँथे । घरमा सांगीतिक माहौल थियो । बुबाले रेडियो बजाउने गर्नुहुन्थ्यो र म पढ्ने बेलामा गीत गुनगुनाउने गर्थेँ। त्यतिबेला गीतसंगीत सुन्नका लागि रेडियो नेपाल मात्र थियो । अल इन्डिया रेडियोमा हिन्दी गीत सुन्थ्यौं । संगीत गुरु कुशेश्वर राईले चलाउनु भएको स्वर संगम संगीतालयमा पाँच वर्ष क्लासिकल संगीत सिकेँ विराटनगरमै । स्नातकसम्मको अध्ययन विराटनगरबाटै गरेको हुँ । काठमाडौं आएपछि मञ्जुश्री संगीत विद्यालयमा दुई वर्ष क्लासिकल म्यूजिक सिकेँ । सन् २००४ मा रेडियो नेपालमा स्वर परिक्षा दिएँ, पास पनि भएँ र उपहार स्वरुप रेडियो नेपालमा गीत रेर्कड गर्ने मौका पनि पाएँ । म र विराटनगरका साथी विपिन चन्द्र गजुरेल मिलेर देशभक्तीको गीत ‘देश हाम्रो कति राम्रो’ बोलको गीत गायौं । जसको शब्द रचना निरभिम दाईको थियाे । संगीत दीपक भट्टराईको थियो । संगीतकार उपेन्द्र रायमाझीले तारतम्य मिलाउनु भएको थियो । स्टूडियोमा गाएको पहिलो गीत, पहिलो अनुभव त्यहि थियो । सन् २००५ मा पहिलो पटक ‘नेपाली तारा’ कार्यक्रम भयो । त्यसमा नेपालभरबाट १० हजार भन्दा बढीले सहभागिता जनाएका थिए । त्यसमा टप ट्वान्टीबाट टप टेन छनौट गर्दा म बाहिरिन पुगेँ, गीतको एक वाक्य बिर्सिएर । म एकदमै लजालु थिएँ । पाँच जनाको अगाडि उभिएर बोल्नुपर्दा पनि गाला राताराता हुन्थे । त्यो समस्या अहिले पनि छ । कहिले काहीँ गाह्रो नै हुन्छ । नेपाली ताराबाट बाहिरिए पनि मेरो आत्मविश्वास बढेर गयो । त्यसपछि पहिलो कमर्शियल रेकर्डिङ स्टूडियोमा गएर गीत रेकर्ड गरियो । त्यो गीतको बोल थियो ‘तिमीले रोजेको जस्तो म मान्छे रहेनछु’ … । निरभिम दाईको शब्द थियो । संगीत दीपक भट्टराई र स्वर मेरो । अहिलेसम्म कति गीत रेकर्ड गराउनु भएको छ ? २५ भन्दा बढी गीत रेकर्ड भएका छन् । १८ वटा गीत सार्वजनिक भएका छन् । दुई वटा एकल एल्बम सार्वजनिक भएका छन् । पहिलो एल्बम ‘सुनय’ हो जसको अर्थ सुमार्ग हो । यसमा पाँच वटा गीत छन् । सबैमा मेरो स्वर छ । शब्द र संगीत फरक फरक व्यक्तिहरुको छ । करिव ७ महिनाअघि सो एल्बम सार्वजनिक भएको थियो । यस गीतमा ‘नाई मलाई थाहा छैन’ बोलको गीत निकै चर्चित भयो । यस गीतमा टीका प्रसाईंले मलाई स्वरमा साथ दिनु भएको छ । यो गीत यूट्यूवमा २ करोडभन्दा बढीले हेरेका छन् । ‘त्यो सपना’ नामको दोस्रो एल्बम हालै सार्वजनिक भएको छ । यसमा पनि पाँच वटा गीत छन् तर फरक फरक भावनालाई समेटिएको छ । शब्द, स्वर, संगीत सबैमा धेरै फरक छ । यसमा ‘त्यो सपना’, ‘पहिलो भेटैमा’, ‘हिट्हिट्’, ‘मेरी मायालु’ र ‘बेदनाले भरिएको छाती’ बोलको गीतहरु समेटिएका छन् । पहिलो भेटैमा बोलको गीतमा टिका प्रसाईंले पनि स्वर दिनु भएको छ । यी पाँच वटै गीतको शब्द रचना होमनाथ न्यौपानेको छ । पाँच वटै गीतमा दीपक भट्टराईको संगीत रहेको छ । त्यसबाहेक फुटकर अरु एल्वमहरुमा पनि मैले गाएको गीतहरु समावेश भएका छन् । ‘सँगसँगै’ नामको नयाँ एल्बमको तयारीमा पनि छौं हामी । तपाईं, होमनाथ र दीपकबीचको सम्बन्ध के हो ? म अष्ट्रेलियामा बस्छु । दीपक भट्टराई जापानमा बस्नुहुन्छ । होमनाथ न्यौपाने नेपालमा बस्नुहुन्छ, चौधरी ग्रुपमा महाप्रबन्धक हुनुहुन्छ । हाम्रो सांगीतिक गठबन्धन शुरु भएको १७ वर्ष भयो । त्यतिबेला देखि नै हामीले एल्बम निकाल्ने सपना देखेका थियौं । त्यो सपना पूरा भएको छ । हामी सबै काठमाडौंमा जुटेर त्यो एल्बम सार्वजनिक गरेका छौं । तपाई नेपालमा नबसेर किन अष्ट्रेलियामा बस्नुहुन्छ ? शंकरदेवबाट व्यवस्थापनमा स्नाकोत्तर गरेपछि मैले आप्का हाउस प्रिप्रेसमा काम थालेँ । ६ वर्षसम्म त्यहाँ काम गरेँ । त्यसपछि थप अध्ययनको सिलसिलामा म १० वर्षअघि अष्ट्रेलिया गएँ । खासगरी ग्राफिक डिजाईनमा आफूलाई दक्ष बनाउनु थियो । पढ्दै गर्दा काम पनि थालियो । विभिन्न बन्धनमा बाँधिदै गइयो । अष्ट्रेलियामा पनि म ग्राफिक डिजाइन र प्रिप्रेसको काम गर्छु । म स्वरोजगार छु । अष्ट्रेलियामा आफ्नै घरमा प्रेस राखेको छु । विभिन्न एजेन्सीबाट काम लिन्छु । अष्ट्रेलिया गएपछि पनि साधनाको प्रयास जारी थियो । गायन प्रयास जारी राखेँ, नेपालीहरुले आयोजना गरेका स्टेज प्रोग्रामहरुमा गीत गाउँदै आएको छु तर गीत रेकर्डिङ गर्ने मौका मिलेन । अब मलाई नेपाल नै फर्कन र गायनलाई जोड दिन मन छ । नेपालको सांगीतिक क्षेत्रमा केही योगदान गर्ने सोच ममा विकसित हुँदै आएको छ । आफूलाई लागेको इच्छा पूरा भयो भने मात्र खुशी हुन सकिन्छ । अरु नेपालीहरु आफ्नो परिवार पनि विदेश लैजानेतर्फ अभ्यस्त छन् । तपाई सपरिवार नेपाल फर्कने कुरा गर्नुहुन्छ, किन ? म १० वर्षदेखि विदेशमा बस्दै आएको छु । धेरै साथीहरुको परिवारलाई देखेको छु, बुझेको छु । अंग्रेजी लवज आउँदैमा, अंग्रेजीमा राम्रो बोल्न, लेख्न आउँछ भन्दैमा उसको भविष्य राम्रो हुन्छ भनेर सोचियो भने त्यो मूख्र्याईं हुन्छ । राम्रो भविष्य भनेको खुशी हो । जीवन सहज, सरल र सुगम हुनुपर्छ । पैसा सबै थाेक होइन, पैसाले खुशी दिँदैन र विदेश जाँदैमा पैसा टन्न कमाई हुन्छ भन्ने पनि होइन । पैसा कमाईएला तर त्यसले खुशी दिएको छ कि छैन भन्ने कुरा मुख्य हो । तपाई अष्ट्रेलियामा बस्दा कति कमाउनु हुन्छ, नेपाल फर्कनु भयो भने कति कमाउनु हुन्छ ? अष्ट्रेलियामा दिनमा १०० डलर कमाएको छ तर १० डलर पनि बचाउन सकिएको छैन भने त्यो के कमाई भयो र ? मैले काठमाडौंमा धेरै साथी भेटेको छु जसले मासिक लाख रुपैयाँ भन्दा बढी बचाउनु हुन्छ । नेपालमा पनि राम्रो कमाई देखिन्छ । उहाँहरुको केटाकेटी पनि राम्रै स्कूल कलेजमा पढिरहेको देख्छु । देशविदेश पनि घुम्नुहुन्छ । देश परिवर्तनले मात्र भविष्य राम्रो हुन्छ भन्ने मान्यताप्रति मेरो विश्वास छैन । नेपालमा भन्दा अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप वा जापानमा अलि राम्रो शासन व्यवस्था छ, केही राम्रो सेवा सुविधा नागरिकले पाएका छन् । आफूलाई सुरक्षित पनि ठान्छन् । नेपालमा राम्रो शासन व्यवस्था छैन । अरु सबै कुरामा नेपाल कहाँ हो कहाँ । यो देश, यो समाज धेरै राम्रो छ । यहाँ बस्न, जीउन निकै सहज र रमाईलो छ । गायनलाई पेशा बनाउन सकिन्न ? कुनै पनि गायकले गीत गाएर गरिएको कमाइले सेलिब्रेटी बन्न गाह्रो होला तर परिवार पाल्न सक्छ । विदेशमा बसेर गीत गाएर परिवार पाल्न भने सकिँदैन । तपाईं पैसा कमाउन गीत गाउनु हुन्छ, अरुलाई मनोरञ्जन दिन गीत गाउनु हुन्छ कि आत्मसन्तुष्टि प्राप्तिको लागि गीत गाउनु हुन्छ ? मैले कमाउन गीत गाएको होइन । गाउनु मेरो हवी हो । मेरो आत्मसन्तुष्टिको लागि नै मैले गीत गाउँछु । मलाई रुची लागेको गीत गाउँछु । तपाईले आफ्नो रुची र आत्मसन्तुष्टिका लागि गाएको गीत स्रोताले किन मन पराउने ? गीतका स्रोताको रुची पनि फरक फरक हुन्छ । कसैलाई माया पिरतीको गीत मन पर्ला, कसैलाई दुःख वेदनाका शब्दले भरिएको गीत मन पर्ला । सबैका आ-आफ्नाे छनाैट हुन्छ । म मलाई मन पर्ने गीत गाउँछु । त्यहि गीत कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । उमेर र अनुभवले पनि परिपक्व बनाउँदै लैजान्छ । अहिले म मेरो सन्तुष्टिको लागि पनि गीत गाउँछु अनि स्रोताको रुचीका आधारमा पनि गीत गाउँदै अाएकाे छु ।
मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक
लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका-५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा नं ४, ५ र ६ मा मदिरा बिक्री वितरण, प्रयोग तथा भोजपुरी भाषाको अश्लील गीत बजाउन रोक लगाउने निर्णय गरेको हो । जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध गरिएको बडा नं ६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए । तीनै वडा क्षेत्रभित्रका पसलमा रहेका जाँड रक्सी माघ मसान्तभित्र बिक्री वितरण गरिसक्न निर्देशन दिँदै फागुन १ गतेदेखि पसलमा मदिरा पाइएमा पहिलोपटक पसलेलाई रु पाँच हजार र प्रयोगकर्तालाई रु दुई हजार जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले बताए । बैठकले तीनवटै वडामा अश्लीलखालका भोजपुरी गीत बजाउन रोक लगाउँदै निर्णय विपरीत भोजपुरी गीत-सङ्गीत बजाएमा रु पाँच हजार जरिवाना गर्ने निर्णय गरिएको समेत जानकारी दिइएको छ । बैठकले १६ वर्षमुनिका युवा-युवतीलाई मोबाइल र मोटरसाइल प्रयोग गर्न रोक लगाइएको र निर्णय विपरीत मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइएमा पहिलो पटक रु ५०० जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले जानकारी दिएका छन् । कल्याणपुर नगरपालिकालाई नै मदिरामुक्त बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा तीन वटा वडालाई मदिरा बिक्री वितरण र भोजपुरीको अश्लील गीत बजाउन निषेध गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको कथन छ । सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, स्थानीय व्यापार संघका पदाधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुख तथा समाजसेवीको उपस्थिति रहेको थियो । रासस
मेडिकल सोसाईटीद्धारा निःशुल्क स्वास्थ्य उपचारसँगै न्यानो कपडा,पौष्टिक आहार बितरण
काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थकै कार्यलयमा पुगरे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । संस्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार बितरण समेत गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए । डा.रमनका अनुसार संस्थामा उचित खानेपानीको ब्यबस्थापन नहदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको बताए । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए । उनका अनुसार संस्था आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ ।डा. रमनले अगामि दिनमा थप चिकित्स लिएर आएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए । सडकमा अलपत्र परेका,अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण दिईरहको बताए । थापा आफै पनि शारिरिक अपाङ्ग हुन् । यहाँ आश्रय लिईरहेका ब्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरे । ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्था यस अधि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थयो । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताईन् । २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्ने जनाएको छ ।