भत्किएकै घरको भग्नवशेषमा जमरा, भग्नावषेह हटाउन नक्सदा दुई वर्षको दशैं भत्किएकै घरमा

काठमाडौं २१, असोज । गत वैशाखको भुकम्पले भक्तपुर ७–गोल्मढीकी पुर्णलक्ष्मी मानन्धरको तीनतले घर भत्कायो । उनको ४ जनाको परिवार डेढ वर्षयता भक्तपुर ५–डेकोचास्थित अस्थायी शिविरमा बसिरहेका छन् । गोल्मढी गल्लीबाट भुकम्पले भत्काएको घरको भग्नावशेष समेत हटाउन नसकेका पूर्णलक्ष्मीको परिवारले बढादसैंको जमरा भने सोही भग्नवशेषमा राखेको छ । ‘दसैको मुख्य आकर्षण जमारा नै हो’ उनले भनिन्, ‘जमरालाई कुलदेवताका रुपमा लिइन्छ, कुलदेवतालाई मुलघरबाहेक अन्त राख्नु हुदैन भन्ने मान्यताअनुसार भत्किएकै घरमा जमारा राखेका छौं ।’ टीका लगाउने, भोज खानेसमेत भत्किएकै घरको एक छेउमा गर्ने तयारी गरेको उनले बताइन् । अघिल्लो वर्षको दसैं पनि उनले सोही भग्नावशेषमै मनाएकी थिइन् । गोल्मढीकी रविना मानन्धरको पनि अवस्था उस्तै छ । भूकम्पपछि विवाह गरी टहरामा भित्रिएकी रविनाले दसैंको जमरा भने भत्किएकै घरमा राखेको बताइन । कान्तिपुर दैनिकबाट ।

दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके

काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।

दशैंमा पैसा पठाउनेलाई नगददेखि घरसम्मको योजना, विदेशबाट पैसा पठाउने ग्राहक तान्दै रेमिट्यान्स कम्पनी

काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनलेले यो उपहार पाउनेछन् । अन्य समयभन्दा चाढपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दशैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनीले उपहार योजना ल्याउने गरेका हुन् । वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन ग्राहकलाई प्रोत्साहन गर्ने उदेश्यलेघडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।