उद्योगीले पाइरहेको सहुलियत खारेज गर्नु हुँदैन, मैले करका दर घटाउन सक्दिनँ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले उद्योगीले निर्यातमा पाउँदै आएको सहुलियत खारेज गर्न नहुने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार : सार्वजनिक–निजी संवाद’ कार्यक्रममा बोल्दै उनले उद्योग मन्त्रालयले सिमेन्ट उद्योगीले निर्यातमा पाउँदै आएको सहुलियत हटाउने निर्णय गरेको उल्लेख गर्दै त्यो निर्णय पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन् । उनले यो विषयमा उद्योग मन्त्रालयसँग समन्वय गरेर निष्कर्षमा पुग्ने बताए । यस्तै, उनले करका दर यो सरकारले संशोधन गर्न नसक्ने बताए । 'त्यो काम निर्वाचित सरकारले गरोस् । करका दर संशोधन गरेर कुनै क्षेत्रलाई सहज भयो भने अर्को पक्षले आलोचना गर्छ, त्यो काम अन्तरिम सरकारले गर्दैन,' उनले भने । उनका अनुसार कर प्रणाली प्रगतिशील भएन भने द्वन्द्व निस्किन्छ । त्यसैले करका दरलाई तार्किक तथा कम बनाएर दायरा बढाउनुपर्छ । उनले ६० दिनको अवधिमा द्रुत गतिमा काम गरिएछ कि भन्ने महसुस भएको बताए । उनले समाजले नबुझ्ने हिसाबले काम गरियो कि भन्ने महसुस भएको धारणा राखे । उनले कर प्रशासनमा सुधार, एकल बिन्दुबाट राजस्व असुल गर्ने काम भइरहेको बताए ।
कर्णालीका दुर्गम बस्तीमा टेलिकमको टुजी तथा फोरजी सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टुजी तथा फोरजी सेवा विस्तार गरेको छ । देशभरका दुर्गम स्थानमा सञ्चार पहुँच विस्तार गर्ने अभियानअन्तर्गत टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न बस्तीहरूमा नयाँ टावर स्थापना गर्दै सेवा सञ्चालनमा ल्याएको हो । हुम्ला जिल्लाको सर्केगाड–३ र सर्केगाड–६ मा टुजी तथा फोरजी सेवा सुरु भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ का बासिन्दा पहिलोपटक गुणस्तरीय मोबाइल सेवाबाट लाभान्वित भएका छन् । सेवाबाट उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका बस्तीहरू जोडिएका छन् । यस्तै, हुम्लाकै अदानचुली–६ मा पनि टुजीरफोरजी सेवा सञ्चालनमा आएसँगै अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ को पानचौर, कालिका लगायतका क्षेत्र सञ्चार सुविधामा पुगेका छन् । दैलेख जिल्लाको गुराँस गाउँपालिका क्षेत्रका गुराँस बजार, गोगनपानी, पातीकान्ला, बयलकाँडा तथा बराहताल–९ को लेकगाउँ पनि अब फोरजी सेवाको दायरामा आएका छन् । पर्यटकीय क्षेत्र गुराँसमा सेवा विस्तार भएपछि स्थानीय बासिन्दासँगै पर्यटकले पनि गुणस्तरीय नेटवर्क सेवा पाउने भएका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा सेवा सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्तीहरू पहिलोपटक आधुनिक टुजी र फोरजी सुविधासँग जोडिएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा सञ्चार पहुँच अझै विस्तार भएको टेलिकमले जनाएको छ । वडा नं. १० को मिदग्ती लेकमा नयाँ फोरजी टावर सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी लगायतका बस्तीहरू सञ्चार सुविधामा जोडिएका छन् । यसले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय तथा सैनिक ब्यारेक क्षेत्रलाई पनि आधुनिक मोबाइल सेवासँग जोडेको छ । टेलिकमका अनुसार नवीनतम सेवा विस्तारसँगै देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा फोरजी सेवा पुर्याइएको छ । दुर्गम तथा अति विकट क्षेत्रमा पनि समान रूपमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले उच्च लागत, प्रतिफल कम हुने क्षेत्रसमेत प्राथमिकतामा राखेर टावर स्थापना तथा सेवा सञ्चालन गर्दै आएको छ ।
तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति
दमौली । हालैको वर्षाले तनहुँमा एक करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा चार लाख ८६ हजार रुपैयाँ, म्याग्देमा १४ लाख ६० हजार रुपैयाँ, आँबुखैरेनीमा २६ लाख ८२ हजार ९४३ रुपैयाँ र व्यास नगरपालिकामा ५७ लाख ४४ हजार ५९७ रुपैयाँ बराबरको क्षति भएको हो । घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५.८ हेक्टरमा १६५.८८ मेट्रिक टन धानमा क्षति भएको छ । तनहुँका विभिन्न भागका आठ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०÷८१ मा सात हजार ६४२ हेक्टरमा खेती गरिएकामा आठ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार ५१० हेक्टरमा मात्र खेती भइरहेको छ ।