फ्रेन्चाइज लिगदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, खेलाडी त्रसित

काठमाडौं । जेनजीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्न सक्ने स्पष्ट छ । यो आन्दोलन र घटनाक्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकार हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षति व्यहोर्नेछन् । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अलि बढी प्रताडित हुनेछन् । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजनाको तयारी अवस्थामा थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बीचमै बन्द गर्नुपर्यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिएको थियो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । अब कहिले हुन्छ भन्ने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुगे । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । ‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनुभयो । 'यो देशमा कहिल्यै आउँदैनौँ' भने,’ आयोजक टिमका एक सदस्यले भने, ‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनुहुन्छ जस्तो लाग्दैन । अरुलाई पनि 'नेपाल सुरक्षित छैन' भने भने अर्को क्षति व्यहोर्नुपर्छ ।’ आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमै नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै 'यति क्षति भयो' भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गर्यौँ । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर गर्नेछ,’ उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर पारेको छ । एउटा व्यवसायिक खुशी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडी त्रसित भएपनि आफूहरूले सम्झाएको बताए । ‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनुभयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनुहुन्छ । होटलमा जसरी आक्रमण भयो, त्यो सहन नसक्ने अवस्था नै थियो । २/४ जना खेलाडीको डकुमेन्ट र सरसामान त्यहीँ जले । जसोतसो पासपोर्ट जोगायौँ,’ उनले भने, ‘हामीले ती खेलाडीहरूसँग बसेर एउटा सेसन राखेका थियौँ । नेपाल शान्त देश हो र यस्तो पहिलोपटक भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौँ । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौँ । कोही खेलाडी अब आउन चाहन्नन्, केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडी जानुभयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौँ ।’ उनले भारतका एमपी विक्रम साहनी र भारतीय दूतावासको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नै देश पठाउन सफल भएको बताए । ‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ भन्ने सन्देश दियौँ । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौँ र एक भएर लड्यौँ । तर त्यो घटनालाई रोक्न सक्दैनथ्यौँ,’ उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीहरूको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपीएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधार हुन् । तर देशको राजनीतिक अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन । आयोजकहरूले पनि यस्ता प्रतियोगिता गर्न धेरैपटक सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपीएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्छ । यसबीच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घराना रहेका र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने, समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने बताए । ‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी–२० विश्वकप छनोटका लागि वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’ लामाले भने । आन्दोलन चर्किँदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन ९काभा० महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको हो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औँ एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थियो । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्था सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए । ‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनुहुन्छ । अवस्था सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’ बिष्टले भने, ‘छिट्टै मिशन–२६ को तयारी सुरु गर्छौँ ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाइएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साहन गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, पछिल्लो घटनाले ठूलो क्षति पुर्याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।

प्रधानमन्त्री कार्कीको प्रश्न : सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन् । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।  उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताएन् । यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बतान् । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरिन् । यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन् । पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन् । भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गरिन् । आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् ।  उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो ।’  उनले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताइन् । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिइन् ।   

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।  प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् ।  प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरुमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरु गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’ प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताइन् ।