प्रतिनिधिसभा विघटनविरुद्ध आठ दलले गरे संयुक्त विरोध
काठमाडौं । प्रतिनिधिसभामा रहेका आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । ती दलका प्रमुख सचेतकहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै भदौ २७ गते राति गरिएको भनिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाएका हुन् । संयुक्त वक्तव्यमा उनीहरूले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै यसलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान विपरीतका कार्यलाई कुनै हालतमा समर्थन गर्न सकिँदैन । प्रमुख सचेतकहरूले प्रतिनिधिसभा विघटन नेपालको संविधानको धारा ७६ को उपधारा (७) विपरीत भएको र सर्वोच्च अदालतले यसअघि प्रतिपादन गरेको नजिरसमेत तोडिएको बताएका छन् । संयुक्त वक्तव्यमार्फत उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय तत्काल फिर्ता लिन र संसद्को बैठक तुरुन्त आह्वान गर्न माग गरेका छन् ।
तोडफोडबारे अध्यक्ष ढकाल भन्छन् - आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्यमी चन्द्र ढकालले हालैको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनी घटनाप्रति पीडा व्यक्त गर्दै निजी क्षेत्र निराश नहुन आग्रह गरेका छन् । ढकालले शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफू शून्य पुँजीबाट व्यवसाय सुरु गरेर आजको अवस्थामा आइपुग्दा चार दशकको मेहनत, इमान्दारिता र निरन्तरताले ठूलो भूमिका खेलेको स्मरण गरेका छन् । 'हिजो मलेसियामा रहेका श्रमिकहरूको कठिनाइ देखेर सुरु गरिएको सानो व्यवसाय आज हजारौँ नेपालीको रोजगारीसँग जोडिएको छ । तर अहिले देशकै ठूलो लगानी भएका आयोजनामा क्षति हुँदा मन भारी भएको छ,' उनले उल्लेख गरेका छन् । उनले प्रदर्शनका क्रममा आफ्ना व्यवसायमा पनि तोडफोड र आगजनी भई ठूलो नोक्सानी पुगेको जानकारी दिँदै भनेका छन्, 'अर्बौँ लगानी भएका आफ्नै आयोजना सुरक्षित नहुँदा विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोबल गिर्ने डर छ । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सार्वजनिक नगर्न आग्रह गरेको थिएँ ।' तर, उद्योगी–व्यवसायी निराश हुन नदिन केही भन्न बाध्य भएको उनले स्पष्ट पारेका छन् । ढकालका अनुसार हालैको घटनामा हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ र लगानी धरापमा परेको छ । उनले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला संकट भोगिसकेकाले अहिलेको कठिनाइलाई पनि नयाँ अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 'हामी उद्यमी व्यवसायीहरुले फेरि सम्हालिएर अघि बढ्नुपर्छ । आजैदेखि क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माणमा होमिनुपर्छ, थप लगानी गरेर रोजगारी सिर्जनामा लाग्नुपर्छ,' ढकालले भनेका छन् । उनले नयाँ पुस्तालाई निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको कुरा बुझाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, 'निजी क्षेत्रबिना समृद्ध नेपाल सम्भव छैन । ८१ प्रतिशत भन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई कमजोर पार्ने सुविधा हामीसँग छैन ।' ढकालले सबै व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै लेखेका छन्, 'आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस कहिल्यै जल्दैन । विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भावी पुस्तालाई प्रेरणा दिनुछ ।' यस्तो छ उनको पोस्ट सबैमा नमस्कार जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिएँन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्वर माटोमा सिँचाइ गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो। र अहिले पनि छँदैछ । त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ। हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रूपमा अवस्थित छ । मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा ध्यान दिने गर्दथेँ । राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्नसक्ने सम्भावना । यिनै क्षेत्रमा हामी अघि बढ्दै जाँदा आज हाम्रो व्यवसाय २० हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको प्रत्यक्ष रोजगारीसँग जोडिन पुगेको छ । अप्रत्यक्ष त लाखौँ होला, अहिले म त्यता जान चाहन्न । हामीले सुरु गरेको व्यवसाय जुन–जुन क्षेत्रमा विस्तार भयो, ती सबै केवल रोजगारी सिर्जना गर्न मात्र नभएर तीमार्फत् मुलुकमा साझेदारी र सेवाको संस्कृति निर्माण भएका छन् । अनि जेजहाँ स्थापित र विस्तारित छन् ती सबैमा स्थानीयसँगको बलियो हातेमालो छ। किनभने ‘व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन’ भन्ने भावनाले प्रेरित हाम्रा पाइला सबैसँग लगानी साझेदारी गर्दै अघि बढेका हुन् । प्रत्येक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व रहोस् भनेर हामीले सेयरमार्फत् स्थानीय साझेदारिताको मोडेल अपनाएका छौँ । रोजगारीमै पनि उहाँहरू पहिलो प्राथमिकतामा हुनुहुन्छ । त्यसकारण त हाम्रा पर्यटनलगायतका स्थानीय पूर्वाधारहरू सबैका साझा सम्पत्तिका रूपमा स्थापित र सेवारत रही आएका छन् । हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो । उहाँहरूको त्यही दुःख देखेर उहाँहरूले दुःख जिलो गरेर जम्मा गरेको दुईचार पैसा औपचारिक माध्यमबाट उहाँहरूका घर–आफन्तसम्म पुर्याउने अठोटका साथ मलेसियाबाट सुरु गरेको व्यवसाय आजको विस्तारित स्वरूप उहाँहरूकै आशीर्वादको परिणाम हो भन्ने लाग्दछ । उहाँहरूको यही आशीर्वाद, समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सद्भावमा हाम्रो मेहनत एवं पसिना मिसाउँदा लागेको फलले नै हाम्रो व्यवसायिक जग र ब्रान्डमा मुलुकमा कैयौँ व्यावसायिक राजमार्ग निर्माण हुन सकेको हो। मलाई हरेक पलमा आनन्द दिने माध्यमहरू पनि यिनै हुन् । तर आज भने मेरो मन भारी भएको छ । देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा म यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु । अर्बौँ लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन। मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ मजस्तै क्षति पुगेका अरू व्यवसायीहरूलाई मैले नै अमिलै मनले भए पनि सान्त्वनाको धाप मार्नुपर्ने अवस्था छ। म मुलुकका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । हरेक तह, समूह या सर्कलले अप्ठेरोमा अभिभावकको खोजी त गरिनै हाल्छ । सायद मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भनेको यस्तै समय र परिस्थितिमा होला। सम्पूर्ण निजी क्षेत्रलाई हौसला दिनुपर्ने ठूलो जिम्मेवारी मेरो सामु छ । हिजोका दिनमा भूकम्पले धरहरासँगै व्यवसायीका मनहरू ढलिरहँदा पनि मैले मुलुकका उद्योगी व्यवसायीहरूलाई धुलो टक्टकाएर उठौँ र आफ्ना काम, व्यवसायमा लागिहालौँ भनेर हौसला दिएको अहिले सम्झँदैछु । कसैले कहिल्यै कल्पनै नगरेको कोरोना महामारीले देश र व्यवसाय थिलथिलो पर्दा र आफैँ कोरोनाको कहरमा हुँदा पनि मैले व्यवसायीहरूलाई सटर बन्द नगरौँ, हामी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेको सम्झँदैछु । अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ । यी हरेक दुःखमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरूलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु । भदौ २३ र २४ गते जेन–जि पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठमा मुलुकभर धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि आक्रमण भयो । त्यसक्रममा हामीले लगानी गरेका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भयो। ठूलो क्षति पुर्याइएको छ। मुलुकको अर्थतन्त्र सुधार गर्न, वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन लागिरहेको म एउटा उद्योगी र मुलुककै निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा मेरो आफ्नै व्यवसाय सुरक्षित नहुँदा आम स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र नकारात्मक सन्देश प्रवाह हुने भयले मन अमिलो भयो । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सेयर नगर्न कर्मचारीहरूलाई आग्रह पनि गरेँ । तर, सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक भएपछि, आम उद्योगी–व्यवसायीलाई निराश हुन नदिऊँ, मनोबल खस्कन नदिऊँ भन्ने उद्देश्यले केही कुरा भन्न आवश्यक देखेँ । हो, सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ । यसले हामी सबैलाई मर्माहत बनाएको छ । दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा थियौँ । अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ । तथापि, यावत् प्रतिकूलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौँ। आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ । नयाँ पुस्तालाई बुझाऔँ निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिँदैन । उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जिहरूमा पनि आशा हामीले नै भर्नु छ। यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् । आदरणीय व्यवसायी साथीहरू, तपाईंले आफ्नो जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपर्दा पीडा त हुन्छ नै । सायद मेरा यी शब्दहरूले यहाँहरूको त्यो पीडा उतार्न र सान्त्वना भर्न सक्दैनन् । किनभने यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय चोट पनि हो । तर पनि यसरी चित्त बुझाऔँ कि आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन–मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ। हामी उद्यमी, व्यवसायीहरूले आफूलाई कदापि एक्लो नठानी सबैको दुःखलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नुपर्दछ। विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ। फेरि उठ्नुछ, अघि बढ्नुछ, निर्माण गर्नुछ र हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नुछ। आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ।
'अब एमाले पुनर्गठन नगरे अस्तित्व संकटमा पर्न सक्छ'
काठमाडौं । हालैको जेनजी आन्दोलनले नेपाली राजनीति हल्लाइरहेको छ । सडकमा उत्रिएका हजारौं युवाले पुराना दलहरूको शैलीमाथि प्रश्न उठाइदिएका छन् । यही मेलोमा नेकपा एमालेका युवा नेताहरूले पनि पार्टीमा व्यापक पुनर्गठनको आवश्यकता रहेको बताएका छन् । उनीहरूले पारदर्शिता, जवाफदेहिता, अवसर र पुस्तान्तरणसहित पार्टीमा पुनर्गठनको आवश्यकतामा जोड दिएका हुन् । यस आन्दोलनले सबै दललाई चेतावनी दिएको भए पनि यसको प्रत्यक्ष असर नेकपा एमालेमा गहिरो देखिएको उनीहरूले बताएका छन् । आफूलाई परिवर्तनकारी शक्तिको धरोहर भनेर प्रस्तुत गर्ने नेकपा एमाले अहिले आफ्नै अस्तित्व बचाउन पुनर्गठनको दबाबमा छ । यदि एमालेले समयमै आत्ममूल्यांकन गरेर सुधार गरेन भने, यो दल पनि युवा पुस्ताको नजरमा पुरानो पुस्ताको मात्र प्रतिनिधि बनेर सीमित हुने खतरा बढ्दै गएको एमालेका युवा नेताहरूले बताएका छन् । पार्टीभित्र अहिले संगठनात्मक कमजोरी, नेतामुखी राजनीति र गुटबन्दीका कारण असन्तोष फैलिएको छ । एमाले सचिव गोकर्ण विष्ट भन्छन्, 'पुनर्गठनको पेचिलो प्रसव वेदना पार गर्दै हामी एमालेलाई फेरि जुरुक्क उठाउँछौँ । स्थानीय तहदेखि केन्द्रसम्म कार्यकर्ताको आवाज अनुसार, एमालेलाई युवा पुस्ताले चाहेको जस्तै विकेन्द्रीकृत, पारदर्शी र डिजिटल संरचनामा आधारित आधुनिक दल हामी बनाउँछौँ।' युवाले दिएको सन्देश स्पष्ट छ । एमालेको पुनर्गठन अब विकल्प होइन, अनिवार्य आवश्यकता हो । संगठनात्मक सुधारसहित एमालेलाई पुनः जनविश्वासले पूर्ण पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताउँछन् एमाले स्थायी समिति सदस्य खिमलाल भट्टराई । पार्टीले केन्द्रमा मात्रै शक्ति केन्द्रित गर्ने पुरानो प्रवृत्ति अन्त्य गरेर स्थानीय तहलाई अधिकार दिँदै उम्मेदवार छनोटदेखि नीति तय गर्ने प्रक्रियामा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने दबाब बढेको भट्टराईले बताए । डिजिटलाइजेसन पनि अर्को ठूलो आवश्यकता रहेको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । सदस्यता नवीकरण, छलफल र निर्णय अब केवल कागजमा होइन, प्रविधि–मैत्री प्लेटफर्ममार्फत गर्नुपर्ने माग युवाबाट आएको रिजालले बताए । यति मात्र होइन, एमालेको विचारधारा र संगठनको संरचनामा पनि नवीनता खोज्नुपर्ने बेला आएको बताउन थालिएको छ । नेताहरूका अनुसार अब नारा सहित व्यवहारमा पनि आवश्यक नवीनता आजको आवश्यकता रहेको हो । जेन जि आन्दोलनले दिएको सन्देश युवा पुस्ताले व्यवहारिक समाधान खोजिरहेको भन्ने बुझ्नुपर्छ । मत पाउनु र विश्वास जित्नु फरक रहेको तथ्य बुझ्न नसक्दा अहिले हामीले एउटा ठक्कर खाएका छौँ । यो ठक्कर हाम्रा लागि सबथाेक हो । 'यसबाट सिक्दै हामी फेरि उठ्नेछौँ,' स्थायी समिति सदस्य ठाकुर गैरे भने । रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य, वातावरणीय संरक्षण, प्रविधि-मैत्री विकास र सामाजिक न्याय लगायतका मुद्दालाई प्राथमिकतामा राख्दै नवीन एमाले अघि बढ्ने गैरेले बताए । 'केवल सडक, पुल र भवन बनाउने विकासको अवधारणा अब पर्याप्त छैन । नयाँ पुस्ता जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने नीतिहरू खोजिरहेका छन् । एमालेले यसलाई बुझ्न ढिलो गरे, परिणाम गम्भीर हुनसक्छ,' गैरेले भने । अबको सबैभन्दा ठूलो चुनौती भनेको नेतृत्व पुस्तान्तरण हो । एमालेलाई यहाँसम्म ल्याउन हिजो जेलनेल खपेका नेताहरूलाई सम्मानसहित सल्लाहकार बनाउँदै अबको नवीन एमालेको नेतृत्व युवाले गर्नुपर्ने रिजालको मत रहेको छ । दशकौँदेखि पुराना अनुहारहरूले मात्र निर्णायक तहमा वर्चस्व जमाएर युवा नेताहरूलाई दोस्रो दर्जाको भूमिकामा मात्र सीमित राख्ने प्रवृत्तिले अब पार्टी नचल्ने नेताहरूको दावी छ । जेनजी आन्दोलनले यही कुरा प्रष्ट देखायो । पुराना नेताहरू केवल सत्ता–संघर्षमा रहने र सीमित राजनीति गरे भने, नयाँ पुस्ता सडकमै उत्रिन्छ । एमालेले अब ३०–४० वर्ष उमेरका युवालाई केन्द्रीय समिति, पोलिटब्युरो र पार्टीका प्रमुख तहमा स्थान दिनै पर्ने सन्देश दिएकोमा एमालेका युवा नेताहरूले जोड दिएका छन् । युवाको असन्तोषसँगै एमालेमा समावेशीकरणको कमी पनि गहिरो प्रश्न बनेको छ । हुनत, एमालेले नै देशको पहिलो महिला राष्ट्रपति बनाएको हो । एमालेकै नेतृत्वको सरकारले इतिहासमै पहिलो महिला मुख्य सचिव बनाएको भए पनि अझ धेरै गर्नुपर्ने एमाले सचिव विष्टले बताए । पुनर्गठनको बहस गर्दा सिमान्तकृत समुदायलाई समान स्थान नदिए एमालेको समावेशीताको दाबी कमजोर हुने एमाले नेतृ ललिता केसीले बताइन् । 'आजको राजनीति केवल बहुमतको होइन, विविधताको प्रतिनिधि बन्न सक्ने दललाई जनताले रोज्छन् । एमालेले यो सत्यलाई आत्मसात गर्न सके मात्र नयाँ पुस्ताको समर्थन पाउनेछ,' केसीले भनिन् । पारदर्शिता र जवाफदेहिता अर्को संवेदनशील पक्ष हो । जेनजी आन्दोलनले उठाएको असन्तोषको मूल कारण नै यही हो । एमाले भित्र निर्णय प्रक्रियामा खुलापन छैन भन्ने गुनासो छ । कसरी निर्णय हुन्छ, कुन आधारमा नेतृत्व चयन हुन्छ, आर्थिक स्रोत कहाँबाट आउँछ भन्ने कुरा अस्पष्ट छ । यसले एमालेको विश्वसनीयता घटाइरहेको छ। पार्टीले अब आर्थिक पारदर्शिता, कार्ययोजनाको सार्वजनिक प्रतिवेदन र नेताको कार्यकालको मूल्यांकन अनिवार्य गर्नुपर्ने नेताहरूले बताए । राजनीतिक विश्लेषकहरू भन्छन्, 'एमालेसँग अहिले दुई बाटा मात्र बाँकी छन् । पहिलो बाटो, पुरानै ढाँचामा टिकिरहनु । यो बाटो रोजे एमाले क्रमशः कमजोर हुँदै जाने पक्का छ ।' एमालेका पुराना नेता लोककृष्ण भट्टराइका अनुसार दोस्रो बाटो, साहसिक पुनर्गठन गर्नु हो । यस बाटोमा हिँड्न सक्यो भने एमाले फेरि पनि जनआकर्षणको केन्द्र बन्न सक्छ । पुनर्गठनका लागि एमालेले तत्काल केही कदम चाल्नुपर्ने पुराना नेता भट्टराइको ठहर छ । युवा केन्द्रित नीति ल्याउने, आन्तरिक गुटबन्दी अन्त्य गर्ने, दिगो विकासलाई प्रमुख एजेन्डा बनाउने र संगठनभित्र युवा क्षमता विकासका लागि विशेष कार्यक्रम सुरु गर्ने अहिलेको आवश्यकता रहेको नेता रिजालले जानकारी दिए । पछिल्लो आन्दोलनलाई एमालेले केवल खतरा भनेर होइन, अवसर भनेर लिनुपर्ने अवस्था आएको रिजालले बताए । संकटसँगै नयाँ सम्भावना पनि जन्मिन्छ । एमालेले यदि आत्ममूल्यांकन गरेर साहसिक निर्णय लिन सक्यो भने, यो आन्दोलन एमालेको पुनर्जागरणको आधार बन्न सक्ने पुराना नेता भट्टराइले बताए । भट्टराइका अनुसार ढिलाइ गरियो भने एमालेको अस्तित्व संकटको पहिरो यही आन्दोलन हुने पक्का छ । रिजालका अनुसार जेनजी आन्दोलन एमालेका लागि ऐतिहासिक मोड हो । संगठनात्मक पुनर्गठन, विचारधारामा अद्यावधिक, नेतृत्व पुस्तान्तरण, सामाजिक समावेशीकरण र पारदर्शिता–जवाफदेहिता बिना एमालेलाई नयाँ पुस्ताले अस्वीकार गर्ने निश्चित छ । तर समयमै सुधार गर्न सके, एमाले फेरि पनि परिवर्तनकारी शक्तिको रूपमा स्थापित हुने सम्भावना प्रबल रहेको धारणा पुराना नेता गोविन्द ज्ञवालीले बताए । एमालेले अब निर्णायक छनोट गर्नुपर्ने समय आएको छ । ज्ञवालीका अनुसार पुरानो ढाँचामा टिक्ने कि साहसिक पुनर्गठन मार्फत नयाँ पुस्ताको पार्टी बन्ने, एमालेले समय छँदै रोज्नु पर्दछ ।