हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, न भाटभटेनी रहन्छ न कसैको लगानी : व्यवसायी गुरुङ
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गरे । दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताए । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहनदार विद्यार्थीलाई एमबिबिएस पढाएको जानकारी दिए । उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’ उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिन सकेको बताउँदै अरूले पनि त्यसैगरी दिन सक्ने बताए । नेपालमा धेरै कुराको अवसर रहेको जानकारी दिए ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्यो, मंसिर ४ गते बस्ने
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा यसअघि २०८२ मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी परिवर्तन गरिएको पार्टीले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति रहनेछ । केन्द्रीय कार्यसमितिका आवश्यक कामकारबाही तथा छलफललाई व्यवस्थित गर्न मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।