जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण

काठमाडौं । आन्दोलनका प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा चोकलाई सांकेतिक रूपमा ‘जेनजी चोक’ नामाकरण गरेका छन् । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सडक छेउको भित्तामा लेखेर देउवा चोकलाई नयाँ नाम दिएका हुन् । यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए। आक्रमणमा परेर देउवा दम्पती घाइते भएको बताइएको छ । ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास र सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काठमाडौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका वरिष्ठ नेता नन्दबहादुर पुनको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आन्दोलनकारीहरूको समूहले मंगलबार बिहानै काठमाडौंको दहचोकस्थित पुनको घरमा पुगेर आगजनी गरेको स्थानीयहरूले बताएका छन् । ‘जेनजी’ आन्दोलन अन्तर्गत सोमबारदेखि सुरु भएको विरोध प्रदर्शन सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध, देशभर फैलिएको भ्रष्टाचार र बेथितिको विरोध, साथै नेताहरू र उनका सन्तानहरूको विलासी   जीवनशैलीप्रतिको आक्रोशका कारण चर्किएको हो । सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आज देशभरै प्रदर्शन तीव्र बनेको छ ।

प्रचण्डकी छोरी गंगाको घरमा आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । उग्र बनेका युवाहरूले घरभित्र पार्किङमा राखिएको बीवाईडीको गाडीमा समेत आगजनी गरी नष्ट गरेका छन् । सोमबार ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि आज बिहानदेखि प्रदर्शन झन् आक्रामक बनेको हो।  राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शनकारीहरूले नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयलाई निशाना बनाउँदै विरोध जारी राखेका छन् ।