आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

लुटिएका हतियार तत्काल फिर्ता गर्न सेनाको अनुरोध

काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ ।  सैनिक तथा जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई  बुझाउन अनुरोध गरेको हो ।  हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले  कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।

रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान सूचना प्रकाशित गर्दै जिल्लाभर कर्फ्यू लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनाअनुसार भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रमा कर्फ्यू लागू हुनेछ । कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । हालैका विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिसकेको छ ।