मीनबहादुरको नाममा १० अर्ब ऋण, कसले सम्हाल्छ भाटभटेनीको साम्राज्य ?

काठमाडौं । नेपाली व्यवसायीहरु माझ छोटो समयमै मनग्य कमाएर अर्बपतिको लाइनमा आउने व्यक्ति मध्येका व्यवसायी हुन् मीनबहादुर गुरुङ । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनी सञ्चालन गरेर आफुलाई स्थापित मात्रै होइन, सुपर मार्केटको क्षेत्रमा पायोनियर व्यवसायीका रुपमा परिचित उनलाई पछिल्लो समय पछ्याउनेको जमात ठूलो छ । आम सर्वसाधारणले मात्रै होइन उनको व्यवसायको सिको अरू व्यवसायीहरुले पनि गरिरहेका छन् । सपिङ सेन्टरमा आफुलाई सफल व्यवसायीको रुपमा सावित गरेका गुरुङको मंगलबारको घटनाले भने उनलाई हेर्ने धेरैको नजर फेरियो । उनी मंगलरबार पक्राउ परे । ललिता निवास जग्गा  प्रकरणमा मुझिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार बिहानै नियन्त्रणमा लियो । जसले निजी क्षेत्रमात्रै होइन, बैंक तथा वित्तीय क्षेत्र र उनीसँग निकट भएर काम गरिरहेका व्यवसायीहरु माझ पनि ठूलै तरंग मच्चियो । ललिता निवास प्रकरणमा यसअघि पनि हिरासतमा बसिकेका गुरुङ पुनः पक्राउ परे । उनीसँगै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् । उनीहरुलाई सात दिन हिरासतमै राख्न अदालतले आदेश दिइसकेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यतिखेर अख्तियारले माघ २२ गते गुरुङसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । पछि उनी हिरासतमा पनि पुगे । विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो र उनी हिरासतमुक्त भए । अहिले उनी पुनः पक्राउ पर्नुले धेरैले गम्भिरताका साथ लिएका छन् । यसपटक सरकारले ललिता निवास प्रकरणमा मुछिएकाहरुमाथि गम्भीर रुपमा अनुसन्धान गरेर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उसो त गुरुङलाई धेरैले माओवादी केन्द्रसँग निकट व्यवसायीका रुपमा चिन्छन् । तर, गृहमन्त्री श्रेष्ठको एक्सनले त्यो संकेत गरेन । मंगलबार पक्राउ परेकाहरुमध्ये पहिलो निशाना श्रेष्ठले गुरुङमाथि नै लगाए । अर्थात् सुरुमै गुरुङको हातमा हतगडी लाग्यो । के होला भाटभटेनीको साम्राज्य ? विशेष गरेर व्यवसायको कमाण्डरको अनुपस्थितिमा व्यापार खस्किने गरेका उदाहरणहरु नेपालमा प्रशस्त छन् । कुनै बेला नेपाली व्यवसाय क्षेत्रमा राज गरेका व्यवसायी इच्छाराज तामाङको हिरासत बसाईंले उनको व्यवसायिक जीवन नै लगभग समाप्त पार्यो । उनका दर्जनौं कम्पनीहरु अहिले समस्यामा छन् भने कतिपय व्यवसायहरु बन्द नै भएका छन् । छोटो समयमै हिरासत बसाईंले पनि अधिकांश व्यवसायीको व्यवसायिक जीवन खलबलिएका उदाहरणहरु प्रशस्त छन् । ती सबै ‘वान म्यान आर्मी’ बन्दाको कारण हो । भाटभटेनीका सञ्चालक गुरुङ पनि आफ्नो व्यवसायका ‘वान म्यान आर्मी’ हुन् । स्रोतका अनुसार कम्पनीमा स–सानो निर्णय लिँदा पनि उनको उपस्थिति अत्यावश्यक हुन्थ्यो । सानाे सानाे रकम भुक्तानीमा पनि उनकाे सहमति अनिवार्य गरिएकाे छ । अर्थात् व्यवस्थापन समूहले उनको अनुपस्थितमा स–साना निर्णय पनि गर्न नपाउने नियम उनले कम्पनीभित्र लगाएका थिए । उनले भाटभटेनी डिपार्टमेन्ट स्टाेरकाे नाममा विभिन्न बैंकबाट बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ भन्दा बढी ऋण लिएका भेटिएकाे छ । गुरूङ लामाे समय जेलमा पर्दा उनले लिएकाे कर्जाले धेरै बैंक तथा वित्तीय संस्थालाई पिराेल्ने जानकारहरू बताउँछन् । व्यवसायको मुख्य नायकको अनुपस्थितमा व्यवसायमा नकरात्मक प्रभाव पर्ने देखिएमा बैंकहरुले पनि ऋण असुलीमा ध्यान दिन्छन् र सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाउँछन् । गुरुङको हिरासत बसाईं लम्बिएमा बैंकहरुले अवश्य नै यो प्रक्रिया अगाडि बढाउने छन् र उनको सम्पत्ति लिलामीमा चढ्नेछ । यसको निर्धारण भने उनको हिरासत बसाईंले गर्नेछ । उसो त भाटभटेनी पछिल्लो समय नेपालमा बलियो ब्राण्ड बनेर स्थापित भएको छ । भाटभटेनीको आफ्नै पूर्वाधार र बलियो अपरेशन प्रणाली छ । यस कारण पनि उनको छोटो समयको हिरासत बसाईंले कम्पनीमा खासै प्रभाव पार्ने छैन । तर, हिरासतमा उनको बसाईं लम्बियो भने उनको व्यवसायिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने उनी निकट स्रोत बताउँछ । ३५ हजार रुपैयाँमा व्यवसायिक जीवनको सुरुवात गरेका गुरुङ अहिले अर्बौं सम्पत्तिका मालिक छन् भने देशभर भाटभटेनीका २३ वटा स्टोरहरु सञ्चालन गरिरहेका छन् , थप २ स्टाेर सञ्चालनकाे अन्तिम तयारीमा छन् । करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । देशका मुख्य शहर र ठाउँहरुमा भाटभटेनीका स्टोरहरु छन् । उनले प्रत्येक वर्ष नयाँ–नयाँ ठाउँमा स्टोर सञ्चालन गरिरहेका छन् । गत वर्ष भाटभटेनीमा करिब २५ अर्ब रूपैयाँ भन्दा बढीको काराेबार भएकाे छ ।  सुपर मार्केट व्यवसायमा उनी सफल भएपनि उनलाई आर्थिक रुपमा सवल र छिट्टै धनी बनाउने क्षेत्र भने घरजग्गा भएको गुरुङ निकटस्थ स्रोत बताउँछ । उनी घरजग्गा व्यवसायी पनि हुन् । घरजग्गा व्यवसायी भएकै कारण उनी ललिता निवास प्रकरणमा जोडिन पुगे । बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । सार्वजनिक जग्गा गैरकानुनी रुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई हानी पुर्याउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको थियो । त्यसबाट पनि उनले ठूलो लाभ लिएको बुझिएको छ । ललिता निवास क्षेत्रमा हडपीएकाे ११३ राेपनी जग्गा मध्ये २९ राेपनी अहिले पनि गुरुङकाे नाममा रहेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूराेले जनाएकाे छ । कसले सम्हाल्छ व्यवसाय ? कम्पनीमा आफ्नो अनुपस्थितमा कुनै महत्वपूर्ण निर्णय गराउन रोक लगाएका गुरुङको भाटभटेनीको व्यवसाय अब कसरी अगाडि बढ्ला ? कसले व्यवसायको नेतृत्व गर्ला ? भन्ने विषय पनि चासोका साथ हेरिएको छ । उसो त उनकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामनाले पनि उनको व्यवसाय हेर्ने गरेका छन् । सावित्री भाटभटेनीको सञ्चालक समितिमै छिन् । तर, कल्याण, पहलमान, छोरी कामना र भाइबुहारी सरलाको नाम पनि ललिता निवासको जग्गा किर्तेमा जोडिएको छ । उसो त भाटभटेनी ग्रुप व्यवस्थापनमा अब्बल छ । व्यवस्थापन समूहमा अब्बल, अनुभवी र व्यवसायिक पृष्ठभूमीका व्यक्तिहरु छन् । अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा अन्य ८ जनाको टोली छ । सञ्चालनमा आएका सबै आउटलेटको व्यवस्थापनलाई व्यवस्थित बनाउन सबैको उत्तिकै भूमिका महत्वपूर्ण देखिन्छ । भाटभटेनीको व्यवसाय विकासको कार्यकारी निर्देशकमा पहलमान गुरुङ र आपूर्ति श्रृंखला व्यवस्थापनको कार्यकारी निर्देशकमा कल्याण गुरुङ रहेका छन् । चिफ अपरेटिङ अफिसर (सीओओ) मा पानु पौडेल छन् । चिफ एडमिनमा डीबी राई, चार्टर्ड एकाउन्टेन्टमा अनिल खरेल, आन्तरिक लेखापरीक्षणको प्रमुखमा सुनिश्चित मोक्तान र वरिष्ठ कार्यकारी मानव संसाधनमा मनोज अधिकारी रहेका छन् । यी सबै व्यवसायमा कुशल छन् । हिरासतमा गुरुङको बसाईं छोटो भएमा भाटभटेनीको व्यवसायमा खासै प्रभाव पर्ने छैन । तर, लम्बियो भने भाटभटेनीको दुरदशा सुरु हुनेछ ।

काठमाडौंमा ट्राफिक जाम कम, आर्थिक मन्दी र विदेश पलायन मुख्य कारण

काठमाडौं । सडकमा अत्याधिक सवारीको चाप हुने सहर हो ‘काठमाडौं’ । यस सहरमा बसोबास गर्ने प्रायः प्रत्येक नागरिक साना-ठूला सवारी साधन प्रयोग गर्छन् । देशको राजधानी समेत रहेको काठमाडौंमा सवारी साधनको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दो छ भने सावारी साधन दिन प्रतिदिन थपिँदै गएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार  २०८० को जेठसम्ममा साना/ठूला दुई तथा चार पाँग्रे सवारी करिव २ करोड ४५ लाख ९२ हजार १४५ वटा सवारी आयात भएको देखिन्छ । सबैभन्दा बढी सवारी गुड्ने शहर काठमाडाैं नै हाे । कार्यालय समयमा हमेशा काठमाडौंमा जाम हुन्छ नै । बेलाबखत हुने साँस्कृतिक कार्यक्रम तथा मेला महोत्सव, विभिन्न राजनीतिक दल तथा दबाब समूहले गर्ने आन्दोलन, प्रदर्शनी, राष्ट्रप्रमुखको सवारी कार्यक्रम हुँदा त राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ । परिणाम यात्रुहरू समयमा गन्तव्यमा पुग्न सक्दैनन् । तर, पछिल्लाे समय तपाईंको दैनिकीमा केही फरक अनुभूति भएको हुन सक्छ । पछिल्लो समय काठमाडौंमा धेरै हदसम्म जाम कम हुन थालेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले काठमाडौंमा पहिलो तुलनामा अहिले ट्राफिक जाम कम हुन थालेको बताए । उनका अनुसार सडकमा सवारीको चापमा पनि कमी आएको छ । ‘सडकमा सवारीको फ्लो धेरै छैन । जाम त हुन्छ तर धेरै कम छ’ उनले भने । काठमाडौं महानगरभित्र सडकमा पार्किङ गर्न, सडक व्यापार तथा फुटपाथ व्यापारमा गर्न नपाउने व्यवस्था भएसँगै त्यसको सकारात्मक प्रभाव परेको छ । महानगरले सार्वजनिक जग्गा मिचेर बनाएको भौतिक संरचना भत्काएर खाली गरेको, फुटपाथमा अवरोध हुने गरी बनेको संरचना हटाएको कारण पनि सडक खुला र फराकिलो बनाए पछि सडक सवारी सहज भएकाे काठमाडौं महानगरकाे दावी छ। महानगर प्रहरी प्रमुख राजु पाण्डेले सडकमा हुने अव्यवस्थित पार्किङ हटाएपछि काठमाडौंमा ट्राफिक जाम कम भएको सुनाए । उनका अनुसार काठमाडौं भित्र महानगरले १ हजार २० ठाउँमा सडक अतिक्रमण नियन्त्रण भएको छ । १६ हजार ५७० वटा अनधिकृत संरचना हटाएको पनि पाण्डेले बताए । ‘काठमाडौंभित्र पहिला फुटपाथमा व्यापार गर्ने जुन प्रवृति थियो, त्यसले पनि ट्राफिक समस्या निम्त्याएको थियो, अहिले महानगरले फुटपाथ व्यापार हटाएपछि ट्राफिक समस्यामा कमी आएको हो,’ उनले भने । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा  ट्राफिक ५ मिनेट चाँडो भएको बताएका छन् । ‘ट्राफिकको रिपोर्टको आधारमा यहि कडाइको कारणले गर्दा काठमाडौको ट्राफिक ५ मिनेट चाडो भएको छ,’ उनले भने । पछिल्लो समय राजनीतिक दल तथा दबाब समूहले सडकमा विरोध प्रदर्शन गर्ने, धर्ना दिने, र्याली कार्यक्रम आयोजना गर्ने क्रम पनि घटेको छ । अधिकांश विरोधका कार्यक्रम माइतीघर मण्डला र रत्नपार्क वाटिकामा हुने गरेको छ । त्यसले गर्दा पनि ट्राफिक जामको समस्या कम भएको प्रहरीको भनाई छ । ‘सडकमा कार्यक्रममा नहुँदा सवारी आफ्नो गतिमा चलिरहन्छ । सडकमा जाम हुन्न’, ट्राफिक प्रहरी प्रवक्ता भट्टले भने । काठमाडौं उपत्यकामा हुने सांस्कृतिक पर्व, विवाह जस्ता बढी मानिस भेला हुने कार्यक्रमहरूको कारण बेला बेलामा जाम हुने गरेको पनि उनले सुनाए । जनसंख्या नै घट्दै पढाई र रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन उच्च दरमा हुन थालेपछि काठमाडौंको जनघनत्व नै कम भएको अनुमान पनि हुन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीको लागि ६ लाख ६० हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९२ हजार १४१ जना विद्यार्थी बिदेसिएका छन् । १० महिनामा ७ लाख ५२ हजार नेपालीले देश छोडेका छन् । कन्ट्री मिटरका अनुसार नेपालमा दैनिक १ हजार ७२२ जना जन्मन्छन् । दैनिक ५३२ जनाको मृत्यु हुन्छ । सरकारी निकायका रिपोर्ट अनुसार दैनिक २ हजार ५०० भन्दा बढी मानिस बिदेसिएका छन् । यसरी हेर्दा नेपालको जनसंख्या घट्दै गएको छ । राजधानीमा त्यसको स्वाभाविक प्रभाव परेको हुन सक्ने समाजशास्त्रीहरु बताउँछन् । आर्थिक मन्दीका कारण पनि राजधानीको जनसंख्या घटेको हुनसक्ने बताइएको छ । मन्दीकै कारण करारमा कार्यरत सरकारी कर्मचारीहरूले नै राेजगारी गुमाएका छन् । बैंक तथा बीमा कम्पनीबीच मर्जरले पनि हजाराैंकाे राेजगारी गुमेकाे जानकारहरू बताउँछन् । निजी क्षेत्रले पनि मन्दी कारण देखाउँदै कर्मचारी कटाैति गरिरहेकाे समाचारहरू प्रकाशित भैरहेका छन् । आर्थिक मन्दीका कारण सहरका धेरै सटर बन्द भएका छन् । महानगरले फूटपाथको व्यापार हटाउँदा पनि ठूला संख्यामा साना व्यवसायी काठमाडौंबाट विस्थापित भएका छन् । सडक आसपासका सटर वा फल्याट वा कोटामा जहाँ तही टु लेट लेखेको देख्न सकिन्छ । यसले पनि राजधानीमा बस्ने मानिसको संख्या कम हुँदै गएको र सवारी चाप पनि कम भएको हुन सक्ने अनुमान धेरैले गरेका छन् । आर्थिक मन्दीको कारण बजारमा मानिसहरूको गतिविधि पनि कम भएको छ । कारोबार कम भएपछि मानिसहरूको मुभमेन्ट पनि कम हुन्छ । त्यसले पनि ट्राफिक जाम घटेको हुन सक्ने धेरैको बुझाइ छ । यसै गरी काठमाडौंमा जाम हुनको अर्को मुख्य कारण हो राष्ट्रपतिको सवारी । यो कारणले काठमाडौं घण्टौँ जाम हुन्थ्यो । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै उनेले कुनै पनि ठाउँमा निस्किदा काठमाडौं सडक खाली नगराउने घोषणा गरेका थिए । उनले सो घोषण गरेसँगै राजनीतिक दलका नेता तथा उच्च पधादिकारीहरु निस्कँदा कुनै पनि सडक खालि नगर्ने भएकाले पनि सर्वसाधारणले पनि जामको अनुभूति कम भएको महसुस गरेका छन् ।

सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व

काठमाडौं । ‘म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ, आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु, तामाङ सिभिल बैंकको अध्यक्ष भएपछि मलाई अध्यक्ष बनाइएको हो, म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रुपमा बसेको हुँ,’ यो सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको बयान हो । सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा प्रहरीले पक्राउ गरेपछि श्रेष्ठले दिएको बयान हो यो । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित अध्यक्ष श्रेष्ठ, तामाङकी श्रीमती सिर्जना तामाङ अहिले हिरासतमा छन् । उनीहरुमाथि बचतकर्ताको पौने ६ अर्ब रकम ठगेको आरोप छ । बचतकर्ताको रकम हिनामिना गरेपछि तामाङले आफ्नो नजिकको पात्र केशवलाई अध्यक्ष बनाए । तर, आर्थिक कारोबार आफैले हेरे । अध्यक्ष बन्न पाएँ भनेर हौसिएका केशवलाल अन्ततः हिरासतमा पुगे । यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदार शर्माको कहानी पनि त्यस्तै छ । सँगै दुई सहकारी सञ्चालन गरिरहेका शर्माले विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्था सञ्चालन गर्छन् । जसको अध्यक्ष उनी आफै छन् । तर, दुइटै संस्थाको अध्यक्ष बन्न नपाइने भएपछि उनले शिवशिखरको अध्यक्षको जिम्मेवारी सुशिल बानियाँलाई दिए । बानियाँ सहकारीको कर्मचारी थिए । उनलाई अध्यक्षको जिम्मेवारी दिइयो । शर्माले शिवशिखर सहकारीको आर्थिक कारोबारको साँचो भने आफ्नै हातमा राखे । सहकारीका बचतकर्ताको बचत मनलाग्दी किसिमले आफ्नो तीन दर्जन बढी कम्पनीहरुमा लगानी गरे । बचतकर्ताको १४ अर्ब बचत घरजग्गा र व्यक्तिगत कम्पनीमा गरेपछि अन्ततः त्यो क्षेत्रमा समस्या सिर्जना भयो । र, त्यसको असर सहकारीमा पर्यो । बचतकर्ताले बचत फिर्ताको लागि आग्रह गरेपनि सहकारीले फिर्ता गर्न सकेन । एकपछि अर्को बचतकर्ताहरु सहकारीमा पुग्न थालेपछि धमाधम सेवा केन्द्रहरु बन्द भए । बचत फिर्ता गर्न नसकेपछि उनी भाग्न विवश भए । अहिले शिवशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको छ । सिआईबीका अनुसार सहकारीका सञ्चालकहरुले बचतकर्ताको १४ अर्ब बढी रुपैयाँ हिनामिना गरेका छन् । ‘हामीले शिवशिखरको घटनालाई चरणवद्ध रुपमा अनुसन्धान गरिरहेका छौं, पहिलो चरणमा भक्तपुरको निक्षेपकर्ताको मात्रै जाहेरी दर्ता गरेर अनुसन्धान गर्यौं, त्यो अनुसन्धानबाट साढे ६६ करोड रुपैयाँ बिगो दाबीसहित सरकारी वकिल कार्यालयमा बुझाएका छौँ, अझैं पनि अनुसन्धान भइरहेको छ,’ सिआईबीका प्रवक्ता संजयसिंह थापाले भने । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिवशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पक्राउ गरिसकेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा पनि छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षबाट बाहिरिएर डा. बलराम पाठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए विकास थापालाई । अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् । बैंकको अध्यक्ष बनेपनि उनले सहकारीको अध्यक्ष भने छोडेका छैनन् । सहकारीको साँचो आफ्नो हातमा राखेर उनले आफ्नो स्वार्थको निर्णय सहकारीमा गराउँदा गतिशिल अहिले अगतिशिल सहकारी बनेको छ । पाठकले बचतकर्ताको रकम दुरुपयोग गरेर सहकारी समस्यामा परेको बचकर्ताहरुको आरोप छ । उनले बचकर्ताको सबै रकम घरजग्गामा लगानी गरेको बुझिएको छ । समस्याबाट उम्किन उनले सहकारी छोडेर बैंकमा सिफ्ट भएको बताइन्छ । यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पनि रमिता नै छ । सहकारीको सबै काम गर्ने व्यक्ति सुरेन्द्र भण्डारी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका छन् । उनले अमरदास श्रेष्ठलाई अध्यक्ष बनाएका छन् । तर, सहकारीको सम्पूर्ण आर्थिक कारोबारको काम भने भण्डारीले नै गर्ने गरेको बुझिएको छ । यस्तै, समस्या सिर्जना भएको अर्को सहकारी हो सुमेरु बचत तथा ऋण सहकारी संस्था । जसको अध्यक्ष थिए भरत महर्जन । उनले बचतकर्ताको रकम दुरुपयोग गरेर बचत फिर्ता दिन सक्ने अवस्था नभएपछि महासचिव हेमराज दाहाललाई अध्यक्ष बनाएका छन् । हाल महर्जन विदेशमा रहेको बुझिएको छ । महर्जनले सहकारीबाट उठेको बचत हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी गरेको बुझिएको छ । यी सबै सहकारी क्षेत्रका चर्चित पात्रहरु हुन् । सहकारीका बचतकर्ताको रकम घरजग्गा तथा आफ्नो निजी कम्पनीमा लगानी गरेर अहिले ती क्षेत्रमा समस्या आएपछि सहकारीका सञ्चालकहरुले बचत फिर्ता दिन सकेका छैनन् । यस्ता सहकारी सयौं छन् । अहिले अधिकांश सहकारीमा समस्या सिर्जना भएपछि समस्याबाट भाग्ने जुक्ति गर्दै निकट व्यक्तिलाई अध्यक्ष बनाएर पन्छिन खोजेको देखिन्छ । यस्तै, अभ्यास बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा पनि देखियो । सहकारीको बचत हिनामिना गरेपछि संस्थाका अध्यक्ष देवकुमार नेपालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी डोरबहादुर परियारलाई दिए । ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका उनले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेपछि अहिले उनी सम्पर्कविहीन छन् । धेरैले उनलाई अर्बपति मेयर भनेर पनि चिन्छन् । सहकारीको बचत मनोमानी ढंगले दुरुपयोग गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध बचतकर्ताहरूको अर्बाैँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई पत्राचार गरिसकेको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर रातारात अर्बपति भएका सञ्चालकहरु अहिले धमाधम कानुनी कठघरामा आइरहेका छन् । अधिकांश सञ्चालकहरु फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । सहकारी विभागका एक जना पूर्व रजिष्ट्रारले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘सहकारीहरु यसको मूल्य मान्यता र सिद्धान्त अनुरुप सञ्चालन भएको देखिँदैन, जसले धेरै कमाएर अर्बपति बन्छु, घरघडेर जोड्छु भनेर योजना बनाउँछ, उसले सहकारीमा लगानी गरेको देखिन्छ, जबसम्म त्यस्ता मानसिकताका मान्छेहरु यो क्षेत्रबाट बाहिरिँदैनन्, तबसम्म सहकारी क्षेत्रमा सुधार हुन गाह्रो छ, केही सहकारीहरुले राम्रो काम गरेको भएपनि अधिकांश भने कसरी कमाउने भन्ने तर्फ जोड दिइरहेको देखिन्छ ।’ सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अध्यक्षले नियतवस रुपमा जिम्मेवारी दिएपनि अध्यक्ष बन्न चाहने मान्छेले भने त्यो विषय बुझ्नु पर्ने बताए । उनले गल्ति पूर्व अध्यक्षले गरेको भएपनि त्यसको भागेदार वर्तमान अध्यक्ष पनि हुने धारणा राखे । ‘हामीले अहिले सहकारीलाई कारवाही गर्ने, नियमन गर्ने काम बढाइरहेका छौं, सहकारीमा समस्या आयो भने उनीहरु सञ्चालकबाट बाहिरिएर फरार हुने, सम्पर्कमा नआउने प्रवृति बढ्दो छ, उनीहरु सम्पर्कमा नआएपछि हामीले सिआईवीमार्फत् मुद्दा चलाउँछौ, बचतकर्ताले ढिलो चाँडो बचत फिर्ता पाउँछन्,’ उनले भने । उनले अधिकांश सहकारीमा अध्यक्षहरुको नियत नै गलत देखिएको बताए । उनका अनुसार अध्यक्षले अन्य सञ्चालकलाई गुमराहमा राखेर बचतको रकम हिनामिना गर्ने गरेको बताए । सहकारी ऐनको दफा ४१ को उपदफा ७ को ‘क’मा सञ्चालक समितिको अवधि चार वर्ष हुने उल्लेख भएपनि एउटै व्यक्तिले वर्षौं वर्षसम्म अध्यक्ष बनेको पनि देखिन्छ । सहकारी ऐनको दफा ४५ मा सञ्चालकबाट हटाउन सक्ने प्रावधान छ । तर, सहकारीका अध्यक्षलाई पदबाट हटाउने ल्याकत सदस्यहरुले राख्दैनन् । सोही दफाको उपदफा १ को ‘क’ मा आर्थिक हिनामिना गरी सम्बन्धि संस्थामा हानी पुर्याएमा हटाउन सक्ने व्यवस्था छ । तर, अध्यक्षहरुले सहकारीलाई समस्यामा पारेर आफ्नो निकटको र आफुले भनेको व्यक्तिलाई अध्यक्ष बनाएर आफु बाहिरिने प्रवृति बढ्दो छ । सम्बन्धित सामग्री :   जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो