बैंकिङमा ‘बोल्ड’ बज्राचार्य : कडा स्वभाव, तत्काल निर्णय
काठमाडौं । बैंकिङ क्षेत्रमा अधिकांशले सुनेको, बुझेको र प्रेरणाकोरूपमा लिने नाम हो रत्नराज बज्राचार्य । उमेरको उत्तरार्धमा पनि आफूलाई सक्रिय बनाएर सफल बैंकरको छवि बनाएका बैंकर बज्राचार्य हाल ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिरहेका छन् । पाँच दशक बढी बैंकिङ अनुभव भएका सीईओ बज्राचार्यको अहिलेसम्मको सक्रियता र कामप्रतिको इमानदारिताले धेरैलाई उत्प्रेरणा र उर्जा मिल्छ । यो परिचर्चा, प्रशंसा र प्रख्यातिभित्र ठूलो परिश्रम लुकेको छ । ललितपुरको एउटा सामान्य परिवारमा जन्मेका रत्नराजले कलेजको पढाईसँगै काम पनि गर्न थाले । जहाँ उनले जागिर गर्ने योजना बनाए, त्यहाँ उनी सफल पनि बने । त्यसको एउटा कारण थियो, उनको संघर्ष । भनिन्छ नि- ‘जिन्दगीको यात्रामा जसले आफूलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ, उसले नै नयाँ सफलता हासिल गर्छ ।’ हो, त्यो सफलताको स्वाद रत्नराज बज्राचार्यले चाखेका छन् । विद्यार्थी जीवनमा पढ्दै गर्दाका ती संघर्षपूर्ण दिनहरू हुन् वा जागिरे जिन्दगीमा पनि बढुवाका लागि गरेको परिश्रम नै किन नहोस्, उनको मानसपटलमा सधैं अतित घुमिरहन्छ । उनका बुबा ललितपुरको मंगलबजारमै सानो व्यापार गर्थे । तर, त्यतिबेला पनि स्कूलमा खाजा खाने पैसाको पनि अभाव भएको स्मृति उनको मानसपटलमा अझै पनि ताजै छ । ‘बुबा पसलमा जाँदा घरव्यवहार चलाउन आमालाई दैनिक तीन मोहोर दाम दिएर जानुहुन्थ्यो, म पाटनढोका क्याम्पसमा पढ्थेँ, क्याम्पसमा चिया खान मन लाग्थ्यो, पैसा हुन्थेन, आमासँग माग्दा दिनु हुन्थेन,’ विद्यार्थी जीवन स्मरण गर्दै उनले भने, ‘पैसा कमाउन भएपनि काम गर्नुपर्छ भन्ने पाठ त्यहाँबाट पनि सिकेँ ।’ उनले एसएलसी (हालको एसईई) पास हुने बित्तिकै काम सुरु गरे । पहिलो जागिर उनले पुनर्वास कम्पनीमा गरे । तलब थियो १५० रुपैयाँ । कम्पनीले उनलाई नेपालगञ्जमा खटायो । उनी भन्छन्, ‘जीवनमा पहिलो पटक जहाज पनि त्यतिबेला नै चढें ।’ उनी नेपालगञ्जमा ६ महिना काम गरेर काठमाडौं फर्किए । रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ । उनको इच्छा थियो पढ्ने । काठमाडौं आएर आइकममा भर्ना भए । त्यसपछि पुनः जागिर गर्ने सोच पलायो । कृषि विकास बैंकमा लेखापालमा नाम निकाले । तलब थियो २५० रुपैयाँ । बैंकले गौर पठायो । त्यहाँ पनि उनले ५/६ महिना काम गरे । उनले आइकम पास गरिसकेका थिए । थप पढ्नुपर्छ भन्ने योजना उनले बनाइसकेका थिए । उनले बैंकलाई काठमाडौं सरुवा मागेका थिए । काठमाडौं सरुवा नदिएपछि उनले कृषि विकास बैंक नै छाडे । उनले अब बिकमको पढाइसँगै जागिर गर्ने योजना बनाए । राष्ट्र बैंकमा आवेदन माग गरिएको थियो । आवेदन दिए । नाम निकाले । उनले वि.सं. २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनका संघर्षका यात्राहरू जारी थिए । सुरुमा थापाथलीको कार्यालयमा जागिर गरेका उनले पछि बढुवा भएर हेड असिस्टेन्ट भएपछि बालुवाटार कार्यालयमा पुगे । त्यसपछि उनका दिनहरू थप संघर्षपूर्ण बन्दै गए । एमकम पढ्नु पर्ने थियो शंकरदेव कलेजमा । अफिस बालुवाटारमा । पछि कलेजले कीर्तिपुरमा क्लास सारेपछि उनलाई थप गाह्रो भयो । पढाइ र कामलाई सँगसँगै अगाडि बढाउनु पर्ने चुनौती थपियो । उनले अब नियमित कक्षा नलिने निणर्य गरे । ती दिनहरू स्मरण गर्दै उनले भने, ‘मलाई काम पनि गर्नु थियो, दिउँसो अफिस सकेर कीर्तिपुरमा पढ्न जान सक्ने अवस्था थिएन, त्यसपछि मैले सरसँग म नियमित कक्षामा आउन सक्दिनँ, क्लास टेस्टमा मात्रै आउँछु, हाजिर मिलाई दिनुहोला भनेर आग्रह गरें, सरले पनि मेरो आग्रहलाई स्वीकार गर्नुभयो ।’ त्यसपछि उनको नियमित कक्षा छुट्न थाल्यो । दिउँसो अफिसको काम भ्याएर साँझ शंकरदेवको लाइब्रेरीमा पुगेर पढ्नु उनको दैनिकी बन्यो । उनले एमकम पनि पास गरे । त्यतिखेर राष्ट्र बैंकका डेपुटी गभर्नर थिए केशबनाथ शर्मा । नेपाल राष्ट्र बैंकलाई त्यतिखेर चार्टर्ड एकाउन्टेन्ट (सीए)को आवश्यकता थियो । सोही कारण राष्ट्र बैंकले सीए पढ्न चाहनेलाई खर्चको व्यवस्था गरेर भारत पठाउँथ्यो । उनै डेपुटी गभर्नर शर्माले रत्नराजलाई पनि सीए पढ्न आग्रह गरे । अब रत्नराजले सीए पढ्न भारततर्फ लाग्नु पर्ने भयो । ‘मलाई राष्ट्र बैंकले नै सीए बनाएको हो, म राष्ट्र बैंकको हेड असिस्टेन्ट हुँदा नै सीए पढ्न गएँ, त्यसबेला राष्ट्र बैंकले प्राविधिक जनशक्ति बढाउनका लागि आफैंले सीए उत्पादन गर्नु पर्यो भनेर सीए पढाउँथ्यो,’ उनी भन्छन्, ‘म त्यतिखेर २३ नम्बरको सीए थिएँ ।’ उनीसँग अब एमकमसँगै सीएको योग्यता पनि भयो । राष्ट्र बैंकले विभिन्न जिम्मेवारी दिन थाल्यो । राष्ट्र बैंकमै हुँदा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत उनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एकाउन्टिङ रेकर्ड सुधारको जिम्मेवारी पाए । त्यसले पनि उनलाई थप परिपक्व बनायो । अब उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए । यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए । त्यसपछि निजी क्षेत्रमा प्रवेश २० वर्ष केन्द्रिय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । त्यतिखेर सबैभन्दा बढी चलेको कन्सल्टेन्सी नै आफ्नो रहेको उनी दावी गर्छन् । केन्द्रिय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी अब निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । त्यो प्रवेशको परिस्थिति पनि गज्जबको छ । तत्कालीन नेपाल बंगलादेश बैंक ‘बैंक रन’को अवस्थामा थियो । बजारमा नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ‘टेकओभर’ गर्ने हल्ला थियो । त्यहीबेला नेपाल बंगलादेश बैंकको बोर्डले उनलाई सीईओका लागि प्रस्ताव गरेको थियो । उनले सहमति जनाएर बैंकको बोर्डले माइन्युट पनि गरिसकेको थियो । उनी सोही समयमा विदेशको एउटा कार्यक्रममा गए । विदेशबाट फर्केपछि काम सुरु गर्ने दुवै पक्षबीच सहमति भइसकेको थियो । त्यहीबीचमा एनबी बैंकको नेतृत्व गर्न तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट नरेन्द्र भट्टराई गए । सो सुझाव उनै रत्नराजको थियो । त्यतिबेला नै राष्ट्र बैंकले एनबी बैंकलाई टेकओभर गर्यो । अब उनी एनबी बैंकमा होइन एनसीसी बैंकको नेतृत्व गर्ने भए । तत्कालीन एनबी बैंक र एनसीसी बैंक एउटै व्यवसायिक घरानाको थियो । त्यसैले पनि सो विषय सम्भव भएको रत्नराज बताउँछन् । राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको एनसीसी बैंकको सीईओ बने । जतिखेर एनसीसी बैंक पनि ठूलो समस्यामा थियो । ‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले भने । कडा स्वभाव रत्नराजको पहिचानको एउटा पहिचान हो । लिएको जिम्मेवारी पूरा गरेरै छाड्ने उनको अर्को खुबी हो । विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो । उनले एनसीसीमा चार वर्षको कार्यकाल सफलताका साथ पुरा गरे । एनसीसी बैंकमा काम गर्दा धेरै कुरा सिकेको उनी बताउँछन् । एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रमक बन्यो । ‘मेरो कार्यकालदेखि ग्लोबल आइएमई बैंकमा मर्जर एक्विजिसनको नीति अगाडि सारेका हौं, क्रस होल्डिङका अधिकांश संस्था बैंकमा गाभिए, बैंकले ग्रो नै गर्ने हो भने मर्जर आवश्यक भएको भन्दै बैंकले मर्जरको नीति अघि सार्यो, ग्लोबलमा मेरो सफलता भनेको कर्मचारीबीच सिनर्जी उत्पन्न गर्ने र मर्जर गराउने नै हो,’ उनले भने । अर्को महत्वपूर्ण विषय भनेको त्यतिखेर २ अर्ब पुँजी रहेको ग्लोबल आइएमई बैंकले हकप्रदबिनै मर्जर गराएर ८ अर्बको पुँजी पुर्यायो । सेयरधनीले पैसा थप्नु परेन । हालसम्म करिब दुई दर्जन बढी संस्थाहरू ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् । जसको नेतृत्व उनै रत्नराजले गरे । उनले ग्लोबल आइएमई बैंकमा सीईओको ४ वर्षे कार्यकाल पुरा गरे । बैंकलाई एउटा उचाइ पनि दिए । त्यसपछि उनी सो बैंकबाट पनि बाहिरिए । त्यसपछि उनी सम्हाल्न पुगे तत्कालीन सनराइज बैंकको नेतृत्व । ‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु गर्यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले भने । सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी अहिले पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ । ‘म सीईओ बन्दै गर्दा संस्था कसरी चलिरहेको छ र कुन फाउन्डेसनमा चलिरहेको छ भनेर बुझ्छु, त्यसमा विश्वास पनि गर्छु, विस्तारै कर्मचारीहरूको काममा कुनै डिस्टर्ब नगरेर परिस्कृत गराउनका लागि रणनीतिक योजना अघि सार्छु, म व्यक्तिको स्वार्थभन्दा पनि संस्थालाई सेन्टरमा राखेर काम गर्छु,’ आफ्नो काम गर्ने स्वभाव सुनाउँदै बज्राचार्यले भने । कस्तो हुनुपर्छ व्यवस्थापक ? हुन त आफूसँग धेरै खुबी नभएको बताउँछन् उनी । तर, आफूले गर्ने काम, कर्मचारी र संस्थाको विषयमा भने पूणर्रूपमा जानकार हुने बताउँछन् । ‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा जानकार हुनु पर्यो, त्यो बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ, ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो,’ उनी भन्छन्, ‘कर्मचारीको कामबाट आफू सफल हुने हो ।’ उनको बुझाइमा एउटा अब्बल व्यवस्थापकमा दुइटा विषयको ज्ञान हुन आवश्यक छ । एउटा, कर्मचारीहरूलाई प्राविधिक ज्ञान सिकाउने, त्यो सकिन्न भने त्यो ज्ञान सिकाउने मान्छेलाई हायर गर्ने, संस्थाको व्यवस्थापकलाई यो कुरा अतिआवश्यक रहेको उनको भनाइ छ । व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सकेन भनेपनि संस्थाले प्रभावकारीरूपमा पफर्मेन्स नपाउने उनको भनाइ छ । ‘हरेक समस्याको समाधान हुन्छ, समाधान कसरी गर्ने त्यसमा म आफूलाई विश्वास गर्छु, त्यो क्षमता पनि छ जस्तो लाग्छ, कुनै समस्याको समाधान नहुन पनि सक्छ, समाधान नभएको समस्या नै होइन,’ उनी भन्छन्, ‘त्यो समस्या हो भन्दै टाउको नै दुखाउनु हुँदैन ।’ आफू कामको दबाबले टेन्सन लिने व्यवहारको मान्छे नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘म टेन्सनमा बस्न कम रूचाउँछु, टेन्सनमा बसेर काम गर्नु हुँदैन ।’ लामो समय राष्ट्र बैंकमा काम गरेका उनको अनुभवले आफूलाई ‘क्विक’ र ‘बोल्ड डिसिजन’ गर्न सिकाएको उनी बताउँछन् । ‘म सीईओ भएर काम गरेको संस्थामा सकेसम्म राम्रो काम गरें जस्तो लाग्छ, संस्थालाई अब्बल बनाउनका लागि पनि आत्मविश्वास चाहिन्छ,’ उनले भने । उनका अनुसार एउटा व्यवस्थापकले सकेसम्म संस्थालाई बढी समय दिन सक्नुपर्छ । उनी अहिले बिहान ९ बजे अफिस पुगेर साँझ ८ बजे घर फर्किन्छन् । ‘हुन त मेरो संस्थामा म नभए पनि केही हुन्न भन्नेमा म विश्वास गर्छु, म जहाँ गएपनि टीमसँग सम्कर्पमा हुन्छु, सकेसम्म टीमलाई क्विक डिसिजन दिन रूचाउँछु,’ उनी भन्छन्, ‘आफूसँगै टीमलाई पनि ग्रो गर्दै जानु नै सफल व्यवस्थापकको कला हो ।’ सफल नेतृत्वकर्ता र व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने उनको भनाइ छ । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर म पर्खिदिनँ, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, म त्यस्तो गर्दिनँ, तपाईंले कुनै बिजनेस डिसिजन लिनु भयो भने भोलि गर्छु भनेर सोच्नु हुँदैन, सकेसम्म आजै गर्नुस्,’ उनी भन्छन्, ‘म टीमका साथीहरूलाई पनि यही सल्लाह दिन्छु ।’ तपाईंको डिसिजन गर्ने आधार के हो ? जुन आधारमा डिसिजन लिने हो त्यसको प्यारामिटरहरू मूल्यांकन गर्नुपर्ने उनको धारणा छ । उनीसँग अहिलेसम्म कुनै डिसिजन भोलिका लागि गर्छु भनेर राखेको अनुभव छैन । आजको काम आजै गर्ने बानी रत्नराजको छ । रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ । ‘मैले अहिले बैंकमा ५० करोड रुपैयाँसम्मको कर्जाको फाइल सदर गर्छु, त्योभन्दा माथिको बोर्डले हेर्छ, बोर्डले त्यसमा सीईओ कन्फिडेन्स पनि हेर्छ, उहाँहरुको पनि आफ्नै किसिमको विज्ञता हुन्छ । ऋण प्रवाह हुन लागेको क्षेत्रको अवसर र जोखिमका विषयमा उहाँहरुले निणर्य गर्नुहुन्छ, कर्जा दिने संस्थाको प्रमोटर पनि हेरिन्छ, प्रमोटरको सस्टेनाविलिटी पनि हेर्ने हो, सोही आधारमा निर्णय लिने हो,’ उनले भने । बोर्डको अपेक्षाअनुसार काम नहुँदा, प्रभावकारी सेवा प्रवाह नहुँदा एकअर्काबीच आक्षेप हुन सक्छ । नियामकले पनि प्रश्न गर्न सक्छ । सेवाग्राहीले पनि गुनासो गर्छन् । सबै ठाउँबाट गुनासो आएपछि सीईओ बिचमै बाहिर जानु पर्ने बाध्य हुन सक्छ, एउटा असल व्यवस्थापकले ग्राहक, बोर्ड, कर्मचारी र नियामकसँगको सम्बन्ध पनि समधुर पार्नुपर्छ, आएको प्रश्नलाई ‘ट्याकल’ गर्न सक्नुपर्छ । शिक्षालयभन्दा कार्यालयमा बढी सिकिने रत्नराजको अनुभव छ । ‘डिसिजन मेकिङ क्षमता कसरी लिने भन्ने कुरा शिक्षालयबाट सिकिन्छ । तर, कार्यालयले कस्तो निणर्य लिने, के लिने भन्ने विषय सिकाउँछ,’ उनले भने । विश्वासिला बैंकर, तितो अनुभव नेपाली बैंकिङ क्षेत्रमा रत्नराज बज्राचार्यको विषयमा आलोचना गर्नेहरू सायदै भेटिएलान् । बैंकिङ करिअरमा जसरी रत्नराजले सफलता प्राप्त गरेका छन्, ती भन्दा धेरै तितामिठा अनुभवहरूको स्वाद पनि चाखेका छन् । उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे । ‘बैंकको बोर्ड र व्यवस्थापकको चाहना संस्थामा राम्रो नै गरौं भन्ने हुन्छ, सोच र काम गर्ने कल्चर नै तपाईंको एसेट हो, दिएको टार्गेट पुरा नगरेर पनि कतिपयले बिचमै काम छोड्छन्, कहिलेकाहीँ सोचेअनुसार काम नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘त्यसमा बोर्डले पनि बुझ्नुपर्छ, व्यवस्थापकले बुझाउन सक्नुपर्छ ।’ आफ्नो इमानदारिता नै सम्पत्ति भएको उनको धारणा छ । काम गर्दै गर्दा कहिले काहीँ असफल भइन्छ । भनिन्छ नि- ‘घोडा चढ्ने लड्छ ।’ हो, त्यो लडाइको अनुभव पनि रत्नराजले नराम्रोसँग गरेका छन् । हुनत बैंकको कर्जा डुब्ने भन्ने हुँदैन । बैंकले कर्जा दिँदा धितो पनि राखेको हुन्छ । तर, कहिले काहीँ यस्तो केस आउँछ, जसले बैंकको बोर्ड र व्यवस्थापकको पनि टाउको दुखाउँछ । एउटा यस्तै उदाहरण रत्नराजले सुनाए,- ‘नेपालमा लगानी रहेको भारतीय एउटा कम्पनीलाई बैंकले ऋण दिएको थियो, सो कम्पनीले सेजमा उद्योग चलाइरहेको थियो, केही समयपछि १०/१५ दिन कम्पनीले उद्योग बन्द गर्यो, श्रमिकलाई पनि भित्र प्रवेश गर्न दिइएन, पछि हामीले प्रहरीको रोहबरमा ताला फुटाएर हेर्दा भित्र कुनै सामान थिएन, ऊ नेपालबाट भागिसकेको रहेछ, सामान सबै भारत लगिसकेको रहेछ, त्यो ऋण असुल गर्न पछि ठूलो संघर्ष गर्नुपर्यो, त्यो व्यक्तिलाई इन्टरपोल पनि गर्यौं । तर, पक्राउ परेन ।’ यस्ता घटनाहरूले बैंकरलाई नमिठो पाठ सिकाउँछ । नेपालमा कर्जा असुलीको लामो प्रक्रियाले केही समस्या हुने गरेको उनको अनुभव छ । बैंकबाट कर्जा लिएर नतिर्नेहरूको धितो लिलाम गर्न खोज्दा पछि नातेदारबाट हक दाबी गराउने प्रवृतिप्रति उनी असन्तुष्टि व्यक्त गर्छन् । ‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ । कर्मचारीको कामबाट आफू सफल हुने हो । ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो ।’ उनी नेपाली बैंकिङ क्षेत्रबाट अन्य क्षेत्रले पनि धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राख्छन् । ‘वित्तीय क्षेत्रमा अनुशासन, पारदर्शिता र कर्पोरेट गभर्नेन्स छ, यसमा राष्ट्र बैंकको भूमिका पनि महत्वपूणर् छ, स्वतन्त्ररूपमा व्यवस्थापकलाई जिम्मेवारी दियो भने साँच्चिकै सुधार हुन्छ,’ उनी भन्छन्, ‘बैंकमा आफ्नै इन्टरनल कन्ट्रोल सिस्टम र इन्टरनल अडिट पनि हुन्छ, यो सबै क्षेत्रमा हुन आवश्यक छ ।’ ४०० प्रतिशत लाभांश नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चर्चाको विषय नाफा र लाभांश बन्छ । अझ कुन संस्थामा कसले नेतृत्व गरिरहेको छ । र, संस्थाको ब्यालेन्सिट कस्तो छ भन्ने विषयले पनि पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । ग्लोबल आइएमई बैंक स्थापना भएको १७ वर्ष भयो । यो अवधिमा बैंकको सेयरधनीले हालेको पुँजीका आधारमा ४०० प्रतिशत लाभांश वितरण गरिसकेको सीईओ बज्राचार्य बताउँछन् । ग्लोबल आइएमई बैंकले सुरुको दुई/तीन वर्ष बाहेक नियमित लाभांश वितरण गरिरहेको छ । यो अवधिमा औसत २० प्रतिशत लाभांश सेयरधनीले पाइरहेका छन् । बैंकको सुरुको २ अर्बको पुँजीलाई आधार मान्ने हो भने बैंकले सेयरधनीलाई १० वर्षमा ४०० प्रतिशत लाभांश दिइसकेको छ, यो नराम्रो होइन, बिओके मर्जर भइसकेपछि बिजनेसको रिजल्ट देखाउन बाँकी छ,’ सीईओ बज्राचार्य भन्छन्, ‘यो वर्ष पनि २० प्रतिशतको हाराहारीमा लाभांश दिन सक्ने अवस्थामा छौं ।’ सुरुमा २ अर्ब पुँजी हालेदेखि बैंकका सेयरधनीले अहिलेसम्म पुँजी थप्नु परेको छैन । बैंकले मर्जर तथा प्राप्ति गरेर नै पुँजी बढाइरहेको छ । त्यसरी नै अहिले देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्बको हाराहारीमा नाफा गर्ने देखिएपनि बढी प्रोभिजन गर्नु परेको कारण नाफा केही कम भएको उनको भनाइ छ । ‘अब यो वर्ष २० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छौं, सोही किसिमले काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘संसारको कुनै पनि बैंकलाई २० प्रतिशतभन्दा बढी लाभांश दिन गाह्रो नै हुन्छ ।’ ग्लोबल आइएमई बैंक सम्पत्तिको हिसाबले मात्रै ठूलो नभई सरकारलाई बढी कर दाखिला गर्ने बैंकको रूपमा समेत नम्बर वान बन्नु आफैंमा गर्वको विषय रहेको उनको भनाइ छ । ‘अहिले ग्लोबल आइएमई बैंकको ४५ लाख ग्राहक छन्, सेवाको गुणस्तरको विषयमा सर्वेक्षण गर्ने तयारीमा छौं, सेवाको हिसाबमा पनि बैंकलाई नम्बर वान बनाउने योजना छ,’ उनले भने । सीईओ बज्राचार्य आफूभन्दा टीमको विषयमा बढी सोच्ने गरेको बताउँछन् । नेपाली बैंकिङ क्षेत्रका अनुभवी बैंकरको छबि बनाएका उनको पारिश्रमिकको विषयमा पनि धेरैको चासो हुन्छ । तर, उनी आफू तलबको लागि काम नगर्ने धारणा राख्छन् । ‘मलाई तलब कम भयो भनेर कहिल्यै टेन्सन हुँदैन, मेरो तलब बढाउनुपर्छ भनेर बोर्डले महसुस नगरेको पनि होइन । तर, मैले सबैको बढाएपछि मात्रै बढाउनु अहिले बढाउनु पर्दैन भनेपछि मेरो तलब पनि बढेन, सबै साथीहरु सँगै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो,’ उनी थप्छन्, ‘मेरो तलब कम छ भनेर म कहिल्यै सोच्दिनँ, असल व्यवस्थापकका लागि तलब गौण विषय हो ।’ घुमघामका सोखी सीईओ रत्नराज बज्राचार्यलाई विभिन्न ठाउँमा घुम्नु आदत नै बनिसकेको छ । उनका अनुसार उनी हालसम्म नेपालको अधिकांश जिल्ला घुमिसकेका छन् भने विभिन्न ७५ वटा देशमा भ्रमण गरिसकेका छन् । उनी वर्षको एक पटक विभिन्न देशमा घुम्नका लागि पुगेकै हुन्छन् । बैंकको फोर्स विदाको समयमा उनको घुम्ने सेड्युअल बन्छ । केही वर्षअघि उनीसँग घुम्ने उनको जीवन साथी हुन्थिन् । तर, पछिल्लो समय श्रीमतीको स्वास्थ्यको कारण उनी एक्लै घुम्ने गरेको बताउँछन् । ‘मेरो व्यक्तित्व निर्माणमा श्रीमतीको भूमिका महत्वपूणर् छ,’ उनी भन्छन्, ‘अहिलेसम्म उनलाई मैले रिसाएको देखाएको छैन ।’ रत्नराज घरको जेठो छोरा हुन् । उनको चार दाजुभाइ र दुई दिदीबहिनी छन् । त्यो समयमा पनि प्रेम विवाह गरेका उनले एमकम पास गरेपछि विवाह गरे । रत्नराज आफूले बैंकर नै बन्छु भनेर पढेको भन्दा पनि असल मान्छे बन्छु भनेर पढेको धारणा राख्छन् ।
…त्यसपछि बने गोल्ड मेडल पाएकै विषयको विभागीय प्रमुख
काठमाडौं । जब कक्षा ५ मा उनी जिल्ला टपर भए, १०५ रुपैयाँ पुरस्कार पाए । यो पुरस्कारले उनको जीवनमा ठूलो प्रभाव पार्यो । त्यसपछि उनले अझ बुझेर पढ्न थाले । उनी जहिले कक्षामा प्रथम हुन्थे । उनको प्रथम हुने क्रम कहिल्यै रोकिएन । पाँच कक्षामा जिल्ला टप गरेका उनी वि.सं. २०६८ सालमा स्नातकोत्तर तहमा द्वन्द्व, शान्ति र विकास विषयमा पनि टप गरे । र, भए त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिस्ट । अहिले उनी त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको प्रमुखकारूपमा काम गरिरहेका छन् । उनी अर्थात् पीताम्बर भण्डारी । उनको घर तनहुँ हो । उनले कक्षा ५ सम्म गाउँकै विद्यालयमा पढे । ४ कक्षा पढ्दा एबीसीडी लेख्न सुरु गरे । सरकारी विद्यालयमा त उनलाई गाह्रो परेन । जब उनी सदरमुकाम बसेर निजी विद्यालयमा पढ्न थाले त्यसपछि उनलाई समस्या भयो । पहिलो दिन विद्यालय जाँदा उनलाई साथीहरुले अंग्रेजीमा सोधे, उनलाई बुझ्नै गाह्रो हुन्थ्यो । ती दिनहरू स्मरण गर्दै पीताम्बरले भने, ‘एबीसीडी लेख्न नजान्ने मान्छे कहाँ बोल्न सक्थें, साथीहरूले जेभन्दा पनि म टाउकोमात्र हल्लाएर जवाफ दिन्थें ।’ पीताम्बरले ५ कक्षादेखि १० कक्षासम्म दमौलीमा रहेको कन्काइ आवासीय माविमा पढे । सोही स्कुलबाट उनले एसएलसी (हालको एसईई) दिए । एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याए । एसएलसी पास गरिसकेपछि पीताम्बरको यात्रा काठमाडौंतर्फ लाग्यो । काठमाडौं आएर नेपाल साइन्स क्याम्पसमा विज्ञान पढ्न सुरु गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजबाट बीएस्सी सके । आइएस्सी साइन्स क्याम्पस, बीएस्सी त्रिचन्द्र कलेजबाट गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषय लिएर पढे । अन्ततः उनी २०६८ सालमा द्वन्द्व, शान्ति र विकास विषयबाट गोल्ड मेडल हात पार्न सफल भए । डाक्टर बन्न दबाब पीताम्बरका तीन जना दाजुभाइ र एक दिदी छन् । उनीहरू सबै पढेलेखेका छन् । उनका बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान थियो । बुबा आफैं पनि भारतको बनारसमा पढेर गाउँमै शिक्षण पेशामा आवद्ध थिए । ‘बुबा जहिले बिहानै उठ्नुहुन्थ्यो, मैले बुबालाई देखेर नै पढ्नुपर्छ भन्ने लागेको हो, बुबाले पनि हामीलाई पढ्नुपर्छ भन्नुहुन्थ्यो, त्यही भएर पनि हुनुपर्छ हामी सबै भाइबहिनी पढाइमा ध्यान दिन्थ्यौं,’ पीताम्बरले पढाइको पारिवारिक माहोल सुनाउँदै भने । पीताम्बरले आइएस्सी सकेपछि एमबीबीएस पढ्नुपर्छ भन्ने दबाब घरबाट थियो । उनले थपे, ‘दाइ र बुबालाई म डाक्टर भएको हेर्न मन थियो । तर, मलाई फिटिक्कै थिएन, म स्कुल पढ्दै सामाजिक विषयतिर ढल्किसकेको थिएँ ।’ डाक्टर बन्नुपर्ने दबाबपछि मन नलगाइ भएपनि एक/दुई ठाउँ परीक्षा दिए । तर, उनको नाम निस्केन । उनले भने, ‘नोट नबनाउने, घोकेर नपढ्ने बानीले यहाँ आएर असर गर्यो, परिवारको इच्छा डाक्टर, मेरो इच्छा समाजशास्त्रतिर, तालमेल मिलेन ।’ उनलाई आलेख लेख्न मन पर्थ्याे । कक्षा १० मा पढ्दै गर्दा जिल्लामा रहेका पत्रिकामा राजनीतिक स्तम्भमा विचार लेख्थे । रेडियो सुन्ने र पत्रिका पढ्ने बानी उनको धेरै थियो । त्यो बेला निस्कने मुना पत्रिका नछुटाएर पढ्थे । ‘पाठ्यपुस्तक भन्दा बढी रेडियो सुन्ने पत्रपत्रिका हेर्ने बानी थियो, बीबीसी नसुनेर राती कहिल्यै सुत्दिन थिएँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा आवद्ध भएर भाग लिँदा पनि पढाइलाई नै सहयोग पुग्थ्यो । ‘अहिले विद्यालय, विश्व विद्यालयमा यस्तो पाइँदैन, औपचारिक शिक्षामा मात्र पढाइ सीमित भएको पाइन्छ, धेरै भए मनोरञ्जनात्मक दृष्टिमा होमिने या त जीविकोपार्जनका लागि कमाइमा ध्यान दिनुपर्ने यस्तो हुँदापनि सीपमूलक शिक्षा भएन,’ उनले भने । समाजसँग नजिक हुने विषयवस्तुमा आवद्धता बढाउन थालेपछि उनलाई दुईवटा खुट्टामा उभिएर जानु राम्रो लागेन । त्यहीबेला उनले त्रिभुवन विश्व विद्यालयमा पहिलो पटक द्धन्द्ध, विकास र शान्ति विभागको भर्ना खुलेको सूचना देखे । त्यसपछि उनले इन्ट्रान्समा नाम निकालेर त्यही भर्ना भए । पहिलो ब्याजमा उनी सर्वोत्कृष्ट भएर गोल्ड मेडलिस्ट भए । गोल्ड मेडलिस्ट बनेपछि… कुनै पनि पुरस्कारले छुट्टै हौसला दिन्छ । ५ कक्षामा पाएको १५० रुपैयाँको खुसी एक थियो भने, २०६८ सालमा पाएको यो पदकको खुसी अर्कै थियो । उनलाई त्यसपछि अन्त काम खोज्न जान परेन । उनले जुन विषयबाट पदक पाए, पछि त्यही विषय अन्तर्गतको विभागकै प्रमुखका रुपमा काम गर्न सुरु गरे । गोल्ड मेडलिस्ट भइसकेपछि के हुँदो रहेछ ? भन्ने विकासन्युजको जिज्ञासामा उनले भने, ‘यसले विगतको संघर्षलाई न्याय गरेको जस्तो देखिन्छ, अर्को साथीभाई, समाज, इष्टमित्रले गर्ने व्यवहार, सम्मान त एक प्रकारको हुन्छ नै, त्योभन्दा सामाजिक चाप पनि उत्तिकै हुँदो रहेछ ।’ यो पदक पाएकाहरूलाई कुनै ठाउँमा आवेदन खुलेको छ भने अरुलाई भन्दा गोल्ड मेडलिस्टहरुलाई प्राथमिकता हुन्छ । तर, यसलाई कुनै कानुनीरुपमा अंकभार गरेको छैन । कतिपय अवस्थामा पदक प्राप्त गरेरमात्र केही हुँदैन । ‘निरन्तर त्यो विषयसँग साक्षात्कार गरिएन भने आफैंलाई हिनता बोध पनि गराउँछ, त्यो अनुसारको आफ्नो प्रस्तुति हुनुपर्छ,’ उनले भने । पढ्ने कसरी ? तपाईं कसरी अध्ययन गर्नुहुन्छ ? घोकेर वा बुझेर ? कतिलाई घोकेरै कण्ठ हुन्छ, बुझ्न सजिलो हुन्छ भने कतिपयलाई बुझेर पढ्ने बानी हुन्छ । जे होस् मान्छेले अध्ययन गर्ने आफ्नै तरिका हुन्छ । स्कुलदेखि स्नातकोत्तरसम्म टप भएका पीताम्बरको दिमाग तीक्ष्ण थियो । शिक्षकले पढाएको कुरा उनले पछि दोहोर्याएर पढ्न पर्दैन थियो । त्यसैले होला उनी आफुले पढ्दा कहिल्यैपनि नोट बुक बनाएर अध्ययन गरेनन् । ‘साथीहरू स्कुलमा पढेको कुरा घरमा आएर नोटमा सार्थे, धर्सा तानेर चिटिक्क मिलाउँथे । तर, मैले त्यस्तो कहिल्यै गरिनँ, यो मेरो कमजोरी भन्ने कि के भन्ने,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनको पढ्ने बानी थिएन । जति हुन्छ दिमागले क्याच गर्थ्यो । पढ्दा एक अनुच्छेदले के भन्थ्यो त्यसको आशय बुझ्थे उनी । उनी भन्छन्, ‘यसको मतलब मैले नपढेरै टप भइन्छ भनेको होइन, पढ्ने तर बुझेर पढ्ने ।’ विद्यार्थीलाई पढ्दा लगाव र मिहिनेत चाहिने उनी सुनाउँछन् । उनका अनुसार पढाइमा धेरै समय एउटै विषयमा बिताउनु भन्दा पनि धेरै विषयवस्तुहरूलाई समायोजन गर्ने कला हुनुपर्छ । ‘म धेरै साथीहरुलाई एउटै विषयमा घण्टौं घोकिरहेको देख्छु, त्यो नगरौं, हरेक एक घण्टा पढिसकेपछि ५/१० मिनेट त्यसको आफैंले समीक्षा गर्नुपर्छ, घोकेर भन्दा सम्झेर बुझेर पढेको कुरा दिमागमा बस्छ ।’ उनी बिहानको समय बढी पढ्थे । उनलाई एकै ठाउँमा बसेरभन्दा घुम्दै पढ्न मन पर्छ । ‘मैले पढ्दा वाक्यहरु याद गर्न तिर कहिल्यै लागिनँ, एउटा हरफमा दुई तीनवटा शब्द हुन्थे त्यसलाई बढी ध्यान दिन्थें,’ उनी भन्छन्, ‘एउटा शब्द पढिसकेपछि त्यो शब्दसँग जोडिने अरु कुन-कुन शब्दावली हुन्छन्, त्यस्तो शब्दहरू बुन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ पढाइमा संरचनाले पनि फरक पार्ने उनी बताउँछन् । ‘हाम्रो परीक्षा प्रणाली र पढाउने शैली पनि बदल्नुपर्छ, किताब र नोटमा जुन कुरा छ त्यही मात्रै पढाउने अभ्यास छ,’ उनी भन्छन्, ‘त्यसले कोर्सका लागि त राम्रो गर्ला तर विद्यार्थीको ज्ञानको दायरा बढाउन मद्दत गर्दैन ।’ विदेश जान मन लागेन अहिले नेपालमै बसेर पढ्ने भन्दा विदेश जानेको संख्या बढिरहेको छ । विश्वविद्यालयहरूबाट गोल्ड मेडलिस्ट भएकाहरू पनि स्वदेशमा काम पाइएन भनेर विदेश गइरहेका छन् । तपाईंलाई विदेश जान मन लागेन भन्ने जिज्ञासामा उनले भने, ‘मैले आइएस्सी पढ्दापढ्दै विश्वविद्यालयका इमेल खोज्ने काम गरेँ, जब म लेख्न थाले त्यसपछि मलाई दुई किसिमले अप्ठ्यारो भयो, एउटा म लेख्न थालिसकेको थिएँ, अर्को अब विदेश जाँदा ढिलो हुन्छ भन्ने भयो ।’ पीताम्बर स्नातकोत्तर पढ्दै गर्दा देशको अवस्था र उनले लिएर पढ्ने गरेको विषय मिल्दोजुल्दो थियो । देशमा सशस्त्र युद्ध चलिरहेको थियो । ‘मलाई स्वदेश बस्न धेरै कुराले साथ दियो, पढ्ने विषय, देशको परिस्थिति र समय, त्यसैले पनि म विदेश गइनँ,’ उनले भने । अर्को उनको संगत पनि विदेश गएर फर्केका र नेपालमै केही गर्नुपर्छ भन्नेहरूसँग भयो । त्यसैले पनि आफू विदेश नगएको अनुभव सुनाए । त्रिचन्द्र कलेजबाट बीएस्सी वातावरण विज्ञानमा उत्तीर्ण गरेका उनको मुख्य विषय तथ्यांकशास्त्र र वातावरण विज्ञान थियो । धेरै साथीहरूले भौतिकशास्त्र पढिसकेपछि अमेरिका जान सहज हुन्छ भन्थे । भौतिकशास्त्र पढेका उनका धेरै साथी अहिले पनि अमेरिकामै छन् । ‘आफ्नै देशमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु । तर, अहिले हाम्रो देशको शैक्षिक अवस्था देख्दा मन दुख्छ,’ निराश हुँदै उनले भने ।
अमेरिकामा बसेर नेपाली साहित्य कोरिरहेका ‘गोल्ड मेडलिस्ट’
काठमाडौं । एउटा लेखकलाई लेखेर बाँच्न कति सहज छ ? यो प्रश्नको जवाफ लेखक स्वंयमलाई दिन मुस्किल छ । त्यसैले हुनुपर्छ एउटा गन्तव्यमा हिँडेका उनले अर्कै गन्तव्य रोज्नुपर्यो । अर्थात्, हिँडिरहेको बाटोले अर्कै मोडमा पुर्यायो । मोड थियो घरदेश र परदेश । अन्ततः उनले परदेश नै रोजे, अनि लेखे, ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’ हुन त उनी जस्तै धेरै व्यक्तिको जीवनमा यो गीत मेल खान्छ । रहर वा बाध्यताले परदेशिनेहरूको पीडा फरक हुन्छ । यो गीत ठ्याक्कै उनकै जीवनमा मेल खाए पनि उनले परदेशी फिल्मको लागि लेखेका थिए । नेपाली साहित्यको पोको बोकेर हिँडेका उनी अहिले सात समुन्द्र पारी छन् । भन्न त उनी भन्छन्, ‘मैले बिरानो भूमिबाट नेपाली भाषा साहित्यलाई थप मजबुत बनाएको छु ।’ उनले भनेजस्तै परदेशबाट भएपनि उनको कलम नेपाली साहित्यकै लागि चलिरहेको छ । वि.सं २०५४ सालमा नेपाली साहित्यबाट लारी स्वर्णपदक पाएका लालगोपाल सुवेदी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेक्चरको रुपमा भेटिनुपर्थ्याे वा कुनै कलेजको प्रिन्सिपलको रूपमा भेट्नुपर्थ्याे । तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नु पर्छ । उनले नेपालमै अवसर नपाएको पनि होइन । व्याकरण, समालोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । ‘भाग्य भनौं वा मिहिनेत अचानक अमेरिकाको चिठ्ठा पर्यो, उतै हानिएँ,’ उनले भने । साहित्यमा रूची एउटा-एउटा प्रतिभा सबैमा हुन्छ । तर, कसैले आफ्नो प्रतिभालाई चिन्न सक्दैनन् । लालगोपालले आफूमा भएको प्रतिभामात्र चिनेन्, प्रतिभामै जीवन खोजे । पहाडी जिल्ला स्याङ्जाको क्याक्मीमा जन्मेका लालगोपाल सुवेदीलाई गाउँको सम्झना त्यति छैन । उनी कक्षा ४ पढ्दै काभ्रे आइपुगे । काभ्रेमा होस्टेलमै बसेर पढाइ सुरु गरे । बाआमासँग खेतबारी गर्दै विद्यालय जानेबेला उनी एक्लै बसेर पढ्न थाले । पढाइको लागि काभ्रे आएपनि बाल मस्तिष्कमा गाउँ घुम्थ्यो । उनी पढ्ने विद्यालयमा हरेक साता अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो । कहिले गीत गाउने, नाच्ने, कहिले कवीता लेख्ने, कहिले निबन्ध लेख्ने । यस्ता कार्यक्रममा उनी सधैं भाग लिन्थे । बालापन सम्झदै उनले भने, ‘मलाई निबन्ध, गीत लेख्न खुब मन पर्थ्यो, सधै भाग लिन्थेपनि र मैले भाग लिएको कार्यक्रममा सधै पहिलो नै हुन्थें, जसले गर्दा मलाई झन बढी रूची लाग्थ्यो ।’ लाल गोपालले ११ वर्षको उमेरमा ‘आमा’ शिर्षकको कविता लेखेका थिए । त्यो कविता २०४१ सालमा बालक भन्नेपत्रिकामा छापियो । उनको विद्यालयमा भित्तेपत्रिकामा निस्कन्थ्यो । त्यतिबेला नै उनी निबन्ध, गीत रचनाहरू लेखेर छाप्ने गर्थे । ‘नेपाली साहित्यप्रतिको सानैमा झुकाव थियो । तर, लेखकमाथिको सम्मान भने बुझदै गएपछि थाहा पाएँ,’ उनले भने । एक मोहर पाउँदा लालगोपाल कक्षा ४ मा पढ्दा विद्यालयमा कविता वाचन प्रतियोगिता भयो । प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीले भाग लिए । उनले कितावमा रहेको एउटा कविता वाचन गरेर सुनाएका थिए । कविता राम्रो वाचन गरेकोमा १ मोहर पुरस्कार पाएका थिए । ‘जानी नजानी सुरु गरेको साहित्य यात्रामा विस्तारै प्रेम बस्यो, यस्तो प्रेम कि सात समुन्द्रले पनि हाम्रो सम्बन्धलाई तोड्न सकेन,’ उनले भने । उनी कक्षा १० पढ्दा राष्ट्रिय स्तरको बालकवी गोष्ठी भयो । त्यसमा उनी द्धितीय भए । उनले सुरुमा रानी ऐश्वर्यको हातबाट पुरस्कार पाए । त्यसपछि उनको लेखनले गति लिँदै गयो, राष्ट्रिय स्तरमा हुने हरेक साहित्य कार्यक्रममा उनी भाग लिन थाले । वि.सं. २०४७ सालमा राष्ट्रिय कविता महोत्सव प्रतियोगिता भयो । त्यो बेला राजाले नै कविताको शीर्षक दिने चलन थियो । उनले छन्द कविता प्रस्तुत गरे । त्यसका लागि निकै मिहिनेत गरे । स्कुलमा हुने कार्यक्रमदेखि नै मैले जित्नुपर्छ भन्ने मान्यता उनमा थियो । उनले भने, ‘त्यसका लागि दुई हरफ थानकोट गएर लेखेँ , दुई हरफ धुलीखेल गएर लेखेँ, ती लेखेका मध्ये उत्कृष्ट हरफ छनोट गरर प्रस्तुत गरेँ पछि द्धितीय भएँ ।’ त्यो बेला देशभित्र बाहिरबाट १४ सय बढी प्रतियोगी थिए । त्यसमा उनी तृतीय भए । उनले राजा विरेन्द्रको हातबाट पुरस्कार थापे । पुरस्कारमा दुई हजार थियो । ‘मेरो विद्यार्थी जीवनको खर्च प्रतियोगिताका पुरस्कारले चलाएको हुँ ’उनले भने । प्लस टु पछिको पढाई रूची साहित्यमा भएपनि उनले काठमाडौं आएर कमर्श पढ्न थाले । साहित्यमा रूची राख्ने मान्छे किन कमर्श लाइनतिर जानुभयो ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘त्यो बेला कमर्श, साइन्स लिएर पढ्ने विद्यार्थीहरूको पहिचान छुट्टै हुन्थ्यो, धेरै साथीहरूले पनि यही भने, मैले पनि त्यही पढेँ ।’ एसएलसीपछि उनी शंकरदेव विद्यालयमा भर्ना भए । पढ्दै गर्दा पनि राष्ट्रिय स्तरमा भइरहेका हरेक कार्यक्रममा भाग लिन्थे । उनको पढाइ पनि राम्रो थियो । पढाइ राम्रो भएका कारण उनले वि.सं २०५४ सालमा नेपाली विषयबाट त्रिभुवन विश्व विद्यालयबाट लारी स्वर्ण पदक प्राप्त गरे । अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयबाट माधवप्रसाद घिमिरेका गीति नाटकमा मानवतावाद विषयमा पीएचडी गर्दै छन् । लाल गोपालले वि.सं २०४८ सालमा दिपेन्द्र प्रहरी स्कुलमा प्रावि तहमा अध्यापन गराएका थिए । त्यसपछि पनि उनले विभिन्न विद्यालयमा पढाए । पहिले उनलाई राम्रो स्कुल खोज्नुपर्थ्यो भने, त्रिविबाट स्वर्ण पाईसकेपछि काम खोज्न परेन । ‘पहिले मैले जागिर खोज्नु पर्थ्याे, गोल्ड मेडलिस्ट हुँदा त मलाई जागिर खोज्दै आयो, त्यसपछि युनाइटेड एकाडेमीमा पढाउन सुरु गरें,’ अध्यापनका दिनहरू स्मरण गर्दै उनले भने । साहित्यका १८ वटा कृति लालगोपालको मुल विधा कविता हो । तर, उनी कथा बाहेक अरु विधामा पनि कलम चलाउँछन् । गिती नाटक, व्याकरण, निबन्ध समालोचनामा बढी कलम चलाउँछन् । उनले गीत पनि लेखेका छन् । उनले लेखेका गीतमध्ये सबैभन्दा चलेको गीत परदेशी फिल्मको ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो’ हो । उनले लेखेका करिब २० वटा गीत रेकर्ड छन् । ‘आजभोलि गीत लेख्नेहरूले नै पैसा दिएर गीत रेकर्ड गर्न लगाउँछन्, नयाँ नयाँहरूले बढी पैसा दिन्छन्, उनी भन्छन्, ‘जसले गर्दा गीतको गुणस्तर पनि खस्कन थाल्यो, साथीहरूको पनि बाध्यता थियो होला ।’ ‘फूलको देशमा छन्द्ध’ (कविता संग्रह), ‘नेपाली कविताको सिद्धान्त र विकासक्रम’ (समालोचना), ‘पुतलीलाई जामा’ (बालकथा संग्रह), ‘देवता जस्तै नेपाली, मन्दिर जस्तै मान्छे’ लगायतका १८ बढी कृति प्रकाशन भएका छन् । यतिका कृति लेखेर कति पैसा कमाउनुभयो ? भनेर सोध्दा उनले भने, ‘धेरै हैन, नढाटेर भन्दा लाख जति कमाएँ, जसले मलाई भात खान सक्ने बनायो ।’ कामको सम्मान अवार्डमा साहित्यमा जति लालगोपालले योगदान पु¥याए उति नै उनलाई देशले सम्मान पनि दियो । उनले पाएका अवार्डले उनको घरका भित्ता रंगिएका छन् । उनि भन्छन, ‘बच्चादेखि पुरस्कार र सम्मान थाप्ने बानी परेको मलाई राष्ट्रले पनि उत्तिकै सम्मान दिएको छ, यही सम्मानले मलाई अहिलेपनि यो क्षेत्रमा जीवित राखेको छ । ’ लालगोपालले २०६० सालमा नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार, २०५९ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल, प्रज्ञाप्रतिष्ठान लगायत विभिन्न संघसस्थाबाट अवार्ड पाएका छन् । अमेरिकाको बसाइँ वि.सं २०६६ सालमा चिट्ठा परेर उनको परिवार अमेरिका गयो । त्यहाँ अहिले उनी एउटा ठूलो अपार्टमेन्टमा म्यानेजमेन्टको रुपमा काम गर्छन् । काम गरेवापतको पैसा पनि राम्रै आउँछ । अहिले नेपालको जस्तो भात खान मात्र हैन, भोलिलाई बचत गर्न पनि सकिएको छ । त्यो भन्दा बाहेकको अरु काम उनको अहिले पनि लेखनमै बित्छ । ‘देशभित्र भन्दा बाहिर रहँदा देशको माया लाग्दो रहेछ, अहिले म अमेरिका गएर पनि नेपाली साहित्यकै चिन्तन गरिरहेको हुन्छु,’ उनले आफ्नो अनुभव सुनाए । नेपालमा उनले गर्ने काम र अहिले विदेशमा बसेर गर्ने काम धेरै फरक छ । यहाँ लेखर खाने उनी अमेरिका एउटा भवन म्यानेजमेन्टको काम गर्छन् । नेपालको प्रज्ञा प्रतिष्ठानजस्तै त्यहाँ अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल भन्ने संस्था छ । त्यो संस्थाले अन्तरदृष्टि साहित्य पत्रिका त्रैमासिक रुपमा निकाल्छ भने अनलाई संस्करण पनि छ । लालगोपाल अहिले त्यो पत्रिकाको प्रधान सम्पादकको रूपमा पनि काम गरिरहेका छन् । पठन संस्कृति घट्यो साहित्यको मुल उद्देश्य भनेको आनन्द र शिक्षा सँगसँगै दिनु हो । एकताका थियो, खोजीखोजी पुस्तकहरु पढ्ने । तर, अहिले त्यस्तो छैन । उनी थप्छन्, ‘अहिले इन्टरनेटको जमाना आयो, मान्छेलाई जान्न सुन्न मन लागेको कुरा सहजै मोबाइलबाट हेर्न मिल्छ, त्यसैले पनि पछिल्लो समय पठन संस्कृति घटेको हुनुपर्छ ।’ यो नेपालको मात्र नभई विश्वकै समस्या भएको उनी बताउँछन् । पछिल्लो समय नेपालका अनलाईन संस्करणमा लेखिएका लेखहरु हुन् या कुनै पुस्कार पाएका राम्रा पुस्तक हुन् पहिलेको तुलनामा अहिले बिक्री हुन छोडको उनी बताउँछन् । एकताका हातमा मोबाइल नहुँदा काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिपत्रिका पढ्नलाई मरिहत्ते गर्थे । तर, अहिले यस्तो छैन । समग्ररुपमा हेर्दा अहिले पठन संस्कृति घटेको सुबेदी बताउँछन् । उनी नेपाली भाषाको मात्र नभएर विश्कै भाषाको पठन संस्कृतिमा यस्तो समस्या देखिएको बताउँछन् । विश्वका लेखकहरूलाई हेर्ने हो भने लेखेरै करोडौँ, अरबौँ कमाउनेहरू पनि छन् । नेपालमा पनि लेखेर कमाएका केही व्यक्तिहरु छन् । त्यो भित्र लालगोपालको नाम पर्दैन । कविताका पाठक सीमित हुन्छन् । साहित्यका विभिन्न विधाका पाठक फरक-फरक हुन्छन् । लालगोपालले लेखेका निबन्ध, व्याकरणहरू विभिन्न विद्यालयमा पढाइ हुन्छन् । उनको विद्यालयका लागि सिर्जना गरिएका किताबबाट आर्थिक हैसियत बढ्छ । स्वदेश फर्किने मन लालगोपालका श्रीमती, दुईजना छोरा गरि चारजनाको परिवार छ । स-परिवार अहिले विदेशमै छ । उनलाई फेरि पनि आफ्नै देश फर्कन मन छ । ५३ वर्षको उमेरमा आइपुग्दा सुवेदीको आधा, नेपाल र आधा बाहिरको बसाइँ रह्यो । ‘देश आफुलाई प्यारो हुन्छ, अहिले सबैजना काम गरिरहेका छौँ, अब पछि फर्कने भनेको नेपालमै हो,’ उनी भन्छन् । लालगोपाल आफू विदेश गएर बस्नुलाई अवसरको सदुपयोग गरेको बताउँछन् । ‘यो अवसर हो, यसको सदुपयोग गरेको हुँ, अब नेपाल फर्केर बस्ने मन छ,’ उनी भन्छन्, ‘स्वदेश-परदेश जता भएपनि नेपाली भाषा र साहित्यको चिन्ता लाग्छ, मेरो शरीर जता भएपनि मन नेपाल र नेपाली भाषा साहित्यमै छ ।’