छायाँमा पर्दै भेट्रान सीईओहरू, धेरै भए गुमनाम
काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले आकर्षक पेशाको रुपमा बैंकिङ क्षेत्रलाई रोज्छन् । बैंकको नेतृत्व तह अर्थात् प्रमुुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपना साकार पार्न अधिकांश बैंकरहरु रातदिन काम गर्छन् । बैंकले दिएको ‘टार्गेट मिट’ गर्न ठूलो दौडधूप गर्छन् । बैैंकमै काम गर्ने इच्छा बोकेर रातदिन तयारी गर्ने युवायुवतीहरुको जमात पनि कम छैन । तर, सबैको रोजाइ एउटै कहाँ हुन्छ र ? त्यो दौडधूप, त्यो सकस, त्यो अत्यास र त्यो तनाब चटक्कै छोडेर बैंकिङमा जमेका, रमेका र भिजेका भेट्रान अनुभवी बैंकरहरु सदाका लागि बैंकिङ क्षेत्रबाट गुमनाम बनेका छन् । वार्षिक करोड कमाएर समाजमा पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाएका ती भेट्रान बैंकरहरु आकर्षकको क्षेत्र छोडेर कतिपय निजी व्यवसायमा लागेका छन् भने कतिपय विदेश वा कयौं व्यक्तीहरु राजनीतिमा पनि होमिएका छन् । आज हामीले बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व गरेर बाहिरिएका बैंकका पूर्व सीईओहरुको बारेमा सामग्री तयार पारेका छौं । अजय घिमिरे तत्कालीन भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिृकत अजय घिमिरे एक फरक शैलीको बैंकिङ गर्न रुचाउँथे । घरजग्गा कारोवार बुम भएको बेला उनले सो बैंक सुरु गरेका थिए । भिवोरले बैकिङ्गसहित घरजग्गाको कारोवार गर्ने महत्वाकांक्षी योजना बनाएको थियो । रविभवनको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड विक्री प्रकरणमा घिमिरे समस्यामा परेका थिए । जग्गा बिक्री गर्दा भिवोरले मध्यस्थता गरेवापत सहदेव कक्षपतीलाई पाँच करोड रुपैयाँ ‘फि’ दिएकाे थियाे । राष्ट्र बैंकले यो रकम बैंकका सञ्चालकहरुबाट असुल गर्न निर्देशन दिएपछि घिमिरे समस्यामा परेका हुन् । पछि बैंकमा पनि समस्या सिर्जना भयो । सो समस्याले बैंक माथि उठ्न सकेन । विडम्वना, बैंक पनि विलय भयो र घिमिरे पनि बैंकिङबाट सदाका लागि विदा भए । पृथ्वी बहादुर पाँडे नेपाली बैंक स्थापनामा अग्रणी रुपमा नाम आउँछ पृथ्वी बहादुर पाँडेको । हिमालयन बैंक स्थापनामा उनको ठूलो योगदान छ । उनले नेपाली बैंकिङ क्षेत्रमा काम गरेको साढे चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका पाँडेले पछि आफैले बैंक खोले र त्यसको नेतृत्व गरे । लामो समय बैंकको व्यवस्थापनको नेतृत्व गरेका उनी अहिले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । बैंकिङमा पाँडेलाई नचिन्ने सायदै होलान् । तर, पछिल्लो समय उनी पहिलेको तुलनामा कम सक्रिय छन् । उनी अहिले निजी व्यवसायमा पनि सक्रिय भएका छन् । जनकराज शर्मा पौड्याल सनराइज बैंकका पूर्व सीईओ हुन् जनकराज शर्मा पौड्याल । शर्मा सनराइजभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए । ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर बैंकबाट निस्केका थिए । शर्मासँग नबिल, एनआइसी एसिया र लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ । अहिले उनी बैंकिङ क्षेत्र बाहिर छन् । अनिल ज्ञवाली नबिल र ग्लोबल आइएमई बैंकको सीईओ बनिसकेका ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक काम गरे । पूर्वाधार विकास बैंकमा पनि सीईओ भएर काम गरिसकेका उनी हाल सिटिजन्स बैंकको सञ्चालक समितिमा छन् । उनले विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनी कर्मचारीबाट अहिले बैंकका मालिक बनेका छन् । सशिन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका जोशीले पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समयसम्म काम गरे । उनले एनआईसी एसिया बैंकमा ११ वर्षसम्म नेतृत्व गरे । नबिल बैंकमा सीईओको कार्यकाल पूरा नहुँदै छोडे । व्यवस्थापनमा दख्खल राख्ने जोशी हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका छन् । उनलाई पनि धेरैले एक अनुुभवी बैंकरका रुपमा चिन्छन् । राधेश पन्त तत्कालीन बैंक अफ काठमाण्डूको प्रबन्ध संचालक, कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अर्का भेट्रान बैंकर हुन् राधेश पन्त । सरकारी निकाय लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रबाट बाहिरिएका उनी पनि पछि बैंकको सञ्चालक बने । तत्कालीन बैंक अफ काठमाडूको संचालक समिति सदस्य समेत रहेका उनी बिओके ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेपछि पनि सञ्चालकै रुपमा कार्यरत छन् । सुरेन्द्र भण्डारी १२ वर्ष कुमारी बैंकको सीईओ भएर काम गरेका भण्डारी पनि एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकमा दुई कार्यकाल नेतृत्व गरेपछि पुनः उनी कुमारी बैंकमै सीईओका रुपमा काम गरे । कुमारी बैंक नै उनको लागि बैंकिङ क्षेत्र बिदाईको अन्तिम संस्था बन्यो । शभ्भुनाथ गौतम सिद्धार्थ बैंकको सीईओ रहेका उनी एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकलाई एउटा लेभलसम्म पुर्याउन राम्रो नेतृत्व गरे । उनीसँग नबिल बैंकमा काम गरेको अनुभव पनि छ । उनी पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । लक्ष्मण रिसाल एनआईसी एसियामा दुई कार्यकाल सीईओ भएर काम गरेका लम्साल एक अनुशासित बैंकरको छवि बनाएका थिए । बैंकिङ छोडे पनि उनी अहिले गोल्डस्टार जुत्ताको सीईओ भएर काम गरिरहेका छन् । उनी पनि व्यवस्थापनमा दख्खलता राख्ने सीईओका रुपमा परिचित थिए । किशोर महर्जन हिमालयन बैंकको महाप्रबन्धक भएर काम गरिसकेका महर्जनसँग तत्कालीन सनराइज र तत्कालीन सिभिल बैंकमा पनि सीईओका रुपमा काम गरेको अनुभव छ । उनले सनराइज बैंकको संस्थापक सीईओ भएर काम गरे । तत्कालीन सिभिल बैंक स्थापनामा पनि उनले ठूलो भूमीका खेले र सोही बैंकको सीईओ पनि बने । एउटा भेट्रान बैंकरको छवि बनाएका उनलाई नेवार समुदायले आदर सम्मान गर्ने गरेको छ । उनकै सक्रियतामा स्टार हस्पिटल स्थापना भएको हो । अहिले उनले सोही अस्पतालको नेतृत्व गरिरहेका छन् । सुमन जोशी स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट जोशी लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरे । उनी बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेर बाहिरिए । अहिले उनी आफ्नै व्यवसाय गरिरहेका छन् । सुरेन्द्र प्रधान नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका सुरेन्द्र प्रधान सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे । सनराइज बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिए । सनराइज बैंक स्थापना गर्दा उनै प्रधान राष्ट्र बैंकको नियमन विभागको प्रमुुख थिए । उनी अहिले बैंकिङ क्षेत्रमा प्रत्येक्ष रुपमा जोडिएका छैनन् । डा. विनोद आत्रेय नेपाल बैंकको सीईओ भएर काम गरेका डा. आत्रेय एक अनुभवी बैंकरका रुपमा परिचित थिए । उनले लामो समय राष्ट्र बैंकमा पनि काम गरे । त्योसँगै उनले नेपाल पूर्वाधार विकास बैंकमा पनि काम गरेका छन् भने इमर्जिङ नेपालको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी अझै पनि प्रतयक्ष अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसँग रहेर काम गरिरहेका छन् । उनी हाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेनस इन्स्टिच्युटको प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका छन् । नरेन्द्र भट्टराई चार्टर्ड एकाउन्टेन्ट भट्टराई तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बंगलादेश बैंकमा समस्यामा परेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो कब्जामा लियो । सो बेला भट्टराई नै सीईओका रुपमा काम गरिरहेका थिए । त्यसपछि उनी बैंकिङ क्षेत्रमा देखिएनन् । उनी बैंकिङ क्षेत्रबाट बाहिरिएको डेढ दशक बढी समय भइसकेको छ । उनी अहिले सीए फर्म सञ्चालन गरिरहेको बुझिएको छ । सुमन न्यौपाने तत्कालीन ग्लोबल बैंकको सीईओ भएर काम गरेका न्यौपानेले सनराइज बैंकको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । उनले साढे दुई वर्ष ग्लोबल बैंकको सीईओका रुपमा काम गरेका थिए । उनी पछि विवादमा परेपछि बैंक नै छोडे र सदाका लागि बैंकिङ क्षेत्रबाटै गुमनाम भए । न्यौपाने अहिले आफ्नै ब्यवसायमा सक्रिय छन् । भुवन दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) का रुपमा काम गरेका दाहालसँग नबिल बैंकमा दुई दशक लामो समय काम गरेको अनुभव छ । सरकारी सेवामा काम गरिसकेका उनले पछि बैंकिङ रोजे र सो क्षेत्रमा तीन दशक बढी समय काम गरे । उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । अहिले उनी फाइनान्सियल लिट्रेसी नेपाल संस्था स्थापना गरेर काम गरिरहेका छन् भने लेखनमा पनि व्यस्त छन् । अनिल केशरी शाह अनिल केशरी शाह बैंकिङ क्षेत्रका सेलिब्रेटी नै हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनी नबिल बैंकको सीईओ भएर बैंकिङ क्षेत्रबाट नै बाहिरिए उनले मेगा बैंकको सीईओ भएर पनि काम गरे । उनी बैंकिङ क्षेत्रबाट कहिल्यै नफर्किने गरी राजनीतिमा लागिसकेका छन् । उनी हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् । राजनसिंह भण्डारी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत बने । उनले सो बैंकमा दुई कार्यकाल काम गरे । बैंकिङ क्षेत्रको व्यवस्थापन टीमबाट बाहिरिए पनि उनी सञ्चालक समूहमा भने काम गरिरहेका छन् । उनी हाल सिटिजन्स बैंकको अध्यक्ष छन् । उपेन्द्र पौड्याल लामो समय बैंकिङ क्षेत्रमा व्यवस्थापन सम्हालेका पौडेल हाल नबिल बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनले १६ वर्ष एनएमबि बैंकको कार्यकारी प्रमुख भएर काम गरे । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । हाल उनी नेपाल व्यवस्थापन संघको अध्यक्षका रुपमा पनि काम गरिरहेका छन् । सुधिर खत्री तत्कालीन ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा डेढ दशक काम गरेका खत्री ग्राण्ड बैंकको अवशानपछि बैंकिङ क्षेत्रबाटै हराए । उनले बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले उनी नेपालमै व्यवसाय गरेर बसिरहेका छन् । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवाली महत्वाकांक्षी बैंकरका रुपमा परिचित थिए । हाल उनी बैंकिङ कसुर अभियोगमा जेलमा छन् । बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेका उनले एकताका बैंकिङ क्षेत्रमा राज नै गरेका थिए भन्दा फरक नपर्ला । सुरुमा नाम, त्यसपछि बदनाम कमाएका ज्ञवाली र किष्ट बैंक परिपुरक जस्तै थिए । । तर, अहिले उनलाई धेरैले बिर्सिसकेका छन् । अजय श्रेष्ठ तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले सो बैंकमा दुई कार्यकाल काम गरे । उनीसँग तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओकेअघि श्रेष्ठले २ वर्ष एनएमबि बैकमा काम गरेका थिए । उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरे । उनी बैंकिङ कसुर अभियोगमा जेलमा समेत बसे । उनले अदालतबाट सफाई पनि पाइसकेका छन् । ५५ वर्षदेखि निरन्तर बैंकिङमा बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले पनि बैंकिङ क्षेत्रमै सक्रिय छन् । उनी अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । उनले सो बैंकमा चार पटक सीईओका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा ५५ वर्षभन्दा बढी समय बिताइसकेका मानन्धर अन्य बैंकका सीईओहरुको तुलनामा बढी अनुुभवी मानिन्छन् । कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । कृष्ण प्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंकको सीईओ भएर काम गरेका शर्मा पनि अहिले व्यवस्थापन समूहबाट सञ्चालक समूहमा प्रवेश गरिसकेका छन् । उनले ३३ वर्ष लामो समय बैंकिङमा काम गरेर अहिले ग्लोबल आइएमई बैंकको सञ्चालकका रुपमा काम गरिरहेका छन् । यसअघि उनी नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । अनिल उपाध्याय कृषि विकास बैंकको सीईओको रुपमा काम गरेका उपाध्याय केही समयअघि मात्रै बैंकबाट बाहिरिएका हुन् । नेपाल बैंकर्स संघको अध्यक्षको रुपमा समेत काम गरिसकेका उनी अहिले एउटा निजी कम्पनीको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । अनलराज भट्टराई तत्कालीन सानिमा विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका भट्टराई अहिले बैंकिङमा सक्रिय छैनन् । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । उनी अहिले नेपाल उद्योग परिसंघ (सिएनआई) मा बैंकिङ विज्ञको रुपमा काम गरिरहेका छन् । जनार्दन आचार्य राष्ट्रिय वाणिज्य बैंकमा सीईओका रुपमा काम गरिसकेका आचार्य पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् । उदयकृष्ण उपाध्याय कुमारी बैंकको सीईओका रुपमा काम गरिसकेका उपाध्याय सीईओ हुँदा नै उनको एउटा काण्ड बाहिरिएको थियो । सीईओ बहाल हुँदै काण्ड बाहिरिएपछि उनले बैंक छोड्नु परेको थियो । त्यसपछि उनी युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पनि बने । सो घटनापछि उनी बैंकिङमा फर्किएनन् । विजय पन्त पन्त तत्कालीन जनता बैंकका सीईओ हुन् । उनले साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरे । अहिले उनी मर्कन्टाइलमा कार्यरत छन् । रमेश कुमार भट्टराई तत्कालीन जनता बैंकका सीईओ भट्टराई पनि बैंकिङ क्षेत्रबाट पनि हराएका छन् । उनी विजय पन्तको बर्हिगमनपछि बैंकको सीईओ बनेका थिए । उनी कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक पनि हुन् । मनोज गोयल तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा छैनन् । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ पनि बने । सो बैंक पछि एनएमबि बैंकमा गाभियो । सिद्धान्तराज पाण्डे तत्कालीन एस डेभलपमेन्ट बैंकका सीइओ सिद्धान्तराज पाण्डे पनि चचिर्त बैंकर हुन् । अहिले उनी पनि गुमनाम छन् । एस बैंक पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको थियो । उनी पनि बैंकिङ क्षेत्रबाट सदाका लागि बाहिरिएका छन् । कुमार लम्साल सानिमा, प्रभु र जनता बैंकको सीईओ भएर काम गरिसकेका लम्साल पनि बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरका रुपमा चिनिन्छन् । उनी अहिले नेपाल बैंकिङ इन्सिच्युटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । देवेन्द्रप्रताप शाह कृषि विकास बैंक र नेपाल बैंकको सीईओका रुपमा काम गरिसकेका शाह एक अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनले बीमा प्राधिकरणको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनी साहित्यकार पनि हुन् भने उनी अहिले उमेरका कारण बजारमा देखिँदैनन् । अनुपमा खुञ्जेली मेगा बैंकको सीईओ भएर काम गरिसकेकी खुञ्जेली पनि एक सफल बैंकर हुन् । नेपालको पहिलो महिला सीईओ समेत रहेकी उनी एक कार्यकाल नबित्दै मेगा बैंकबाट बिदा भइन् । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी हुन् । पर्शुराम श्रेत्री कुँवर नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने व्यक्तीमध्ये कुँवर पनि पर्छन् । कुँवरले तीनवटा बैंकमा सीईओको रुपमा काम गरे । बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय बैंकिङमा छैनन् । उनको अन्तिम संस्था नै ग्लोबल आइएमई बैंक बन्यो । तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्व गरे । नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो । जसको मर्जर गर्न कुँवरको भूमीका पनि महत्वपूर्ण रह्यो । अहिले उनी बैंकिङमा सक्रिय नभएपनि विभिन्न बैंकिङ सम्बन्धि तालिममा भने भेटिने गरेका छन् । उनी हाल इ–सेवाको अध्यक्ष बनेर काम गरिरहेका छन् । शोभनदेव पन्त शोभनदेव पन्त पनि एक सफल बैंकरका रुपमा परिचित थिए । तत्कालीन नेपाल अरब बैंक (हालको नबिल बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पन्तले नबिल बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरे । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका उनले लुम्बिनी बैंकको नेतृत्व गरे । समस्यामा रहेको लुम्बिनी बैंकलाई स्वस्थ बैंक बनाउन उनले ठूलो भूमीका खेलेका थिए । त्यसपछि तत्कालीन बैंक अफ काठमाण्डूमा अजय श्रेष्ठको कार्यकाल सकिएपछि उनी नै सो बैंकको सीईओ बने । बैंक अफ काठमाण्डूमा एक कार्यकाल सकाउँदै उनी ३६ वर्षको बैंकिङ अनुभव बिट मार्दै यो क्षेत्रबाटै बाहिरिए । गणेश कुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि श्रेष्ठले पनि तत्कालीन सेञ्चुरी बैंकको सीईओ भएर काम गरे । एक कार्यकाल सीईओ भएपछि उनी पनि बैंकिङबाट बाहिरिए । अहिले सेञ्चुरी बैंक प्रभु बैंकका विलय भइसकेको छ । लिलाप्रकाश सिटौला सिटौला पनि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी कृषि विकास बैंकको सीईओ बने । उनले सो बैंकमा आफ्नो एक कार्यकाल सकाउँदै बैंकिङ क्षेत्रबाटै बाहिरिए । अहिले उनी प्रभु बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।
हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट
काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’ तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् । तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् । इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् । सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने । सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ । बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ । यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए । उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् । प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् । झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् । अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ । सम्बन्धित सामग्री : सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
मीनबहादुरको नाममा १० अर्ब ऋण, कसले सम्हाल्छ भाटभटेनीको साम्राज्य ?
काठमाडौं । नेपाली व्यवसायीहरु माझ छोटो समयमै मनग्य कमाएर अर्बपतिको लाइनमा आउने व्यक्ति मध्येका व्यवसायी हुन् मीनबहादुर गुरुङ । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनी सञ्चालन गरेर आफुलाई स्थापित मात्रै होइन, सुपर मार्केटको क्षेत्रमा पायोनियर व्यवसायीका रुपमा परिचित उनलाई पछिल्लो समय पछ्याउनेको जमात ठूलो छ । आम सर्वसाधारणले मात्रै होइन उनको व्यवसायको सिको अरू व्यवसायीहरुले पनि गरिरहेका छन् । सपिङ सेन्टरमा आफुलाई सफल व्यवसायीको रुपमा सावित गरेका गुरुङको मंगलबारको घटनाले भने उनलाई हेर्ने धेरैको नजर फेरियो । उनी मंगलरबार पक्राउ परे । ललिता निवास जग्गा प्रकरणमा मुझिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार बिहानै नियन्त्रणमा लियो । जसले निजी क्षेत्रमात्रै होइन, बैंक तथा वित्तीय क्षेत्र र उनीसँग निकट भएर काम गरिरहेका व्यवसायीहरु माझ पनि ठूलै तरंग मच्चियो । ललिता निवास प्रकरणमा यसअघि पनि हिरासतमा बसिकेका गुरुङ पुनः पक्राउ परे । उनीसँगै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् । उनीहरुलाई सात दिन हिरासतमै राख्न अदालतले आदेश दिइसकेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यतिखेर अख्तियारले माघ २२ गते गुरुङसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । पछि उनी हिरासतमा पनि पुगे । विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो र उनी हिरासतमुक्त भए । अहिले उनी पुनः पक्राउ पर्नुले धेरैले गम्भिरताका साथ लिएका छन् । यसपटक सरकारले ललिता निवास प्रकरणमा मुछिएकाहरुमाथि गम्भीर रुपमा अनुसन्धान गरेर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उसो त गुरुङलाई धेरैले माओवादी केन्द्रसँग निकट व्यवसायीका रुपमा चिन्छन् । तर, गृहमन्त्री श्रेष्ठको एक्सनले त्यो संकेत गरेन । मंगलबार पक्राउ परेकाहरुमध्ये पहिलो निशाना श्रेष्ठले गुरुङमाथि नै लगाए । अर्थात् सुरुमै गुरुङको हातमा हतगडी लाग्यो । के होला भाटभटेनीको साम्राज्य ? विशेष गरेर व्यवसायको कमाण्डरको अनुपस्थितिमा व्यापार खस्किने गरेका उदाहरणहरु नेपालमा प्रशस्त छन् । कुनै बेला नेपाली व्यवसाय क्षेत्रमा राज गरेका व्यवसायी इच्छाराज तामाङको हिरासत बसाईंले उनको व्यवसायिक जीवन नै लगभग समाप्त पार्यो । उनका दर्जनौं कम्पनीहरु अहिले समस्यामा छन् भने कतिपय व्यवसायहरु बन्द नै भएका छन् । छोटो समयमै हिरासत बसाईंले पनि अधिकांश व्यवसायीको व्यवसायिक जीवन खलबलिएका उदाहरणहरु प्रशस्त छन् । ती सबै ‘वान म्यान आर्मी’ बन्दाको कारण हो । भाटभटेनीका सञ्चालक गुरुङ पनि आफ्नो व्यवसायका ‘वान म्यान आर्मी’ हुन् । स्रोतका अनुसार कम्पनीमा स–सानो निर्णय लिँदा पनि उनको उपस्थिति अत्यावश्यक हुन्थ्यो । सानाे सानाे रकम भुक्तानीमा पनि उनकाे सहमति अनिवार्य गरिएकाे छ । अर्थात् व्यवस्थापन समूहले उनको अनुपस्थितमा स–साना निर्णय पनि गर्न नपाउने नियम उनले कम्पनीभित्र लगाएका थिए । उनले भाटभटेनी डिपार्टमेन्ट स्टाेरकाे नाममा विभिन्न बैंकबाट बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ भन्दा बढी ऋण लिएका भेटिएकाे छ । गुरूङ लामाे समय जेलमा पर्दा उनले लिएकाे कर्जाले धेरै बैंक तथा वित्तीय संस्थालाई पिराेल्ने जानकारहरू बताउँछन् । व्यवसायको मुख्य नायकको अनुपस्थितमा व्यवसायमा नकरात्मक प्रभाव पर्ने देखिएमा बैंकहरुले पनि ऋण असुलीमा ध्यान दिन्छन् र सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाउँछन् । गुरुङको हिरासत बसाईं लम्बिएमा बैंकहरुले अवश्य नै यो प्रक्रिया अगाडि बढाउने छन् र उनको सम्पत्ति लिलामीमा चढ्नेछ । यसको निर्धारण भने उनको हिरासत बसाईंले गर्नेछ । उसो त भाटभटेनी पछिल्लो समय नेपालमा बलियो ब्राण्ड बनेर स्थापित भएको छ । भाटभटेनीको आफ्नै पूर्वाधार र बलियो अपरेशन प्रणाली छ । यस कारण पनि उनको छोटो समयको हिरासत बसाईंले कम्पनीमा खासै प्रभाव पार्ने छैन । तर, हिरासतमा उनको बसाईं लम्बियो भने उनको व्यवसायिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने उनी निकट स्रोत बताउँछ । ३५ हजार रुपैयाँमा व्यवसायिक जीवनको सुरुवात गरेका गुरुङ अहिले अर्बौं सम्पत्तिका मालिक छन् भने देशभर भाटभटेनीका २३ वटा स्टोरहरु सञ्चालन गरिरहेका छन् , थप २ स्टाेर सञ्चालनकाे अन्तिम तयारीमा छन् । करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । देशका मुख्य शहर र ठाउँहरुमा भाटभटेनीका स्टोरहरु छन् । उनले प्रत्येक वर्ष नयाँ–नयाँ ठाउँमा स्टोर सञ्चालन गरिरहेका छन् । गत वर्ष भाटभटेनीमा करिब २५ अर्ब रूपैयाँ भन्दा बढीको काराेबार भएकाे छ । सुपर मार्केट व्यवसायमा उनी सफल भएपनि उनलाई आर्थिक रुपमा सवल र छिट्टै धनी बनाउने क्षेत्र भने घरजग्गा भएको गुरुङ निकटस्थ स्रोत बताउँछ । उनी घरजग्गा व्यवसायी पनि हुन् । घरजग्गा व्यवसायी भएकै कारण उनी ललिता निवास प्रकरणमा जोडिन पुगे । बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । सार्वजनिक जग्गा गैरकानुनी रुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई हानी पुर्याउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको थियो । त्यसबाट पनि उनले ठूलो लाभ लिएको बुझिएको छ । ललिता निवास क्षेत्रमा हडपीएकाे ११३ राेपनी जग्गा मध्ये २९ राेपनी अहिले पनि गुरुङकाे नाममा रहेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूराेले जनाएकाे छ । कसले सम्हाल्छ व्यवसाय ? कम्पनीमा आफ्नो अनुपस्थितमा कुनै महत्वपूर्ण निर्णय गराउन रोक लगाएका गुरुङको भाटभटेनीको व्यवसाय अब कसरी अगाडि बढ्ला ? कसले व्यवसायको नेतृत्व गर्ला ? भन्ने विषय पनि चासोका साथ हेरिएको छ । उसो त उनकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामनाले पनि उनको व्यवसाय हेर्ने गरेका छन् । सावित्री भाटभटेनीको सञ्चालक समितिमै छिन् । तर, कल्याण, पहलमान, छोरी कामना र भाइबुहारी सरलाको नाम पनि ललिता निवासको जग्गा किर्तेमा जोडिएको छ । उसो त भाटभटेनी ग्रुप व्यवस्थापनमा अब्बल छ । व्यवस्थापन समूहमा अब्बल, अनुभवी र व्यवसायिक पृष्ठभूमीका व्यक्तिहरु छन् । अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा अन्य ८ जनाको टोली छ । सञ्चालनमा आएका सबै आउटलेटको व्यवस्थापनलाई व्यवस्थित बनाउन सबैको उत्तिकै भूमिका महत्वपूर्ण देखिन्छ । भाटभटेनीको व्यवसाय विकासको कार्यकारी निर्देशकमा पहलमान गुरुङ र आपूर्ति श्रृंखला व्यवस्थापनको कार्यकारी निर्देशकमा कल्याण गुरुङ रहेका छन् । चिफ अपरेटिङ अफिसर (सीओओ) मा पानु पौडेल छन् । चिफ एडमिनमा डीबी राई, चार्टर्ड एकाउन्टेन्टमा अनिल खरेल, आन्तरिक लेखापरीक्षणको प्रमुखमा सुनिश्चित मोक्तान र वरिष्ठ कार्यकारी मानव संसाधनमा मनोज अधिकारी रहेका छन् । यी सबै व्यवसायमा कुशल छन् । हिरासतमा गुरुङको बसाईं छोटो भएमा भाटभटेनीको व्यवसायमा खासै प्रभाव पर्ने छैन । तर, लम्बियो भने भाटभटेनीको दुरदशा सुरु हुनेछ ।