मर्जरले दिएन सिनर्जी, मर्जबाट ठूलो बनेका बैंक नै खस्कँदै
काठमाडौं । पछिल्लो १० वर्ष बैकिङ क्षेत्रको लागि ‘मर्जरको दशक’ बन्यो । २०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने लहर थियो । त्यो लहर राष्ट्र बैंकको रहरले थियो । जसले बैंक खोल्ने इच्छा देखायो उसैलाई हातमा लाइसेन्स थमाइदिने अभ्यास राष्ट्र बैंकले गर्यो । राष्ट्र बैंकको रहरमा लहड देखाएर लगानीकर्ताहरु पनि हौसिए । र, एकपछि अर्को बैंक खोल्न मैदानमा उत्रिए । नियामकको त्यो रहर, लगानीकर्ताको लहड र बैंकहरुको लहर धेरै दिन टिक्न सकेन । २०६० को दशकमा सुरु भएको बैंक स्थापनाको लहर २०७० को दशकमा बैंक मर्जरमा परिणत भयो । कुनै समय नेपालमा ३२ वटा वाणिज्य बैंकहरु थिए भन्ने विषय अब केही वर्षपछि एकादेशको कहानी जस्तै बन्न सक्छ । किनकी एकपछि अर्को वाणिज्य बैंकको अस्तित्व अवशान हुँदैछ । बैंकहरुबीच धमाधम र हतार-हतारमा मर्जर हुँदैछ । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असारसम्ममा नेपालमा वाणिज्य बैंकको संख्या ३२ थियो । पछिल्लो एक दशकमा वाणिज्य बैंकहरुको संख्या २१ मा झरेको छ । ११ वटा बैंकको अस्तित्व समाप्त भएको छ । अझै एउटा बैंकको संख्या घट्ने निश्चित छ । लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । यी दुई बैंकबीच एकीकृत कारोबार भएपछि नेपालमा वाणिज्य बैंकको संख्या २० वटा कायम हुनेछ । त्यस्तै, ९० वटा पुगेका विकास बैंकहरू १७ वटामा झरेका छन् । ७९ वटा पुगेका वित्त कम्पनीहरू १७ वटामा सीमित भएका छन् । ९१ पुगेका लघुवित्त वित्तीय संस्थाहरू ६४ वटामा सीमित भएका छन् । मर्जरको प्रक्रिया अझै जारी रहेको छ । नेपाल राष्ट्र बैंक त्यसपछि पनि मर्जरलाई अगाडि बढाउने ‘मुड’मा देखिन्छ । राष्ट्र बैंकले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या’ अध्ययन प्रतिवेदनले नेपालका लागि न्यूनतम ११ र अधिकतम् १५ सम्म वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो । त्यो अधिकतम् संख्यालाई आधार मान्ने हो भनेपनि २० वटा वाणिज्य बैंकबाट ५ वटा अझै पनि घट्न सक्नेछन् । त्यस्तै लघुवित्तहरुलाई पनि मर्जमा लैजाना राष्ट्र बैंकले भित्रदेखि बल गरिरहेको छ । विकास बैंक र फाइनान्स कम्पनीको संख्या भने अब नघटाउने सोचमा राष्ट्र बैंक पुगेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- ‘लघुवित्त वित्तीय संस्थाहरूको थप मर्जर आवश्यक भए पनि अन्य बैंकिङ संस्थामा एकाधिकारसहित ज्यादै ठूलो आकार हुने गरी थप मर्जरलाई पनि राम्रो नठानिएला ।’ नेपाल राष्ट्र बैंकले सुरूमा धमाधम लाइसेन्स वितरण गरेपनि पछि आफ्नो नीतिलाई सच्याउँदै मर्जरको नीति अघि सार्नुको कारण हो बैंकलाई पुँजीका आधारमा बलियो बनाउनु र बैंक-बैंक मिलेर सिजर्नी सिर्जना गर्नु । त्यतिबेला वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्बबाट वृद्धि गरेर ८ अर्ब बनाउने नीति राष्ट्र बैंकले अघि सार्यो । तर, यो एक दशकको समायावधिमा भएको मर्जरलाई नियाल्दा मर्जर भएका बैंकहरुमा सिनर्जी सिर्जना.नभएको प्रष्ट देखिन्छ । वि.स २०६७ सालसम्म बैंक स्थापनाका लागि लाइसेन्स दिएको नेपाल राष्ट्र बैंकले त्यसको एक वर्षपछि तिनै बैंकहरुलाई मर्जर तथा गाभ्ने/गाभिने नीति अघि सार्यो । उसो त लक्ष्मी बैंक र हाइसेफ फाइनान्स लिमिटेडबीच २०६१ सालमा मर्जर सम्झौता भइसकेको थियो । यो नै नेपाली बैंक वित्तीय संस्थाको इतिहासमा भएको पहिलो मर्जर रहेको नेपाल राष्ट्र बैंकले २०७४ असारमा सार्वजनिक गरेको ‘गाभ्ने/ गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) को प्रभावकारिता अध्ययन प्रतिवेदन’ उल्लेख छ । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली २०६८ जारी भएको थियो । यो विनियमावली जारी भएपछि भने हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्सबीच २०६८ सालमा मर्जर भएको थियो । बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली भने २०७० सालमा जारी भयो । यो विनियमावली जारी भएपछि १७ वटा वाणिज्य बैंक मर्जर प्रक्रियामा सामेल भइसकेका छन् । त्यसको सुरुवात भने ग्लोबल आइएमई बैंकबाट भयो । ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेपछि वाणिज्य बैंकहरुबीच मर्जरको प्रक्रिया सुरु भएको हो । ग्लोबल आइएमई बैंकले २०७६ मंसिरमा जनता बैंकलाई पनि गाभ्यो । पछि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच पनि मर्जर भएर अहिले ग्लोबल आइएमई बैंककै नामबाट सञ्चालनमा छ । यस्तै, २०७० असारमा एनआइसी बैंक र बैंक अफ एसिया गाभिएर एनआइसी एसिया बैंक बन्यो । प्रभु विकास बैंकले २०७१ मंसिरमा किष्ट बैंकलाई र २०७३ माघमा ग्राण्ड बैंकलाई गाभ्यो र प्रभु बैंक बन्यो । अहिले प्रभुले सेञ्चुरीलाई गाभेर प्रभुकै नामबाट सञ्चालनमा छ । नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेर नबिल बैंकको नाममा सञ्चालनमा छ । हिमालयनले सिभिललाई गाभेर हिमालयन बैंकको नाम सञ्चालनमा छ भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंकबीच मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसीसी-कुमारीबीच मर्जर भएर कुमारी बैंकको नामबाट बैंक सञ्चालनमा छ । पछिल्लो एक वर्ष वाणिज्य बैंकहरूका लागि मर्जर एक किसिमको पर्व नै बन्यो । कारण थियो, राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई दिने सेवा सुविधा । यो एक दशकको अवधिमा १७ वटा वाणिज्य बैंक मर्जर प्रक्रियामा सामेल भएपनि राष्ट्र बैंकको उद्देश्य भने पुरा भएको देखिँदैन । इनर्जी-इनर्जी भएका बैंकहरुबीच मर्जर गराएर सिनर्जी पैदा गर्ने राष्ट्र बैंकको लक्ष्य पुरा भएको देखिँदैन । राष्ट्र बैंकको ध्यान पुँजी बढाउनु बाहेक अन्य देखिएन । बरु, मर्जरको नाममा बैंक व्यवस्थापक तथा कर्मचारीहरूले ठूलो समस्या खेपिरहेका छन् । जागिर गुमाइरहेका छन् । मर्जरपछि बनेको ठूला बैंकले ग्राहकलाई दिने सेवास्तर निकै खस्किएको धेरैले अनुभव गरेका छन् । पुँजी र व्यवसायको आधार जति ठूलो भएपनि बैंकको नाफा घटेको छ । जनता बैंकसँग मर्ज हुनुपूर्व २० प्रतिशत लाभांश दिदै आएको ग्लोवल आईएमई बैंकको लाभांश जनतासँग मर्जपछि १६ प्रतिशतमा झर्यो । बैंक अफ काठमाण्डू पनि मर्ज भएपछि लाभांश करिव १३ प्रतिशतमा झरेको छ । वि.स २०७० सालदेखि वाणिज्य बैंकहरुबीच मर्जरको सुरुवात भएपछि २०७४ सालमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) को प्रभावकारिता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनले पनि ठूला संस्थामा विलय भएका साना संस्थाका कर्मचारी, ग्राहक तथा लगानीकर्तामध्ये केहीले सेयर स्वाप अनुपात निर्धारणमा ठूला संस्थाको प्रभाव देखिने गरेको, कर्मचारी समायोजन, जिम्मेवारीे बाँडफाँड तथा वृत्ति विकासका अवसरहरु न्यायोचित रुपमा हुने नगरेको, सेवा शुल्कमा वृद्धि तथा प्रकृयागत जटिलता हुने गरेको लगायतका समस्याहरू देखाएको थियो । त्यस अलवा सो प्रतिवेदनमा गाभ्ने/गाभिने तथा प्राप्तिको उद्देश्य प्राप्त भएको विषय पनि उल्लेख थियो । तर, त्यो अनुभुति न लगानीकर्ताले गरेका छन् नत सेवाग्राहीले । एक दर्जन बढी संस्थाहरु गाभेको संस्थाले सेवाग्राहीलाई दिने सेवा झन-झन खस्किदै गएको छ भने लगानीकर्ताले पाउने प्रतिफल पनि वर्षेनी घट्दै गइरहेको छ । यो एक दशकको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका बैंकहरुको प्रगति राष्ट्र बैंकले भने र सोच अनुरुप छैन । तत्कालीन सिभिल बैंकका सञ्चालक तथा हिमालयन बैंकका सेयरधनी अम्बिर बोगटी बैंकले दिने प्रतिफलमा खुसी छैनन् । पछिल्लो एक वर्षमा मर्जर प्रक्रियामा गएका बैंकहरुको सिनर्जी देख्न समय लाग्ने भएपनि ८/१० वर्ष पहिले नै मर्जर गरेका बैंकहरुको पनि सिनर्जी सिर्जना नभएको उनको भनाइ छ । उनका अनुसार बैंकहरूबीचको बिग मर्जरले मनोपोली बढ्ने खतरा भने देखिएको छ । ‘मर्जरमा गएका बैंकहरूबीच पुँजी बलियो देखिएको छ, यसले हाम्रो बैंकमा सानातिना समस्या आए भने डराउनु पर्दैन, तर अब बैंकहरूमा मनोपोली बढ्दै गएको छ, ग्राहकको बार्गेनिङ पावर घट्दै गएको छ, पहिले वार्षिक ३०/४० प्रतिशत प्रतिफल पाउने लगानीकर्ताहरुले अहिले १० प्रतिशत हाराहारीमा पाइरहेका छन्, ग्राहकले पनि सुस्त सेवा पाएको गुनासो सुनिन्छ, मर्जरले हरेक सूचकमा सिनर्जी देखाउनु पर्छ, तर त्यस्तो देखिएन,’ उनले भने । तत्कालीन जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले पनि बैंकहरुबीचको मर्जर प्रभावकारी नभएको धारणा राखे । उनले पनि बैंकहरुबीच मर्जरले पुँजी बढाउन सहयोग गरे पनि त्यसलाई सफलता मान्न नहुने बताए । ‘मर्जरले पुँजी बढेर बैंकको कर्जा क्षमता त बढाएको छ, तर सोचे अनुरुप सिनर्जी देखिएको छैन, मर्जर प्रक्रियामा सिर्जना भएका समस्याहरु समाधान गर्न सकिएको छैन, बैंक ठूलो बन्नु मात्रै सफलता होइन, सिनर्जी सिर्जना गर्नु होइन, अधिकांश सूचक तथा सेवामा झन समस्या सिर्जना भएको देखिन्छ,’ उनले भने । उनका अनुसार पछिल्लो समय चलेको बैंकहरूबीच हतार-हतारमा मर्जर गर्ने अभ्यासले कर्मचारी र सञ्चालकहरुबीच पनि वैमानश्यता ल्याउन सक्छ । ‘फरक-फरक संस्थाका कर्मचारी र सञ्चालकको काम गर्ने कल्चर मिलेको देखिँदैन, यसको मार संस्थालाई पर्छ, कर्मचारीको व्यवस्थापनमा समस्या देखिन्छ, सञ्चालन जोखिम बढाउँछ, सम्पत्तिको व्यवस्थापनमा चुनौति देखिन सक्छ, कार्टेलिङको समस्या देखिन सक्छ, त्यसले पनि सिनर्जी सिर्जना हुने समय लाग्न सक्छ,’ उनले भने । बैंकर पर्शुराम कुँवर मर्जरमा गएका बैंकहरुको सिनर्जी आजको भोलि नै नआउने धारणा राख्छन् । उनका अनुसार मर्जरमा गएका बैंकहरुको लागत उच्च हुने भएकाले वित्तीय विवरण उत्साहजनक आउन अझै समय लाग्ने उनको बुझाइ छ । यद्यपि, बैंकहरुबीच मर्जर सुरु भएको एक दशक बित्नै लागेको छ । चालू आर्थिक वर्षमा मर्जरमा गएका अधिकांश बैंकले वित्तीय विवरण तोडमोड गरेको उनको बुझाइ छ । मर्जरमा गएका वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सार्वजनिक गरेका वित्तीय विवरणमा शंका गर्नु पर्ने ठाउँ रहेको उनले बताए । ‘अहिले केही बैंकहरबीच सिनर्जी आउने किसिमको मर्ज भएको देखिँदैन, खराब-खराब बैंक मर्ज हुँदा महाखराब हुन सक्छन्, पहिले मर्ज भएका बैंकको खासै सिनर्जी देखिएन, यो वर्ष मर्ज भएकाहरुको सिनर्जी आउन भने समय लाग्छ,’ उनले भने । यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि अहिले मर्जरमा गएका बैंकहरुबीचको सिनर्जी अहिले नै खोज्न नहुने धारणा राख्छन् । उनले ती बैंकहरुले सिनर्जी सिर्जना गर्न केही समय लाग्ने उनको भनाइ छ । मर्जर भएकै बैंकको हालत खराब मर्जरले सिनर्जी सिर्जना गर्ने भनिए पनि पछिल्लो समय मर्जर भएकै बैंकहरु बढी समस्यामा देखिएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको अभावले सबैभन्दा बढी समस्या मर्जरमा गएका बैंकहरुलाई देखिएको छ । ती बैंकहरुले मर्जर गरेर राष्ट्र बैंकले दिएको सेवा सुविधा उपभोग गरेपनि सूचकहरुमा सुधार र सिनर्जी सिर्जना हुने संकेत भने देखिँदैन । चालू आर्थिक वर्षमा एक दर्जन वाणिज्य बैंकहरूले मर्जर गरे । पुँजीको आकारमा ठूला भएका ती बैंकहरुलाई मर्जर नगरेका बैंकहरुले पनि चुनौति दिइरहेका छन् । मर्जरमा गएर ठूला बनेका बैंकहरुलाई मर्जरमा नगएका बैंकहरुले नाफामा समेत टक्कर दिन थालेका छन् । विगतरणयोग्य नाफामा मर्जरमा गएका ठूला बैंकहरुलाई एभरेष्ट बैंकले टपेको छ । एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी र सानिमा बैंकको वितरणयोग्य नाफा मर्जरमा गएका बैंकहरुको तुलनामा बढी नै छ । मर्जरमा गएका अधिकांश बैंकहरुको खराब कर्जा बढी छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि अन्यको तुलनामा मर्जरमा गएका बैंकहरुको बढी छ । मर्जरमा सामेल भएका अधिकांश वाणिज्य बैंकहरुको खराब कर्जा साढे ३ प्रतिशत बढी छ । एक बैंकका सीईओका अनुसार मर्जरमा नगएकाभन्दा मर्जरमा गएका बैंकहरुको हालत अहिले खराब छ । ती बैंकहरुलाई पुँजी बढी भएपनि कर्जा लगानी गर्न सक्ने क्षमता पनि छैन । चालू आर्थिक वर्षको तेस्रो त्रैमासका अनुसार सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको छ । जसले सिभिल बैंकलाई गाभेको थियो । हिमालयनको खराब कर्जा ४.५६ प्रतिशत छ । बैंक स्रोतका अनुसार हिमालयनले सिभिलको अधिकांश कर्जा प्रोभिजनमा राखेको छ । यस्तै, कुमारीको ३.९७ प्रतिशत, ग्लोबल आइएमईको ३.९६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत र नबिल बैंकको ३.८७ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मर्जरले बैंकको आकार ठूलो हुने बाहेक कुनै काम नभएको बताए । उनले मर्जर गरेर बैंक ठूला व्यापारी बन्ने मात्रै काम भएको धारणा राखे । ‘मर्जरपछि बैंकको लागत घटेको छैन, ब्याजदर कम भएको छैन, तरलतामा सुधार हुन सकेको छैन, थप रोजगारी सिर्जना हुन सकेको छैन, निर्यात बढ्न सकेको छैन, निक्षेप, कर्जा र पुँजी मात्रै बढ्यो, यसलाई सिनर्जी सिर्जना भयो भन्न मिल्दैन, बैंक ठूला व्यापारी मात्रै भए,’ उनले भने । राष्ट्र बैंक भन्छः सिनर्जीको समय आउँछ नेपाल राष्ट्र बैंकको संख्या कम गराउने विषयमा सफल बनेपनि त्यसको प्रभावकारिताको विषयमा भने सार्वजनिक रुपमा बोलेको छैन । राष्ट्र बैंकले समेत मर्जर भएर बनेको बैंकले सेवाग्राहीलाई दिने वित्तीय सेवाको गुणस्तरको विषयमा पनि नियालिरहेको हुन सक्छ । ग्राहकहरुबाट मर्जरपछि बैंकहरुको सेवाको गुणस्तर खस्किएको अर्थात् सेवामा ढिलासुस्ती भएको गुनासो सुनिन्छ । मर्जर नीतिलाई अगाडि सारेका पूर्व गभर्नर चिरञ्जिवी नेपाल मर्जरको नीति विस्तारै सार्थक भइरहेको बताउँछन् । उनी त्यसबेलाको तुलनामा अहिले मर्जरकै कारण देशको अर्थतन्त्र दोब्बर भएको धारणा राख्छन् । बैंक मर्जरकै कारण वित्तीय साक्षरता बढेको, बैंकका शाखाहरुको संख्यामा वृद्धि भएको र रोजगारी पनि बढेको उनको भनाइ छ । तर, नेपाल राष्ट्र बैंकले अब प्रभावकारी रुपमा नियमन र सुपरिवेक्षण गर्न भने आवश्यक रहेको उनले बताए । यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल मर्जरमा गएका बैंकहरुको वित्तीय विवरण उत्साहजनक आयो वा आएन भन्दा पनि समग्रमा हेर्नु पर्ने बताउँछन् । अहिले मर्जरमा मात्रै नभएर मर्जरमा नगएका बैंकहरुको वित्तीय प्रतिवेदन खासै उत्साहजनक नभएको बताउँदै उनले समग्र अर्थतन्त्रमा परेको प्रभाव वित्तीय प्रतिवेदनमा परेको बताए । ‘पूँजी हेर्ने हो भने बैंकहरू अब्बल नै छन्, बैंकको खराब कर्जा दर टाइट भएपनि त्यो पनि असहज अवस्था होइन, बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै असर गरेको छैन, राम्रा छन्, पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको हो, मर्जरको सिनर्जी विस्तारै देखिन्छ,’ उनले भने । पछिल्लो समय भइरहेको बिग मर्जरले राष्ट्र बैंकलाई पनि एक किसिमको त्रास छ । बिग मर्जरले केही सीमित लगानीकर्ताको हातमा बैंकिङ क्षेत्र पर्ने होकि भन्ने त्रास राष्ट्र बैंकलाई छ । यस विषयको उठान बैंकिङ क्षेत्रका जनकारहरूले पनि गरिरहेका छन् । राष्ट्र बैंकले यस विषयमा पनि छलफल भइरहेको बताएको छ ।
रूकुमका राजा, शहरका सर
काठमाडौं । तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० वर्षे जनयुद्द । त्यो जनयुद्दको उदगम स्थल हो रूकुम । यो हिसाबले पनि रूकुमको बेग्लै परिचय, परिभाषा र पहिचान छ । कुनै समय रूकुम एउटा राज्य थियो । पछि टुक्रियो । रूकुम, मुसिकोट, बाँफीकोट, आठबिस, जहारी, गोताम र खगेना जस्ता स–साना राज्यमा परिणत भयो रूकुम । बहादुर शाहको नायवी र रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविस कोट, बाँफीकोट, कोटजहारी नेपालमा गाभिए । वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । पछि रुकुम सिंगो जिल्ला बन्यो । अहिले पुनः पश्चिम रूकुम र पूर्वी रूकुम गरेर दुई जिल्लामा परिणत भएको छ । देश परिवर्तनको एउटा सम्वाहक बन्ने अवसर रूकुमले पाएको छ । १० वर्षे जनयुद्धले नै पछिल्लो शाही शासनको अन्त्य गर्यो । अहिले देशमा गणतन्त्र छ । सबै समान हौं भन्ने भावना संविधानले समेटेको छ । तर, अतितलाई कसले पो भुल्न सकिन्छ र । १० वर्षे जनयुद्दमा ध्वस्त पारिएका तत्कालीन रूकुम राज्यका राजाका दरबारका अवशेषहरु अहिले पनि ठाडै छन् । संरचनाहरु स्वस्थ छैनन् । तर, मान्छेको मानसपटलमा भने ती संरचनाहरु ताजै छन् । तत्कालीन रूकुम बाँफीकोट राज्यका राजाका सन्तान हुन् अभिषेक बिक्रम शाह । उनको मानसपटलमा पनि केही सीमित घटनाक्रमहरुले राज गरेर बसेका छन् । त्यो आत्मिता, हार्दिकता । एक अर्काप्रतिको चिन्तन । सहयोगी भावना र मान–सम्मान । वाउ ! तर, अहिले एकअर्काप्रतिको हार्दिकता, सहयोगी भावना र मित्रता घटिसकेको बताउँछन् अभिषेक । अभिषेक विक्रम शाह रूकुमको बाफीकोटमै जन्मिए । सानो छँदा रूकुमको विरेन्द्र माध्यामिक विद्यालयमा पढे । बुबा निजामति सेवामा कार्यरत । बुबा जता सरुवा भयो, उतै पढ्न जानु पर्ने बाध्यता अभिषेकमा थियो । उनी सानै हुँदा सुदूरपश्चिमको बैतडीमा पनि पुगे । विद्यालय स्तरको पढाइ उनले बैतडी पुगेर गरे । पछि काठमाडौं आए । काठमाडौंमै पढाइलाई अगाडि बढाए । पढ्नमा औसत विद्यार्थी थिए अभिषेक । त्यतिबेला पढेपछि डाक्टर, पाइलट र सरकारी जागिरे बन्ने ‘ह्विम’ थियो । तर, उनले सजिलो बाटो समाते । पर्यटन क्षेत्रमै काम गर्ने सोच बनाए । उनले स्वविवेकले त्यही क्षेत्रसँग सम्बन्धित अध्ययन गरे । काम पनि सुरु गरे । अन्नपूर्णको क्यासिनोबाट काम सुरु कक्षा १२ को पढाइ सकेपछि अभिषेकलाई पढ्न विदेश जाने रहर थियो । तर, उनी गएनन् । काठमाडौंमै पढे । त्यतिबेला नेपालको पर्यटनमा एक किसिमको आकर्षण थियो । ‘राम्रो आथित्यता तथा सत्कार, काम पनि सजिलो, मलाई अब यो क्षेत्रमै काम गर्नु पर्छ जस्तो लाग्यो, अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्न सुरू गरेँ, उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने,’ ‘त्यतिखेर घर परिवार र साथीहरुले गाली पनि गरे ।’ रूकुमेली राजाको सन्तान । बुबा निजामति कर्मचारी (सुधिरकुमार शाह) सहसचिव थिए । पछि निर्वाचन आयुक्त भएर रिटायर्ड भए । अंकल (सुरेश विक्रम शाह) डिआईजी । बुबा र काकाको सम्बन्धले पनि उनी जुनसुकै ठाउँ र क्षेत्रमा सजिलै काम पाउन सक्थे । तर, उनलाई आफ्नै मेहेनत र पौरखले काम गर्नु पर्छ भन्ने लाग्यो । अन्नपूर्ण होटलमा काम सुरू गर्दा धेरैले राजाको सन्तान किन होटलको भाँडा माझ्ने काममा लागेको भनेर गाली पनि गरेको उनी स्मरण गर्छन् । ‘म मेरो योजनामा अडिक थिएँ, काम सानो ठूलो हुन्न भन्ने कुरामा कन्भिन्स थिएँ, ठूलो लक्ष्य हासिल गर्न सानोबाट काम सुरु गर्नु पर्छ भन्नेमा विश्वास गर्थें,’ उनले भने । अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्दै गर्दा उनी बिरामी भए । पछि काम नै छोडे । केही समयपछि सोल्टी होटलमा ट्रेनिङका लागि आवेदन खुल्यो । ट्रेनिङपछि काम पनि मिल्थ्यो । ट्रेनिङ पुरा गरे । र सोल्टी होटलमा फ्रण्ट अफिसरबाट काम सुरु गरे । त्यहाँ आफुले ५ वर्ष काम गरेको उनी सुनाउँछन् । सन् २००५ देखि २०१० सम्म उनले सोल्टी होटलमै काम गरे । त्यसपछि उनी सोल्टी छोडेर हायात पुगे । सोल्टी होटल छोडेर हायात जाँदा पनि उनले आफन्त र साथीहरुको गाली खानु पर्यो । तर, उनले केही वास्ता गरेनन् । त्यहाँ पनि साढे ४ वर्ष काम गरे । पुनः हायात छोडेर समिट होटलमा साढे २ वर्ष काम गरे । समिट होटलमा काम छोडेर उनी चन्द्रागिरि हिल्स पुगे । चन्द्रागिरि केबलकारको उनी महाप्रबन्धक बने । त्यतिखेर पनि उनका साथीभाइ र घरपरिवारले उनको आलोचना गरे । ‘चन्द्रागिरि किन गएको ? केबलकार बन्छ कि बन्दैन, कहाँ जंगलमा गएको ? भनेर धेरै मानिसहरु मसँग रिसाए, तर म काम गर्दै गएँ, चन्द्रागिरिलाई सफल प्रोजेक्टका रूपमा अगाडि बढाएँ,’ उनले खुसी हुँदै भने । चन्द्रागिरि हिल्समा गएको भनेर रिसाएकाहरुसँग भने अभिषेकको गज्जबको अनुभव छ । सुरूमा रिसाउनेहरु चन्द्रागिरि बनेपछि जागिर, टिकट लगायतका लागि सहयोग माग्ने गरेको उनी सुनाउँछन् । ‘सुन्न रमाइलो लाग्छ, अगाडि गाली गर्नेहरुको दृष्टिकोण पछि बदलिँदा खुसी मिल्दो रहेछ,’ उनले भने । मान्छेले सफलता र ग्रोथ हासिल गर्न जोखिम पनि लिन सक्नु पर्ने उनी बताउँछन् । ‘हिजो गालि गर्ने, आलोचना गर्ने मान्छेलाई नै आज सिकाउनु परेको छ, मान्छेले कम्फर्ट जाेन छोड्नु पर्छ, तब मात्रै करिअर बन्छ, रिक्स लिन सक्नु पर्छ,’ उनले भने, ‘मैले त्यही रिक्स लिएँ र अहिले यता छु ।’ जुँगा र महाप्रबन्धकको किस्सा टाउकोमा ढाँकाको टोपी । रातो फ्रेमको चस्मा । गालामा दाह्रीजुँगा अनि चिटिक्क ‘गेटअप’ । हामीले अभिषेक विक्रम शाहलाई प्रश्न गरौं, ‘तपाईंको दाह्रीदेखि चस्माको फ्रेमसम्म बैंकर अनिल केशरी शाहसँग मिल्दोजुल्दो छ, तपाईं उहाँको अनुयायी हो, यो संयोग मात्रै ?’ उनले यसलाई अस्वीकार गरे । उनले यो आफुलाई सुहाउने र आफ्नो व्यक्तिगत शोख पनि भएको बताए । यो सँगै उनले अर्को गज्जबको किस्सा सुनाए । उनी चन्द्रागिरि हिल्सको महाप्रबन्धक थिए । केबलकार निर्माण गर्दा स्थानीयहरुले केही अवरोध गरे । एकदिन स्थानीयहरुले उनलाई भेट्न खोजिरहेका थिए । महाप्रबन्धक (जीएम) उनै शाह थिए । तर, स्थानीयले उनैलाई जीएमलाई बोलाउन भनिरहेका थिए । उनले आफु नै जीएम भएको बताए पनि उनीहरुले पत्याएनन् । पछि भित्र गएर ‘गेटअप’ चेञ्ज गरेपछि र केही कन्भिन्स गरेपछि उनीहरुले कुरा गर्न चाहे । कारण थियो कलिलो उमेर । उनी ३२ वर्षको उमेरमा चन्द्रागिरि हिल्सको जीएम बनेका थिए । त्यो घटनापछि उनलाई दाह्री जुँदा पाल्नु पर्दो रहेछ भन्ने महसुस भयो । ‘जीएम अर्थात् सीईओ या कुनै संस्थाको नेतृत्व गर्न दाह्री कपाल फुल्नै पर्छ भन्ने मानसिकता हामीमा छ, त्यसलाई काउन्टर दिन पनि मैले यो गरेको हुँ, दाह्री–जुँगा सुहाउने भएकोले पनि मैले नकाटेको हो, यसको छुट्टै चार्म छ, पहिचान पनि हुने भयो,’ उनले ठट्यौली शैलीमा भने । उनी अहिले ४० वर्षका भए । उनी अहिले होटल ले हिमालयनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । उनलाई यो क्षेत्रमा काम गर्न थालेको दुई दशक बढी समय भइसकेको छ । उनी मुस्कुराउँदै भन्छन्, ‘अब ४० कटेसी रमाउँला भन्दा पनि ४० कटेसी झन नयाँ किसिमले दौडिनु पर्नेछ ।’ उनले सर्टिफाइड बिजनेस हस्पिटालिटी एडमिनेस्ट्रेसन (सीएचबिए) पनि पास गरेका छन् । यो टाइटल नेपालमा आफुले मात्रै लिएको उनी दाबी गर्छन् । उनी अब नयाँ जोस, जाँगर र शैलीका साथ काम गर्ने संकल्पमा छन् । नेपाली ब्राण्ड स्थापित गर्ने सीईओ शाह अब नेपाली होटलहरुमा नेपाली ब्राण्ड नै स्थापित गर्नु पर्ने बताउँछन् । विदेशी चेन ब्राण्डलाई प्रोत्साहन गर्नेभन्दा पनि पर्यटकहरुले नेपाली स्ट्याण्डर्ड नै मन पराउने हुनाले अब नेपाली हस्पिटालिटी क्षेत्रमा नेपाली ब्राण्डको अभ्यास सुरू गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि आफुहरुले अभ्यास सुरू गरिसकेको उनी बताउँछन् । ‘अब हामीले नेपाली ब्राण्डलाई स्थापित गर्नु पर्नेछ, विदेशी चेन ब्राण्ड आएर करेन्सी लिएर जान्छन्, हाम्रो आफ्नै आतिथ्यता छ, विदेशी आएर हामीसँग सिकेर जान्छन्, हामी विदेशी अभ्यास सुरु गर्छौं, हामी अहिले आफ्नै हस्पिटालिटी ब्राण्ड बनाउने प्रयासमा छौं, होटलमा नेपाली जीएम, नेपाली खाना, नेपाली स्ट्याण्डर्ड बनाउन सकिन्छ, नेपालमा आउने पर्यटकले यहाँकै आथित्यता चाहिन्छ, आफ्नोपनलाई प्रमोट गर्न आवश्यक छ, सोही ढंगले हामी काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले पर्यटकीय गन्तव्रयहरुको प्रचारप्रसार गरेर काम गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनी अब आफु यही क्षेत्र पृथक र सिर्जनशील भएर काम गर्ने बताउँछन् । रूकुमलाई फर्केर हेर्दा अभिषेक बिक्रम शाह कहिले काहीँ रूकुम जान्छन् । आफ्नो पुर्खाहरु बसेको बाफीकोट दरबार नियाल्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, ‘यो दरबार पुनर्निर्माण गर्न कति खर्च खर्च लाग्ला ?’ ‘अझ उनी आफ्नै मन बुझाउँछन्, पुरानो दरबार जस्तो बनाउन सकिँदैन, सामान पनि पाइँदैन ।’ शाहले स्केचमा तयार पारेको बाँफीकोट दरबार । उनलाई अझै पनि रूकुमा पाइने सम्मान ताजै छ । जसरी उनका पुर्खाले पाउँथे । ‘शहरिया सर र रूकुमको राजा भाषा उस्ता उस्तै हुन्, यी दुवै सम्मानित भाषा हुन्, यसलाई म सम्मानको रूपमा लिन्छु, पहिला ठकुरी भाषालाई सामन्ती भन्थे, खाना मिठो थकालीको, भाषा मिठो ठकुरीको भनिन्छ नी, उनले स्पष्ट पार्न खोज्दै भने, ‘अहिले सबैलाई यही भाषा चाहिएको छ ।’ उनी रूकुमलाई पर्यटकीय हिसाबमा चिनाउन चाहन्छन् । भत्केका दरबारहरुलाई संग्राहलय बनाउन चाहन्छन् । तर, यसमा सरकारको साथ आवश्यक छ । ‘ऐतिहासिक धरोहरको भ्यालू छ, त्यो क्षति देशको लागि पनि नोक्सान हो, यसलाई पुर्ननिर्माण गर्नतर्फ सरकार अग्रसर हुनु पर्ने उनको भनाइ छ । रूकुम प्राकृतिक दृष्टिकोण र पर्यटकीय सम्भावनाले पनि भरिभराउ भएकोले त्यसको प्रचारप्रसार तथा प्रमोटका लागि आफु लागि पर्ने बताउँछन् । अहिले पनि रूकुममा ओझेलमा परेका धेरै ठाउँ भएकोले त्यसको प्रचार प्रसार गर्न आवश्यक छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेज्मेन्टबाट स्नातक तह पुरा गरेका शाह बढी घुमघामा रुचाउँछन् । उनको शोख भनेको ‘एयर गन सुटिङ’ हो । फुर्सदमा उनी सुटिङको अभ्यास गर्छन् । विभिन्न समयमा उनी पर्यटन क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मानित हुँदै आएका छन् । गत फागुनमा पनि उनलाई सगरमाथा प्रतिष्ठान नेपालले सम्मान गरेको थियो । अघिल्लो वर्ष पनि बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा मत्वपूर्ण योगदान पुर्याएको भन्दै शाहलाई सम्मान गरेको थियो ।
महासंघको अध्यक्ष बने चन्द्रप्रसाद ढकाल, सफल उद्यमीसँगै निजी क्षेत्रको नेता पनि
काठमाडौं । चैत २८, २९ र ३० गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघले ५७ औ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभा सम्पन्न सँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वातः अध्यक्ष भएका छन् । महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् । वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ । महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाइ सिधै फाइदा वा सेवा पुर्याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो, व्यावसायिक सम्भावनाको क्षेत्र । को हुन ढकाल ? चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हँुदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमइ ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाँैं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् । औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूणर् व्यावसायिक व्यक्ति सम्मान-सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक-सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । २०७२ को भूकम्प र कोभिड-१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड-१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् ।