व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा

काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा र जलविद्युत् क्षेत्रको सेयरमा उनको ठूलो लगानी रहेको छ । वि.सं. २०१६ पुस २४ काठमाडौंको झोसेमा जन्मिएका अग्रवाल अहिले ६२ वर्षका भए । हट्टाकट्टा देखिने उनको जीवनशैली सामान्य छ । उनी बिहान एक घण्टा मर्निङ वाक गर्छन् । दैनिक केही मात्रामा रक्सी पिउँछन् । खानपान ननभेज हो । नेपालको सन्दर्भमा एउटा सामान्य मान्छेभन्दा व्यापारीलाई बढी रोग लागेको देखिन्छ । अग्रवाल पनि यसलाई स्वीकार्छन् । ४५ देखि ५० वर्षभन्दा माथिका अधिकांश व्यापारीलाई ब्लड प्रेसर छ । त्यस्तै, अधिकांशमा मुटुको समस्या छ । उनलाई पनि यहि समस्या छ र दैनिक औषधि सेवन गर्छन् । मारवाडी समुदायका अग्रवालको परिवार राजस्थानबाट काठमाडौंको झोसे आएका हुन् । र, बिजनेस यात्रा पनि झोसेबाटै शुरु भएको थियो । जुन शशिकान्तको हजुरबुबाले शुरु गरेका हुन् । अग्रवालको परिवार काठमाडौंमा बस्दै आएको करिब १२० वर्ष भइसकेको छ । व्यापारिक पृष्ठभूमिको उनको परिवारले कपडाको व्यापारबाट आफ्नो करियर शुरु गरेको हो । पहिले इन्द्रचोकमा कपडा पसल थियो । पछि झोसेमा कपडाको होलसेल पसल चलाए । ‘मेरो हजुरबुबा (मालुराम मारवाडी/मालुसाहु) ले नेपालमा धेरै कपडाको बजार विस्तार गर्नुभएको छ, उतिबेला पनि ओखलढुङ्गा, बनेपा, धुलिखेल, टाँडी, गोरखा, दार्खु, बाह्रबिसे, लगायत विभिन्न ठाउँमा कपडा बोकेर जानुहुन्थ्यो, धेरै ठाउँमा गएर कपडा बेच्न सकाउने, उहाँको नाम मालुसाहु नै चिरपरिचत छ, जुन नामले मलाई धेरै सहयोग गरेको छ,’ स्वर्गीय हजुरबुबाको कहानी सुनाउँदै उनले भने । शशीकान्तका हजुरबुबा (मालुराम) र बुबा (शिवकुमार) को नामबाट एमएस (मालुराम शिवकुमार) ग्रुप जन्मियो । त्यहीबाट अग्रवालको परिवारले आफ्नो व्यावसायिक पहिचान बनाएको छन् । कपडा ट्रेडिङबाट अग्रवाल ग्रार्मेन्ट उद्योगमा लागे । शुरुमा भारतबाट आयात गर्दै आएका अग्रवालले पछि तेश्रो देशबाट कपडाको आयात गर्न थालेका थिए । ‘सन् १९७८/१९७९ ताका सबै नेपालीहरु मिलेर कोरिया र जापानबाट एउटा ठूलो पानी जहाजमा कपडा मगाइएको थियो, उक्त जहाज कम्पनी बदमास रहेछ, जसले जहाजको सामान अन्तै बेच्ने तयारी गरेछ, पछि मुद्दा हालेपछि सामान नेपाल फिर्ता ल्याउन सफल भयौं,’ विगतलाई स्मरण गर्दै उनले भने- ‘व्यापारमा बढी जोखिम देखेपछि म ट्रेण्डबाट उद्योगमा लागेँ ।’ सुरुमा उनले मोजा, कट्टु, गञ्जी, बच्चाको सुटको उत्पादन शुरु गरे । उद्योग राम्रै चल्यो । अग्रवालले राम्रै कमाए । त्यसपछि धोविघाटमा पशुपति टेस्टाइल फ्याक्ट्री चलाए । त्यसपछि उनले क्रमशः व्यापार छोड्दै गए, उद्योग थप्दै गए । सन् १९९४ मा उनले एभरेष्ट सुगर एण्ड केमिकल्स इन्ड्रस्टीज खोले । जुन उद्योग अहिले पनि नेपालको सबैभन्दा ठूलो चिनी उद्योगमध्ये एक हो । सिराहामा हिमालय सुगर चलाएका छन् । वीरगञ्जमा भगवती स्टिल उद्योग छ । त्यस्तै, पवन गोल्यानसँगको पार्टनरशीपमा इटहरीमा रिलायन्स स्पिनिङ मिल्स सञ्चालनमा छ । धागोमात्र बन्ने यो उद्योगबाट टर्की, जापान, दक्षिण अफ्रिका, भारत लगायतका देशहरुमा करोडौंको निर्यात हुन्छ । धागो बनाउनको लागि कच्चा पदार्थ अर्थात फाइबर भने भारत, चीन, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशबाट आयात गरिने उनले बताए । ‘अहिले हामी बल व्यिरिङको मात्र व्यापार गर्छौं, संसारको सबैभन्दा ठूलो व्यिरिङ म्यानुफ्याक्चर कम्पनी स्वीडेनको एसकेएफको एजेन्ट हौं, ४० वर्षदेखि नेपालका अधिकांश कारखाना, अस्पताल, होटल लगायतका क्षेत्रलाई चाहिने ठूलो तथा सानो सबै व्यिरिङ सप्लाई गर्दै आएका छौं, अरु व्यापारमा हामी छैनौं,’ उनले भने । हाल अग्रवालले काठमाडौंको दुई ठाउमा होटल चलाउँदै आएका छन् । ठमेलमा फेयरफिल्ड र नक्सालमा मेरियट होटल सञ्चालन गर्दै आएका अग्रवाल अर्को नयाँ होटल सञ्चालनमा ल्याउने योजनामा छन् । उनले काठमाडौंको कमलादीमा मेरियटकै ब्राण्डको मोक्सी नामक होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो ९० कोठाको तीन तारे होटल हो । उनका छोरा गौरव अग्रवाल पनि व्यवसायमा आइसकेका छन् । गौरवले होटल बिजनेश हेरिरहेका छन् । शशीकान्तका भाई सुमित अग्रवालले होटलसँगसँगै कन्स्ट्रक्सन एक्टिभिटी, हाउँजिङ्गको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । जग्गा बेचेर पनि समयमा तलब चिनी उद्योगीले किसानलाई भुक्तानी नदिएको विषयले नेपालको राजनीति र उखु किसानमा ठूलो तरङ्ग पैदा गर्छ । चिनी व्यवसायीको बदनाम हुने गरेको छ । यहि विषयमा जोडिएर शशीकान्त अग्रवालको नाम र फोटा समाचारहरुमा आईरहन्छ । अग्रवाल विगत २५ वर्षदेखि चिनी उत्पादक सङ्घको अध्यक्ष हुन् । ‘म चिनी उत्पादक सङ्घको अध्यक्ष भएकोले पत्रकारहरुले मलाई सोध्नुहुन्छ, मेरो नाम र फोटो पनि छापिन्छ, तर मैले कुनै पनि किसानको पैसा भुक्तानी बाँकी राखेको छैन’ अग्रवालले भने- ‘कोभिड महामारीको समयमा जग्गा बेचेर कर्मचारीलाई तलब खुवाएको सुनाए, अरुले व्याज तिर्न नसकेको समयमा पनि मैले किस्ता तिरेँ, अहिले यो होटललाई पैसा चाहिएको अथवा अर्को होटल बनाउनु छ भने बैङ्कहरुले मलाई आँखा चिम्लेर पैसा दिन्छन्, आर्थिक कारोबारमा मेरो रेपुटेशनलाई लिएर कसैले पनि प्रश्न गर्ने ठाउँ राखेको छैन ।’ टुरिजम ग्लामर पनि, फ्रजाइल पनि हालसम्म दुई होटल सञ्चालनमा ल्याएका अग्रवाल थप अर्को होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । उनी होटल व्यवसायलाई फ्रजाइल व्यवसायको उपनाम दिन्छन् अग्रवाल । ‘टुरिजम एकदमै फ्रजाइल बिजनेस हो, नेपालमा जस्तै कुनै रोग फैलियो भन्ने हल्ला कसैले फैलाइदियो, काठमाडौंमा बम् पड्कियो भनेर सुनाइदिनुस्, भोलिदेखि नै क्यान्सिलेसन शुरु भइहाल्छ, त्यसैले यो बढो फ्रजाइल बिजनेस हो,’ प्रष्टाउँदै उनले भने- ‘तर यो बिजनेसको कमाइभन्दा पनि आफ्नो प्रपर्टीको एप्रिसियसनले फाइदा गर्छ ।’ साथै, यो क्षेत्रमा ग्लामर पनि मिसिएको अग्रवाल बताउँछन् । ‘होटलभन्दा पनि एभरेष्ट सुगर मिल्स, रिलायन्स मिल्समा ठूलो लगानी थियो, तर पनि कुनै पनि पत्रकार साथीबाट ती उद्योगको बारेमा सोधखोज हुँदैनथ्यो, तर होटलको बारेमा भने दैनिक कम्तिमा ५ जनाले अन्तरवार्ता लिन आउनुहुन्थ्यो, त्यसैले यो ग्लामर बिजनेस हो,’ उनले थप्दै भने- ‘मलाई अरु क्षेत्रमा आफ्नो चिनारी बनाउन ३०/४० वर्ष लाग्यो होला तर होटलमा ५ वर्षमै बन्यो ।’ व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमा हात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्ड सेटरको उपनाम दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । तपाईं कति सम्पत्तिको मालिक ? हामीले प्रश्न गर्यौं । ‘जति सम्पत्ति छ प्रायः सबै मेरै नाममा छ, कतिपय कम्पनीको सेयर भाइको नाममा होला, सबै पारदर्शी नै छन्, लुकाउनु पर्ने आवश्यकता छैन र लुकाएर लुकिने पनि होइन, तर मूल्यांकन भने गरिएको छैन,’ अग्रवालले बताए । नेपालमा व्यक्तिगत सम्पत्तिको मूल्यांकन गर्ने चलन नभएर पनि आफूहरुले यसमा गृहकार्य नगरेको उनी बताउँछन् । एमएस ग्रुपका प्रबन्धक निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । धेरै पैसा भएपछि त्यसको भ्यालुएसन गर्न नसकिने हो ? प्रतिप्रश्न गर्दै सोध्यौं । ‘त्यो पनि होला,’ उत्तर फर्काउँदै उनले भने- ‘सार्वजनिक गर्न नचाहने पनि होला, मूल्यांकन गर्न नचाहेको पनि हुन सक्छ ।’ की म यति सम्पत्तिको मालिक हुँ भन्दा समाजमा असुरक्षित भइन्छ ? हामी रोकिएनौं । ‘विल्कुल होइन, कुनै जमाना थियो होेला, तर अहिले विनोदजीले डलरमा अरबपति छु भनिराख्नु भएको छ, उहाँले हरेक वर्ष सार्वजनिक गर्नुहुन्छ, असुरक्षित हुने भए किन सार्वजनिक गर्नुहुन्थ्यो र ? चोरेर ल्याएको हो र लुकाउन ? हामीलाई नै प्रतिप्रश्न गर्दै उनले भने । पैसा र खुसी दुवै आर्जन ‘यो समानान्तर हो, पैसा पनि राम्रै कमाएको छु, नकमाएको भए अहिले पाँच तारे होटलको ओनर अर्थात सञ्चालक हुँन्थिन होला र कमाएपछि यसै खुसी भइहालियो, व्यापारिक यात्रामा पैसा कमाउने दौडमा लाग्दा योसँग मेरो खटपट छ, झगडा परेको छ भन्ने दिन आजसम्म कहिल्यै आएन, यसको यति तिर्नु छ, कसरी तिर्ने ? भन्ने पनि कहिल्यै भएन, ‘आई अल्वेज इन्ज्योई माई बिजनेस, सो आई अल्वेज ह्याप्पी,’ अग्रवाल भन्छन् । व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमाहात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्डसेटरको उपमा दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । जसले ग्रोथको बाटो पहिल्याउँछ र नाम कमाउन प्रेरित गर्नेमा उनी विश्वस्त छन् । सफल उद्यमीका आधारहरु ‘प्यासन इज भेरि की फ्याक्टर’ भन्छन् अग्रवाल । ‘नेपालमा विश्वव्यापी कोरोना भाइरस आयो, दुई वर्ष केही भएन, व्यवसाय ठप्प, त्यही पनि हामीले धैर्यता राख्यौं, होटल बन्द पनि गरेनौं, कर्मचारीलाई पनि निकालेनौं, अहिले त्यसकै विभिन्न रिवार्डहरु पाइरहेका छौं ।’ त्यसैले, कहिले पनि प्यासन लुज नगर्न उद्यमीहरुलाई सन्देश दिन्छन् उनी । यसका साथै आफ्नो लगन छाड्नु हुँदैन । गृहकार्य गर्छु भनेर लिइसकेपछि त्यसको अर्थपूर्ण अन्त्य नभएसम्म निरन्तरता दिनुपर्छ । आजको काम भोलि गर्छु भन्ने सोच्नु हुँदैन । स्टेकहोल्डर सन्तुष्ट, बिजनेस सक्सेस अग्रवाल संलग्न भएका व्यवसायमा आबद्ध जो कोही हत्तपत्त बाहिरिँदैनन् । ‘व्यापार नै उसले छाडेर अर्को लाइनमा लाग्यो भने त अर्कै कुरा हो, नत्र त हामीसँग अहिलेसम्म जोडिएका व्यापारी, एशोसिएट र स्टाफहरुले छोडेको रेकर्ड छैन,’ गौरवका साथ भन्छन् अग्रवाल । खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुसियाली छाउँछ । यसले काम गर्न ऊर्जा थपिन्छ, आयू बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन । फ्रस्ट्रेशन नभएपछि कति कुरा आफैं ठीक हुन्छन्,’ शशिकान्त अग्रवालले भने । विगत ३०/४० वर्षदेखिका स्टाफहरु आफूसँगै छन् भनेर सुनाउँन पाउँदा अग्रवालको मन खुसीले प्रफुलित हुन्छ । ‘हामीले उहाँहरुको सन्तुष्टिको ख्याल राख्यौं, आवश्यकताहरुलाई हरसम्भव पुरा गर्न कोशिस ग¥यौं, तर कोहीकसैसँग सन्तुष्टि स्तर कायम नभएसम्म कोही पनि लामो समयसम्म जोडिइ रहँदैन, पूर्णरुपमा सन्तुष्ट भएरै त होला उहाँहरुले आफ्नो पुरै जीवन दिनुभएको छ, यसमा म गर्व गर्छु,’ यसलाई अर्को सक्सेसको रुपमा लिने गरेको अग्रवालले बताउँछन् । ठमेल र नक्सालको दुई होटलमा एमएस ग्रुपको शतप्रतिशत लगानी छ । दुई होटलमा गरी ४ सय जना स्टाफ छन् । भगवती स्टीलमा करिब ४ सय जना छन् । अन्य कर्पोरेट अफिस तथा रिटेलहरुमा गरी कूल ५० जना रहेको र हाल ८५० जना जतिले प्रत्यक्ष रुपमा रोजगार गरिरहेका एमएस ग्रुपका अध्यक्ष अग्रवाल बताउँछन् । भक्तपुरमा हाउजिङ बनाउँदै एमएस ग्रुपले पछिल्लो ५/७ वर्ष केही काम नगरेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘जग्गा महङ्गो भएर किन्ने आट पनि गरिएन, पछि कोभिड आयो,’ उनले भने- ‘अब थिमी बजारैमा २/३ सय फ्याल्ट बन्दै छ, भक्तपुरको ताथली भन्ने ठाउँमा ५० रोपनीमा एउटा प्रोजेक्ट बनाउँदै छौं, जसमध्ये आधा जग्गामा प्लटिङ गरेर बेच्छौं र बाँकीमा अपार्टमेन्ट बनाउँछौं ।’ देश बनाउन व्यवसायीको भूमिका अग्रवालका अनुसार देश बनाउन व्यापारीको कुनै अलग भूमिका हुनै पर्दैन । ‘यदि मैले राष्ट्रमा लगानी गरेँ भने त्यसले राष्ट्रको रोजगारी, बिजुली खपत लगायत देशमा सम्पत्ति सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सरकारले समय सापेक्ष पोलिसी बनाउनु पर्छ । कुन बेला कुन पोलिसीमा के हेरफेर गर्ने हो भनेर अध्ययन गरेर समय हिसावले गराउनु पर्छ । ‘कानून अर्थात सविधान त परिवर्तन गराउनु पर्ने हुन्छ भने पोलिसी त के हो र ?’ अग्रवाल बताउँछन् । पोलिसी लविङमा अग्रवालको बिजनेस कमिटीले धेरै प्रयास गरिरहेको छ । तर राम्रो प्रभाव छोड्न सकेको छैन । ‘हामीले ठूला विज्ञहरु हायर गरेर यस्तो चाहियो भन्छौं, कलेक्टिभ लविङ गर्ने तीन चारवटा सङ्घ संस्था छन्, कमन इन्ट्रेष्ट भए पनि सेम भ्वाइस छैन, त्यसैले पनि सरकारले त्यति सिरियस्ली नलिएको होला,’ चिन्तित हुँदै अग्रवालले भने ।  अब व्यापारको ड्राइभिङ सिटमा नबस्ने ६२ वर्ष भएका अग्रवाल अब बिजनेसमा सक्रिय नहुने बताउँछन् । ‘थप व्यापारिक सङ्घर्ष गर्दिनँ, सन्यास पनि लिन्न, तर अबको समय व्यापारको ड्राइभिङ सिटमा बस्दिनँ, छोरा भाइहरुलाई गाइड गर्छु, भइराखेको कारोबारलाई अपडेट राख्ने, मोडरनाइजेशन गर्ने काम गर्छु,’ भावी योजना सुनाउँदै अग्रवालले भने । सामान्य जीवन बिताउने अग्रवाल साथीभाइहरुसँग घुलमिल हुन बढी रुचाउँछन् । ‘अबको १०/१२ वर्ष यसरी नै बित्यो भने म खुसी र भाग्यमानी हुनेछु,’ उनले भने । ‘जीवनको प्राथमिकता नै खुसी हो, खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुशियाली छाउँछ, यसले काम गर्न उर्जा थपिन्छ, आयु बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन, फ्रस्ट्रेशन नभएपछि कति कुरा आफै ठिक हुन्छ,’ शशिकान्त अग्रवालले भने । जीवनमा मान्छेलाई कहिल्यै केही कुराको सन्तुष्टि नमिल्ने उनी बताउँछन् । राजनीतिको उदाहरण दिँदै उनी भन्छन्- ‘एक व्यक्ति जसले तल्लो स्तरबाट राजनीति गर्छ, गर्दा गर्दा मन्त्री बन्ला, प्रधानमन्त्री बन्ला र पनि उसको इच्छा आकांक्षा खतम हुँदैन, जुन जागेको जागै हुन्छ ।’ खासमा जीवन के रहेछ ? हामीले प्रश्न गर्यौं । ‘अरुलाई नोक्सान नपुर्याई आफ्नो कर्म गर्नु र आफ्नो लक्ष्य प्राप्त गर्न अघि बढ्नु नै जीवन हो,’ छोटोमा उनले टुङ्ग्याए । यो भन्दै गर्दा अग्रवालले आफ्ना समकालिन साथीहरुलाई सम्झिए । कति आफूभन्दा पछि छुटेका त कति कयौं अगाडि पुगेका । ‘यो एउटा भाग्यको खेल पनि हो र कसले कति जोखिम मोल्यो र मिहिनेत ग¥यो भन्ने पनि हुन्छ,’ उनी रोकिएनन् र भन्न थाले- ‘ जीवनले सबै मान्छेलाई एउटा मुकाममा पुर्याउँछ, त्यो मुकाममा पुगिसकेपछि जीवन कस्तो छ भन्ने बुझिन्छ, जुन मान्छेले आफूलाई सन्तोष र भाग्यशाली सम्झिन्छ त्यसको जीवन सधैँ राम्रो हुन्छ ।’ (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी

काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले कति हण्डर/ठक्करहरु खाएर काम गरिरहेका छौं,’ कुराकानीको सुरुमै एउटा बुट देखाउँदै नैराश्यता व्यक्त गरे गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.का अध्यक्ष अमिर प्रताप जंगबहादुर राणाले । उनी रोकिएनन् । ‘म धेरै सार्वजनिक हुन चाहँदिन, पत्रकारहरुसँग पनि कुराकानी गर्न खासै चाहना राख्दिनँ तर बोलेपछि भने मनका सबै बहहरु पोखिहाल्छु, यस्ता अनगिन्ती ठक्करहरु त किरण शुजले कति भोगेको छ कति,’ उनले मुस्कुराउँदै थपे– ‘त्यसैले त हामी अहिले यो अवस्थामा आइपुगेका छौं, र देशकै ठूलो फुटवेयर उद्योग भनेर परिचित छौं ।’ नेपाली फुटवेयर उद्योगमा किरण शुज म्यानुफ्याक्चर एक अग्रणी र ट्रेण्ड सेटर कम्पनीको रुपमा स्थापित भएको छ । आजभन्दा तीन दशक अगाडि अर्थात् सन् १९९० तिर नेपालमा जुत्ता चप्पलको प्रयोग कमैले गर्थे । बजारमा विदेशबाट आयातित जुत्ता चप्पल थिए । नेपालको त्यो अवस्थालाई बुझेर विवेक लगाए पाल्पाका नुरप्रताप जंगबहादुर राणाले । उनले दुई जना अन्य साथीहरुको सहयोगमा हेटौंडामा हात्तीछाप चप्पल कारखाना खोले । राणालाई सुरुमै सन्तोष राठीले साथ दिए, पछि विरेन्द्र शाहले पनि लगानी गरे । अमिरका पिता स्वर्गीय नुरप्रताप जंगबहादुर राणाका लागि सुरुवाती दिनहरु निकै सकसपूर्ण रहे । चप्पल उद्योग तयार भयो, उत्पादन शुरु भयो तर चप्पलको फिनिसिङ्ग राम्रो आएन । चिटिक्क परेका विदेशी चप्पल लगाउने बानी परेका नेपालीहरुका सामू उनको हात्तीछाप चप्पलले बजार पाएन । तर, राणाले हरेश खाएनन् । बरु झन् सशक्त बन्दै अझै बढी मिहिनेत गर्न थाले । भारतबाट विकसित प्रविधि भित्र्याए । त्यसपछि चप्पलले राम्रो फिनिसिङ्ग पायो । हात्तीछाप चप्पल किन्नेहरुको उद्योगमै लाइन लाग्न थाल्यो । हरेक नेपालीको खुट्टामा हात्तीछाप चप्पल पुग्न थाले । ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ ‘उस्तै हो नानु’ बोलको रेडियो विज्ञापन हरेक नेपालीको मुखबाट सुनिन थाल्यो । यो परिवारले सन् १९७० देखि नै हो यस्तै हण्डर/ठक्कर र विविध झमेलाहरु झेल्नु परेको । त्यो सिलसिलाा अझैं रोकिएको छैन । अध्यक्ष राणा भन्छन्– ‘यस्तै अल्झनहरुले मलाई थप सशक्त बनाउँछ, बुबाले कर्मठ, लगनशीलता, जुझारुपन र मिहिनेत सिकाउनु भयो, आमाले संस्कार र अनुशासन सिकाउनुभयो, फुटवेयर मेरो प्यासन हो, म यो क्षेत्रमा काम गरेर कहिल्यै थाक्दिनँ ।’ गोल्डस्टार नेपालको ‘नम्बर वान’ फुटवेयर ब्राण्ड हो । गोल्डस्टार उत्पादक कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई नेपाल सरकारले सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रुपमा र सबैभन्दा बढी रोजगारी दिने कम्पनीको सम्मान गरिसकेको छ । अहिले ९ वटा देशमा गोल्डस्टार निर्यात भइरहेको छ । कम्पनीका अध्यक्ष अमिरप्रताप राणा सरकारसँग अनुमति लिएर विभिन्न देशमा गोल्डस्टारका फ्याक्ट्रीहरु खोल्ने, गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने र देशको डलर आम्दानी वृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् । राणाको हात्तीछाप चप्पल कारखाना आज देशको सबैभन्दा ठूलो फुटवेयर उद्योगका रुपमा परिचित भएको छ । फुटवेयर उद्योग अमिरप्रताप राणाको परिवारका लागि एक आदत बनिसकेको थियो । ‘कर्म गर फलको आशा नगर’ भन्ने सिद्धान्तमा उनको परिवार झुमिसकेको छ । हात्तीछाप चप्पलपछि किरण उद्योगले वि.सं. २०५० सालबाट गोल्डस्टारको उत्पादन सुरु ग¥यो । गोल्डस्टारको हालत पनि सुरुमा हात्तीछापको जस्तै भएको अध्यक्ष राणा सुनाउँछन् । तर, पछि फिनिसिङ्ग राम्रो बनेपछि सबैको रोजाइमा गोल्डस्टार जुत्ता परेको उनी बताउँछन् । ग्राहकको रोजाइमा गोल्डस्टार परे पनि विभिन्न समयमा किरण शुजले भोग्नु परेका समस्या र सकसहरु अमिरप्रताप राणाको दिमागमा अहिले पनि ताजै छन् । नेपाली व्यवसायीहरुले चीनबाट गोल्डस्टार जस्तै जुत्ता ल्याएर गोल्डस्टारको लोगो हालेर बिक्री गर्नेदेखि सस्तो र टिकाउ भएकाले माओवादी लडाकुले यो जुत्ता लगाएकै कारण तत्कालीन शाही सरकारले गोल्डस्टार जुत्ता बिक्रीमा बन्देज लगाउनेसम्मका दुःखद दिनहरु अमिरप्रतापको दिमागमा नमिठो छापका रुपमा बसेका छन् । ‘सुरुवातमा ग्राहकले जुत्ता/चप्पल मन नपराएर दुःख पाइयो, पछि बढी बिक्री भएपछि दुःख पाइयो, कति रातहरु बुबा घरमा आएर आमासँग रुनु हुन्थ्यो, बुबाले त्यतिबेला हरेश नखाएकै कारण आज गोल्डस्टार ग्लोबल ब्राण्ड बन्ने प्रयास गरिरहेको छ,’ अध्यक्ष राणाले विगत स्मरण गर्दै र भावी योजनाहरु सुनाउँदै भने । ग्लोबल ब्राण्ड बन्ने दौडमा अहिले नेपाली सीमित वस्तु मात्रै विदेश निर्यात हुन्छन् । निर्यात भएर विदेशी बजार पनि कब्जा गर्ने तागत गोल्डस्टारले राखेको छ । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाब्लिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने अध्यक्ष राणा बताउँछन् । यो नै सबैभन्दा बढी जुत्ता चप्पल निर्यात गर्ने उद्योग बनेको छ । सन् २०१५ मा नेपालबाट सबैभन्दा बढी निर्यातबापत् सरकारले गोल्डस्टार उत्पादक किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई उत्कृष्ट करदाताको रुपमा सरकारले सम्मानित गरेको थियो । सन् २०१५ मा उद्योगले करिब ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन हालसम्मकै उच्च कारोबार हो । सोही वर्ष यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । उद्योगमा हालसम्म ४ अर्बको हाराहारीमा लगानी भएको उनको अनुमान छ । उद्योगले दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । करिब ३ हजारले रोजगारी दिएको किरण शुज उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । ‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाब्लिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्– ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ ग्लोबल ब्राण्ड बनाउनका लागि यसमा सरकारको महत्वपूर्ण साथ चाहिने उनी बताउँछन् । नेपाली जुत्ताका लागि अमेरिकाले ३७.५ प्रतिशत ‘ड्युटी ट्याक्स’ लगाउँछ । कर अवरोध हटाउन धेरै व्यक्ति तथा निकायसँग छलफल भइरहेको उनी सुनाउँछन् । नेपाली उद्यमीले विदेशमा लगानी गर्न, उद्योग खोल्न, उत्पादन गर्न पाउने नीति सरकारले बनाउनु पर्ने उनको भनाइ छ । ‘सरकारले अनुमति दियो भने म भोलि नै भारतमा उद्योग खोल्न जान्छु, भारतमा जुत्ताको धेरै ठूलो बजार छ’ उनले भने– ‘नाफा नेपालमै आउने हो, अब नीति परिवर्तन हुनुपर्छ, हामीले हाम्रो नीति मात्रै हेरेर हुँदैन, विदेशी अर्थात् हामी जस्तै देशले अवलम्बन गरेको नीति हेरेर पनि हाम्रो नीति बनाउन सक्छौं, लगानी बाँधेर हुँदैन ।’ उद्यमी जस्तै नीति निर्माता पनि समयअनुसार चल्नु पर्नेमा उनले जोड दिए । ‘समयअनुसार चल्न नसक्नेहरु पछि पर्छन्, हराउँदै जान्छन्’ उनले भने । सबैको एउटै रोजाइ ‘गोल्डस्टार’ समयक्रमसँगै सहज, सस्तो र टिकाउ यसको अर्को महत्वपूर्ण विशेषता हो । त्यसैले पनि अहिले गोल्डस्टार जुत्ता सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । गोल्डस्टारले समयलाई बुझ्छ । मान्छेहरुको रोजाइलाई बुझ्छ । र, यसले मार्केटिङ्ग गर्न जान्दछ । अध्यक्ष राणा भन्छन्– ‘यो उद्योग एउटा इनोभेसन हो, तीन/तीन महिनामा फेसन परिवर्तन हुन सक्छ, वस्तुको ब्राण्डिङ र मार्केटिङ्ग गर्न सक्नुपर्छ, त्यससँगै एउटा जुत्ताले मान्छेको चाहना, इच्छा र आकांक्षा पुरा गर्न सक्नुपर्छ ।’ त्यसैले त अहिले गोल्डस्टार बच्चादेखि वृद्धहरुको रोजाइ बनेको छ । उद्योगपतिहरु यसको खुलेर प्रशंसा गर्न रुचाउँछन् । ट्वाइलेट जाँदा लगाउने चप्पलदेखि पार्टीमा जाने जुत्तासम्म गोल्डस्टार नै हुन्छ । ‘बिहान उठेर ओछ्यान छोड्दा लगाउनेदेखि राती सुत्न जानुभन्दा अगाडि लगाउने सबै जुत्ता चप्पल गोल्डस्टारले नै उत्पादन गर्छ, गोल्डस्टार मानिसको जीवनशैलीसँग जोडिएको छ,’ उनले भने । ‘मान्छे आफ्नो लक्ष्य भेटाउनका लागि लाग्नु पर्छ, लगाव झुकाव हुनुपर्छ । धेरै उद्यमीहरु लगानीको विविधीकरणमा जोड दिन्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हललगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफ्नो स्वामित्वमा लिएका छन् । ‘हुन त मैले धेरै गर्न सकिरहेको छैन तर पनि अझै गोल्डस्टारको प्रतिस्पर्धी नेपालमा छैनन्, म फुटवेयरको व्यवसाय गर्ने साथीहरुलाई मिहिनेत गर्नुस्, लागि रहनुस् भन्छु, उहाँहरुको मिहिनेत भएन भने मेरो पनि उर्जा घट्छ, उहाँहरुले राम्रो ग¥नुभयो भने प्रतिस्पर्धी आयो भनेर म पनि राम्रो गर्छु, बजार आफै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘तर, अझै पनि प्रतिस्पर्धी देख्दिँन, चाइनाबाट जुत्ता ल्याएर नेपालमा प्रदर्शनी गरेर देश बन्दैन ।’ उनी नेपाली फुटवेयर उद्योगमा धेरै सम्भावना भएको सुनाउँछन् । फुटवेयर उद्योगमा धेरै सम्भावना भएकै कारण धेरैले रोजगारी पाउन सक्ने उनी बताउँछन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा अहिले सबै व्यवसायबाट व्याक भएर फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् । कुमारी बैङ्कमै ६ वर्ष काम गरेकी राणाकी श्रीमती विदुषी राणा उद्योगको म्यानेजिङ्ग डाइरेक्टरका रुपमा काम गरिरहेकी छिन् । अहिले यही दम्पत्ति गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउन तम्सिएको छ । अध्यक्ष राणा भन्छन्, ‘फुटवेयर मेरो आदत बनिसकेको छ, म यो क्षेत्र छोडेर बाहिर जान सक्दिन, बाहिर हुँदा टाउको दुख्यो भने म अफिस आउँछु, अफिस आएपछि आफै ठीक हुन्छ, औषधि नै खानु पर्दैन, यो क्षेत्र मेरो लागि प्यासन भइसक्यो, अब जे गर्छु यही क्षेत्रमा गर्छु ।’ धेरै उद्यमीहरु लगानीको विविधिकरणको कुरा गर्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हल लगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा पछिल्लो मर्जसँग कुमारी बैङ्कलाई टप फाइभमा पु¥याउन सफल भएकोमा खुसी छन् । उनको प्यासन, उनको फोकस ‘गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने’ मा केन्द्रीत छ । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल