मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति
काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा-बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल उद्यमी पनि हुन् उनी । व्यापार र सेवा क्षेत्रभन्दा उद्योग क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ नेपालमा । तर, अग्रवाल यस्ता उद्योगी हुन् जसले उद्योगमा मात्र लगानी गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल उनको ठूला उद्योग हुन् । त्यस्तै, तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् । ती उद्योगमा प्रत्यक्ष रुपमा करिब १८०० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा २५०० सयभन्दा बढीले रोजगारी पाएका छन् । ‘मलाई रोजगारी सिर्जना गर्न सक्ने क्षमता भगवानले दिएका छन्’ उनले गौरवका साथ सुनाए । नेपालका धेरै व्यवसायीले उद्योगलाई भन्दा व्यापार वा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । राजेश अग्रवालले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् । ‘जानेको काम गर्ने हो । जुन क्षेत्रमा सफलता मिलेको छ, त्यसमा विस्तार गर्दै जाने हो,’ उनले भने । अग्रवालले फेरि पनि उद्योगलाई नै प्राथमिकतामा राखेका छन् । ‘नेपालको अर्थतन्त्र आयातमुखी छ । आयातलाई विस्तापित गर्न उद्योग स्थापित हुनुपर्छ । त्यसैले म उद्योग क्षेत्रको भविष्य पनि राम्रो देख्छु’ उनले भने, ‘नेपालीको लागि आवश्यक वस्तु उत्पादन गरेर आयातलाई विस्थापित गर्न सकियो भने त्यो पनि देशको लागि ठूलो सेवा हो, मेरो समर्पण यसैमा हुनेछ ।’ उद्योगमा मात्र लगानी किन गरेको, किन सेवा वा व्यापार क्षेत्रमा लगानी नगरेको भनेर राजेशका मित्रहरुले चासो चिन्ता पनि जाहेर गर्छन् । उद्योग क्षेत्रमा मात्र लगानी केन्द्रीत गर्दा जोखिम बढी हुन्छ भन्ने पनि छ । तरपनि उनले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् होटल, हस्पिटल, टेलिकम जस्ता सेवामा पनि ठूलो बिजनेशको स्कोप छ, तर त्यसमा मेरो अनुभव छैन, विज्ञता नभएको क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण ठान्छु,’ उनले भने– ‘मैले उद्योग क्षेत्रमा नै विविधीकरण गरेको छु ।’ पुस्तान्तरणसँगै धेरै व्यावसायिक घरानाको व्यवसाय र प्रकृति पनि फेरिएको छ । हजुरबा उद्योगी थिए भने बढी नाफाको खोजीमा छोराछोरी व्यापार वा सेवा क्षेत्रमा लागेको पाइन्छ । नाति पुस्ता त सूचना प्रविधिको क्षेत्र हुँदै व्यापारको भूमण्डलिकरणतिर लम्किरहेको पाइन्छ । विदेशमा व्यापार गराउन छोरा छोरीलाई अर्को देशको नागरिक बनाउने र नेपाली नागरिकता नै त्याग्न लगाउने व्यापारी पनि छन् । तर राजेशको छोरा शोमेश अग्रवाल पनि उद्योगमा् जमिसकेका छन् । ‘मेरो हजूरबुवाले पनि उद्योग चलाउनु भयो, मेरो बुबाले पनि राइस मिल, मैदा मिल, सह–मिल चलाउनु भयो, मैले ठूला र राष्ट्रिय स्तरको उद्योगमा लगानी गरे, छोराले पनि श्री स्टीलको नेतृत्व गरिरहेको छ’ उनले भने । महामारीले बजार संकूचित भएको र अर्थतन्त्र सङ्कटमा रहेको अवस्थामा पनि राजेश अग्रवालका कम्पनीहरुले वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन् । अर्घाखाँची सिमेन्ट उद्योग खोलेपछि उनी राष्ट्रियतरको व्यवसायी बने, जब क्लिङकर खानीसहितको उद्योग लगानी गरे । धेरै उद्योगमा उनी कार्यकारी भूमिकामा छन् । ‘सबै उद्योगमा प्रत्यक्ष निगरानी गर्दै आएको छु, सबै उद्योगमा आफै पुग्छु’ उनले भने– ‘अब कम्पनीको मोडल परिवर्तन गर्दैछु, पहिला एकल स्वामित्वका कम्पनी चलेका थिए, पछि पार्टरसिप मोडल फस्टायो, अब पब्लिक कम्पनी बनाउनुपर्छ, नाफा धेरैमा वितरण गर्ने अभ्यासले राम्रो हुन्छ, पब्लिक कम्पनी भएपछि कर्मचारी पनि बढी जिम्मेवार हुन्छन्, उनीहरुले पनि बढी लाभ पाउँछन् ।’ नयाँ योजना राजेश अग्रवालले तत्कालका लागि नयाँ योजनाको तयारी त गरेका छैनन् तर अवस्था सामान्य हुने बित्तिकै ठूला परियोजनामा हात हाल्ने उनको सोच रहेको छ । ‘अहिले तत्काल नयाँ उद्योग खोलिँदैन, भएका उद्योग बचाउन कठिन भैरहेको छ,’ उनी भन्छन्, ‘हरेक देशमा दजनसंख्या बढिरहेको हुन्छ, प्रतिव्यक्ति आम्दानी बढिरहेको हुन्छ, देशको जीडीपी बढिरहेकोे हुन्छ, ४ प्रतिशतले जीडीपी बढेको छ भने ८ प्रतिशतले उपभोग बढिरहेको हुन्छ । त्यस्तै मूल्यवृद्धि जोडिएर आएको हुन्छ, यस हिसावले बजार विस्तार हुन्छ भन्ने विश्लेषणको आधारमा उद्योग ल्याएका हुन्छौं, नेपाल जस्तो देशमा हरेक वर्ष बिजनेशन ग्रोथ १८/२० प्रतिशत हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ, तर पछिल्लो समय कोडिभ महामारी, तरलताको अभाव, उच्च व्याजदर वृद्धिले गर्दा बजारमा मागको कमी आएको छ, निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ, जुत्ता, कपडाको बजारमा मध्यम स्तरको प्रभाव रहेको छ, खाद्यान्यमा कम असर छ, यो अवस्थामा नयाँ उद्योग ल्याउन सकिँदैन ।’ मोफसलबाट उदाएका व्यवसायी राजेश अग्रवालले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरेर पनि सफल हुन सकिन्छ भन्ने ट्रेण्ड सेट स्थापित गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटोजस्ता ठूला उद्योग स्थापनापछि राष्ट्रिय स्तरको उद्योगपतिको छवि बनाएका अग्रवालले सिमेन्ट र स्टील भारतमा निर्यात थालेर नेपाली अर्थतन्त्रमा नयाँ आशाको ज्योति बालेका छन् । ‘अवस्था राम्रो थियो भने पूर्वी नेपालमा नयाँ सिमेन्ट उद्योग लगानी गर्ने सोचमा थियौं, फलाम खानी खोजिरहेका छौं,’ उनले भने– ‘पहिला डण्डी आयात गर्दथ्यौ, पछि बिलेट आयात गरेर नेपालमा डण्डी बनाउन थाल्यौं, अहिले स्पञ्ज आइरन र स्क्र्याप आइरन आयात गरेर बिलेट नै नेपालमा उत्पादन थालेका छौं, भविष्यमा हामीले फलाम खानीको खोजी गर्ने, स्पञ्ज आइरन पनि नेपालमै बनाउने काम गर्न सक्छौं, त्यसले देशको परनिर्भरता कम गर्छ ।’ डण्डी आयात हुँदा १०० रुपैयाँ विदेश जान्थ्यो भने बिलेट आयात गर्दा ८५ रुपैयाँ विदेश जान्थ्यो, स्पञ्ज आइरन आयात गर्दा ७० रुपैयाँ विदेश जान्छ । अब नेपालमा नै खानी पायौं, नेपालमै स्पञ्ज आइरन उत्पादन गर्न सक्यौं भने कोइला मात्र आयात गरे पुग्छ, ७० रुपैयाँ मात्र आयातमा खर्च हुन्छ । हामी उद्यमीले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोच्नुपर्छ । घर घरमा बिजुलीबाट खाना पकाउन थाल्यौं भने एलपी ग्यास किन चाहियो, किन आयात गर्नुप¥यो ? नेपाली उद्यमीहरुले पहिले आयातलाई कसरी प्रतिस्थापन गर्ने भनेर सोच्नु पर्ने र त्यसपछि निर्यात वृद्धिमा ध्यान दिनुपर्ने उनको विचार छ । ‘अहिले हामीले अर्घाखाची सिमेन्ट, श्री स्टील निर्यात गर्न थालेका छौं, यो शुरुवात मात्र हो, भारतमा हामीले हाम्रो ब्राण्ड स्थापित गर्न समय लाग्छ, त्यहाँका उपभोक्तामा ब्राण्ड कन्सस्नेश बढी छ । ब्राण्ड स्थापित भएपछि मात्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । सरकारले पनि निर्यात प्रोत्साहनको लागि सकारात्मक सोच राखेको छ ।’ पछिल्लो आर्थिक सङ्कटले अरु व्यवसायीको जस्तै उनको पनि मनोबल भने गिरेको रहेछ । ‘सपना धेरै थिए, तर पछिल्ला वर्ष अर्थतन्त्र सङ्कटमा छ, आयात नै बढेको छ । निर्यात कम भएको छ, अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदानको हिस्सा घट्दै गएको छ, १ रुपैयाँको निर्यात गर्दा ११ रुपैयाँको आयात भैरहेको छ, बैङ्कले कर्जा दिँदा पनि उद्योग, व्यापार, सेवा क्षेत्रमा एउटै व्याजदर राखिएको छ, आयातमुखी अर्थनीतिलाई निर्यातमुखी बनाउने दिशामा काम भएको छैन’ उनले वर्तमान अवस्थाको वर्णन गरे । ‘भारतमा १०० करोडमा खोल्न सकिने उद्योगको लागत नेपालमा १२५ करोड परिरहेको छ, भारतमा उद्योगले ८ प्रतिशत व्याजमा कर्जा पाइरहेको छ भने नेपालमा १४ प्रतिशत व्याज तिर्नुपरेको छ, भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले हाम्रो लागत कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्नेछ,’ उनी भन्छन्– ‘भारत र चीनबाट आयत हुने सामानमा २५ प्रतिशत भन्सार कर लगाउँदा पनि नेपाली वस्तु भन्दा विदेशी वस्तु सस्तो पर्ने अवस्था रहेको छ । व्यवसायी र सरकारको भूमिका उद्योग व्यापारमा जमेका व्यवसायीहरुमा राजनीतिक प्याँस जाग्दै गएको छ । संसदमा व्यावसायिक पृष्ठभूमि भएको सांसदहरुको संख्या बढ्दो छ । तर राजेश अग्रवाललाई राजनीतिमा जाने इच्छा छैन । ‘राष्ट्रसेवा गर्नको लागि राजनीति गर्नुपर्छ वा सरकारी पैसा खल्तीमा हाल्ने काम गर्नुपर्छ भन्ने छैन’ उनी भन्छन्– ‘तर व्यवसायी साथीहरु जो संसदमा पुग्नु भएको छ, उहाँहरुले आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सकारात्मक भूमिका खेल्नुहुनेछ, त्यसले देशमा व्यावसायिक वातावरण बनाउन मद्दत गर्नेछ ।’ सरकारको नीति र सरकारी सेवा कस्तो हुनुपर्छ भन्ने विषयमा उनले अर्को उदाहरण सुनाए । ‘सन २०१० मा म हङ्कङ् पुगेको थिए बहिनीकोमा, बिहान ६ बजे घरमा पुगेँ, ९ बजेतिर एउटा डाक्टर र एक जना नर्स घरमा आए, म झसङ्ग भए । यहाँ के भइरहेको छ ? कोही बिरामी छ कि भनेर मैले बहिनीलाई सोधेँ । बहिनीले भनिन्, ‘आज बच्चाको खोप लगाउने दिन हो, त्यसैले डाक्टर नर्स गाडी लिएर, खोप, औषधि लिएर घरमा आएका हुन् ।’ त्यहाँ के रहेछ भने बच्चा जन्मिएको हरेक घरमा सरकारले खोपसहित डाक्टर नर्स घरमा पठाउँदो रहेछ । जसको घरमा बच्चा जन्मिए पनि त्यो देशको बच्चा हो, भोलि देश बनाउने उसैले हो, ऊ स्वस्थ, बुद्धिमान, चतुर भयो भने देशलाई लाभ हुन्छ । पछि यो बच्चा रोगी भयो, लुलो-लंगडाे भयो भने देशलाई भार हुन्छ, देशको नोक्सान हुन्छ भन्ने सोचेको रहेछ सरकारले । हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यही देशका लागि हो, समाजको लागि हो । हामी मरेर जान्छौं तर ती सम्पत्ति यही भूमिमा रहिरहनेछन् । ‘हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यहि भूमिमा रहिरहने छ, तपाईं हामी मरेर जान्छौं, सम्पत्ति सबै देशको लागि हो, समाजको लागि हो’ उनले भने । ‘हामी २००८ मा अमेरिकातिर घुम्न गएका थियौं । हर्षिस ब्राण्डको चकलेट उद्योगमा पुगेका थियौं । त्यो धेरै ठूलो उद्योग रहेछ । ५० हजारभन्दा बढीले रोजगारी पाएका रहेछन् । मैले सोधे– यो उद्योग कसको हो ? उहाँहरुले भन्नु भयो कि त्यो उद्योगका मालिक, उनको परिवारका सदस्यहरु सबै बिते, अब कोही पनि छैनन्, त्यो उद्योग ट्रष्टको रुपमा चलेको छ ।’ ‘नयाँ नयाँ उद्योग खोल्दै आएका छौं, हामीले सम्पत्ति सिर्जना गर्ने हो, केयर गर्ने हो, राष्ट्र निर्माणमा सहयोग गर्ने हो, यो सबै सम्पत्ति राज्यको हो’ उनले भने, ‘उद्यमी भनेको सम्पत्तिको केयरटेकर मात्र हो, राष्ट्र निर्माणको अभियान हो ।’ प्रकृतिले असाध्यै धनी देश हो नेपाल । यो देश विकासको लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छ । आधुनिक तरिकाको मोटरबाटो, पुल, सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ । अहिलेको भैरहवाबाट पोखरा जाँदा ६ घण्टा लाग्छ । अब तीन घण्टामा पुग्ने गरि सिधा सुरुङमार्ग कसरी बनाउने भनेर सोच्नुपर्छ । जसरी नागढुंगामा सुरुङ मार्ग बन्दैछ, हेटौडा-काठमाडौं सुरुङ मार्गको सोच आएको छ, यस्ता पूर्वाधार बने भने नेपाली उद्योगको उत्पादन लागत कम हुन्छ । बजारीकरण सजिलो हुन्छ । त्यसले उद्यमशीलताको विकासमा ठूलो योगदान गर्छ । ‘यस्तो परियोजना निर्माण सरकारबाट मात्र सम्भव छैन, सरकार र निजी क्षेत्र मिलेर यस्ता पूर्वाधार निर्माण गर्नुपर्दछ, जसले १००/२०० वर्ष पछिका पुस्ताले पनि लाभ लिन सकून्’ अग्रवालले भने । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : ‘सक्रिय व्यवसायिक जीवनबाट बिश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’
काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न चाहन्छन् न त बैङ्करहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न नै रुची राख्छन् । सबैको बोली फुटछ् तर कदम चल्दैन । भएका नीति नियम तथा व्यवस्थाहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुँदैनन् । नेपाल राष्ट्र बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकेको छ । निश्चित प्रतिशत कर्जा कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गर्छ । तर, बैङ्कहरु कृषिमा लगानी गर्न कन्जुस्याईं गर्छन् । कृषिका लागि भनेर प्रवाह भएको ऋण पनि व्यवसायीहरुले अन्तै लगानी गर्छन् । कृषि क्षेत्र बोलीमा प्राथमिकता पाउँछ तर कार्यान्वयनमा जहिल्यै पछाडी । देशमा कृषिमा उदाहरणीय काम गरेको भनेर चिन्न सकिने व्यक्ति औंलामा गन्न मिल्ने पनि छैनन् । तर, गोल्यान समूहले भने पछिल्लो समय कृषिमा एग्रेसिभ रुपमा काम गरिरहेको छ । धागो उद्योग, जलविद्ययुत्, बैंकिङ, होटल, रियलस्टेट क्षेत्रमा सक्रिय रुपमा लागेको गोल्यान समूहले अहिले कृषिमा लगानी बढाइरहेको छ । केही आफैले त केही किसानसँग मिलेर यो समूहले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादनलाई देशभर फैलाउने योजनाका साथ काम गरिरहेको छ । गोल्यान समूहले झापामा २ सय बिघा जग्गा खरिद गरेर काम गरिरहेको छ । त्यहाँका किसानसँग सहकार्य गरी अर्गानिक कृषि वस्तु उत्पादन गरेर देशसँगै विदेशमा पनि निर्यात गर्ने उद्देश्यका साथ काम भइरहेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । ‘हाइड्रोपावरमा काम सुरु गर्दा पहिले नै लाग्नु पर्ने रहेछ भन्ने महशुस भयो, पर्यटन क्षेत्रमा लाग्दा पनि यसमा त झन् २० वर्ष अघि नै लाग्नु पर्ने रहेछ भन्ने लाग्यो, अहिले कृषिमा सुरु गरेको छु, कृषिमा त झन् धेरै पहिले लाग्नु पर्ने, अहिले ढिला भयो जस्तो लाग्दैछ, पहिले कृषिमा लगानी नगरेर गल्ती गरेको महशुस भएको छ, मेरो करियरको सुरुवात नै यसबाट गरेको भए राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ, जुन क्षेत्रमा गयो त्यसमा धेरै सम्भावना देखिरहेको छु, अब गोल्यान समूह कृषिमा जम्छ,’ अध्यक्ष गोल्यानले भने । गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स सञ्चालन गरेर एक किसिमको सफलता पाइसकेको छ । नेपाली व्यवसायिक घरानामा गोल्यान समूह पनि परिचित नाम हो । उत्पादन मुलक उद्योग, बैंकिङ, बीमा, होटल, जलविद्युत्, आवास विकास क्षेत्रमा सफलता चुम्दै आफूलाई एक सफल व्यावसायिक घरानाका रुपमा स्थापित गोल्यान समूहले कृषिमा क्रान्ति ल्याउने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष गोल्यान बताउँछन् । लक्ष्यअनुसार गोल्यान समूहले कृषिमा लगानी बढाउँदै लगेको छ । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको उनले बताए, जहाँ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने उनको तयारी छ । ‘हामीले पब्लिक कम्पनी दर्ता गर्नुको कारण यसलाई पुँजीबजारमा पनि लैजाने योजना हो, सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने बेलामा कम्पनीको पुँजी फेरी बढ्छ’ उनले भने । कृषि व्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ, कृषि कम्पनीले पनि उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने उनको चाहाना छ । अहिले भने कम्पनीले नाफा लिन नसकेको उनले बताए । ‘हामी लगानी थपिरहेका छौं, चालु आर्थिक वर्षमा यसबाट प्रतिफल नआउन सक्छ, दुई/तीन वर्ष कोरोनाका कारण केही नोक्सान भयो, अब आगामी वर्षदेखि बैङ्कको व्याज उठाउन सक्छ, त्यसपछि कम्पनी नाफामा जान्छ,’ उनले भने । ‘जब बिजनेशम्यान भएर नयाँ–नयाँ काम गरिन्छ, त्यो बेलामा जसरी पनि पैसा कमाउने भन्ने नै हुन्छ, बिजनेशम्यानको पहिलो चरण भनेको पैसा कमाउने हो तर म बिजनेशम्यान वा व्यापारी नभएर उद्योगी भएको हुनाले उद्योगमा नै लागेँ, त्यो बेलामा मेरो सपना एउटा ठूलो धागो उद्योग बनाउने थियो, ३० वर्षअघि त्यो काम गरियो, त्यसले मलाई धेरै खुसी दियो, म जुन ठाउँमा हात हाल्छु त्यसमा सफल हुन्छु भन्ने कन्फिडेन्ट छ, अहिले कृषिमा लागेको छु, असल कृषक भएर काम गरिरहेको छु, यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ,’ उनी भन्छन्, ‘समय अनुसार बिजनेस पनि विविधीकरण गरिरहनु पर्छ ।’ म असल कृषक भएर काम गरिरहेको छु । यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ । कृषि कम्पनीले पनि ठूलो उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, उच्च नाफा दिन सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने मेरो चाहना छ । विविधीकरण गरिरहनु पर्छ ।’ आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न गोल्यान समूह तयार रहेको उनी बताउँछन् । कृषिमा बिचौलियाको बिगबिगी छ । असली कृषकले सरकारको सहुलियत पाउँदैनन् । बैङ्कबाट ऋण निकाल्ने ल्याकत राख्दैनन् । अब पवन गोल्यान त्यो दूरी हटाउन चाहन्छन् । कृषकलाई सहुलियत कर्जा दिलाउन भूमिका खेल्न चाहन्छन् । उनीहरुले उत्पादन गरेको वस्तु आफैले किनेर बजार खोज्ने प्रयत्न गर्नेछन् । ‘समुन्द्रमा हाम नफाली गहिराई कति छ भनेर थाहा पाँइदैन, सानो पोखरीमा पौडी खेल्न गयो भने पनि च्याम्पियन बनिँदैन, त्यसैले पनि मैले ठूलै लगानीमा ठूलै स्पेसमा कृषि सुरु गरेको छु, मलाई समाजले धेरै दियो, मैले पैसा पनि कमाएँ, अब म समाजलाई दिन चाहन्छु, यो देशलाई दिन चाहन्छु,’ नेपाल बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘स्थानीय कृषकलाई सिकाउँछु, दक्ष बनाउँछु, म मेरो कम्पनीको हित मात्र हेर्दिन, किसानलाई व्यावसायिक हुन सिकाउँछु, उत्पादनसँग प्याकेजिङ सिकाउँछु, कृषि उपजलाई कसरी हाइजनिक बनाउन सकिन्छ ? कसरी बढी समय टिकाउन सकिन्छ ? सबै सिकाउँछु । कृषि उद्यममा नयाँ ट्रेण्ड सेट गर्दैछु ।’ अब सेयर बजारमा पनि सबैभन्दा बढी सेयर मूल्य कृषिसँग सम्बन्धित कम्पनीहरुको हुने किसिमले आफूले काम गर्न लागेको उनी बताउँछन् । ‘कुनै दिन बैङ्कको सेयरमा आकर्षण थियो, त्यसपछि बीमामा आकर्षण बढ्यो, पछि बीमा लगायत अन्य क्षेत्रको क्रेज आयो, अब कृषिसँग सम्बन्धित कम्पनीहरुको सेयरमा लगानीकर्ताकोआकर्षण हुन्छ,’ उनले भने । उनी अब आफ्नो उत्पादनलाई देशसँग जोड्न चाहन्छन् । अब कृषिमा सरकारको नीति पनि प्रभावकारी हुनु पर्ने उनको भनाइ छ । कृषकले पाउने अनुदानको प्रणाली पनि प्रभावकारी हुनु पर्ने उनी बताउँछन् । यसमा पालिकाहरुलाई अगाडि ल्याउनु पर्ने धारणा उनको छ । ‘कृषिमा फड्को मार्न सङ्घ र प्रदेश सरकारले सक्दैनन्, स्थानीय सरकारले नै सक्छ, सबैभन्दा धेरै जिम्मेवार स्थानीय सरकारलाई बनाउनुपर्छ,’ उनी भन्छन्,’ मैले पनि धेरै स्थानीय सरकारसँग उत्पादनको बजारीकरण, कृषकको तालिम तथा सीप विकासका लागि छलफल गरेको छु ।’ उनका अनुसार अहिले गोल्यान समूहले १४० बिघा जग्गामा केरा, अम्बा, कागती ड्रागन फ्रुट, तुलसी र सुपारी लगायतका फलफूल तथा तरकारी लगाएको छ । यो वर्ष धेरै उत्पादन बिक्री भइसकेको उनी बताउँछन् । ‘हामी नेपालभर बजार बनाउन चाहन्छौं, निर्यात पनि गर्छौं, विदेशमा बस्ने नेपालीहरु पनि हाम्रो लक्षित ग्राहकहरु हुन्, बजारको खासै समस्या हुँदैन ।’ उनले भने । ‘अब कमाउनका लागि पुगिसकेको छ, धेरै कमाउने रहर पनि छैन, एउटा धर्मको हिसावले पनि आफ्नो कर्म दीगो भएन भने त्यो अगाडि जान सक्दैन, म रहुञ्जेलसम्म मात्रै चल्छ, त्यसैले बिजनेश दीगो हुनु पर्छ, त्यसका लागि म लागिरहेको छु, नेपालमा कृषिलाई दीगो व्यवसायको रुपमा लिन सकिन्छ,’ उनी भन्छन् । पब्लिकमा जाने योजना गोल्यान समूहले हरेक कम्पनीलाई सेयर बजारमा सूचीकृत गराउने योजना बनाएको छ । त्यसका लागि तयारी पनि भइरहेको उनको भनाइ छ । कृषि कम्पनीसँगै रिलायन्सलाई पनि सेयर बजारमा सूचीकृत गराउनका लागि प्रक्रिया भइरहेको उनले बताए । त्यसका लागि कम्पनीले आवदेन पनि दिइसकेको छ । रिलायन्सले बुक बिल्डिङ्गमा आईपीओ निष्कासन गर्नेछ । उनले हायात प्यालेस होटलको पनि आईपीओ ल्याउने योजना रहेको सुनाए । वार्षिक ६० हजार टन धागो उत्पादन हुने रिलायन्सको वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । अहिले पनि कम्पनी विस्तार गर्ने काम भइरहेको उनले बताए । रिलायन्सले पाँच हजारलाई रोजगारी दिएको छ । दुव्र्यमा रियल स्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान विश्वका विभिन्न देशमा धागो निर्यात गर्छन् । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको छ, जहा“ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने तयारी छ । उद्योग, बैङ्क, होटल, जलविद्युत्, रियलस्टेटमा झैं कृषि व्यवसायमा पनि सफल हुनेमा पवन गोल्यान विश्वस्त छन् । १६ वर्षको उमेरमै आफ्नै व्यवसायमा होमिएका पवन गोल्यान अब रिटायर्ड हुन चाहन्छन् । अहिले उनको छोरा र भतिजले व्यवसाय सम्हाल्न सुरु गरिसकेका छन् । उनका भतिज दुव्र्यमा रियल इस्टेटको व्यवसाय गर्छन् । छोरा अक्षयले नेपालको व्यवसायमा कार्यकारी भूमिका खेल्न थालेका छन् । ‘अब म सक्रिय बिजनेशमा सहभागी हुँदिन, आफ्नो अनुभव मात्रै सेयर गर्ने हो, अब प्रत्येक युवाहरुलाई मसँग भएको अनुभव ज्ञान र सीप बाँड्न चाहन्छु, अहिले पनि विभिन्न विद्यालय तथा कलेजमा गएर उनीहरुलाई मोटिभेट गरिरहेको छु, गर्न चाहनेलाई लगानी जुटाउन पनि मद्दत गर्छु, मलाई त्यो पैसाको नाफा/व्याज चाहिँदैन, मात्रै दिएको पैसा फिर्ता गरे हुन्छ, अब म समाज सेवा गर्न चाहन्छु, कृषिमै रम्न चाहन्छु,’ उनले भने । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
नवीन शर्मा : १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म
काठमाडौं । काठमाडौंको पद्मोदय मोडदेखि सिंहदरवार अगाडिसम्मको फूटपाथमा बिहानैदेखि ठूलो भीड लाग्छ । त्यो भीडमा नेपालका बेष्ट ब्रेन भएका युवायुवतीहरु हुन्छन् । डाक्टर, नर्स, इन्जिनियर बन्ने वा लोकसेवा पास गरेर सरकारी जागिर खाने लक्ष्य बोकेका मानिसहरुको भीड हुन्छ त्यहाँ । जो पढ्नको लागि बिहान सबेरै उठेर त्यहाँ पुगेका हुन्छन् । तर, त्यहाँ कुनै विश्वविद्यालय छैन । नेम नामको ट्यूशन इन्स्टिच्यूट छ । जहाँ वर्षमा १० हजारभन्दा बढी युवाहरु एमबीबीएस, नर्सिङ, लोकसेवा तयारी लगायतको विषयमा अध्ययन गर्न पुग्छन् । नेमका प्रबन्धक निर्देशक नवीन कुमार शर्मा भन्छन्, ‘बैशाखदेखि साउनसम्म नेपालभरीमा सबैभन्दा धेरै मान्छे आउने संस्था नेम नै हो, फिल्म हलमा पनि यति मान्छे जम्मा हुँदैनन् ।’ नेमले गत आर्थिक वर्षमा करिब ४८ करोड रुपैयाँ ब्रिजकोर्स पढाएर शुल्क संकलन गरेछ । इन्स्टिच्यूटको क्षेत्रमा नेम एक्लैले ७० प्रतिशत स्थान ओगटेको शर्माको भनाइ छ । नेम कसरी बन्यो ? यसले छोडेका पदचिन्ह के हुन् ? सफलताको कथा रिर्पोटिङ गर्न हामी नेममा पुग्यौं । रिसेप्सनमा नवीन कुमारलाई भेट्न चाहेको कुरा ग¥यौं । ‘ऊ उहाँ हुनुहुन्छ’ रिसेप्सनकी कर्मचारीले गेट बाहिर उभिएर अभिभावकसँग कुरा गर्दै गरेको मोटो, अग्लो र फूर्तिलो मान्छेलाई चिनाइन् । हामीले भेटेर आफ्नो परिचय दियौं, अन्तरवार्ता लिन चाहेको कुरा गर्यौं । ‘म बैङ्कमा जान लागेको, ल भनिहाल्नुहोस्, के छ प्रश्न’ मोटरसाइकल पार्किङ क्षेत्रतर्फ लम्कँदै भने । हामीले कार्यकक्षमा बसेर अन्तर्वार्ता गर्दा सहज हुने प्रस्ताव गर्यौं । ‘मेरा कार्यकक्ष छैन, भित्र चिसो छ, एसी पनि छैन, यहाँ घाम ताप्दै कुरा गर्दा राम्रो हुन्छ’ उनले भने । क्यान्टिनवालासँग कुर्सी मगाए । प्लास्टिकको कुर्सीमा बसेर हत्केलाले अनुहारमा घाम छेक्दै उनी पत्रकारसँग कुरा गर्न थाले । पार्किङ क्षेत्रबाट मोटरसाइकल स्टार्ट गर्नेको घ्यारघ्यार, विद्यार्थीहरुले गर्ने हल्लाकै बीचमा हामीले नवीनको सफलताको कथा कैद गर्न थाल्यौं । नवीन कुमार शर्मा सन् १९८९ एमबीबीएसमा त्रिभुवन विश्वविद्यालयको टपर रहेछन् । त्यसपछि उनलाई एमडीस्तरको अध्ययन गर्नको लागि अमेरिका जाने इच्छा भयो । त्यो समयमा एमडी अध्ययन गर्नको लागि ७/८ लाख रुपैयाँ आवश्यक पर्दथ्यो । उक्त रकम जुटाउनको लागि उनले विभिन्न योजना बनाए । त्यही क्रममा एमबीबीएसको ब्रिजकोर्स अध्यापन गराउनको लागि इन्स्टिच्युट खोले, जुन अहिले नेपालको सबैभन्दा ठूलो ब्रिजकोस सेन्टर बनेको छ । बुवाको पालामा नै शर्माको परिवार पाँचथरबाट बिराटनगर झरेको थियो । तर, शर्माको जन्म भने बुटवलमा भएको हो । शर्माले स्कूल शिक्षादेखि आइएससीसम्मको अध्ययन विराटनगरमा हासिल गरे । एमबीबीएस अध्ययन उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पूरा गरे । एमबीबीएस पढ्दा पनि ट्युसन पढाएर आफ्नो खर्च धान्दै आएका शर्मा घरबाट पैसा मागिरहनु हुँदैन भन्ने मान्यतामा थिए । अध्ययनकै क्रममा अभ्यास गर्न कलेजले ३ महिना पोखरा पठायो । उनले त्यहाँ पनि विद्यार्थीलाई ट्यूशन पढाउन थाले । ट्यूशन सेन्टर चलाउँदा राम्रो आम्दानी हुने सम्भावना उनले त्यही देखे । र, एमडी पढ्नको लागि आवश्यक रकम जुटाउने उद्देश्य राखेर ब्रिजकोर्स पढाउन शुरु गरे । सन् १९९६ मा शर्माले आफ्नी दिदीसँग १२ हजार ऋण लिएर इन्स्टिच्युटको शुरुवात गरेका थिए । २ वटा कोठामा फर्निचर राखेर सो इन्स्टिच्यूटको प्रारम्भ भएको थियो । ‘शुरुको २ वर्ष निकै दुःख भयो, राम्रोसँग फर्निचरको व्यवस्था गर्न सकेनौं, शिक्षकहरुलाई तलब दिने अवस्था पनि बनेन ।’ शुरुको २ महिना इन्स्टिच्युटमा पढ्ने ५ जना विद्यार्थी मात्रै थिए । थोरै विद्यार्थी भएकाले शिक्षक राख्ने अवस्था थिएन । शर्माले आँफैले पढाए । उनका अनुसार ६/७ महिनासम्म अन्य स्टाफ राखिएन । दिन बित्दै गए । विद्यार्थी बढ्दै गए । ‘पहिलो वर्ष हामीले २ सय ५० जना विद्यार्थी पढायौं, दोस्रो वर्ष ५/७ सय भयो भने तेस्रो वर्षमा १५ सय जति विद्यार्थी पढ्न आएका थिए’ शर्माले भने । केही वर्षसम्म कोठाहरु भाडामा लिने र त्यही कक्षा सञ्चालन गर्ने गर्दथे । विद्यार्थी संख्या बढ्दै गएपछि नेपाल ल क्याम्पसमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरेको शर्मा बताउँछन् । नवीन शर्मालाई लामो समय व्यवसाय गर्छु भन्ने पनि लागेको थिएन । तर बिस्तारै यसले व्यावसायिक आकार लियो । नेमलाई संस्थागत बनाउँदै लगे । ब्रिजकोर्स पढ्नेमध्ये सबैभन्दा धेरै विद्यार्थी नेममा जान थाले । ५ वर्ष पार गर्दा नेम नेपालकै टप लेभलको ब्रिजकोर्स पढाई हुने इन्स्टिच्युटको रुपमा स्थापित हुन पुग्यो । ०५२ सालमा सञ्चालनमा आएको नेमले ०६२ सालमा काठमाडौं पुतलीसडकमा ३७ आना जग्गा किन्यो । त्यसपछि नेमको व्यावसायिक गतिले रफ्तार लियो । त्यही जग्गा धितो राखेर भवन बनाउन शर्माले नबिल बैङ्कबाट ऋण लिए । ‘जग्गाको मूल्यभन्दा अलि बढी नै कर्जा पाए, त्यसपछि मलाई भवन बनाउनेदेखि व्यवसाय सञ्चालन गर्न सजिलो भयो’ उनले खुलस्त बताए । नेम इन्स्टिच्युटभित्र ३/४ वटा कार्यक्रम सञ्चालन भएका छन् । जसको नेतृत्व शर्माको पारिवारिक टिमले नै गर्दै आएको छ । ‘नेमले मेडिकल इन्ट्रान्स र नर्सिङ इन्ट्रान्सको कक्षा सञ्चालन गर्छ, सेडेपले लोकसेवा र बैंकिङ क्षेत्रको विषयमा कक्षा सञ्चालन गर्छ र नर्सिङ प्लसले नर्सिङको लोकसेवा कक्षा सञ्चालन गर्छ,’ शर्माले भने । आम्दानीको विस्तारसँगै शर्माले लगानीको क्षेत्र पनि विस्तार गर्दै लगेका छन् । जसमध्ये उनले बानेश्वरमा रहेको ह्वाइट हाउस इन्टरनेशनल कलेजको ७० प्रतिशत सेयर लिएका छन् । त्यस्तै गत सालदेखि अर्वाना स्कुल अफ साइन्स नामको प्लस टु कलेज स्थापना गरेका छन् । नेम अगाडिको जग्गा किनेर उनले बहुउद्देश्य भवन बनाउने तयारी थालेका छन् । साथै, शर्माले वीरगञ्जमा चिनियाँ लगानीकर्तासँग मिलेर स्लटर हाउस पनि सञ्चालन गरेका छन् । इन्स्टिच्युट व्यवसायको प्रकृति भनेको मौसमी हुने शर्माको भनाइ छ । मौसमी र दैनिक आंशिक समय मात्रै कक्षा सञ्चालन हुने भए पनि भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नुपर्ने भएकाले सोही पूर्वाधारमा प्लस टु सञ्चालन गर्ने गरी अगाडि बढेको उनी बताउँछन् । ‘बैशाखदेखि ४ महिना बिहानदेखि साँझसम्म सञ्चालन हुन्छ, त्यसपछि भने बिहान चल्छ, दिउँसो खाली हुन्छ’, उनले भने । त्यसैले खाली भएको समयलाई लक्षित गरेर प्लस टु सञ्चालनमा जोड दिएका छन् । आफूलाई व्यवसायको विषयमा छिटो निर्णयकर्ताको रुपमा शर्मा परिचय गराउँछन् । ‘म प्रचण्ड जस्तै हो, राती दिमागमा आयो भने बिहान काम गरिसक्छु’, उनले भने । पछिल्लो समयसम्म आउँदा व्यवसायको कारोबार र नाफा राम्रो भएको र त्यसकै आधारमा नयाँ लगानीको क्षेत्रमा लगानी गरिएको उनले बताए । शर्मा इन्स्टिच्युटमा प्रायः बिहान साढे ५ बजे नै आउने गर्छन् । सरसफाइ गर्ने कर्मचारी आउन केही ढिला हुने हुँदा उनी आँफैले सामान्य सरसफाइको काम गर्छन् । ‘कामदार साढे ६ बजे आउँछन्, उनीहरुलाई पर्खेर त भएन, साढे ५ बजे नै आएर एउटा हातमा कुचो र एउटा हातमा पोछा लिएर तुफान गतिमा सफा गर्ने काम गर्छु,’ उनी भन्छन् । ‘निरन्तर मिहिनेत गर्दा सफल हुन सकिन्छ, व्यवसायले तुरुन्त नाफा दिँदैन’, उनले भने, ‘एउटा जागिर खाने मान्छेले भन्दा व्यवसाय गर्ने मान्छेले बढी दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्ने मान्छे आफ्नो व्यावसायिक स्थलमा अरुभन्दा अगाडि आउनुपर्ने र अरुभन्दा पछाडि घर फर्कनु पर्ने बताउँछन् । उनका अनुसार अमेरिका लगायत अन्य विकसित देशमा पनि सो अभ्यास हुन्छ । नेपालमा कुनै व्यवसायको क्षेत्रमा लामो समयसम्म प्रतिस्पर्धी नभएको र व्यवसाय गर्न सजिलो पनि भएको शर्माको अनुभव छ । नेम जस्तै गर्छु भनेर धेरै संस्था आए । नेपाली र विदेशी धेरैले लगानी पनि गरे । ठूला लगानीकर्ताहरुले पनि राम्रो गर्न सकेनन् । पछिल्लो २० वर्षमा नेमसँग प्रतिस्पर्धा गर्ने गरी कोही पनि बजारमा नआएको उनी बताउँछन् । ‘धेरै पैसा लगानी गरेर मात्रै इन्स्टिच्युट सञ्चालन गर्न सकिन्न, यो क्षेत्रको विषयमा ज्ञान र काम गर्ने इच्छा हुनुपर्छ’ उनले भने– ‘पहिलो, विद्यार्थीलाई चाहिने राम्रो शिक्षक हो, दोस्रो, राम्रो शिक्षकले पनि नचाहिँदो विषय पढाउने चलन छ, त्यसलाई करेक्सन गर्न आँफैले जान्नुपर्छ, त्यसैले विषयकै ज्ञान हुनुपर्छ ।’ पाकिस्तानमा करोड डुब्यो सन् १९९९ मा शर्माले पाकिस्तानमा मेडिकल कलेज सञ्चालन गर्न लगानी गरे तर त्यो डुव्यो । ‘पाकिस्तानको एउटा कलेजमा लगानी गरेँ, पछि रिकग्नाइज भएन, मैले गल्ती गरेँ, १ करोड पैसा डुव्यो, त्यो त्यतिबेलाको ५/७ वर्षको आम्दानी थियो,’ उनले भने । नेपालमा निजी क्षेत्रका मेडिकल कलेज नभएको अवस्थामा नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न जाने कलेज बनाउने उनको सोच रहेछ । ‘त्यतिबेला नेपालमा विद्यार्थीले डाक्टर पढ्नको लागि मेडिकल कलेजमा भर्ना पाउँदैन थिए, पाकिस्तानमा प्राइभेट मेडिकल कलेजमा लगानी गर्यो भने राम्रो हुन्छ भन्ने सल्लाह आयो विश्वास गरेर ५०/५० लाख गरेर दुई पटक पैसा लगानी गरेँ, तर सबै स्वाहा भयो,’ उनले भने– ‘पछि कानुनी प्रक्रियामा पनि गएँ, त्यसमा पनि थप खर्च भयो तर पाकिस्तानको अदालतमा मुद्दा नै हारियो’ उनले ठूलो असफलतासहितको कथा सुनाए । नेपालको कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएकोले उनले नेपालको अदालतमा न्याय खोज्न पनि सकेनन् । त्यस्तै, शर्माले फिल्म क्षेत्रमा पनि लगानी गरेर डुबाए । सन् २००० अगाडि उनले आफ्नो साथीमार्फत ‘के भो लौ न नि’ फिल्ममा लगानी गरेका थिए । सो फिल्मले ३५ लाख घाटा खाएको र १७ लाख रुपैयाँ आफ्नो डुबेको उनले सुनाए । ‘धेरै क्षेत्रमा हात हालेर हुँदैन, धेरै कम्पनी खोल्ने व्यवसायीले पनि १/२ वटा कम्पनीबाट राम्रो कमाएका हुन्छन्, बाँकी कम्पनी नोक्सानमा हुन्छन्’ उनले केही कर्पोरेट हाउसहरुको उदाहरण पनि प्रस्तुत गरे । अमेरिकामा ट्याक्सी ड्राइभर व्यवसायले धेरै ठूलो आकार लिइसकेपछि पनि शर्माभित्र एमडी गर्ने इच्छा मरेको छैन । आफ्ना सहपाठीहरुले सोही विधाका विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेको कुराले उनलाई चुक–चुक बनाइरहेको छ । पैसा वा व्यवसायको आकारले मात्रै सन्तुष्टी नदिने धारणा सुनाउँछन् शर्मा । ‘ओभरल कारोबारको परिणाम हेर्नुहुन्छ भने त धेरै छ, तर यसमा मेन्टल सेटिस्फ्याक्सन हुँदैन्, २५ वर्षदेखि नै कहिले विद्यार्थी क्लासमा आएन भन्ने हुन्छ, कहिले शिक्षक,’ उनले भने, ‘मेरो यो पेसा नै होइन भन्ने लाग्छ ।’ शर्माको पारिवारिक बसोवास अमेरिकामा पनि छ । उनी अमेरिका जाँदा आवश्यक खर्चको लागि डलर साटेर लैजाने विषय आफ्नो मनले नमान्ने बताउँछन् । पछिल्लो समय ३ महिनाको लागि शर्मा अमेरिका गएका थिए । सो क्रममा उनले आफ्नो जाने आउने र आवश्यक खर्चको लागि वासिङटन डीसीमा ट्याक्सी चलाएको बताउँछन् । ‘मैले ३ महिनासम्म बिहान साँझ ट्याक्सी चलाएँ, दैनिक ३ सय डलरसम्म आम्दानी गर्थें,’ उनले भने, ‘दिनको २/३ सय डलर कमाउँथे, त्यहाँ दिनको २/३ सय डलर कमाउँदा जुन आराम छ यहाँ वर्षको ५/७ करोड कमाउँदा पनि त्यो आराम छैन ।’ अमेरिकामा कामको सम्मान गर्ने वातावरण भएको र नेपालमा नभएको उनको अनुभव छ । ठूलो व्यवसाय गर्दैमा गुणस्तरीय जीवन नहुने उनको भनाइ छ । मान्छेलाई पोजिसनको आधारमा सम्मान गर्नेभन्दा पनि उसको योगदानको आधारमा सम्मान गर्नुपर्ने धारणा शर्माको छ । उनी भन्छन्, ‘देश विकास भनेको सबै मान्छेको भ्यालु हो ।’ सबै मान्छेलाई भ्यालु दियो भने मात्रै काम गर्ने वातावरण हुने उनी बताउँछन् । ‘अमेरिकामा जुनसुकै स्तरको काम गर्ने मान्छेलाई बराबर सम्मान गरिन्छ ।’ नेपालमा विकास भनेको सरकारले गर्छ भन्ने भ्रम परेको तर त्यसो नभएको उनको भनाइ छ । नेपालको विकासमा धेरै योगदान उद्यम गर्ने र राज्यलाई धेरै कर बुझाउनेहरुको भएको उनी बताउँछन् । करदाताहरुले कर बुझाएकै कारणले राज्यले जनतालाई विभिन्न विषयमा सुविधा दिन सकेको बताउँदै शर्माले कर बुझाउनेले त्योभन्दा अगाडि उत्पादन र रोजगारीको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउँछन् । जुन मान्छेले जुन क्षेत्रमा काम गरिरहेको छ, सोही क्षेत्रलाई सफल बनाउने कोशिस गर्दा नै देशको विकास हुने उनको तर्क छ । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल