गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी

काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले कति हण्डर/ठक्करहरु खाएर काम गरिरहेका छौं,’ कुराकानीको सुरुमै एउटा बुट देखाउँदै नैराश्यता व्यक्त गरे गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.का अध्यक्ष अमिर प्रताप जंगबहादुर राणाले । उनी रोकिएनन् । ‘म धेरै सार्वजनिक हुन चाहँदिन, पत्रकारहरुसँग पनि कुराकानी गर्न खासै चाहना राख्दिनँ तर बोलेपछि भने मनका सबै बहहरु पोखिहाल्छु, यस्ता अनगिन्ती ठक्करहरु त किरण शुजले कति भोगेको छ कति,’ उनले मुस्कुराउँदै थपे– ‘त्यसैले त हामी अहिले यो अवस्थामा आइपुगेका छौं, र देशकै ठूलो फुटवेयर उद्योग भनेर परिचित छौं ।’ नेपाली फुटवेयर उद्योगमा किरण शुज म्यानुफ्याक्चर एक अग्रणी र ट्रेण्ड सेटर कम्पनीको रुपमा स्थापित भएको छ । आजभन्दा तीन दशक अगाडि अर्थात् सन् १९९० तिर नेपालमा जुत्ता चप्पलको प्रयोग कमैले गर्थे । बजारमा विदेशबाट आयातित जुत्ता चप्पल थिए । नेपालको त्यो अवस्थालाई बुझेर विवेक लगाए पाल्पाका नुरप्रताप जंगबहादुर राणाले । उनले दुई जना अन्य साथीहरुको सहयोगमा हेटौंडामा हात्तीछाप चप्पल कारखाना खोले । राणालाई सुरुमै सन्तोष राठीले साथ दिए, पछि विरेन्द्र शाहले पनि लगानी गरे । अमिरका पिता स्वर्गीय नुरप्रताप जंगबहादुर राणाका लागि सुरुवाती दिनहरु निकै सकसपूर्ण रहे । चप्पल उद्योग तयार भयो, उत्पादन शुरु भयो तर चप्पलको फिनिसिङ्ग राम्रो आएन । चिटिक्क परेका विदेशी चप्पल लगाउने बानी परेका नेपालीहरुका सामू उनको हात्तीछाप चप्पलले बजार पाएन । तर, राणाले हरेश खाएनन् । बरु झन् सशक्त बन्दै अझै बढी मिहिनेत गर्न थाले । भारतबाट विकसित प्रविधि भित्र्याए । त्यसपछि चप्पलले राम्रो फिनिसिङ्ग पायो । हात्तीछाप चप्पल किन्नेहरुको उद्योगमै लाइन लाग्न थाल्यो । हरेक नेपालीको खुट्टामा हात्तीछाप चप्पल पुग्न थाले । ‘हात्ती बलियो कि हात्तीछाप चप्पल ?’ ‘उस्तै हो नानु’ बोलको रेडियो विज्ञापन हरेक नेपालीको मुखबाट सुनिन थाल्यो । यो परिवारले सन् १९७० देखि नै हो यस्तै हण्डर/ठक्कर र विविध झमेलाहरु झेल्नु परेको । त्यो सिलसिलाा अझैं रोकिएको छैन । अध्यक्ष राणा भन्छन्– ‘यस्तै अल्झनहरुले मलाई थप सशक्त बनाउँछ, बुबाले कर्मठ, लगनशीलता, जुझारुपन र मिहिनेत सिकाउनु भयो, आमाले संस्कार र अनुशासन सिकाउनुभयो, फुटवेयर मेरो प्यासन हो, म यो क्षेत्रमा काम गरेर कहिल्यै थाक्दिनँ ।’ गोल्डस्टार नेपालको ‘नम्बर वान’ फुटवेयर ब्राण्ड हो । गोल्डस्टार उत्पादक कम्पनी किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई नेपाल सरकारले सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रुपमा र सबैभन्दा बढी रोजगारी दिने कम्पनीको सम्मान गरिसकेको छ । अहिले ९ वटा देशमा गोल्डस्टार निर्यात भइरहेको छ । कम्पनीका अध्यक्ष अमिरप्रताप राणा सरकारसँग अनुमति लिएर विभिन्न देशमा गोल्डस्टारका फ्याक्ट्रीहरु खोल्ने, गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने र देशको डलर आम्दानी वृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छन् । राणाको हात्तीछाप चप्पल कारखाना आज देशको सबैभन्दा ठूलो फुटवेयर उद्योगका रुपमा परिचित भएको छ । फुटवेयर उद्योग अमिरप्रताप राणाको परिवारका लागि एक आदत बनिसकेको थियो । ‘कर्म गर फलको आशा नगर’ भन्ने सिद्धान्तमा उनको परिवार झुमिसकेको छ । हात्तीछाप चप्पलपछि किरण उद्योगले वि.सं. २०५० सालबाट गोल्डस्टारको उत्पादन सुरु ग¥यो । गोल्डस्टारको हालत पनि सुरुमा हात्तीछापको जस्तै भएको अध्यक्ष राणा सुनाउँछन् । तर, पछि फिनिसिङ्ग राम्रो बनेपछि सबैको रोजाइमा गोल्डस्टार जुत्ता परेको उनी बताउँछन् । ग्राहकको रोजाइमा गोल्डस्टार परे पनि विभिन्न समयमा किरण शुजले भोग्नु परेका समस्या र सकसहरु अमिरप्रताप राणाको दिमागमा अहिले पनि ताजै छन् । नेपाली व्यवसायीहरुले चीनबाट गोल्डस्टार जस्तै जुत्ता ल्याएर गोल्डस्टारको लोगो हालेर बिक्री गर्नेदेखि सस्तो र टिकाउ भएकाले माओवादी लडाकुले यो जुत्ता लगाएकै कारण तत्कालीन शाही सरकारले गोल्डस्टार जुत्ता बिक्रीमा बन्देज लगाउनेसम्मका दुःखद दिनहरु अमिरप्रतापको दिमागमा नमिठो छापका रुपमा बसेका छन् । ‘सुरुवातमा ग्राहकले जुत्ता/चप्पल मन नपराएर दुःख पाइयो, पछि बढी बिक्री भएपछि दुःख पाइयो, कति रातहरु बुबा घरमा आएर आमासँग रुनु हुन्थ्यो, बुबाले त्यतिबेला हरेश नखाएकै कारण आज गोल्डस्टार ग्लोबल ब्राण्ड बन्ने प्रयास गरिरहेको छ,’ अध्यक्ष राणाले विगत स्मरण गर्दै र भावी योजनाहरु सुनाउँदै भने । ग्लोबल ब्राण्ड बन्ने दौडमा अहिले नेपाली सीमित वस्तु मात्रै विदेश निर्यात हुन्छन् । निर्यात भएर विदेशी बजार पनि कब्जा गर्ने तागत गोल्डस्टारले राखेको छ । कोरोनाअघिको समयमा गोल्डस्टारले भारतमा एक किसिमको बजार स्थापित गरेको थियो । अहिले पनि ‘रि–स्टाब्लिस’ हुने प्रयासमा गोल्डस्टार छ । कुल उत्पादनको ५० प्रतिशत भारत निर्यात हुने अध्यक्ष राणा बताउँछन् । यो नै सबैभन्दा बढी जुत्ता चप्पल निर्यात गर्ने उद्योग बनेको छ । सन् २०१५ मा नेपालबाट सबैभन्दा बढी निर्यातबापत् सरकारले गोल्डस्टार उत्पादक किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि.लाई उत्कृष्ट करदाताको रुपमा सरकारले सम्मानित गरेको थियो । सन् २०१५ मा उद्योगले करिब ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन हालसम्मकै उच्च कारोबार हो । सोही वर्ष यो उद्योगले ३ अर्ब रुपैयाँको निर्यात गरेको थियो । उद्योगमा हालसम्म ४ अर्बको हाराहारीमा लगानी भएको उनको अनुमान छ । उद्योगले दैनिक एक लाख जोर जुत्ता उत्पादन गर्दै आएको छ । करिब ३ हजारले रोजगारी दिएको किरण शुज उद्योग गत वर्ष सबैभन्दा बढीलाई रोजगारी दिने कम्पनीका रुपमा सम्मानित पनि भएको थियो । हाल भारतसँगै अष्ट्रेलिया, ओमान, कतार, जापान, अमेरिका, मलेसिया, साउदी र मोरक्कोमा गोल्डस्टार जुत्ता निर्यात हुन्छ । ‘हामी अझै धेरै देशमा निर्यात गर्ने तयारी गरिरहेका छौं, कोभिडपछि धेरै व्यवसायलाई ‘रि–स्टाब्लिस’ हुन गाह्रो छ, धेरै देशको नीति परिवर्तन पनि भएको छ, हामीलाई अब सरकारको पनि साथ चाहिन्छ,’ राणा भन्छन्– ‘म सबैभन्दा बढी मानिसलाई रोजगारी दिने, उच्च करदाता बन्ने र गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने प्रयासमा छु ।’ ग्लोबल ब्राण्ड बनाउनका लागि यसमा सरकारको महत्वपूर्ण साथ चाहिने उनी बताउँछन् । नेपाली जुत्ताका लागि अमेरिकाले ३७.५ प्रतिशत ‘ड्युटी ट्याक्स’ लगाउँछ । कर अवरोध हटाउन धेरै व्यक्ति तथा निकायसँग छलफल भइरहेको उनी सुनाउँछन् । नेपाली उद्यमीले विदेशमा लगानी गर्न, उद्योग खोल्न, उत्पादन गर्न पाउने नीति सरकारले बनाउनु पर्ने उनको भनाइ छ । ‘सरकारले अनुमति दियो भने म भोलि नै भारतमा उद्योग खोल्न जान्छु, भारतमा जुत्ताको धेरै ठूलो बजार छ’ उनले भने– ‘नाफा नेपालमै आउने हो, अब नीति परिवर्तन हुनुपर्छ, हामीले हाम्रो नीति मात्रै हेरेर हुँदैन, विदेशी अर्थात् हामी जस्तै देशले अवलम्बन गरेको नीति हेरेर पनि हाम्रो नीति बनाउन सक्छौं, लगानी बाँधेर हुँदैन ।’ उद्यमी जस्तै नीति निर्माता पनि समयअनुसार चल्नु पर्नेमा उनले जोड दिए । ‘समयअनुसार चल्न नसक्नेहरु पछि पर्छन्, हराउँदै जान्छन्’ उनले भने । सबैको एउटै रोजाइ ‘गोल्डस्टार’ समयक्रमसँगै सहज, सस्तो र टिकाउ यसको अर्को महत्वपूर्ण विशेषता हो । त्यसैले पनि अहिले गोल्डस्टार जुत्ता सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ । गोल्डस्टारले समयलाई बुझ्छ । मान्छेहरुको रोजाइलाई बुझ्छ । र, यसले मार्केटिङ्ग गर्न जान्दछ । अध्यक्ष राणा भन्छन्– ‘यो उद्योग एउटा इनोभेसन हो, तीन/तीन महिनामा फेसन परिवर्तन हुन सक्छ, वस्तुको ब्राण्डिङ र मार्केटिङ्ग गर्न सक्नुपर्छ, त्यससँगै एउटा जुत्ताले मान्छेको चाहना, इच्छा र आकांक्षा पुरा गर्न सक्नुपर्छ ।’ त्यसैले त अहिले गोल्डस्टार बच्चादेखि वृद्धहरुको रोजाइ बनेको छ । उद्योगपतिहरु यसको खुलेर प्रशंसा गर्न रुचाउँछन् । ट्वाइलेट जाँदा लगाउने चप्पलदेखि पार्टीमा जाने जुत्तासम्म गोल्डस्टार नै हुन्छ । ‘बिहान उठेर ओछ्यान छोड्दा लगाउनेदेखि राती सुत्न जानुभन्दा अगाडि लगाउने सबै जुत्ता चप्पल गोल्डस्टारले नै उत्पादन गर्छ, गोल्डस्टार मानिसको जीवनशैलीसँग जोडिएको छ,’ उनले भने । ‘मान्छे आफ्नो लक्ष्य भेटाउनका लागि लाग्नु पर्छ, लगाव झुकाव हुनुपर्छ । धेरै उद्यमीहरु लगानीको विविधीकरणमा जोड दिन्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हललगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफ्नो स्वामित्वमा लिएका छन् । ‘हुन त मैले धेरै गर्न सकिरहेको छैन तर पनि अझै गोल्डस्टारको प्रतिस्पर्धी नेपालमा छैनन्, म फुटवेयरको व्यवसाय गर्ने साथीहरुलाई मिहिनेत गर्नुस्, लागि रहनुस् भन्छु, उहाँहरुको मिहिनेत भएन भने मेरो पनि उर्जा घट्छ, उहाँहरुले राम्रो ग¥नुभयो भने प्रतिस्पर्धी आयो भनेर म पनि राम्रो गर्छु, बजार आफै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘तर, अझै पनि प्रतिस्पर्धी देख्दिँन, चाइनाबाट जुत्ता ल्याएर नेपालमा प्रदर्शनी गरेर देश बन्दैन ।’ उनी नेपाली फुटवेयर उद्योगमा धेरै सम्भावना भएको सुनाउँछन् । फुटवेयर उद्योगमा धेरै सम्भावना भएकै कारण धेरैले रोजगारी पाउन सक्ने उनी बताउँछन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा अहिले सबै व्यवसायबाट व्याक भएर फुटवेयर र बैङ्कमा मात्रै लागेका छन् । कुमारी बैङ्कमै ६ वर्ष काम गरेकी राणाकी श्रीमती विदुषी राणा उद्योगको म्यानेजिङ्ग डाइरेक्टरका रुपमा काम गरिरहेकी छिन् । अहिले यही दम्पत्ति गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउन तम्सिएको छ । अध्यक्ष राणा भन्छन्, ‘फुटवेयर मेरो आदत बनिसकेको छ, म यो क्षेत्र छोडेर बाहिर जान सक्दिन, बाहिर हुँदा टाउको दुख्यो भने म अफिस आउँछु, अफिस आएपछि आफै ठीक हुन्छ, औषधि नै खानु पर्दैन, यो क्षेत्र मेरो लागि प्यासन भइसक्यो, अब जे गर्छु यही क्षेत्रमा गर्छु ।’ धेरै उद्यमीहरु लगानीको विविधिकरणको कुरा गर्छन् । तर, अमिरले लगानीलाई एकीकृत गर्दै लगेका छन् । औषधि उद्योग, ग्यास उद्योग, सिनेमा हल लगायत धेरै कम्पनीमा गरिएको लगानी उनले झिकेका छन् । र, गोल्डस्टार कम्पनीको १०० प्रतिशत सेयर आफू र आफ्ना परिवारको स्वामित्वमा लिएका छन् । कुमारी बैङ्कका अध्यक्ष समेत रहेका राणा पछिल्लो मर्जसँग कुमारी बैङ्कलाई टप फाइभमा पु¥याउन सफल भएकोमा खुसी छन् । उनको प्यासन, उनको फोकस ‘गोल्डस्टारलाई ग्लोबल ब्राण्ड बनाउने’ मा केन्द्रीत छ । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर

काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

काठमाडौं । मान्छे खुसीमा होस् वा रोदनमा । थकान मेटाउन होस् वा उत्सव मनाउन, प्रयोग प्रायः मदिराको गर्छ । कतिपय मानिस मदिरा पिएर मातिन्छन् त कतिपय बहकिन्छन् । एकअर्काबीच कुरा साटासाट गर्न होस् वा सामाजिक बन्न पनि अधिकांशले मदिरा नै पिउँछन् । पछिल्लो समय त झन् पिउने बानी नभएका तर सामाजिक बन्नकै लागि भए पनि पिउनेहरुलाई ‘सोसियल ड्रिङ्कर’को उपमा दिइएको छ । अहिले मदिराबिनाका भोजभतेर हुँदैनन् । जब कार्यक्रममा ककटेल हुन्छ, त्यो कार्यक्रमको रौनक नै पृथक । कुनै समय थियो, जसले विदेशी ब्राण्डका रक्सी पिउँछ, त्यो समाजमा हुनेखाने अर्थात् ‘हाई स्ट्याण्डर्ड’को मान्छे । तर, अहिले त्यसको परिभाषा बदलिदिएका छन् रवि केसीले । नेपाल मदिरा उत्पादक सङ्घका पूर्वअध्यक्ष तथा यति डिस्टिलरीका अध्यक्ष रहेका केसी छोटै समयमा नेपाली मदिरा उद्योगलाई एक गर्व गर्न लायक क्षेत्रका रुपमा स्थापित गर्न सफल भएका छन् । विदेशी मदिराको दबदबा रहेको नेपाली बजारमा अहिले उनै केसीको कारण विदेशी ब्राण्डका मदिराहरुको बजार सङ्कुचित बन्दै गएको छ, नेपाली उत्पादनले विस्थापित गर्दै लगेको छ । सन् २०१५ मा आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु वल्र्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश गरेको यति डिस्टिलरी अहिले नेपाल मदिरा उद्योगमा एक अग्रणी र सफल कम्पनीका रुपमा स्थापित भएको छ । यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताको रोजाइमा परेका छन् भने उपभोक्ताहरुले विदेशी मदिराको सट्टा यति डिस्टिलरीका ब्राण्डहरुको स्वाद मन पराउन थालेका छन् । उत्कृष्ट र गुणस्तरीय उत्पादनकै कारण कतिपय मानिसहरुको दैनिकी बनेका छन् यति डिस्टिलरीका उत्पादन । छोटो समयमा यति डिस्टिलरी कसरी बन्यो अग्रणी मदिरा कम्पनी ? अध्यक्ष केसी भन्छन्, ‘हामीले नाफाभन्दा गुणस्तरीयतामा ध्यान दियौं, उपभोक्ताको रोजाइलाई फोकस गर्यौं, कसैले हाकिम भएपछि आफूभन्दा तलको कर्मचारीको कुरा सुनेर निर्णय लिन्छ तर म आफै फिल्डमा गएर त्यसको वास्तविकता बुझेर निर्णय गर्छु, धेरै मिहिनेतपछि यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताकाबीच एक ब्राण्डका रुपमा स्थापित भएका हुन्, अझै धेरै काम गर्न बाँकी छ ।’ कम्पनीमा ५० प्रतिशत सेयर केसीको र ५० प्रतिशत अभिषेक श्रेष्ठको छ । कम्पनीले आधा दर्जन बढी ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । ८८४८ भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप, वल्ड दरबार, ब्ल्याक चिम्नी, बाह्रसिंगेको सुपर स्ट्रोङ्ग, बाह्रसिंगे प्रिमियम स्ट्रोङ्ग, फाल्कन लगायतका मदिरा तथा वियरहरु यस कम्पनीका चर्चित उत्पादनहरु हुन् । यति डिस्टिलरीको सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले सन् २०२१ मा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता छ भने हाल १२० वटा वितरकबाट मदिरा बिक्री भइरहेको छ । ‘प्रत्येक तह/तप्काका मान्छेले उच्च स्तरीय मदिरा/वियर पिउन् भन्ने मेरो कन्सर्न हो, अब उच्च स्तरीय रक्सी पिउन विदेशबाट ल्याउनु पर्दैन, रक्सीमा विदेशी मु्द्रा खर्च गर्नु पर्दैन, अन्तर्राष्ट्रिय ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । सबैले मन पराइरहनु भएको छ, मदिरामा नेपाल आत्मनिर्भर हुन सक्छ भनेर म देखाउन चाहन्छु,’ अध्यक्ष केसीले भने । वस्तु उत्पादन गर्दा नाफा हेर्नेभन्दा पनि आफुले सुरुमा काम हेर्ने केसी बताउँछन् । केसी विदेशी लगानी रहेको सूर्य नेपालका उपाध्यक्ष पनि हुन् । सूर्य नेपालको उपाध्यक्षको जिम्मेवारी पूरा गर्दा गर्दै उनले आफ्नो कम्पनीलाई एक उत्कृष्ट मदिरा उत्पादक कम्पनीका रुपमा स्थापित गराए । उनलाई अहिले पनि सूर्य नेपालले उपाध्यक्षको जिम्मेवारी दिइनै रहेको छ । बहु राष्ट्रिय कम्पनीको जागिर गर्दै पारदर्शी रुपमा आफ्नै कम्पनी स्थापित गरेर, अहिले पनि दुबै जिम्मेवारी सम्हालेर उनले व्यवस्थापनमा नयाँ नमूना नै छोडेका छन् । ‘विदेशी कम्पनीमा आबद्ध भएर र आफ्नै व्यापार गरेर पनि एक उत्कृष्ट कम्पनी बनाउने सायद कमै छन्, म हिजो सूर्य नेपालमा जत्ति खटिन्थेँ, आज पनि त्यति नै खटिन्छु, सूर्य नेपालमा सेयर नभए पनि हिजो पनि मालिकको रुपले काम गरेँ, आज पनि सोही ढंगले काम गरिरहेको छु, यो मेरो स्ट्रेन्थ हो,’ केसी भन्छन्, ‘म नाफाभन्दा पहिला गुणस्तर र उपभोक्ताको रोजाइ हेर्ने भएको कारणले पनि हाम्रो उत्पादन सबैले मन पराउनुहुन्छ ।’ रवि आज आफु जुन अवस्थामा छन् त्यसको श्रेय सूर्य नेपाललाई दिन्छन् । ३३ वर्षदेखि सूर्य नेपालमा आवद्ध भएका उनको व्यावसायिक यात्रा पनि सूर्य नेपालबाटै सुरु भएको हो । ५३ वर्षीय केसी भन्छन्, ‘व्यक्ति वा संस्थाले समय अनुसार चल्नु पर्छ, व्यक्तिको ‘च्वाइस’ पहिचान गर्न सक्नु पर्छ, तब मात्रै लक्ष्य भेटाउन सकिन्छ ।’ केसी आफु पनि कहिलेकाहीँ मदिरा पिउने गरेको बताउँछन् । तर, जुन दिनदेखि उनले यति डिस्टिलरीको मदिरा उत्पादन गर्न थाले सो दिनदेखि अन्य कम्पनीको मदिरा नपिएको सुनाउँछन् । ‘म जे जति कार्यक्रममा जान्छु जताततै मेरै कम्पनीको मदिरा देख्छु, कहिलेकाहीँ कुनै कार्यक्रममा नराखेको भए गाडीबाट निकालेर आफ्नै कम्पनीको ह्वीस्की पिउँछु, म मेरै कम्पनीको मदिरामा स्वाद देख्छु,’ उनी भन्छन्, ‘हामीले लामो अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने भएकोले पनि बजारले मन पराएको छ ।’ उत्पादनलाई गुणस्तरीय र उपभोक्ताको रोजाइको बनाउन सके त्यसले स्वस्फूर्त रुपमा बजार लिने केसीको धारणा छ । ‘कतिपय मानिसको उद्देश्य जसरी भए पनि पैसा कमाउने हुन्छ, अधिकांशले काम गरेपछि कति पैसा आउँछ भनेर सोच्छन् । तर, मेरो सोच भनेको काम गरेपछि पैसा आइहाल्छ नि भन्ने हो, काम राम्रोसँग गर्ने, त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो ध्यान हुन्छ, पैसा कमाउने भन्दा पनि मैले उत्पादनलाई कसरी गुणस्तरीय बनाउनेतर्फ मेरो जोड हुन्छ, वस्तुमा कतिको मार्जिन राख्ने भन्दा पनि यसलाई कसरी मिठो बनाउने भन्नतर्फ मैले सोच्छु, मिठो भएपछि बजारमा राम्रो बिकिहाल्छ, तनावै लिनु पर्दैन,’ उनी भन्छन्, त्यसपछि आफू अघि-अघि जाने पैसा पछि-पछि स्वतः आइहाल्छ ।’ ५३ वर्ष पुगे पनि केसीमा जोश जाँगर अझै बढ्दै गएको छ । समाज र देशका लागि केही गरौं भन्ने हुटहुटी उनमा छ । नेपाललाई मदिरामा आत्मनिर्भर बनाउने र मदिराकै लागि विदेशिने डलर रोक्नु पर्ने उनको ध्येय छ । ‘म कहिल्यै थाक्दिनँ, मैले व्यक्तिगत नाफा कहिल्यै सोचिनँ, मैले मेरो व्यवसाय र कामलाई नै महत्व दिन्छु, जसले देशलाई लाभ होस्, उनी भन्छन्, ‘म आर्यघाट नपुग्दासम्म यतिकै हुन्छु, यो व्यवसायबाट कहिल्यै रिटायर्ड पनि हुँदैन ।’ उनी सबैभन्दा ठूलो स्वास्थ्य भनेको सोच र सन्तुष्टि भएको धारणा राख्छन् । ‘रक्सी खाएर तनाव लियो भने तनाव हुन्छ, रक्सी खाएर खुसी भयो भने त्यसले खुसी दिन्छ, संसारमा सबैभन्दा ठूलो निरोग भनेकै सन्तुष्टि हो, औषधि पनि त बढी खायो भने पोइजन बनिदिन सक्छ,’ उनी थप्छन्, ‘सीमित खानुस्, सब राम्रो हुन्छ ।’ दुई वर्षभित्रै उत्कृष्ट करदाता रवि केसीलाई यस वर्ष आन्तरिक राजश्व विभागले व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रुपमा आफ्नो नाम सार्वजनिक गर्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा अपेक्षामै सीमित बन्यो । उनी अलिकति चुके । विभागले उनलाई होइन विजयकुमार शाहलाई उच्च करदाताको रुपमा सम्मानित ग¥यो । केसी आफु पनि नेपालमा सबैभन्दा बढी तलब खाने व्यक्तिको सूचीमा रहेको दाबी गर्छन् । तर, उनले कति तलब खान्छन्, त्यो भने खुलाएनन् । ‘यस पटक व्यक्तिगत तर्फको करमा उत्कृष्ट करदाताका रुपमा आउँछु की भन्ने आशा थियो तर आइनँ, म पनि नेपालमा उच्च तलब खानेहरुमध्ये पर्छु,’ उनी भन्छन्, अब हेरौं अर्को वर्ष के हुन्छ ।’ अहिले पनि मदिरा उद्योगमा यति डिस्टिलरी भने नम्बर वान करदाता भएको उनी दावी गर्छन् । ‘छोटै समयमा यो किसिमको बजार पाएका छौं, अब छिट्टै उत्कृष्ट करदाताका रुपमा सबैले हेर्न सक्नुहुन्छ, डेढ/दुई वर्षभित्रै उत्कृष्ट करदाताका रुपमा यति डिस्टिलरीको नाम आउँछ, विदेशबाट आउने महँगा रक्सीहरुलाई नेपालमा ठप्प पार्न चाहन्छु, रक्सीमा जुन किसिमको पैसा विदेश जान्थ्यो त्यो रोक्न पाएकोमा गर्व लाग्छ’, उनी गर्वका साथ भन्छन्, ‘विदेशी रक्सी नेपाल आउन रोक्ने कम्पनी यति डिस्टिलरी हो ।’ यति डिस्टिलरीमा भएको युवा जनशक्तिकै कारण कम्पनीले छोटै समयमा एक किसिमको सफलता प्राप्त गरेको उनी बताउँछन् । आज पनि वल्र्ड दरबारको सेल्सम्यान छु, भोलि पनि हुनेछु, यो पद भन्ने विषय गौण हो, अध्यक्ष/उपाध्यक्ष भनेको औपचारिकता मात्रै हो । मेरो काम भनेको वस्तु बिक्री गर्ने नै हो,’ उनी भन्छन्, ‘सूर्य नेपालमा मेरो सेयर छैन तर म त्यहाँको मालिक हो, कर्मचारीले पनि मालिक भएको महसुस गरेर काम ग¥यो भने कम्पनीले लिएको लक्ष्य भेटाउन सजिलो हुन्छ ।’ यति डिस्टिलरीका उत्पादन नेपालमा मात्रै परिचित छैनन् । यसका उत्पादनले विश्व बजार पनि हल्लाइरहेका छन् । गत वैशाखमा यतिका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । यतिका उत्पादन ८८४८ भोड्का र वल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेको थियो । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यसले पनि यतिका उत्पादनहरु कति गुणस्तरीय छन् भन्ने विषय प्रष्ट्याउँछ । सरकारको नीति सकस अर्बौंको लगानी रहेको मदिरा उद्योगलाई सरकारले सौतेनी व्यवहार गरेको केसीको गुनासो छ । मदिरा उद्योगलाई हेर्ने समाज र सरकारको दृष्टिकोणमा खोट भएको उनको धारणा छ । सरकारले राजस्व खोज्ने तर यसलाई व्यवस्थित बनाउन ध्यान नदिने प्रवृत्तिले उद्योगको विस्तार हुन नसकेको उनको भनाइ छ । वर्षेनी बढाउने राजश्वले मदिरा व्यवसायी निरुत्साहित हुँदै गएको उनले बताए । ‘बजेटमार्फत् रक्सी चुरोटमा जति पनि राजस्व बढाए हुन्छ भन्ने सरकारको मानसिकता गलत छ, यसले वास्तविक उद्योगी समस्यामा पर्छन्, अवैध र गुणस्तरहीन मदिराले प्रशय पाउँछ, त्यसले झन् मानिसको स्वास्थ्यमा हानी पु¥याउँछ, उनले भने । सस्तो लोकप्रियताका लागि रक्सीको विरोध ग¥यो भने समाजमा हिरो भइन्छ भन्ने केही मानिसहरुको कारणले यसलाई नकारात्मक वस्तुका रुपमा लिइएको उनको तर्क छ । मदिरा उद्योगलाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको उनको धारणा छ । पहिले उद्योगी व्यवसायीहरुका कुरा सुनेर बजेट ल्याउने चलन भए पनि अहिले भने त्यो अभ्यास हराउँदै गएको उनको गुनासो छ । ‘पछिल्ला ४/५ वर्षमा एनजीओ र आईएनजीओले भनेका कुरा बढी सुनिन थालेका छन्, वास्तविकताभन्दा पनि सेन्टिमेन्टलमा गएर निर्णय गर्ने परिपाटी बढ्दो छ, बढी कर पनि त्यसकै उपज हो, यस्ता निर्णय खराब वस्तुहरुले बजारमा बढी हिस्सा लिन्छन्, उत्पादन, उपभोक्ता र राजश्व लिने सरकारबीच समन्वय हुन सक्नु पर्छ, तब मात्रै नेपालमा सबै वस्तुहरुको औद्योगिक वातावरण सिर्जना हुन्छ, सबैले रोजगारी पाउँछन्, समग्रमा देशको भविश्य उज्जवल हुन्छ,’ उनले भने । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट) सम्बन्धित सामग्री : मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल