जहाँ अवसर आउँछ त्यहीँ पैसा बग्छ : अध्यक्ष गोल्छासँगको विकास वहस

नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक दर्जन देशमा निर्यात हुन्छ । गोल्छाले नै नेपालमा पहिलो पटक बजाज मोटरसाइकल एसेम्बल उद्योग लगाएर स्थापित गरे, जसलाई अरु धेरै ब्राण्डहरुले पछ्याइरहेको छ । बहुराष्ट्रिय कम्पनी सामसुङको रेफ्रिजेरेटर र वासिङ मेसिन नेपालमा नै उत्पादन थालेर उनले अर्को ठूलो व्यावसायिक पहलकदमी लिएका छन् । अटो फाइनान्समा गोल्छाले थालेको व्यवसायलाई अधिकांश ठूला अटो विक्रेताले पछ्याएका छन् । व्यावसायिक ब्राण्ड बिल्डिङ्मा शेखर धेरैले लिने नाम हो । उनै शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घको समेत नेतृत्व गरिरहेका छन् । महासङ्घ सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था भएकोले पनि हामीले गोल्छाको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि र उद्योग व्यवसायमा हासिल गरेका उपलब्धीहरु समेटेनौं, गोल्छाको चाहना पनि त्यही रह्यो । वर्तमान आर्थिक सङ्कटको अन्त्य, व्यवसायीको सृर्जनशीलता, युवाहरुको लगाव र भविष्यको अवसरबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले अध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायीलाई पनि सकस परेको छ, महासङ्घको अध्यक्षको हैसियतमा तपाईंले उनीहरुलाई कसरी मोटिभेट गरिरहनु भएको छ ? पक्कै पनि कठिन समय छ । तरलताको अभावले धेरै क्षेत्र सङ्कुचनमा छ । मलाई लाग्छ यो नेपाली उद्योगीले अहिलेसम्म नदेखेको अवस्था हो । मैले साथीहरुलाई यही भन्न चाहान्छु कि ६ देखि ८ महिनामा हामी एकदमै सहज स्थितिमा आउन सक्छौं । सहज हुन्छ भन्ने आधार के हुन् ? यसका पाँचवटा आधार छन् । पहिलो, हाम्रो तरलता विप्रेषणसँग जोडिएको छ । जति जति हाम्रो विप्रेषण बढ्छ, त्यति नै तरलता सुध्रिन्छ । यस वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको छ । यसरी रेमिट्यान्स बढ्दा यो सीधै बैंकिङ्ग सिस्टममा जाने भएकोले यसले तरलता बढाउँछ । हाम्रो विदेशी मुद्राको आयको श्रोत पनि मुख्यतः रेमिट्यान्स नै हो । वल्र्ड बैङ्कले यस वर्ष १२ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढ्छ भनेको थियो, त्योभन्दा पनि बढेको देखिएको छ । जुन गतिमा हाम्रो भाइ बहिनीहरु बाहिर गइरहेका छन्, यसले पक्कै पनि भविष्यमा रेमिट्यान्स बढ्छ । जसले तरलतामा सहजता ल्याउँछ । दोस्रो, हाम्रो कमोडिटीको मूल्य रुस र युक्रेनको युद्धले निकै बढेको थियो । जसले पेट्रोलियम पर्दाथको मूल्य ७० प्रतिशतसम्म बढाएको थियो । त्यसका साथै तेल, कोइला, स्टीलको मूल्य अत्याधिक रुपमा बढेको थियो, जसले तरलतामा प्रभाव पारेको थियो र हाम्रो शोधानान्तर स्थिति कमजोर हँदै गएको थियो । तर, अहिले हेर्ने हो भने पेट्रोलियम, खाद्यान्य र स्टीलको मूल्य घट्दै गएको छ । त्यसैले अब आउने समयमा हाम्रो सेभिङ्ग बढ्दै जान्छ र तरलता पनि सुधार हुँदै जान्छ भन्ने विश्वास लिन सकिन्छ । तेस्रो, विगतमा बैङ्कमा लगानीयोग्य रकमको धेरै ठूलो अभाव हुँदा अर्थतन्त्र स्लोडाउन भइसकेको छ । जब अर्थतन्त्र स्लोडाउन हुन्छ तरलता स्वभाविक रुपमा बढ्छ । एउटा पोइन्टमा आइसकेपछि यो माथि जाने भन्ने अर्थतन्त्रको नियम नै हो । हामी पुस महिना बटम आउट गर्छौं होला । माघदेखि हाम्रो तरलता सुध्रिने देखिन्छ । चौथो, डिसेम्बर–जनवरीको होटल बुकिङ्गले अब आउने समय पर्यटनको लागि धेरै राम्रो रहने देखिएको छ । होटलको बुकिङ प्रि–कोभिड लेभलमा आइसकेको छ । एयरपोर्ट भरिभराउ भइरहेका छन्, ल्याण्डिङ्ग गर्ने स्पटहरु पाइरहेको छैन, भैरहवा एयरपोर्ट निश्चित रुपमा चल्छ किनभने काठमाडौंमा ल्याण्डिङ्ग स्पट नभएपछि त काँही न काँही त जान्छन् होला । यो आधारमा पर्यटकको आगमन हुने हो भने पर्यटनले झण्डै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ८ देखि १० प्रतिशत असर गर्न सक्छ । त्यसले ट्रेकिङ्ग व्यवसायदेखि रेष्टुरेन्ट व्यवसाय, ट्याक्सीदेखि लिएर माइक्रोबस बुकिङ्गसम्म पुरै इकोसिस्टम चल्नेछ । पाँचौ, नयाँ सरकार हो । नयाँ सरकार बनेपछि हाम्रा डेभलपमेन्ट ऐजेन्सीहरु जस्तै वल्र्ड बैङ्क, एडिबी र हाम्रा डोनर कन्ट्रीहरु नयाँ सरकारसँग सहकार्य गर्न चाहिरहेका छन् । मसँग भएको कुराकानीको आधारमा उनीहरु नयाँ सरकार बनेपछि नेपाललाई सहयोग गर्न तयार रहेको बुझिन्छ । नेपाललाई हामीले कसरी सहयोग गर्न सक्छौं त्यसको मोडल पनि तयार छ, नयाँ सरकार आउने बित्तिकै हामी सहयोग गर्छौं’ भन्ने जस्तो डाइरेक्सन उनीहरुले दिएका छन् । धेरै एफडीआई पनि यस्ता छन् जुन नयाँ सरकार आएपछि अवस्था हेरेर लगानी गर्छौं भनेर बसेका छन् । त्यसैले नयाँ सरकार आएपछि केही समय राम्रो जोश देखिन्छ होला । नयाँ सरकार बनेको छ । अब सरकारले कुन विषयलाई प्राथमिकता दिनुपर्छ ? सबैभन्दा पहिला नयाँ सरकारले अहिले आएको आर्थिक शिथिलतालाई पुनः कसरी गतिशील बनाउन सकिन्छ र निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन तबसम्म लगानी हुँदैन र जबसम्म देशमा दीर्घकालिन लगानी हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन । अहिले निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्ने, तरलतालाई द्रुत गतिमा ठिक गर्ने र नेपालमा निजी क्षेत्रको मनोबल बढाउने कामहरु नयाँ सरकारबाट अपेक्षित छ । अहिले आएको समस्या निजी क्षेत्रको मात्र होइन । राजस्व २० देखि ३० प्रतिशतले घटेको छ । साधारण खर्च धान्न सकिएको छैन । नयाँ रोजगारी सृजना हुन सकेको छैन । देशबाट जुन गतिमा मान्छे पलायन भइरहेको छ त्यो गति कहिले पनि थिएन । अर्को, मुद्रास्फिती राष्ट्र बैङ्कले १२ प्रतिशतसम्म पुग्न सक्छ भनेको छ, जसको अर्थ सर्वसाधारणको क्रयशक्ति त कम हुनु हो । सेयर बजारका ४० लाख सेयर होल्डर टाउकोमा हात राखेर बसिरहेका छन् । जग्गा व्यापार गर्नेहरु ब्रिकी नभएर ठूलो समस्यामा परेका छन् । हेर्नुहोला, बैङ्कहरुमा पनि अब पुस महिनामा नेपालले कहिले नदेखेको खराब कर्जा बढ्न सक्छ, त्यसले गर्दा बैंकिङ्ग क्षेत्रपनि ठूलो सङ्कटमा पर्छ । इन्स्योरेन्सको पनि कुरा गर्ने हो भने यसमा पनि पहिलोपटक ठूलो सङ्कुचन आएको छ । लाइफ इन्स्योरेन्समा पोलिसी सरेन्डर गर्नेहरु एकदमै बढिरहेको छ । सबैतिर निराशा छाएको छ । यो निराशालाई सम्बोधन गर्ने कि नगर्ने ? योभन्दा ठूलो एजेन्डा के हुन सक्छ ? नयाँ सरकारले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो अवस्थामा निजी क्षेत्रको फोकस केमा हुनुपर्छ ? निजी क्षेत्रसँग मेरो अपेक्षा के छ भन्दा अलिक सृजनशील भइदिनुहोस् । लहैलहैमा नलाग्नुस् । एउटा ठाउँमा राम्रो देख्ने बित्तिक्कै सबै त्यहीँ लगानी गर्छौं । हाम्रो श्रोतहरु सीमित छन् । हामीले नयाँ क्षेत्र खोज्न जरुरी छ । सृजनशील हुन जरुरी छ । हाम्रो प्रतिव्यक्ति आय १३ सय डलर रहेको छ । हाम्रो रेमिट्यान्सदेखि सेभिङ्गमा रहेको रकम धेरै खपतमा खर्च हुन्छ । सम्भावना धेरै छ तर सृजनशील हुनुपर्यो । हामीले सृजनशीलतालाई छोडेर जसको एउटा राम्रो व्यालेन्ससिट छ । त्यसको पछि लाग्यौं भने यसले आफूलाई पनि डुबाउँछ देश पनि डुबाउँछ र अन्य व्यवसायलाई पनि स्लोडाउन गर्छ किनभने हामीसँग सीमित श्रोतहरु छन् । मैले निजी क्षेत्रसँग यसपालि हाम्रो पुरानो गल्तीलाई आत्मासमीक्षा पनि गरौं भनेको छु । आउने समयमा सो विचार गरेर लगानी गर्न जरुरी छ । बैङ्कहरुलाई पनि मेरो आग्रह छ, अलिकति धितो हेरेर मात्र कर्जा नदिनुहोस्, बिजनेशलाई विश्लेषण गरेर सृजनशीलतामा लगानी गरिदिनुहोस् । ब्राण्डको नाम र धितोमा मात्र लगानी गरेर देश बन्ने वाला छैन । पछिल्लो समय व्यवसायीहरु कालो ब्यानर लिएर सडकमा उत्रिएका ेहामीले देख्यौं । बैङ्कर र व्यवसायीबीच यस्तो किसिमको दरार किन आइरहको छ ? समाधानका उपाय के हुन सक्छन् ? बैङ्कहरु पनि अर्थतन्त्रको मेरुदण्ड हुन् । सबल बैंकिङ्ग क्षेत्रले गर्दा अर्थतन्त्र चलायमान भएको हो । बैङ्क बलियो हुन अर्थतन्त्रलाई एकदमै जरुरी छ । तर, बैङ्कहरुले यो कठिन समयलाई मध्यनजर गरेर यसलाई अवसरको रुपमा हेरेर अनावश्यक रुपमा प्रिमियम बढाउने, अन्य शुल्कहरु लिने र अनावश्यक दवाव सृजना गरेको हुँदा निजी क्षेत्र आक्रान्त भएको हो । अहिले हाम्रो अपेक्षा भनेको बैङ्कहरुले यो समयमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । बैङ्कहरु बलियो नभए निजी क्षेत्र भोलीको दिनमा व्यवसाय गर्न असक्षम रहन्छ । तर, बैङ्कहरुले अहिलेको कठिन स्थितिलाई अवसरको रुपमा हेर्नु हुँदैन । यो सहकार्य गर्ने समय हो । व्यवसाय बाँचेन भने बैङ्क पनि बाँच्न सक्दैन । र, यो सम्बन्ध अझ बढी गाढा हुनुपर्छ । कर्जा लिने र दिनेले अर्थतन्त्र चल्ने हो र यसलाई निरन्तरता दिन र सम्बन्ध सुमधुर राख्नको लागि एकअर्कालाई बुझ्नु पर्दछ । बैङ्कहरुको उद्योगलाई जाने कर्जादर र व्यापारलाई जाने कर्जादर फरक हुनुपर्छ भनेर उत्पादनमूलक क्षेत्रमा लागेका उद्यमीहरु आवाज उठाइरहन्छन्, यस विषयमा तपाईंको धारणा के हो ? पक्कै पनि हुनुपर्छ । राष्ट्र बैङ्कले कुन क्षेत्रमा कति लगानी गर्ने भनेर गाइडलाइन पनि बनाएको छ । जसमा उद्योगमा पनि कति लगानी गर्ने, साना मझौलामा कति गर्ने भन्ने खुलाइएको छ । उद्योगमा कम व्याजदरमा जानुपर्छ भन्ने स्वभाविक हो तर हाम्रो यसमा व्यवहारिक समस्या के छ भन्ने हेर्न जरुरी छ किनभने अन्तिममा बैङ्कहरु पनि आफ्नो लगानीकर्ताहरु प्रति उत्तरदायी हुन्छन् । उनीहरुलाई प्रतिफल दिने बैङ्कको जिम्मेवारी हो । त्यो आधारमा ट्रेडिङलाई तरलता बढेको बेला वेवास्ता गर्ने हो भने बैङ्कको नाफामा पनि धेरै फरक पर्न सक्छ । त्यो आधारमा एउटा व्यालेन्सड रुपमा जाँदा ठिक होला । पछिल्लो समय बैङ्कर्सको विरोधमा देखिएका केही पात्रहरु हेरेर को उद्यमी र को बैङ्कर भनेर बहस पनि चलेको छ । के उद्योगी र बैङ्कर छुट्याउनु पर्ने अवस्था आएको हो ? धेरै देशहरुमा यो छुट्याउने प्रयास गरिएको छ । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अब त्यसलाई फर्काउ भन्न मिल्दैन । त्यस्तै सबै बेथितिलाई एकैदिनमा हटाउ भन्न गाह्रो छ र त्यो अहिले सम्भव पनि छैन । किनभने धेरैजसो बैङ्कका प्रमोटरहरु उद्योगी व्यवसायीहरु नै छन् र त्यसको आधारमा त्यसलाई फर्काउन सकिन्छ जस्तो मलाई लाग्दैन । व्यवसायीहरुमा कुन लेभलको सृजनशीलता छ, त्यसलाई तपाईंले कसरी मार्किङ गरिरहनुभएको छ ? हामीले धेरै यस्ता लगानीहरु देखेका छौं, जुन लहैलहैमा लागेर कुनै बजारको समीक्षा बिना भएका छन् । जसले गर्दा क्षमताभन्दा बढी भएर सबै समस्यामा परेका छन् । देशको अर्थतन्त्रमा तरलताको समस्या पनि देखिएको छ । र त्यो आधारमा मैले पक्कै पनि सृजनशीलताको कमी देखेको छु । यसको एउटा मुख्य कारण बैङ्कले सृजनशीलतामा लगानी नगर्नु । बैङ्कले मात्र कोल्याट्रल र कसलाई लोन दिइरहेको छु भन्ने हेरेको छ । कसैले नयाँ क्षेत्रमा केही गर्छु भन्दा बैङ्कहरुले त्यसमा लगानी गर्दैनन् । सृजनशीलतामा नेपालमा लगानी अलिकति पनि छैन । यो सबै समस्याको जरो पनि निजी क्षेत्र, बैङ्क र सरकारले सृजनशीलतालाई हेर्ने नजर हो । यसलाई प्रोत्साहन गर्न सबै लागे पक्कै पनि सृजनशीलताले बढी महत्व पाउने छ । सृजनशीलता प्रोत्साहित हुनेछ । तपाईंको नजरमा निजी क्षेत्रबाट बनेको सृजनशील उद्यम कत्तिका छन् ? पक्कै पनि छन् । मैले केही सृजनशील व्यवसायको उदाहरण दिन्छु । जस्तै चन्द्रागिरी प्रोजेक्ट एउटा सृजनशील प्रोजेक्ट हो । नेपालमा पहिलोपटक यस्तो किसिमको सेटअपमा उक्त प्रोजेक्ट बनेको हो । यसले अरु पनि त्यस्ता धेरै प्रोजेक्टलाई निम्त्याएको हामीले देखिरहेका छौं । त्यस्तै, निजी एयरलाइन्स बिजनेश पनि प्राइभेट सेक्टरको सृजनशीलता हो । यो बिजनेश रचनात्मक रुपमा विकशित भएको छ । पहिला आएका सिमेन्ट उद्योगहरु र अहिले बनेका जुन स्टील स्ट्रक्चर फ्याक्ट्रीहरु, केही औषधिको फ्याक्ट्रीहरु छन्, त्यसमा पनि सृजनशीलता देखिन्छ । यस्तै, पर्यटनमा द्धारिका होटल सृजनशीलताको एउटा नमूना हो । त्यस्तै, तराईमा भएको फाइभ स्टार होटलहरु जसले भारतीय पर्यटकलाई टार्गेट गरेर लगानी गरेका छन्, त्यसमा सृजनशीलता देखिन्छ । यस्तै कफी व्यवसाय नेपालमा सृजनशीलताको ठूलो उदाहरण हो । सडकभरी देखिने बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा शुद्ध नेपाली उद्यमशीलता र सृजनशीलताको उदाहरण देख्छु म । हरेक क्षेत्रमा सृजनशील बिजनेशलाई देखेको छु तर यतिले पुगेन । यसमा अझ अगाडि बढ्नुपर्छ । थप लगानी बढाउनु पर्छ ।   महासङ्घको अध्यक्षको रुपमा सल्लाह दिँदा तपाईं अबको युवाहरुलाई कुन क्षेत्रमा फोकस हुन भन्नुहुन्छ ? हाम्रो देश अत्यन्तै सम्भावना बोकेको देश हो । म हरेक क्षेत्रमा सम्भावना के हुन सक्छ ? भनेर उदाहरण दिन चाहान्छु । जस्तै पर्यटनमा हामी १० लाख पर्यटक भित्र्याउन सक्छौं । कृषिमा सृजनशीलता ल्याउने हो भने कति उन्नति गर्न सकिन्छ होला किनभने जुन नेपालको जैविक विविधता छ त्यो विश्वमा अरु कतै छैन । तर हामीले त्यसको कुनै अन्वेषण गर्न सकेका छैनौं । हामीले त्यसमा केही गर्न सकेकै छैन । विश्वको कान्छो देशमध्ये एक हौं हामी । २३ वर्ष । हाम्रो प्रतिव्यक्ति आय यस्तो पोइन्टमा पुग्दैछ जब मान्छेहरुको डिस्पोजेबल इन्कम बढेर जान्छ । यसमा खोजौं न सृजनशीलता । यसमा सर्भिसेसहरु खोजौं न । त्यसपछि यातयातदेखि लिएर अन्य धेरै ठाउँमा सृजनशीलता भयो भने धेरै विकास गर्न सकिन्छ । मैले सम्भावनानै सम्भावनाको देशको रुपमा नेपाललाई देखेको छु । पहिला पहिला हामी भन्थ्यौं हामी भारत र चीनको बीचमा छौं एउटा हाइवे बनाइदिए हामीलाई पुग्छ । तर म यो कुरालाई मान्दिन । तर तपाईंको छिमेकीहरु अति धनी हुन्छन् भनेपछि तपाईंको पनि स्ट्याटस् अफ इकोनोमी त केही न केही बढ्छ । जब हामी विश्वकै भाइब्रेन्ट इकोनोमिक डेभलपमेन्ट एरिया भएको बीचमा हुन्छौं भने त्यसबाट हामीले पनि पक्कै केही पाउँछौं । त्यसैले मैले सम्भावनाहरु असीमित देखेको छु । तपाईंले आशावादीता जनाउने कुरा गर्नुभयो तर निराशा भएर युवाहरु देश छोडिरहेका छन् । यो ट्रेण्डलाई युटर्न कसरी गर्न सकिन्छ ? कुनै पनि देशको लागि आफ्ना देशको युवाहरु विमुख भएर विदेशिन खोज्छन् भने त्यो देशको लागि त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । देशमा जिम्मेवारी देखाउने काम सरकार, निजी क्षेत्रदेखि लिएर हामी सबैको हो । तर त्यो सम्भावनाहरु यस्ता छन् भनेर देखाउन नसक्नु हाम्रो असफलता हो । यसको भार हामी सबैले बोक्नुपर्छ । यसलाई युटर्न गर्ने आधार सक्सेस् स्टोरिज हो । हामीले सक्सेस् स्टोरी देखाउन सक्नुपर्यो । आज कसैले कुखरा पालन गरेर वर्षको ५० लाख कमाइरहेको होला । कसैले ट्राउट फार्मिङ्ग गरेर वर्षको एक करोड कमाइरहको छ । कसैले होमस्टे सञ्चालन गरेर मनग्य फाइदा गरिरहेको कथाहरुलाई मार्केटिङ गर्नुपर्यो । युवाहरुलाई देशमा सम्भावना छ है, यहाँ गरेर खान सकिन्छ भनेर भन्न सक्नुपर्यो । यसो गर्दा युवाहरु विस्तारै यसमा आकर्षित हुन्छन् । ३ करोड जनता भएको देश, प्रतिव्यक्ति आय १३–१४ सय भएको देश, अपार सम्भावना भएको देश, विश्वले माया गर्ने देशमा हामीले केही न केही त पक्कै पनि गर्न सक्छौं । नेपालको कानुनले विदेशमा लगानी गर्न रोकेको छ । यो बन्देज खुल्ला गर्न महासङ्घले ध्यान दिएको छैन वा महासङ्घको प्रयासले सम्भव भएन ? कि नेपालीहरुको विदेशमा गएर लगानी गर्नसक्ने क्षमता विकास भएको छैन ? पुँजी रोकेर रोाकिँदैन । कानुन बनाउँदा सबै कानुनको दायरमा आउँछन् । करको दायरामा आउँछन् । जहाँ अवसर देखिन्छ पैसा त्यही बग्छ र नेपालीहरुले बाहिर लगानी गरेका छैनन् भनेर भन्न सकिँदैन । बाहिर लगानी गर्ने कुरालाई लिगलाइज गर्नुपर्छ किनभने हामीले जति रोकेर मानिसहरुलाई करको बाहिर राख्छौं त्यसले त्यति नै बढी विकृति ल्याउँछ । कन्ट्रोल तरिकाले हामीले यसलाई खोल्दै लैजानुपर्छ । (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अर्बपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिनँ, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै समय लाग्दैन,’ पोल्ट्री फादरको रुपमा चिनिने व्यवसायी गुणचन्द्र विष्टले भने, ‘जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच भएको मान्छे म होइन, म त अहिले पनि सन्यासी हुँ ।’ सन्यास भनेको संसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो । सन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ । ‘ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहनेलाई सन्यासी भनिन्छ’ भनेर वृहत नेपाली शब्दकोषमा व्याख्या गरिएको छ । गुणचन्द्र विष्टले अहिले पनि आफूलाई सन्यासी भन्छन् । झ्याप्प दारी, लामो कपाल, झट्ट हेर्दा सन्यासी जस्तो देखिन्छन् पनि उनी । विद्धताको पनि कमी छैन उनमा । गुणचन्द्र विष्ट उनका बाबुआमाले दिएको नाम हो । सन्यासी भएपछि उनले आफ्नो नयाँ नाम राखे ‘स्वामी कृष्णानन्द भारती’ । जुन अहिले उनले आफ्नो परिचय दिँदा भन्ने गर्छन् । तर, उनी अरबपति हुन् । दर्जन उद्योगको मालिक पनि हुन् । भौतिक सुख सुविधा भोगेको हिसावले कोहीभन्दा कमजोर छैनन् उनी । मासु पनि खान्छन्, रक्सी पनि सेवन गर्छन् । अब उनलाई सन्यासी भनेर समाजले कसरी पत्याउने ? हामीले प्रश्न उठायौं । उनले भने, 'समाज बेवकुफ छ । नेताले राजनीतिबाट सन्यास लिए भन्छन् । खेलाडीले खेलबाट सन्यास लिए भन्छन् । झट्ट हेर्दा छोड्नेको नाम सन्यासी ।' वास्तवमा त्यो सत्य होइन । जगतगुरु आदी शंकराचार्यले शुरु गरेको दशनाम सन्यास, गोरखनाथ बाबाको सन्यास, भिक्षुहरुको सन्यास फरक फरक भएझैं आफूले गरेको सन्यास पनि फरक भएको उनको दावी छ । सन्यासीहरुको मान्यता ठाउँ अनुसार, संस्कार अनुसार फरक फरक हुन्छ । संग्रह गर्नुहुन्न भन्नेमा सबै सन्यासीको समान मत छ । ‘अहिलेको परिवेशमा भीख मागेर स्वामी बनिदैँन, कुनै बेला भीख श्रद्धापूर्वक दिइन्थ्यो, तर अहिले त्यस्तो छैन, स्वामी बन्न मालिक बन्नुपर्छ, अरुसँग मागेर मालिक बनिदैँन, आफूलाई चाहिने आफैले कमाउनुपर्छ भन्ने नवसन्यासीको मान्यता हो, म नवसन्यासी हुँ’ उनले प्रष्ट्याए । उनले सन्यासीको अर्थ ‘सङ्ग्रह नगर्ने’ प्रवृतिको अर्थ लगाए । र, आफूले धन कमाउन व्यवसाय नगरेको दावी गरे । ६० अर्बको हकदार कर्मचारी तपाईं अहिले कति सम्पत्तिको मालिक हुनुहुन्छ ? हामीले सोध्यौं । ‘त्यो त हिसाव गर्नुपर्छ’ उनले भने । बैङ्कमा कर्जा कति छ ? उनले खुलेर जवाफ दिए– ‘करिब १२०० करोड रुपैयाँ ।’ कर्जा थाहा हुने, सम्पत्ति थाहा नहुने पनि हुन्छ र ? प्रश्न झरिहाल्यो । ‘कर्जा त तिर्नुपर्ने भएकोले हिसाब राम्ररी राखिएको हुन्छ । पुस मसान्तमा कति व्याज तिर्नुपर्ने हो भनेर अहिले नै हिसाव किताव भैराखेको छ । तर सम्पत्तिको हिसाव यसरी गरिँदैन ।’ तैपनि मोटामोटी अङ्क भन्न जोड ग¥यौं । उनी बोले– ‘होला करिब ६/७ हजार करोड अर्थात कर्जाको ५÷६ गुणा ।’ अब मोटामोटी फिगर आयो । उनको सम्पत्ति ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा छ । पुँजीबादी समाजमा पुँजीको हस्तान्तरणको कुरा गर्दा पहिलो हकदार परिवारको सदस्य मानिन्छ । गुणचन्द्र विष्ट अविवाहित छन् । श्रीमती, छोराछोरी नभएको मान्छेको त्यति धेरै सम्पत्ति कसले खाला ? धेरैको मनमा हुने चासो हो । तपाईंको सम्पत्तिमा कसले हकदावी गर्नेछ ? अथवा तपाईंको शेखपछि यो सम्पत्ति कसको नाममा जाने छ ? हामीले प्रश्न तेस्र्याइहाल्यौं । उनले यस प्रश्नलाई मूर्खले सोध्ने प्रश्न भने । त्यति मात्र होइन, ‘ तपाईंको सम्पत्ति कसले खान्छ ? उनले प्रतिप्रश्न गरे । र, थपे– ‘मरेपछिको योजना कसैले बनाउँछ भने त्यो जस्तो मूर्खता अरु केही हुँदैन ।’ हामीले उहाँको लिखित योजना मागेनौं । मनको कुरा भन्न भन्यौं । त्यसपछि उनले प्रष्ट जवाफ दिए । ‘१२०० कर्मचारी छन्, मेरो शेखपछि यो उनीहरुको सम्पत्ति हुनेछ, एकजना त मेरै अगाडि छन् ।’ उनले प्रतिनिधि पात्रलाई देखाए । त्यसपछि उनी अझ अगाडि बढेर बोल्न थाले । व्यवसायीको सम्पत्ति खान सजिलो नभएको उनले तर्क गरे । ‘मसँग नगद छैन, पत्रकारले धनी, समाजले धनी भनेर चिनेका मान्छेसँग झन् पैसा हुँदैन, ऊसँग व्यवसाय हुन्छ, ठूलो व्यवसायीसँग ठूलै ऋण हुन्छ, व्यवसाय चलाउन सकेन भने ऋणले सबै सम्पत्ति खान्छ, व्यवसाय गर्न नजान्नेको लागि जति धेरै सम्पत्ति त्यति ठूलो भारी हुन्छ ।’ आइपर्दा समाल्ने सफल व्यवसायीहरुले भन्ने एउटा साझा भनाई छ– ‘पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ, त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ, त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ, अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पठाइने सद्धान्तिक विषय पनि यिनै हुन् ।’ तर गुणचन्द्रको भोगाई त्यस्तो छैन । उनी योजनावद्ध विकासमा धेरै विश्वास गर्दैनन् । ‘कुनै पनि व्यवसाय गर्नुपूर्व व्यवसाय सम्भाव्यता अध्ययन गर्ने, रिर्पोट बनाउने चलन छ, मैले पनि बिजनेश सम्बन्धी किताबहरुमा पढी टोपलेको त्यही हो, तर मेरो जीवनमा त्यो लागू भएन’ उनले भने । ‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो । गर्दिन भन्दा भन्दै गरेको कामको उदाहरणको रुपमा उनले नेपाल ग्यास कम्पनी किन्ने घट्नालाई चित्रण गरे । ‘मैले लिन्न भन्दाभन्दै समाल्नु परेको कम्पनी हो, अहिले देशको सबैभन्दा ठूलो ग्यास बोटलिङ उद्योग भएको छ’ उनले भने । नेपाल ग्यास उद्योग, नेपाल ग्यास उद्योग नारायणी, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग र सत्यनारायण ग्यास उद्योगका मुख्य लगानीकर्ता उनी नै हुन् । ‘मैले पोल्ट्रीमा पनि सबैभन्दा ठूलो व्यवसाय गर्छु भनेर काम गरेको होइन, ग्यासमा पनि होइन, काम थालिसकेपछि राम्रोसँग गर्नुपर्छ भन्ने हो, त्यसको लागि कम्पनीमा आधुनिक प्रविधिको प्रयोग पनि गर्नैपर्छ, उत्पादन क्षमता वृद्धि पनि गर्नैपर्छ, काम गर्दै गर्दा बजारले हाम्रो उत्पादन मन पराएको छ’ उनले भने । खाँचो नपरेको प्रमाणपत्र गुणचन्द्र विष्टको व्यावसायिक सफलताको आधार विश्वविद्यालयको शिक्षा पनि होइन रहेछ । उनले आफूसँग औपचारिक शिक्षाको कुनै पनि प्रमाणपत्र नभएको बताए । ‘मसँग स्कूलले दिने शैक्षिक प्रमाणपत्र पनि छैन, कलेजको शैक्षिक प्रमाणपत्र पनि छैन, मेरो जीवनमा तीनको खाँचो पनि परेन ।’ स्कूल कलेज पढ्दाको किताब तथा शैक्षिक सामग्रीहरु काठमाडौंको कालिमाटीस्थित डेरामा सहपाठीलाई छोडेको तर त्यसपछि कहिल्यै सोधी खोजी नगरेको उनी बताउँछन् । ‘जागिर खाने सोच पनि थिएन, राजनीति नियुक्ती खानुपर्छ भन्ने पनि थिएन, मलाई सर्टिफिकेट चाहिन्छ भन्ने पनि थिएन,’ कारण खुलाउँदै उनले भने । ‘मैले एसएलसी चितवन हाईस्कूलबाट पास गरेको हुँ, आइकम मिनभवन क्याम्पसमा पढेको हुँ, आइकम पास भएँ भन्ने सुनेको पनि हुँ, तर म सर्टिफिकेट लिन पनि गईँन, बिकम पढ्न भर्ना पनि भईँन ।’ मसँग फर्मल एजुकेशन पनि छैन, इनफर्मल एजुकेशन (तालिम, प्रशिक्षण) पनि छैन । ननफर्मल एजुकेशन (छलफल, स्वअध्ययन) नै मेरो ज्ञानको श्रोत हुन् । उनले भने, ‘समूहमा छलफल गर्ने हो, त्यसैको आधारमा काम गर्ने हो ।’ अब्बल व्यवस्थापक गुणचन्द्र विष्ट व्यवस्थापनमा अब्बल छन् । अभिनास ग्रुपको कार्यकारी अध्यक्ष उनी नै हुन् । पोल्र्टी फर्ममा कार्यकारी प्रमुखको जिम्मेवारी उनैले समाल्दै आएका छन् । २० हजार प्यारेन्टबाट उनले पोल्ट्री व्यवसाय शुरु गरेका थिए । अहिले उनको एक कम्पनी अभिनास ह्याचरी प्रालि लेयर ह्याचरी, बोइलर ह्याचरी, अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो कम्पनी भएको छ । विष्ट जतिबेला पोल्ट्रीमा लागे त्यतिबेला नेपालमा यसले व्यावसायिक रुप लिएको थिएन । पोल्ट्री व्यवसायको तीन वर्षमा उनलाई ठूलो सफलता मिल्यो । चितवनमा उनको काम हुन आउनेको क्रम ह्वात्तै बढ्यो । चितवनमा मात्र होइन, देशभर नै उनको अनुसरण हुन थाल्यो । ‘मैले २०४७ सालमा ह्याचरी व्यवसाय शुरु गरेको हुँ, त्यतिबेलासम्म नेपालमा यस्तो व्यवसाय कसैले शुरु गरेका थिएनन्’ उनले भने– ‘यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।’ हाल कम्पनीले सातामा ३ लाख बोइलर कुखुरा उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार उसको क्षमता सातामा ६ लाख बोइलर कुखुरा उत्पादन गर्ने हो । कम्पनीले एक हप्तामा ८० हजार लेय¥स उत्पादन गर्छ, जुन कुल बजारको ८५ प्रतिशत हिस्सा हो । अभिनास फर्म नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म हो, जहाँ दुई लाख चल्ला र ५० हजार ठूला कुखुरा पालिएका हुन्छन् । अभिनास भेट फर्मले देशभरका कुखुरा व्यवसायीहरुलाई पोल्ट्री केयर सेवा दिँदै आएको छ । पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ । त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ । त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ । `अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पढाइने सैद्धान्तिक विषय पनि यिनै हुन् । ‘अभिनास भेट फर्म पोल्ट्री व्यवसायीलाई सबै प्रकारको सेवा एकै ठाउँमा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो, जहाँ कुखुरालाई कुन रोग लागेको हो, जाँच गर्ने, रोग पत्ता लगाउने, औषधि उपचारको सिफारिस गर्ने, औषधि तथा खोप सेवा उपलब्ध गराउने, उपचारको क्रममा प्रयोग हुने सामाग्री उपलब्ध गराउने, कुखुराको दाना उत्पादन तथा वितरण गर्ने सबै काम गर्छ’ विष्टले भने । अहिले नेपालको ह्याचरी व्यवसायको कुल डेढ खर्ब लगानी भएको अनुमान छ । यो क्षेत्रमा ५ लाख मानिसको सक्रिय लगानी छन् । कुखुराको मासु र अण्डामा २२ वर्षदेखि देश आत्मनिर्भर भएको छ । हरेक वर्ष कुखुराको मासु र अण्डाको खपत २० प्रतिशतले बढ्दै गएको थियो । अण्डाको बजार पनि वार्षिक १० प्रतिशतले बढ्दै गएको थियो । कोभिड महामारी फैलिनुअघि प्रतिदिन १० लाख मेट्रिकटन मासु खपत हुन्थ्यो भने अहिले ६ हजार मेट्रिकटन मासु खपत हुन्छ । अण्डाको खपत पनि घटेको छ । ‘अहिले सबै क्षेत्रमा डामाडोल भएको छ, उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’– उनले भने । कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकारले लिएको नीतिप्रति उनको तीव्र असन्तुष्टि छ । ‘किसानको खोर बन्द भएका छन्, २०७६ सालमा ३४८ ह्याचरी फर्म थिए, अहिले आधा बन्द भएका छन्, कति किसानको फर्ममा बैङ्कले ताला लगाएको छ, अवस्था यस्तो रहिरह्यो भने केही वर्षमा कुखुरा, अण्डा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ’ उनले भने । अभिनास ग्रुपले अर्गानिक मल, एग्रोभेट, मेटल, ग्यास उद्योगमा पनि लगानी विस्तार गरको छ । अभिनास ह्याचरी, अभिनास फर्म, अभिनास भेट फर्मा, चितवन गुराँस इन्भेष्टमेन्ट, अभिनास इनर्जी, स्काईलार्क एग्रो लगायत कृषिमा आधारित उद्योगहरुमा विष्ट आफैले नेतृत्व लिएका छन् । नेपाल ग्यासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका गोकुल भण्डारीले समालेका छन् । आइरनमा शैलेश श्रेष्ठले कार्यकारी प्रमुखको भूमिका खेलेका छन् । ‘व्यवस्थापनमा एमाले नेता केपी ओली जस्तो हुकुमी शैलीमा काम गर्दिन, सिनियर साथीहरुसँग छलफल गरेर नै काम हुन्छ ।’ नेत्र वान्तवा उनको लागि लागि विशेष साथी हुन् । जसले उनलाई व्यवसाय शुरु गर्ने बेलादेखि अप्ठ्यारो अवस्थामा सहयोग गरे । व्यवसाय शुरु गर्ने बेलामा दाई रुपचन्द्र विष्टले पुँजी दिएर सहयोग गरेको थिए । जीवनको रोजाइ उनको जीवनमा धेरै आरोह अवरोह छन् । ६ दाजुभाई, ३ दिदी बहिनीसहितको संयुक्त परिवारमा उनी जन्मे, हुर्के । १५ देखि २० वर्षको उमेरमा उनले बुबाले चलाएको खाद्यान्य पसल पनि चलाए । १२ वर्ष सन्यासी भएर आश्रममा पनि बसे । पछि आफ्नै बलबुताले चलाएको ठूलो उद्योगहरु पनि चलाए । कुन अवस्थाको, कुन परिवेशको जीवन उत्कृष्ट रह्यो ? ‘जे मा मजा लियो त्यही, म ४३ वर्षअघि जोगी भएको हुँ, अहिले पनि जोगी नै छु, त्यो बेलामा आश्रममा बसेको थिए, अहिले बिजनेश हाउसमा बसेको छु’ उनले भने– ‘मैले चाहेर यो व्यवसायमा हात हालेको हुँ, मलाई कसैले भारी बोकाइदिएको होइन, कम्युनमा बस्दाको झन्झट एक प्रकारका थिए भने अहिले अर्कोथरी झन्झट छ, यसमा कसैलाई दोष दिनु पनि परेन ।’ ‘कुनै बेला म चङ्गा थिएँ, कम्यूनमा आरामले बसेको थिएँ, अहिले सरकारी कर्मचारीको चाकडी गर्दै हिड्न परेको छ । १२ सय कर्मचारीको १२ सयथरी कुरा सुन्नुपर्छ, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा’ उनले भने, ‘पूर्ण स्वतन्त्रता कहीँ पनि हुँदैन । कम्युनमा पनि नियमहरु हुन्छन्, त्यसको पालना गर्नुपर्छ, व्यवसायमा पनि नियम हुन्छन्, त्यसको पालना गर्नुपर्छ ।’ (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

तीन पटक सरकारी जागिर छोडेर लघुवित्तमा जमेका ‘प्रकाश सर’को कथा

काठमाडौं । हरेक व्यक्तिभित्र कथा हुन्छ । ती व्यक्तिले भोगेका अनुभव र सम्हालेका कहानीहरु पस्किने माध्यम भने जोकोहीले पाउँदैनन् । ती व्यक्तिको सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एउटा अत्यास लाग्दो संघर्षशिल गोरेटोबाट एउटा सुन्दर जीवनशैली पाउने प्रेरणादायी र उदाहरणीय पात्र बन्ने शौभाग्य बिरलै पाइन्छ । एउटा भुइमान्छे बन्दाका पलहरु र सबैको प्रेरणाको स्रोत बन्ने दिनहरुभित्र ठूलो विरासत लुकेको हुन्छ । हो, आज हामी यस्तै एउटा गरिमामय गाथा सम्हालेको र संर्घषशील पृष्ठभूमि बोकेको व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछौं । प्रकाशराज शर्मा । नेपाली लघुवित्त क्षेत्रमा एउटा पृथक पहिचान बोकेको नाम हो प्रकाशराज शर्मा । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् । दाङको एउटा दुरदराज हेकुली गाविसमा जन्मेका शर्माभित्रको कथा साँच्चिकै हृदयस्पर्शी, उदाहरणीय र धेरैका लागि प्रेरणाको स्रोत बन्न योग्य छ । वि.स २०१४ साल भदौ महिनामा जन्मेका शर्मालाई ६६ वर्ष पुगिसक्दा पनि नेपाली लघुवित्त क्षेत्रमा केही नयाँ काम गरौं भन्ने हुटहुटी ताजै छ । केही पृथक, समाजलाई भलो हुने काम, जसले धेरैलाई सकारात्मक उर्जा दियोस्, शर्मा अझै पनि यस्तै–यस्तै काम गर्न चाहन्छन् । हामीले सुरुमै उनलाई प्रश्न गर्यौं, ‘६६ वर्षको भइसक्नु भयो, एउटा लघुवित्तको नेतृत्व गरिरहनु भएको छ, लघुवित्त बैंकर्स संघको पनि अध्यक्ष हुनुहुन्छ, अब आफुलाई बुढो भएँ भन्ने महसुस हुँदैन ? अब आराम गरौं भन्ने सोच आउँदैन ? उनले जवाफमा भने, ‘ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ, काम गरौं भन्ने मनोबल उच्च छ भने ज्यानको वास्ता नगरिँदो रहेछ, मलाई अझै केही गरौं भन्ने हुटहुटी छ, सकारात्मक सोच राखियो भने काम गर्ने उर्जा आफै आउँदो रहेछ, म नकारात्मक चिजमा पनि सकारात्मक कुरा देख्छु, त्यसले मलाई झन् उर्जा थप्छ ।’ प्रकाशराज शर्मा सानैदेखि राम्रो विद्यार्थी । सानोमा डाक्टर बन्ने सपना । १५ वर्षको उमेरमै एसएलसी (हालको एसईई) दिए । १५ वर्षको उमेरमा एसएलसी दिन नपाइने भएपछि उनले एक वर्ष उमेर बढाएर त्यतिखेर २०१३ सालमा जन्म भएको लेखेको सुनाउँछन् । उनले २०२९ सालमा एसएलसी दिए । ‘पढ्नको लागि दुइ घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो, ९ र १० कक्षा डेरा लिएर महेन्द्र हाइस्कुल पढेँ, कहिलेकाँही घोडामा चढेर विद्यालय गइन्थ्यो, विद्यालय जीवन सकसपूर्ण भएपनि पढ्नु पर्छ भन्ने मानसिकता भने ममा सानैदेखि थियो,’ उनले विगत स्मरण गर्दै सुनाए । त्यतिखेर दाङको तुल्सीपुरटाडी गाँउदेखि बाँकेको खजुरासम्म जहाज पनि चल्थ्यो । जहाजको टिकट भने ४० रुपैयाँ । नेपालगञ्जमा कान्छा बाजेको घरमा बसेर नारायण हाइस्कुलबाट एसएलसी परिक्षा दिएको पनि उनी अहिलेसम्म स्मरण गर्छन् । उनको एसएलसीको नतिजा पनि आयो । उनको सानैदेखि डाक्टर बन्ने रुची थियो । नेपालगञ्जमा नै बसेर प्लस टुमा विज्ञान विभागमा भर्ना गरेर बायोलोजी विषय लिए । त्यतिखेर नयाँ शिक्षा प्रणाली लागू भयो । डाक्टर पढ्न ६० प्रतिशत अंक आउनु पर्थ्यो तर उनको ५९ प्रतिशत आयो । डाक्टर पढ्ने बुनेका उनको सपना चकनाचुर भयो । नेपालगञ्जबाट रक्सौल हुँदै रेल चढेर काठमाडौं डाक्टर पढ्ने सपना सपनामै सीमित भएपनि शर्माले हार खाएनन् । उनले काठमाडौं जाने योजना बनाए । त्यतिखेर अहिलेको जस्तो सवारी साधन थिएन । काठमाडौं आउनका लागि उनले रक्सौलबाट रेल चढे । उनी २०३२ सालमा सपनाको शहर काठमाडौं छिरे । अमृत साइन्स क्याम्पस अस्कलमा बिएस्सीमा भर्ना गरे । तर,अस्कल क्याम्पसबाट ६ महिनापछि उनी त्रिचन्द्र कलेजमा ट्रान्सफर भए । बीएस्सी पढ्दापढ्दै कोलोम्बो प्लानमा बिएस्सी डेरी टेक्नोलोजी छात्रवृत्तिमा आवेदन दिए । उनी बिएस्सी डेरी टेक्नोलोजी भारतको अहमदाबादमा पढ्नका लागि छनोट भए । तर, बिडम्वना, उनी समक्ष कन्फरमेसन आइपुगेन । ‘कन्फरमेसन आउनु अघि गाउँ गएँ, गाउँको एउटा सरकारी विद्याययमा विज्ञान विषय पढाएँ, तलब २२५ रुपैयाँ, ६ महिनापछि ३२५ रुपैयाँ पुग्यो, सोही समयमा उनले गाउँमा विवाह पनि गरे, ५/६ महिनासम्म कन्फरमेसन नआएपछि काठमाडौं फर्किएँ तर मेरो ठाउँमा वैकल्पिकमा परेको मान्छे गइसकेछन्, भारत जाने कुरा पनि सक्कियो,’ उनले बिएस्सी पढ्दै गर्दाका दिनहरु सम्झिँदै भने । एकपछि अर्को ठक्करले उनलाई निरास बनाउँदै गयो । एक दिन केही काम गर्न किर्तीपुर जाँदै थिए । उनले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा कृषि तथा पशु विज्ञानको डिन कार्यालयमा एउटा भीड देखे । सोधपुछ गर्दा पहिलो पटक बिएस्सी एजिको विज्ञापन खुलेको रहेछ । ‘मैले त्यहाँ आवेदन दिएँ, जुन मेरो अर्काे टर्निङ प्वाइन्ट थियो, प्रवेश परीक्षामा ठूलो प्रतिस्पर्धा भयो, म साइन्स पढेको थिएँ, अरु आइएस्सी एजि, ४० जनाको कोटाका लागि १२ नम्बरमा नाम निकालेँ,’ उनले भने । उनले २०३७ सालमा ८३.५ प्रतिशत अंक ल्याएर बिएस्सी एजि पास गरे । उनको प्रतिस्पर्धीले ८४ प्रतिशत ल्याए । उच्च अंक भएकाले गोल्ड मेडल पाउँथ्यो । तर, उनको ०.५ प्रतिशत कम अंक आएर गोल्ड मेडल पाउन सकेनन् । बिएस्सी एजि पास गरेपछि उनी कृषि वैज्ञानिक बने । थोत्रो मोटरसाइकलले तानेको ध्यान नेपालगञ्जमा आइएस्सी पढ्दा उनको मनमा एउटा कुराले कृषि विज्ञान पढन् आकर्षित गरेको थियो । नेपालगञ्जमा हजुरमुवाको घरबाट रुपडिया रोडमा महेन्द्र बहुमुखी क्याम्पस छ । त्यहाँबाट उनले आइएस्सी पास गरेका थिए । साइकल चलाएर क्याम्पस जानुपर्थ्यो । बाटोमा कृषि विकास कार्यालय थियो । कार्यालयको अगाडि उनले सधैं मोटरसाइकल देख्थे । साइकल चढ्ने मान्छे मोटरसाइलक चढ्न पाएपछि कस्तो हुन्थ्यो भन्ने उनले मनमा कुरा खेलाइ रहन्थे । सानो बुवाको छोरा दाइले यो कृषि कार्यालय हो । कृषि विषय पढ्यो भने मोटरसाईकल चढ्न पाइन्छ भनेपछि त्यो कुरा उनको मस्तिष्कमा रहिरह्यो । ‘मलाई त्यो मोटरसाइकलले कृषि पढ्न लोभ्यायो, आइएस्सी एजी पास गरेपछि शाखा अधिकृत भएर नियुक्ती लिएँ, नारायाणी अञ्चल सिँचाई विकास आयोजना विरगञ्जमा पठाइयो, त्यहाँबाट बाराको कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा खटायो, त्यसपछि मेरो फर्मल जागिर सुरु भयो २०३७ सालमा, कृषि विकास कार्यालयमा काम गरेपछि मोटरसाइलक पाइन्छ भनेर ठ्याक्कै त्यहि कार्यालयमा जागिर पाएँ, मोटरसाइकल पनि पाएँ, लाग्यो म जति भाग्यमानी त कोही रहेनछ,’ उनले त्यो पल स्मरण गर्दै भने ।’ उनले कृषि विकास कार्यालयमा एक वर्ष जति काम गरे । पछि लोकसेवाले विज्ञापन नखोलेपछि उनले बैंकमा काम गर्ने योजना बनाए । १३ वर्ष बैंकमा काम वि.स.२०३८ सालमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सघन बैंकिङ्ग कार्यक्रम (प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम) का लागि कृषि अधिकृतका विज्ञापन निकाल्यो । कृषि विकास कार्यालयमा हुँदा रजिष्टर्ड तहको ७५० रुपैयाँ तलव र प्रोजेक्ट भत्ता ३० प्रतिशत थियो । जम्मा एक हजार रुपैयाँ बराबर तलव हुन्थ्यो । उनले दुईवटै बैंकमा आवेदन दिए । लिखित परिक्षाको दुवैमा पास भएपछि नेपाल बैंकमा पहिला अन्तवार्तामा दिए । पास पनि भए । उनी सातौं तह अर्थात् सहायक प्रबन्धकमा नियुक्त भए । एक महिनाको तालिम पुरा गरेपछि उनलाई नेपालगञ्जको क्षेत्रिय कार्यालयमा खटाइयो । उनले तत्कालिन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल हेर्नुपर्थ्यो । उनले त्यहाँ हुँदा अछामको विनायक पञ्चदेवल, बझाङको बुंगल, बैतडीको पुर्चाैडी हाट, कञ्चनपुरको झलारी, कैलालीको चौमालालगायत थुप्रै ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याए । उनले राम्रो काम गरेपछि राष्ट्र बैंकको सघन बैंकिङ्ग राष्ट्रिय पुरस्कार समेत पाए । राष्ट्र बैंकले अगुवा बैंक (लिड बैंकिङ्ग प्रोग्राम) सार्वजनिक गर्याे । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको समन्वयमा सिराहको हाकिम भएर गए । ‘२०४६ सालको आन्दोलन हुँदा म दाङमा थिए, आन्दोलन सफल भएपछि अगुवा बैंकलाई सरकारले हटायो, मलाई नेपाल बैंकको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पठाइयो, ८ औं तहको प्रमोशन भएपछि म हेड अफिस तानिएँ, हेड अफिसमा हुँदा केही समय मेरो पुरुषोत्तम पाण्डे हाकिम हुनुहुन्थ्यो, पुरुषोत्तम पाण्डे महाप्रबन्धक भएपछि मलाई डिपार्टमेन्टको जिम्मेवारी दिइयो,’ उनले भने । उनी १३ वर्ष नेपाल बैंकमा काम गरेपछि बाहिरिने सोच बनाए । निरन्तर छ लघुवित्तको यात्रा वि.स. २०४९ सालमा धनगढी र विराटनगरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र केही निजी बैंकको लगानीमा ग्रामीण विकास बैंक स्थापना भयो । बझाङका शेर बहादुर थापा नेपाल बैंकको सिनियर हाकिम थिए । उनी पनि कृषि विषय पढेका थिए । नेपाल बैंकमा काज राखेर कार्यकारी निर्देशक भएर धनगढी र रमेश पौडेल विराटनगर गए । नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर डा. हरिदेव पन्त लघुवित्तका विज्ञका रुपमा परिचित । उनी ग्रामीण विकास लघुवित्तका अध्यक्ष थिए । शर्माले नेपाल बैंकमा १३ वर्ष काम गरिसकेका थिए । उनले नेपाल बैंक छोडेर ग्रामीण विकास लघुवित्तको सहायक निर्देशक (सेकेण्ड) बनेर धनगढी जाने निर्णय गरे । वि.स. २०३८ देखि २०५१ साल बैशाखसम्म नेपाल बैंकमा काम गरेर राजीनामा दिए । त्यसपछि ग्रामीण विकास लघुवित्तबाट औपचारिक रुपमा उनको लघुवित्तको यात्रा सुरु भयो । उनका लागि ग्रामीण विकास लघुवित्त प्रथम पाठशाला बन्यो र लघुवित्त सिके । ग्रामीण विकास लघुवित्तमा ५/६ वर्ष काम गर्दा गर्दै २०५५ सालमा लघुवित्तको कार्यकारी प्रमुख अधिकृत (सीईओ) बने । उनी सीईओ भएका बेलामा भरतकृष्ण शर्मा नेपाल राष्ट्र बैंकबाट अध्यक्ष चुनिएका थिए । ग्रामीण विकास लघुवित्तमा काम गर्दा गर्दै उनको मनमा फेरि खुलदुली बढ्यो । त्यहि बेलामा निर्धन उत्थान लघुवित्त स्थापना भयो । ग्रामीणमा छोड्न चाहेको भन्ने थाहा पाएपछि नेपालमा लघुवित्तका गुरुका रुपमा परिचित डा. हरिदेव पन्तले फोन गरेर निर्धन उत्थान लघुवित्तमा आउन आग्रह गरे । सरकारी लगानी भएको ग्रामीण लघुवित्त छाड्ने निर्णय गरे । तत्कालीन गभर्नर गणेश बहादुर थापा र हिमालयन शमसेर राणा निर्धनको बोर्डमा भएकाले उनको अन्तवार्ता लिए । निजी क्षेत्रको लगानी रहेको निर्धन उत्थान लघुवित्तका सीईओ डा.हरिदेव पन्त निर्धनको प्रमुख कार्यकारी प्रमुख थिए । उनी निर्धनमा जाने भएपछि एउटा शर्त राखे डा.हरिदेव पन्त बाहेक अरुको सेकेण्ड म्यान बन्दैन । डा.पन्तको १० हजार रुपैयाँ तलब थियो । उनको ग्रामीणमा हुँदा साढे १२ हजार रुपैयाँ तलब थियो । सेकेण्ड म्यान भएपनि सीईओको तलब भन्दा धेरै थियो । सीईओ भन्दा तल्लो तहको कर्मचारीको तलब बढी हुँदा रोचक बन्यो । पछि उनले पाएको तलब भन्दा सीईओको तलब एक सय रुपैयाँ बढी बनाइयो । निर्धनल घुवित्तलाई यो उचाइमा पुर्याउनमा ठुलो योगदान भने शर्माको छ । लघुवित्तमा आधुनिकीकरण र इनोभेसनका काम उनै शर्माले गरे । उनले निर्धनलाई एउटा हाइटमा पुर्याए । त्यहि बेलामा उनले देशविदेश घुम्ने अवसर पाए । उनले हार्वड विजनेश स्कुलबाट ट्रेनिङ लिए, एशियन इन्स्च्युट अफ म्यानेजमेन्ट फिलिपिन्सबाट म्यानेजमेन्ट डेभलपमेन्ट कोर्स गरे, माइक्रोफाइनान्सका लागि संसारको प्रशिद्ध कोर्समा भाग लिए, अन्तर्राष्ट्रिय वक्ता भएर अमेरिका, कोलम्बिया लगायत २० भन्दा बढी देशमा अतिथि भएर आफ्नो अनुभव बाँडेका छन् । कुनै पनि संस्थामा ५ वर्ष पुरा नभई विदेश जान पाउँदैनथ्यो । तर, उनले नेपाल बैंकमा ४ वर्ष गर्दागर्दै विदेश (मनिला) जाने अवसर पाए । उनी फिलिपिन्समा मात्रै ५ पटक जति गएको अनुभव सुनाउँछन् । आजका दिनमा अधिकांश सीईओहरु उनका शिष्य भएकोमा उनी गर्व गर्छन् । निर्धन उत्थानमा उनले ११ वर्ष बढी काम गरे । निर्धनमा काम गर्दा पनि उनलाई आफू ओझेलमा परेको महसुस भयो । ‘मैले जति काम गरेपनि नाम अर्कैको आउँछ,डा. हरिदेव पन्त ठूलो रुख हो, म जहिले पनि ओझेलमा छु, ममा एउटा हुटहुटी थियो, नयाँ कुरा गर्न पाए हुन्थ्यो, स्वतन्त्र रुपमा काम गर्न पाए हुन्थ्यो भन्ने महत्वकांक्षी, सबै काम मैले गर्नुपर्ने नाम अर्काको आउने हुन्थ्यो, माओवादी जनयुद्धमा चारैतिरबाट बन्दुकको घेराबन्दीमा म पर्थें, मलाई आफै केही गर्ने हुटहुटी भयो, पछि त्यहाँ पनि छोडेँ,’ उनले भने । लक्ष्मी लघुवित्तमा कर्मचारी बिनाको सीईओ वि.स.२०६७ सालमा लक्ष्मी लघुवित्त दर्ता भयो । बैंकले मान्छे खोज्न सुरु गरेको थियो । शर्माले अब लक्ष्मी लघुवित्तमा काम गर्ने भए । ‘निर्धनमा छोड्दा धेरैले मलाई बौलायो भने, धेरैले रोक्ने प्रयास पनि गरे, तर मलाई मेरो चाहेको काम हुनु पर्छ, मैले निर्धन छोडेँ, कुनै संरचना र कर्मचारी पनि नभएको लक्ष्मी लघुवित्तमा आएँ,’ उनी भन्छन्, ‘म जहाँ काम गरेपनि केही आधारशिला निर्माण गर्न मन पराउँछु ।’ उनी लक्ष्मी लघुवित्तमा आउँदा कर्मचारी बिनाको सीईओ बने । लक्ष्मी लघुवित्तको कुनै पनि कार्यालय थिएन । ‘लक्ष्मी लघुवित्तमा आउँदा एउटा सिंगल मान्छे, कर्मचारी बिनाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएँ, अफिस कहाँ हो, घर छैन, कर्मचारी छैन, लक्ष्मी बैंकको सेकेण्ड फ्लोरमा एउटा कोठामा मलाई राखियो,’ शर्माले भने, ‘मेरो काम भनेको पोलिसी प्रक्रिया पुर्याएर लाइसेन्स लिने थियो, लक्ष्मी माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक दर्ता भयो, पछि लक्ष्मी लघुवित्त नामाकरण गरियो, लक्ष्मी बैंकबाट एक जना साथी सहयोगी दिइयो, अल्फाबिटा कम्प्लेक्समा रहेको लक्ष्मी बैंकको पछाडी ९ सय स्क्वायर फिटमा कार्यालय स्थापना गरियो, त्यसपछि के-के काम गर्ने भनेर योजना बनाइयो ।’ आगामी बैशाखमा लक्ष्मी लघुवित्तमा काम गरेको उनलाई १२ वर्ष पुग्दैछ । वि.स २०३७ सालदेखि उनी अनवरत रुपमा काम गरिरहेका छन् । ‘मैले जेजे काम गरेको छु सबैमा सन्तुष्ट छु, म कमर्सियल बैंकर भएको भए म त्यति सन्तुष्ट हुँदैनथे होला, समावेशी वित्तीय पहुँचमा ठूलो योगदान पुर्याएँ जस्तो लाग्छ, निम्न वर्गले सजिलै कर्जा पाएका छन्, साहु महाजनबाट मुक्त भएका छन्, एउटा सचेतना, इम्पावरमेन्टमा कुनै न कुनै रुपमा मेरो इट्टा परेको छ,’ उनी आफुले गरेका संघर्षका गाथाहरु सुनाउँदै भन्छन् । उनी अझै पनि जबसम्म शरिर र दिमागले साथ दिन्छ तबसम्म लघुवित्तमै सक्रिय रहने बताउँछन् । अब बैशाखदेखि रिटायर्ड हुन्छु, अहिलेको प्रावधानले पनि विदा हुनु पर्छ, अब कार्यकारी भूमिकाबाट बिदा लिन्छु, ‘टेन टू फोर’ काम गर्दिन तर यहि क्षेत्रमा रहिरहने छु, उनी भन्छन्, यो क्षेत्रले मलाई नाम, दाम, इज्जत, पोजिशन, एक्सपोजर दियो, रिटायर्डपछि पनि नीति नियम र लेखन तथा पठन पठनमा रहन्छु होला ।’ छोराको जन्मले दिएको खुसी हामीले शर्मालाई सोध्यौं, तपाईंको जीवनमा त्यस्तो अविस्मरणीय कुनै क्षण छ ?, उनले जवाफमा भने, ‘मेरो लागि सबै अविस्मरणीय क्षण छन्, तर एउटा जब मेरो छोराको जन्म भयो त्यो मेरो लागि निकै अविस्मरणीय रह्यो ।’ उनी थप्छन्, १९/२० वर्षको उमेरमा मेरो विवाह भयो तर १० वर्षपछि मात्रै छोरा जन्मियो, त्यो क्षण मेरो लागि निकै अविस्मरणीय र सुखद बन्यो ।’ शर्माका दुईटा आमा । ५ भाई र ६ दिदीबहिनी गरी ११ जना भाइबहिनी । उनी जेठो छोरा । उनकी आमा अहिले पनि ८१ वर्षको पुगिन् । अहिले उनी भैंसेपाटीमा बस्छन् । अहिले धेरै जसो समय नातीसँगै खेलेर बित्ने गरेको उनी सुनाउँछन् । उनी थप्छन्, जीवनमा जति गरेँ, यसमा मेरो श्रीमतिको ठूलो हात छ, श्रीमतिबाट यति साथ र सहयोग नमिलेको भए म यो अवस्थामा हुन्थेन की ।’