हंगर सुदीप, डुब्दै उठ्दै

सुदीप आचार्य पोखरामा जन्मिए । बुढानिलकण्ठमा पढे । अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ ब्याच्लर डिग्री गरेर नेपाल फर्किए । उद्यमी कृष्ण आचार्यको छोरा सुदीप पनि व्यवसायबारे नै योजना बुन्थे । ‘बुबाले रोटी प्याकेजिङ उद्योगबारे सोच्नु भएको रहेछ । मैले अमेरिकामा यस्तो रोटी किनबेच भएको देखेको थिएँ । नेपालमा पनि चल्छ भनेर हामीले ‘त्रोतिया’ ब्राण्डमा रोटी प्याकेजिङ उद्योग खोल्यौ ।’ अमेरिकाबाट फर्केको तन्नेरीले भक्तपूरमा रोटी उद्योग खोले । सुदीपको पहिलो उद्योग घाटामा गयो । ‘अमेरिकाबाटै मेसिन ल्याएका थियौं । दक्ष जनशक्ति पनि अमेरिकाबाट ल्याएका थियौं । तर धेरै विषयमा तालमेल मिलेन । उद्योग सञ्चालनमा आएदेखि नै समस्याहरु आए । सन् १९९७ ताकाको कुरा हो । करिब साढे २ करोड घाटा खाएर उद्योग बन्द गर्यौं’ त्यतिबेलाको नैरास्यता अहिले पनि उनकाे अनुहारमा झल्कियो । नेपालको बजार अहिलेको जस्तो विकसित थियो भने त्यो उद्योग चल्न सक्ने तर त्यतिबेला बजार विकास नै नभएकोले उद्योग नचलेको उनको विश्लेषण छ । त्रोतिया रोटी उद्योग बन्द गरेर उनी फेरि अमेरिका गए । इन्डष्ट्रियल इन्जिनियरिमा मास्टर डिग्री हासिल गर्ने क्रममा उनले अमेरिका, जापान, यूरोपका धेरै देशहरुमा व्यापार गर्न भ्याए । नेपालमा डुबेकोभन्दा धेरै ठूलो रकम उनले मास्टर डिग्री गर्दै गर्दा व्यापार गरेर कमाए । ‘हिसाबै त राखिन तर मनग्य कमाएँ,’ मुस्कुराउँदै उनले भने । त्यतिबेला नेपालमा पस्मिना र गार्मेन्ट व्यापार मौलाएको थियो । अमेरिकामा बसेर उनले यूरोप, जापानसम्म नेपाली गार्मेन्ट तथा पस्मिना बेचेँको अनुभव सुनाए । ‘नेपालमा ४० डलरमा किनेको सामान अमेरिका हुँदै जापानमा लगेर ३०० डलरसम्ममा बेचेँ’ उनले २२/२३ वर्ष पुरानो व्यवसायिक यात्रा सम्झिँदै सुनाए । त्यतिबेलासम्म उनको विजनेश माइन्ड विकसित हुँदै थियो । छोराको व्यापार चम्केको देखेर बुबा कृष्ण आचार्यले गार्मेन्ट उद्योग खोल्न लागेका थिए । तर सुदिपले बुबालाई रोके । भनेछन–‘यो फेसन विजनेश हो । फेसन छिटोछिटो परिवर्तन हुन्छ । यस्तो प्रकृतिको उद्योगमा लगानी गर्दा जोखिम बढी हुन्छ । चलुन्जेल किन्ने–बेच्ने, फेसन चेन्ज भएपछि छोड्ने ।’ सन् २००० पछि धेरै नेपाली गार्मेन्ट उद्योगीहरु डुबे तर सुदीप डुबेनन्, बुबा पनि जोगिए । सन् २००२ मा मास्टर्स तहको अध्ययन सकेर सुदीप नेपाल फर्किए । त्यतिबेला उनले बिन्दाबासिनी हाइड्रोपावरको प्रबन्ध निर्देशकको जिम्मेवारी लिए । काम फटाफट हुँदै गयो । प्रोजेक्ट पीपीए गर्ने तहमा पुग्यो । जलविद्युत क्षेत्रमा भर्खरै निजी क्षेत्रको लगानी हुँदैथियो । त्यहिबेला माओवादी–सरकारबीच सशस्त्र द्धन्द चर्केदै गयो । लगानीकर्ताले पैसा नहाल्ने भए । सुदीपको दोस्रो प्रोजेक्ट पनि अधुरै रह्यो । त्यहिबेला नै सुदीपले भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीसँग बिहे गरे । लिमाको उच्चशिक्षा चीनमा भइरहेको थियो । सुदीप पनि चीनमा पुगे । लिमालाई चिनियाँ भाषाको ज्ञान थियो, सुदीपको अंग्रजीमा दख्खल । नेपाली दुबैको मातृभाषा भैहाल्यो । दुबै जना मिलेर चीन, अमेरिका र नेपाली बजारलाई जोड्ने प्रकारको व्यवसायको बारेमा सोच्न थाले । तर, त्यसतर्फ कुनै प्रगति भएन । उनी सन् २००५ लिमालाई साथमै अमेरिका पुगेको थिए । त्यहिबेलामा तत्कालिन राजा ज्ञानेन्द्रले ‘कु’ गरे । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी (ससुराबुवा) लाई घरमै नजरबन्दमा राखियो । ‘२/३ महिनापछि नै फर्केर आउने सोंचका साथ हामी अमेरिका गएका थियौं । तर नेपालमा विकसित राजनीतिक घटनाक्रमले नेपाल फर्कन मन लागेन । हामीले अमेरिका नै बस्ने निर्णय गर्यौं । र, एउटा टिम बनाएर कार्पेटको कारोबार गर्न थाल्यौं’ उनले भने–‘झण्डै ३ वर्षजति सो कारोबार गर्दैगर्दा हामी अमेरिकामा नै सेट भए जस्तो लाग्थ्यो ।’ सन् २००८ मा नै अमेरिकाको हाउजिङ क्षेत्रमा ठूलो मन्दी आयो । कार्पेट व्यापार थला परेको थियो । उनी फूर्सदिला भएका थिए । पारिवारिक भेटघाट गर्न उनी नेपाल फर्किए । त्यतिबेला नेपालमा लोकतन्त्र स्थापना भईसकेको थियो । व्यवस्था परिवर्तनसँगै नेपालको अवस्था परिवर्तन आउनेमा उनी आशावादी बने । र, निर्णय गरे–‘अब नेपालमै व्यवसाय थाल्छु, यहि केही गर्न सकिन्छ ।’ उमेर र अनुभवको हिसाबले उनमा परिपक्वता आईसकेको थियो । उनले हाइड्रो, बैंकिङ, घरजग्गा लगायतको धेरै क्षेत्रमा राम्रो प्रतिफलको सम्भावना देखे । ‘शुरुमा मैले हाइड्रोपावरमा नै काम गर्ने हिसाबले निर्णय गरें । त्यहि बीचमा केही जग्गाको कारोबार पनि गरें, जहाँबाट मनग्य सफलता मिल्यो । डिसहोममा बुबाले लगानी गरिसक्नु भएको थियो । तर लगानी डुब्दै गएको थियो । ‘एक ढंगले यो फेल प्रोजेक्टको रुपमा थियो’ उनले भने–‘शुरुवातको अवस्थामा म यसको सल्लाहकारको भूमिकामा प्रवेश गरेको थिएँ ।’ उनले यस्तो प्रविधि अमेरिकामा देखेको थिए तर सेवा प्रयोग गरेका थिएनन् । नेपालमा यसको सम्भावना छ भन्ने उनलाई पनि लाग्यो । तर यसमा कति लगानी चाहिन्छ, कुन विन्दुमा कम्पनीले नाफा कमाउन सक्छ लगायत व्यवसायिक ज्ञान अरु लगानीकर्तालाई जस्तै सुदीपलाई पनि भएन । ‘यो विषयमा म पनि चुकेको हुँ’ उनले बिना हिचकिचावट कुरो खोले । दुई कम्पनी मर्ज हुँदा ७२ करोड पुँजी हुनुपर्नेमा ३६ करोडको भएछ । मर्ज कसरी हुन्छ भन्ने सरकारी मान्छेलाई पनि थाहा नभएको र निजी क्षेत्रलाई पनि थाहा नभएको बेलामा डिस नेपाल र होम टीभी मर्ज भएर डिसहोम बनेकोले त्यसमा धेरै दुःख पाएको उनले सुनाए । मर्जपछि धेरै घाटा भयो । उनले लामो सास लिँदै भने–‘यो कम्पनी त डुबेकै हो नि । लगातार ५/६ वर्षसम्म पुँजी थपेको थपै गर्यौं । सोचेभन्दा धेरै लगानी भयो । अब बल्ल ठिक अवस्थामा पुगेको छ ।’ कम्पनीको सेयर पुँजी करिब ३०० करोड रुपैयाँ छ । ऋण करिब २०० करोड रुपैयाँ छ । १० लाखभन्दा बढी सक्रिय ग्राहक छन् । एक वर्षअघि मात्र शुरु गरेको इन्टरनेट ग्राहकको संख्या १ लाख ६० हजारभन्दा बढी ग्राहक भएका छन् । गत आर्थिक वर्षमा करिब ५०० करोड रुपैयाँको कारोबार भएको छ । दर्जन कम्पनीका मालिक कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रा.लि.को सञ्चालक रहेका आचार्य धेरै कम्पनीहरुमा प्रवद्र्धक रहेछन् । सबै कम्पनीको नाम खुलाउन त चाहेनन् तर यसरी व्याख्या गरे–‘प्रभु बैंकमा मेरो १० करोडभन्दा बढी लगानी छ । तर त्यहाँ कही पनि देखिन्न । आफन्त, चिनजानका साथीहरुले राम्रो आईडियासहित लगानीको प्रस्ताव ल्याउँछन्, ५/१० लाख लगानी गरिएका हुन्छन्, त्यसमा म प्रवद्र्धक भनेर सुनाउनुको के अर्थ ?’ साना ठूला धेरै कम्पनीमा लगानी भएको उनले बताए । हामीले सुदीपलाई एउटा सफल उद्यमीको रुपमा चित्रण गर्दै थियौ । तर उनले अस्वीकार गरे । ‘म सफल उद्यमी हो कि होइन म आफै भन्न सक्दिन । व्यवसाय कहिल्यै पनि एकैनाशले अगाडि बढ्दैन । उतार चढावमा भइरहन्छ’ उनले आफ्नै उदाहरण दिए–‘कुनै बेला डिसहोम असफल कम्पनी थियो । मेरो ८ करोड लगानी डेढ करोडमा झरेको थियो । अहिले व्यवसाय राम्रो भैरहेको छ । प्रविधिमा आधारित कम्पनी हो, भोलि फेरी संकटमा पर्न सक्छ ।’ विजनेश हंगर सार्थक जीवनको लागि सन्तुष्टि सबैभन्दा महत्वपूर्ण हुन्छ । सन् १९८० देखि १९९०सम्म उनको परिवार काठमाडौंमा डेरामा बस्थे । अमेरिकामा कलेज भर्ना फारमको २५ डलर तिर्नुपथ्र्यो । तर सुदीपले भर्ना पाउने निश्चित भएपछि मात्र २५ डलर तिरेको पनि सुनाए । उद्योगीका छोरा भएपनि सुदीपले खर्चका सीमाहरु देखेभोगेका थिए । सन्तुष्टि विगतसँग तुलना गरेर पाउन सकिने बताए । ‘हामी कहाँबाट कहाँसम्म आइपुग्यौ भनेर हेर्दा सन्तुष्ट हुन्छु । तर यो होइन कि अब म फुर्सद लिएर बस्छु ।’ उनीभित्र उनकै शब्दमा ‘विजनेश हंगर’ व्यापक छ । त्यसैले उनले नयाँ नयाँ कम्पनी र विजनेशको बारेमा सोचिरहेका हुन्छन् । ‘व्यवसायमा जहिले पनि उतारचढावमा भइरहन्छ । तर व्यवसायिक निरन्तरसँगै यसको लेबल परिवर्तन भइरहेको वा विस्तारउन्मुख भइरहेको हुनुपर्छ’ उनले व्यवसायिक मोडेलको बारेमा भने–कुनै पनि व्यवसायीले मैले एउटा काम गर्छु र त्यसलाई पूर्ण रुपमा सफल बनाउँछु भन्ने उदाहरणहरु हिजोआज कम छन् । त्यसैले व्यवसाय सञ्चालन गर्दै जाँदा व्यवसायीले आफ्ना प्लेटफर्म थप्दै जानुपर्छ ताकि उसको घेरा फराकिलो बन्दै जाओस् ।’ कविको दिमागमा कविता फुरे जस्तै उद्यमीको दिमागमा व्यवसायिक आईडिया आईरहने उनले बताए । इन्टरनेट, टिभी च्यानल डिस्ट्रीव्यूशन, आई टिभी, लगायत कन्टेन्ट डिस्ट्रव्यूशनमा डिस होम पायोनियर बनिसकेको छ । व्यवसायमा सफलता हासिल गर्न ग्राहकको माग पुरा गर्ने र नयाँ सिर्जना गरेर ग्राहकलाई पस्कने दुबै काम गर्नुपर्ने उनको भनाई छ । ‘कतिपय अवस्थामा ग्राहकको माग अनुसार बस्तु तथा सेवा दिन सक्नुपर्छ । कतिपय अवस्थामा ग्राहकको माग सिर्जना गर्ने, ग्राहकलाई नै डोहोर्याउने गरी वस्तु तथा सेवा उत्पादन गर्नुपर्ने हुन्छ’ उनले भने–‘कतिपय अवस्थामा ग्राहकहरुले हामीलाई डोर्याउँछन भने कतिपय अवस्थामा हामीले ग्राहकलाई डोर्याउनु पर्दछ ।’ डिसहोमले पछिल्लो समय डाटा सेन्टरको रुपमा डिस्सहोम क्लाउड सेवा शुरु गर्दैछ । ‘सानो स्केलदेखि ठूलो स्केलमा विजनेश गरिरहेको व्यवसायीलाई डेटा, सर्भर, प्राविधिक सहयायता दिने छौं । इन्टरनेट सेवा पनि हामीसँग भएकोले क्लोज नेटवर्क सेवा दिने छौं । एउटा कम्प्यूटर मात्र भएको व्यवसायीलाई पनि हामीले हाल बैंकले प्रयोग गर्दै आएको सुविधासहरको सफ्टवयर, सर्भर, जेनेरेटर, आईटी म्यानपावर सबै सुविधा हामी दिने छौं’ उनले नयाँ योजना सुनाए । बुबा नै व्यवसायिक गुरु ‘मलाई व्यवसाय सिकाउने गुरु भनेको मेरो आफ्नै बुवा हुनुहुन्छ । उहाँले शुरुवातदेखि नै नयाँ–नयाँ कुरा गर्ने गर्नुभएको रहेछ । रारा चाउचाउ, म्याक्रोनी, चोकोफन, आदि धेरै नयाँ उत्पादनहरुको शुरुवात उहाँले गर्नुभएको छ । पोखराको महेन्द्रपुलमा पहिलो होटेल बुवाले खोल्नुभएको थियो’ सुदीपले भने–‘डिसहोममा पनि शुरुमा बुबाले नै लगानी गर्नुभएको थियो । म त पछि छिरेको हुँ ।’ कृष्ण प्रसाद आचार्य अलिकति नयाँ पन खोज्ने, केही जोखिम लिएर काम गर्ने बुबाको शैली सुदीपलाई मनपर्छ । डिस होमले जस्तै सेवा आफूले अमेरिकामा देखेको तर बुबाले यो विजनेशमा पहिले नै हात हालेको उनले सम्झिए । ‘पाइनियरिङ गर्ने काममा जहिलेपनि मेरो बुवाले इनिसियसन लिएको देखिन्छ । म बुवाको सोच्ने र काम गर्ने शैलीबाट धेरै नै प्रभावित छु’ उनले भने । स्कूलदेखि वहुविधामा सुदीप सानैदेखि बहुविधामा रमाउँथे । एसएलसीपछि बुढानिलकण्ठमा साइन्स विषय लिएर ओलेभल अध्ययन गर्दै गर्दा मर्डन इन्डियन स्कूलमा कमर्श पढ्न थालेका थिए । ‘एकै समयमा ओलेभल र कमर्श पढ्न कसैले पनि सक्दैन थिए, तर मैले मिलाए । त्यसभित्र पनि लामो कहानी छ’ उनले भने । सन् १९९१ मा आइ ट्वान्टीको फर्म भरेर अध्ययन भिसामा अमेरिका गए । आइ ट्वान्टी खासमा हाई स्कूल तहको शिक्षा हो । उनी हाईस्कूल भर्नाको प्रक्रियामा थिए । त्यहिबेला एक आफन्तले ओलेव पढेको विद्यार्थीले सोझै कलेज पढ्न सक्ने सुविधाको बारेमा जानकारी दिए । ‘म हाइस्कूल भर्ना प्रक्रिया छोडेर विश्वविद्यालय भर्ना हुने प्रक्रियामा सामेल भए । ओलेभल गरेको कारणले विश्वविद्यालयले मलाई भर्ना लिने भयो ।’ भर्नाको क्रममा उनले कम्प्यूटर इन्जिनियर रोजे । तर उक्त विषय पढ्नको लागि अंग्रेजी बोल्ने क्षमताको जाँच हुने रहेछ । नेपालीमा बुझेर अंग्रेजीमा ट्रान्सलेट गर्ने नेपालीले उक्त भाषा परीक्षा पास गर्न सम्भव देखेनन् । त्यसपछि उनले अरु विकल्पहरु हेरे, इन्डस्ट्रियल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अरु इन्जिनियरिङ विषयहरु थिए । ‘मेरो बुवाले सँधै नै उद्योगी बन्नुपर्छ भन्नुहुन्थ्यो । मलाई लाग्यो इन्डस्ट्रियल इन्जिनियर नै काम लाग्ला । मैले सोही विषय नै रोजेर पढ्न शुरु गरें ।’ शुरुमा घरबाट पैसा लगेपनि पढ्ने क्रममा भने घरबाट पैसा लैजान हुन्न भन्ने सोच उनीमा त्यतिबेलै रहेछ । त्यसैले अमेरिकामा बस्दा पनि काम गर्दै पढ्दै गरेका थिए । कस्तो व्यवसाय गर्ने ? पैसा छ तर के व्यवसाय गर्ने ? यस्ता प्रश्न थुप्रै सुनिन्छ । सुदीपसँग के छ सुझाव ? हामीले सोध्यौ । ‘व्यवसाय छनोट गर्ने कुरा वास्तवमा चुनौतिपूर्ण विषय नै हो । व्यवसायलाई खासगरी दुई तरिकाबाट अगाडि बढाउने गरिन्छ । एउटा ग्राहकको चाहना र आवश्यकता अनुसार अगाडि बढाउने र अर्को आफ्नो व्यवसायमा ग्राहकलाई डोर्याउने । यसमा ग्राहकको चाहना र आवश्यकता अनुसारको विकास गर्ने कुरा नै सजिलो हुन्छ र जोखिम पनि कम हुन्छ’ उनले भने–‘व्यवसाय गर्नको लागि युनिक भ्यालुको सिर्जना हुने क्षेत्रलाई रोज्नुपर्छ । आज लगानी गरेर भोली पैसा कमाउँछु भनेर व्यवसायमा लगानी गर्न हुँदैन ।’ ग्राहकलाई सन्तुस्ट बनायो पैसा सजिलोसँग कमाउन सकिने उनको बुझाई छ । शुरुमा नै पैसा सोच्यो भने व्यवसायको सफलता प्राप्त नहुने उनको भनाई छ । सन्तुष्टि नै अन्तिम ‘व्यवसायबाट प्राप्त हुने भनेको सन्तुष्टि हो । बाहिर घुम्दा मानिसहरुको घरमा डिसहोमको छाता देख्दा, जलविद्युत परियोजनाबाट निस्केको विजुलीबाट मानिसहरुको घरमा बिजुली बलेको देख्दा मनमा सन्तुष्टिले भरिन्छ’ उनले भने । दैनिकी रुपमा आफूलाई स्वस्थ र फूर्तिलो राख्न आवश्यक अभ्यास गर्छन । बिहान साइक्लिङ गर्छन । किताब पढ्न शुरु गरेपछि सक्ने बानी रहेछ उनको । अंग्रेजी गीत पनि सुन्छन् तर लोकदोहोरी धेरै मन पर्छ सुदीपलाई । ‘सायद म पोखराको भएरपनि होकी लोक ठाडो भाका निकै मन पर्छ’ उनले भने । सुदीप प्रकृतिसँग रमाउँछन् । ‘मलाई चराहरु मनपर्छ । कुनै बेला फुर्सद लिएर चराहरु हेर्ने मन छ’ उनले भने । ५ सय घुस खुवाएपछि… सन् १९९६ मा नेपाल फर्किदा सुदीप आचार्यसँगै अमेरिकाको केही संस्कार र सभ्यता नेपाल आएको थियो । उनी एक प्रकारको सिस्टममा हिंड्ने भएका थिए । अरुबाट पनि त्यहि अपेक्षा गर्दथे । उनको नाममा रहेको जग्गाको हालसाविक गर्नु पर्ने थियो । त्यसका लागि उनी ३ महिनासम्म मालपोत धाए । तर काम भएन । अन्तिममा मामालाई लिएर मालपोत कार्यालय गए । मामाले ५ सय रुपैयाँ कर्मचारीको हातमा राखिदिएपछि खुरुक्क काम भयो । ‘सो घट्नापछि मैले नेपालको प्रशासनिक अवस्था बुझें । नेपाललाई व्यवहारिक रुपमा चिनेँ’ उनले भने–‘त्यसपछि काम गर्ने क्रममा त्यस्ता धेरै घट्नाहरुलाई मैले साक्षात्कार गर्नुपरेको छ ।’

बीमाका शक्तिशाली सीईओ

काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भयो । यसअघि प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया सकिएको छ । असार मसान्त सकिन एक दिन र दुई रात पुरै बाँकी छ । यस अवधिमा कुन कुन बीमा कम्पनीबीच मर्जरको सम्झौता हुने हो ? त्यो अनुमान गर्न कठिन छ । नियामक बीमा समितिले मर्जरको सुविधा पाउनको लागि असार मसान्तसम्म सैद्धान्तिक सहमतिको सम्झौता गर्नु पर्ने निर्देशन दिएको थियो । मर्जरमा जाने केही कम्पनीको मोडालिटी प्रष्ट छ भने केहीको अस्पष्ट छ । विविध असहमतिलाई पछि सहमति गरौंला भनेर सैद्धान्तिक सहमति मात्र गर्ने कम्पनीहरुको मर्ज भाँडिन पनि सक्छ । एनसीसी बैंकमा मर्ज नहुने भनेर कुमारी बैंकको विशेष साधारणसभाले गरेको निर्णय, इन्भेष्टमेन्ट बैंकसँग मर्ज नहुने भनेर हिमालयन बैंकको विशेष साधारणसभाले गरेको निर्णय झै कुनै पनि बीमा कम्पनीले मर्जमा नजाने भनेर निर्णय गरे भने नियामकको पनि केही लाग्दैन, अदालतले पनि केही गर्न सक्दैन । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको एकिकृत कारोबार साउन १ गतेदेखि हुँदैछ । मर्जपछि कम्पनीको नाम हिमालयन एभेरेष्ट जनरल इन्स्योरेन्स राखिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह बन्दै छन् । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई मर्जसँगै विदा गरिदैछ । ८ वर्ष एजएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको शाह नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । बीमा क्षेत्रमा अबको ८ वर्ष उनी प्रभावशाली सीईओको रुपमा रहि रहनेछन् । बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै हाइट गेन गरिरहेका प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन् चंकी कुँवर क्षेत्री । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष पनि हुन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ । मर्ज भएको थिएन भने उनी चालु कार्यकाल सकिएपछि सगरमाथाबाट विदा हुने थिए । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्याय बन्दैछन् । सानिमा जनरल इन्स्योरेन्स संस्थापनको मस्यौदाकार नै हुन् उनी । प्रिमियर इन्स्योरेन्समा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भई अवकाश पाएका उपाध्यायले विगत दुई वर्षदेखि सानिमाको नेतृत्व गर्दै आएका छन् । लो प्रोफाइलमा बसेर प्रुडेन्ट विजनेश अभ्यास गर्ने छवि बनाएको उपाध्याय बीमा क्षेत्रमा अब ८ वर्ष निरन्तर रहने निश्चित भएको छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । सिद्धार्थ इन्स्योरेन्समा दोस्रो कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका विरेन्द्र बैद्यवार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् । छोटो अवधिमा कम्पनीलाई माथि पुर्याउने सीईओको रुपमा उनलाई बजारले लिने गरेको छ । व्यापार विस्तार, जोखिम विश्लेषण र सुशासनलाई सन्तुलित बनाएर अगाडि बढेकाले उनलाई प्रवद्र्धकले रुचाएका छन् । सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मर्ज भएर बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिका राकेश पोखरेलले पाउँदैछन् । उनी हाल रिलाइन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा डीजीएम, आईएमई लाइफ इन्स्योरेन्समा जीएमको भूमिका निर्वाह गरेको पोखरेल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । रिलाइन्समा करिव ७ महिना मात्र सीईओको भूमिका निभाएका युवा सीईओ पोखरेल छोटो समयमा नै प्रभावशाली सीईओको रुपमा उदाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जपछि को प्रमुख कार्यकारी अधिकृत बन्ने भन्ने स्पष्ट भएको छैन । तर प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल यहि असार मसान्तमा सकिएको छ । तसर्थ गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मध्ये सिनियर भएकाेले मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो ।

व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा । प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान । कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ । भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य । इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् । पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे । भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए । सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । टावरको २ साइडमा लिफ्ट  हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् । ‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने । टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए । भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । २ अर्ब लगानी निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ । त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने । रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।