साथीहरुले काम गर्न सक्छौ र भन्छन्, म मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउन लागिरहेको छु
फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयराज भण्डारीलाई साथीभाईले सुझाव दिन्छन्, ‘तिमीले काम गरिरहेको क्षेत्रमा ठूलो चुनौती छ, यो क्षेत्रमा काम गर्न सक्दैनाै, अन्य क्षेत्रमा काम गर ।’ तर, भण्डारीको प्यासन फिनटेक क्षेत्र हो । सूचना प्रविधि (आईटी)को क्षेत्रमा उनी २० वर्षदेखि काम गर्दै आएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा अझैं २० वर्ष काम गर्ने लक्ष्य छ, जे गरेको छु, राम्रै छ, यो क्षेत्र मेरो प्यासन हो ।’ उनी थप्छन्, ‘सरकार अहिले डिजिटल नेपालको नारा लगाइरहेको छ, म २० वर्ष अगाडिदेखि नै यो क्षेत्रमा सक्रिय थिएँ ।’ वि.सं २०३८ सालमा जन्मेका भण्डारीको बाल्यकाल काठमाडौंको ‘व्यापारिक हब’ कमलादीमा बित्यो । देशमा राजसंस्था हुँदा उनका हजुरबुवा सचिव भएर काम गर्थे भने उनका बुबा प्रजन्यराज भण्डारी व्यवसायी । प्रणयराजको इच्छा थियो बुबाले थालेको बिजनेसलाई विस्तार गर्ने र ठूलो व्यवसायी बन्ने । उनले सानैदेखि गोदावरीमा रहेको सेन्ट जेभियर स्कूलमा पढे । त्यतै होस्टलमा बसे । कक्षा एकदेखि एसएलसीसम्म सेन्ट जेभियरमै पढे । ‘काठमाडौं कमलादीमा जन्मिएँ, कक्षा एकदेखि कक्षा दशसम्म सेन्ट जेभियरमा पढेँ, उनी भन्छन्, ‘म सानैदेखि एभरेज विद्यार्थी हुँ, कोर्स बुकभन्दा पनि म बिजनेससँग सम्बन्धित पुस्तकहरु पढ्न रुचाउँथेँ ।’ सेन्ट जेभियरले उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिन्छ । विद्यालयमा भर्ना हुन गाह्रो थियो । एउटा कक्षामा ४५ जना भर्ना गर्न ३/४ हजारले आवेदन दिने गरेको उनी सुनाउँछन् । ३ सय जना विद्यार्थी । शिक्षक पनि राम्रै । सेन्ट जेभियर गोदावरीमा पढाइसँगै अन्य सामाजिक कार्यमा बढी जोड दिने गरेको उनी सुनाउँछन् । सामाजिक कार्यमा अग्रसर हुन उनले विद्यालयबाट नै सिकेको बताउँछन् । वि.स. २०५५ सालमा एसएलसी उतीर्ण गरेका उनलाई विज्ञान विषय पढ्न मन थियो । एसएलसी दिएपछि कुन विषय पढ्ने भनेर छनोट गर्न सकस भयो । अन्ततः उनी विज्ञान विषय लिएर प्लस टु पढे । प्लस टू पास गरेपछि उनी इन्जिनियर पढ्न दक्षिण भारतको बैङ्लोर पुगे । अहिलेको जस्तो इन्टरनेट सुविधा त्यो बेलामा थिएन । उनी बैंङ्लोरमा ४ वर्षे कम्प्युटर इन्जिनियरिङ सकेर नेपाल फर्किए । इन्जिरियङ पढ्दा उनले कम्प्युटर इन्जिनियरमा धेरै प्रोग्राम रैछन् भन्ने थाहा पाए । ‘केही सूचनाका लागि पनि किताब पढ्नु पर्थ्याे, त्यो बेला इन्टरनेटको कुनै पहुँच थिएन, किताबमा सैद्धान्तिक ज्ञान हुन्थ्यो, किताब पढ्न मन लाग्दैनथ्यो, ४ वर्षे इन्जिनियरिङ सके लगत्तै स्वदेशमै केही गर्छु भनेर उनी नेपाल फर्के । इन्जिनियर सकिएपछि धेरै साथीहरु बैंङ्लोर, चेन्नइ लगायतका ठाउँमा काम गर्न थाले तर म स्वदेशमै केही गर्छु भनेर नेपाल फर्कें,’ उनी स्मरण गर्दै भन्छन्, ‘मलाई नेपालमै बसेर रियल लाइफ एप्लिकेसन गर्न मन थियो ।’ नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि काम भारतबाट इञ्जिनियर पढेर आएपछि उनलाई बैंक तथा वित्तीय क्षेत्रमा काम गर्न मन लाग्यो । उनले वि.स. २०६१ सालमा नेपाल इन्भेष्टमेन्ट बैंकमा आईटी डिपार्टमेन्टमा काम थाले । बैंकमा हुँदा उनले डेढ वर्ष आइटी डिपार्टमेन्टमा र डेढ वर्ष कर्पाेरेट क्रेडिटमा काम गरेको बताउँछन् । उनलाई कर्पाेरेट क्रेडिटमा काम गर्दा कर्जाका लागि आफन्तहरुले कति सकसमा पार्छन् भन्ने विषयको ज्ञान आफुलाई सधैंका लागि भएको उनी सुनाउँछन् । ‘कर्पाेरेटमा काम गर्दा बैंक बुझ्न पाएँ, ३ वर्ष काम गर्दा डेढ वर्ष आईटी र डेढ वर्ष कर्पाेरेटमा काम गरेँ तर कर्पाेरेटमा काम गर्दा दिक्क लाग्यो, ग्राहकले कर्जा मागेर नतिर्ने, सुरुमा धेरै आग्रह गर्ने, नदिएपछि तैंले विश्वास गरिनस् भनेर टाढिन्थे,सबैभन्दा जटिल काम भएपनि अहिले सम्झिँदा इन्ट्रेस्टेङ लाग्छ,’ उनले बैंकमा काम गर्दाको अनुभव सुनाउँदै भने । बैंकमा काम गर्दाको तीन वर्षका उनका लागि ठूलो सिकाइ बन्यो । उनले बैंक बुझ्ने अवसर पाए । बैंकमा काम गर्दा गर्दै उनलाई म्यानेज्मेन्ट नपढेकोमा पछुतो भयो । उनलाई थप पढ्ने रुची जाग्यो । वि.स २०६५ मा उनी एमबीए पढ्न बेलायत गए । जतिबेला विश्वमा विश्व वित्तीय संकटका रुपमा देखिएको थियो । सन् २००७/२००८ मा वित्तीय संकट चलिरहेको थियो । उनले सो घटनाबाट पनि धेरै बुझ्ने मौका पाए । ‘सन् २००७/२००८ को वित्तीय संकट एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो, बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको थियो, त्यतिखेर एमबीए पढ्दै गर्दा बैंकहरुको जोखिमको विषयमा पनि बुझ्ने अवसर मिल्यो, त्यो आर्थिक संकट पछि नेपालका बैंकहरु ट्रेडिसनल लाग्यो,’ उनले आफ्नो अनभुव सुनाउँदै भने, एमबीए पढेपछि बैंकमै केही गर्न सक्छु भन्ने जोश पनि आयो ।’ २ वर्षे एमबिए कोर्स सकेर उनी बेलायतबाट वि.सं २०६७ मा नेपाल फर्किए । नेपाल आएपछि पनि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमै काम गरे । बैंकमा काम गर्दा उनले धेरै कुराहरु परिवर्तन भएको पाए । शाखाहरु सेन्ट्रलाइज भए । शाखाहरु केन्द्रिय बैंकसँग प्रत्यक्ष जोडिए । ‘बैंकहरुले त्यतिखेर नै एटीएम राख्न सुरु गरे, छोटो समयमै बैंकहरुले धेरै प्रगति गरे, एनआईबीएल पनि भिजा कार्डको सदस्य बन्यो, मैले त्यहाँ २०७० सम्म काम गरे । बैंक छोडेपछि उनलाई वेस्टर्न यूनियनबाट अफर आयो । नेपाल र भुटानको लागि वेस्टर्न युनियनको कार्यालय नेपालमा छ । वेस्टर्न यूनियन एउटा विशाल कम्पनी हो । ‘वेस्टर्न युनियनले फरक/फरक देशबाट पैसा ल्याउने काम गर्छ । कम्पनीले १२० देशमा काम गर्छ । उनले वेस्टर्न यूनियनमा काम गर्दा पनि रेट्यिान्स विजशेन विषयमा बुझ्ने मौका पाए । एससीटीले दियो उद्यमी बन्ने आइडिया वेस्टर्न यूनियनमा डेढ वर्ष काम गरेका उनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)पुगे । उनी बैंक तथा वित्तीय संस्थामा काम गर्दा सूचना प्रविधिसँग नजिक भइसकेका थिए भने वेस्टर्न यूनियनमा काम गर्दा रेमिट्यान्स बिजनेसको विषयमा पनि जानकार भइसेकका थिए । उनले एससीटीमा चिफ विजनेश अफिसर भएर ३ वर्ष काम गरे । एससीटीमा ठूलो चुनौती आइपर्याे । कारण थियो, एससीटीलाई भिजाले चुनौति दियो । एससीटीको विजनेस केही घटेको आभास काम गर्नेहरुलाई भयो । आफुलाई भने अर्कै बिजनेस आइडिया फुरेको उनी सुनाउँछन् । ‘एससीटीमा काम गर्दागर्दै आफैं काम गर्नुपर्छ भन्ने सोच पलायो, एससीटीलाई भिजा कार्डले चुनौति दियो, भिजालाई पनि चूनौति दिने बिजनेस आवश्यक छ भन्ने महसुस भयो, कार्डलाई भर्चुलाइज गरेर मोबाइलमा राख्यो भने कार्ड र चिप पनि चाहिँदैन, पस मेसिन पनि चाहिएन, क्यूआर भए पुग्यो भन्ने भयो,’ त्यसपछि त्यस विषयमा अध्ययन गरियो,’ उनी भन्छन्, ‘त्यसपछि सुरु भयो मोको वालेट ।’ एससीटीमा हुँदा नै उनले वि.सं २०७२ सालमा मोको सुरु गरेका थिए । मोको सुरु गर्दा स्मार्ट कार्ड, क्यूआर लगायतका बारेमा कसैलाई पनि जानकारी नै थिएन । भर्चुअल कार्ड, क्यूआर कोड, मल्टिपल क्यूआर, कार्डलाई क्रस बोर्डर गर्ने लक्ष्य लिएर उनले एससीटी छोडे र मोको सुरु गरे । ‘नेपालमा फिनटेकको सीमा कुवाको भ्यागुत्तो भयो, विश्वव्यापी बनाउनु पर्छ भनेर फुल टाइम काम गर्ने हिसाबले एससीटी छोडेर मोकोमा काम सुरु गरे,’ उनले भने । भण्डारी र आदिश श्रेष्ठ मिलेर मोकोको सुरुवात गरे । जसमा अहिले विभिन्न १० व्यक्ति तथा समूहको लगानी छ । उनै भण्डारी ३ वर्षदेखि सोही फोकसवान सोलुसनद्वारा सञ्चालित मोको वालेटको सीईओको रुपमा कार्यरत छन् । पारिवारिक पृष्ठभूमी नै व्यवसायी प्रणयराज भण्डारीको परिवार ठूलो व्यवसायिक घराना नभए पनि सानो तिनो ब्यापार व्यवसायमा भने संलग्न छ । उनका हजुरबुबाले राजसंस्थामा काम गरे । उनका बुबाले नै व्यवसायिक बाटोको सुरुवात गरे । उनले सोही विजनेसलाई विस्तारमा जोड दिए । उनको परिवारको बैंकसँगै रिटेलको बिजनेस छ । अहिले उनको परिवारले चियर्स अनलाइन बिजनेस पनि गर्दै आएको छ । त्यससँगै उनको निउ कम्पनीका विद्युतीय स्कुटर र बकार्डीको पनि बिजनेस छ । बकार्डीको बिजनेस उनको भाइले सम्हालिरहेका छन् । उनका बुबा प्रजन्यराज भण्डारी भने नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा छन् । सात वर्ष अगाडि विवाह गरेका उनकी डेढ वर्षकी छोरी छिन् । मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउने प्रणयराज मोकोलाई नै विश्व स्तरीय वालेट बनाउनका लागि काम गरिरहेको बताउँछन् । ‘नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सर्वसाधारणले डिजिटल नेपालमा जोड दिएका छन्, सबै क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ, सबै क्षेत्र स्मार्ट बन्न खोजिरहेका छन्, हामीलाई पनि अगाडि बढ्न टेवा पुगिरहेको छ,’ उनले भने । उनको करियर सुरु भएको नै यहि क्षेत्रबाट हो । त्यसैले पनि उनी अब यही क्षेत्रमै केही फरक गर्ने सोचमा छन् । ‘यहि क्षेत्रमा काम गरेको २० वर्ष हुन थाल्यो, अझै यो क्षेत्रमा २० वर्ष काम गर्छु, अहिले डिजिटल पेमेन्ट सुरु भएको छ, २ लाख क्रेडिट कार्ड होल्डर्स छन्, २० लाख क्रेडिट कार्ड होल्डर्स बनाउन मन छ,’ उनले २० वर्ष अघि भारतमा हरेक विद्यार्थीलाई एउटा क्रेडिट दिएको प्रसँग सम्झिदै भने, ‘क्रेडिट कार्डबाट कर्जा पाउनेदेखिसबै काम हुने क्रस बोर्डरको काम गर्ने इच्छा छ ।’ उनले मोकोलाई मल्टिपल पे गर्न मिल्ने बनाउने योजना पनि सुनाए । ‘डिजिटल नेपाल बनाउने हो, धेरै काम गर्न बाँकी छ, साथीहरुले भने सीईओ भएर यो क्षेत्रमा काम गर्न सक्छस् र भनेर प्रश्न गर्छन्, म मोकाे वालेटलाई वर्ल्ड क्लासको एप बनाउन लागिरहेको छु,’ उनले आफ्नो भावी योजना सुनाउँदै भने ।
सेबोनका अध्यक्ष हमालको कथा : एसएलसीमा सुदूरपश्चिम टप, रेलमा लभ परेपछि विवाह
काठमाडौं । भाग्य ठूलो कि मेहनत ? हामीले यो प्रश्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सोध्यौं । उनले जवाफमा भने, ‘भाग्यलाई पाउन धेरै मेहनत गर्नुपर्छ, मलाई सबैभन्दा धेरै मन पर्ने भनेकै मेहनत हो, म सजिलो काम गर्न मन पराउँदिन, जीवनमा चुनौती लिन मन पर्छ, सायद त्यो चुनौति र मेहनत नगरेको भए यो अवस्थामा हुन्थिन कि ।’ त्यस्तो ठूलो चुनौति के लिनु भएको छ ? हामीले प्रतिप्रश्न गर्यौं । उनले आफ्नो जीवनको कहानी सुनाए । सुदूरपश्चिमको डोटीदेखि थाइल्याण्डको बैंकक र नेपाल विद्युत प्राधिकरणको जागिरे जिन्दगीदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदासम्मका किस्साहरु स–विस्तार सुनाए । रमेश हमाल वि.सं २०२१ सालमा डोटीको सिलगढीमा जन्मिए । सामान्य परिवार । हमालका बुवा कर कार्यालयमा खरिदारका रुपमा कार्यरत थिए । रमेश ५ वर्षका हुँदा उनका बुबाको सरुवा कैलालीको धनगढीमा भयो । जतिबेला उनी सिलगढीमै कक्षा एकमा पढ्थे । सिलगढीबाट धनगढी झरेपछि उनको विद्यालय तहको पढाइ धनगढीको हसनपुरमा रहेको पञ्चोदय माद्यमिक विद्यालयबाट सुरु भयो । ‘घर परिवार सामान्य भएकै कारण बाल्यकालमा न धेरै दुःख न त धेरै सुख भोग गर्नु पर्यो तर संघर्ष भने धेरै गरेको छु, बुबा सरकारी जागिरे भएकै कारण पनि पढ्नु पर्छ भन्ने मानसिकता मेरो मनमा सानैदेखि थियो, हुन त दशैंमा कपडा किन्न पनि बुवासँग पैसा हुँदैनथ्यो, त्यो स्थितिबाट अहिले स्थितिमा पुगेको छु, कहिलेकाँही त लाग्छ मलाई अब अपुग के नै छ र,’ उनले मुस्कुराउँदै भने । छ जना भाइबहिनीहरु मध्येका उनी कान्छो भाइ हुन् । कान्छो भाइ भएकै कारण पनि उनले सबैबाट राम्रै माया पाए । पढाइमा पनि राम्रो लगनशिल भएका कारण उनलाई सबैले पढाइमा प्रोत्साहन गरे । एसएलसीमा सुदूरपश्चिम टप हमालले वि.स. २०३८ सालमा पञ्चोदय माद्यामिक विद्यालयबाट एसलएलसी (अहिलेको एसईई) दिए । त्यो साल उनका लागि कहिल्यै नबिर्सिने बन्यो । एसएलसीमा उनी सेती र महाकाली अञ्चल (सुदूरपश्चिम) टप भए । ‘म एसएलसीमा मेरो ब्याचको सेती र महाकाली अञ्चल टप हुँ, त्यतिखेर फष्ट डिभिजनको अंक ल्याउन पनि मुस्किल पर्थ्यो, त्यसअघि कोही पनि एसएलसीमा फस्ट डिभिजनमा पास भएका थिएनन्, अधिकांश विद्यार्थी सेकेण्ड र थर्ड डिभिजनमा पास हुन्थे, त्यो वर्ष मेरो लागि अविस्मरणीय बन्यो,’ उनले आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै भने । उनी एसएलसीमा बोर्ड टप हुनबाट ३ नम्बरले पछि परेको सनाउँछन् । ‘म विद्यालय तहमा पढ्दा जहिल्यै प्रथम हुन्थे, विद्यालयभर नै सबैभन्दा बढी नम्बर ल्याएर टप हुन्थेँ, बोर्डमा ३ नम्बर बढी आएको भए टप टेन भित्र पर्थेँ, पछि बढी किन पढेन हुँला भन्ने ग्लानी भयो,’ उनले पास भइसकेपछिको क्षण सुनाउँदै भने । एसएलसी पश्चात उनी काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा फिजिक्स विषय लिएर पढ्न थाले । अस्कलबाट उनले विज्ञान विषयमा राम्रो अंक ल्याएर प्लस टु पास गरे । त्यसबेला कोलम्बो प्लानमा स्कलरसिप खुल्थ्यो । वि.सं २०४१ मा स्कलरसिपमा इन्जिनियरिङ पढ्न भारतको काेलकत्ता नजिकैकाे टाटानगर पुगे । उनले रिजनल इन्स्च्यिुट अफ टेक्नोलोजीमा पढे । उनले वि.सं २०४५ मा नै इन्जिनियरिङ पास गरे । उनी सोही वर्ष नेपाल फर्किए । विद्युत प्राधिकरणमा ८ वर्ष जागिर रमेश हमालसँग इञ्जिनिरयरका रुपमा नेपाल विद्युत प्राधिकरणमा काम गरेको पनि अनुभव छ । वि.सं २०४५ मा इञ्जिनियरिङ सकेर नेपाल फर्किए लगत्तै उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्न सुरु गरे । अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् । तिनै घिसिङ पनि भारतमा हमाल पढेकै कलेजमा पढेका थिए । घिसिङ आफुभन्दा पाँच ब्याच जुनियर भएको हमाल सुनाउँछन् । विद्युत प्राधिकरणमा प्रोजेक्ट इन्जिनियरिङ भएर उनले ८ वर्ष काम गरे । उनलाई ३ हजार पाँच सय तलब दिइयो । ‘८ वर्षको अवधिमा नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको ट्रान्समिसन लाइन ४ वर्ष ६ महिनामा सम्पन्न गरेको थिएँ, अफिसले मलाई राम्रो काम गर्छ भन्ने बुझेपछि त्यो बेलाको सबैभन्दा ठूलो प्रोजेक्ट कोर्डिनेटरको जिम्मेवारी दियो, त्यो प्रोजेक्ट काठमाडौं उपत्यकामा लागू भएको थियो, त्यो प्रोजेक्ट पनि समयमा सकेँ,’ उनी भन्छन्, तर पछि सरकारी सेवामा खासै कदर नहुने, प्रमोशन गर्दा पनि आफन्तहरुको पावर लगाउनुपर्ने परिस्थिती थाहा पाएपछि पछाडि परिने महसुस भयो र जागिर नै छोडिदिएँ ।’ ३ महिनामै स्टुडेन्ट युनियनको लिडर उनले वि.सं २०५४ मा नेपाल विद्युत प्राधिकरणको जागिर छोडे । उनी जागिर छाडेपछि स्कलरसिपमा एमबिए पढ्न थालेको बताउँछन् । ‘इञ्जिनियर मात्रै भएर हुँदैन, अब एमबिए फाइनान्स पढ्छु भन्ने लाग्यो, अन्तर्राष्ट्रिय स्कलरसिपको लागि आवेदन दिएँ,’ उनले भने, ‘एआइटीबाट सोही वर्ष पूर्ण छात्रवृति आयो, ‘त्यसपछि सोही कलेजमा पढ्न गएँ ।’ एशियन इन्स्च्यूट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्ड एशियाको टप विश्वविद्यालय हो । एउटै कक्षामा मात्रै ३०/३५ देशका विद्यार्थी हुने गरेको उनी बताउँछन् । २४ सै घण्टा कलेजभित्रै बसेर पढ्नु पर्ने बाध्यता थियो । सो कलेजमा स्टुडेन्ट युनियरको लिडरका लागि चुनाव नजिकिँदै थियो । उनका साथीहरुले हमाललाई अध्यक्षका लागि लड्न आग्रह गरे । सुरुमा आफुलाई जोक लागेको उनी स्मरण गर्छन् । ‘कलेजमा भर्ना भएको तीन महिना मात्रै भएको छ, साथीहरु अध्यक्षमा लड्नु भन्छन्, सुरुमा त मलाई जोक जस्तै लाग्यो, चौथो सेमेस्टरका साथीहरु पनि अध्यक्षका लागि उठेका थिए तर पछि मैले ७२ प्रतिशत मत ल्याएर अध्यक्ष बनेँ, ‘एआइटिमा गएर स्टुडेन्ट यूनीयनको लिडर बन्छु भनेर कल्पना नै गरेको थिइनँ,’ उनी भन्छन्, ‘ तर, आँट गरेपछि सम्भव हुने रहेछ भन्ने त्यो घटनाबाट पनि सिकेँ ।’ उनी एमबिएमा पनि टप र्याङ्कमा पास भए । एमबिएमा ५० देशका विद्यार्थीहरुमध्येमा उनी दोस्रो बने । आफु ०.४ अंक कम आउँदा गोल्ड मेडलिष्ट बन्न चुकेको उनी सुनाउँछन् । यूनाइटेड नेशनमा पनि काम गरेको अनुभव एआईटीमा एमबिए सकिएपछि उनले यूनाइटेड नेशन (यूएन) मा काम गर्न थाले । उनलाई जर्मन प्रोफेसरले पिएचडी गर्न सुझाएका थिए । तर, उनले पिएचडी गर्न रुचाएनन् । एशिया प्यासिफिकका ३० वटा देश हेर्नका लागि बैंककमा यूएनको रिजनल अफिस थियो । वि.सं २०५६ मा उनी फण्ड म्यानेजर बनेर यूएनमा काम थाले । उनले यूएनमा १४/१५ महिना काम गरेपछि बृटिस कम्पनीले उनलाई अफर गर्यो । ‘मेरो चरित्र, व्यक्तित्व हेर्दा फ्रि इकोनोमीमा लिडरसिप काउण्टडाउन हुन्छ जस्तो लाग्थ्यो, बृटिस कम्पनीमा चिफ फाइनान्स अफिसर (सीएफओ) भएर काम गर्न थालेँ, सीएफओ भएको डेढ वर्षभित्रै चिप एक्ज्यूटिभ अफिसर (सीईओ) बनेँ, कम्पनी मेरो काम देखेर प्रभावित भयो,‘ उनी भन्छन्, ‘मेरो कारणले नै सो कम्पनीले ठूलो फड्को मार्यो ।’ हमालले वि.सं २०६० देखि २०७१ सम्म सोही कम्पनीमा सीईओका रुपमा काम गरे । सो कम्पनीको सिंगापुर, हङकङ, भियतनाम, इण्डोनोसिया, मलेसिया, थाइल्याण्ड, इण्डिया, श्रीलङ्का, नाइजेरिया, क्यारेबिन लगायत १२/१३ वटा देशमा प्रोजेक्ट तथा लगानी थियो । १५ वर्ष काम गरेपछि उनले सो कम्पनी छोडे । त्यसपछि उनले आफ्नै कम्पनी स्थापना गरे । उनले सन् १९७१ मै सो कम्पनी छोडेर आफ्नै कन्सल्टिङ डिभिजन सुरु गरे । उनले इन्टरनेशन फाइनान्सियल कन्सलटेन्सी भनेर ओमस्टोन कम्पनी स्थापना गरे । उनले बैंकक, सिंगापुर, श्रीलङ्का लगायत देशमा कन्सल्टिङ रलगानीकर्ताहरुलाई विज्ञका रुपमा सुझाव सल्लाह दिने काम गर्थे । एनआरएनएको पनि अध्यक्ष थाइल्याण्डमै बस्दा उनले गैर आवासिय नेपाली संघ (एनआरएनए) को स्थापना गरे । उनी एनआरएनए थाइल्याण्डको दुई पटक अध्यक्ष समेत बने । उनले एनआरएनएको अध्यक्ष भएर सन् २००७ देखि सन् २०१० सम्म दुई कार्यकाल नेतृत्व गरे । ‘एनआरएनए सामाजिक संस्था हो, चुनाव गरेर लिडरसिपका लागि लड्नु हुन्न भन्ने मेरो सोच हो, उनी भन्छन्,‘एनआरएनएको अध्यक्ष बन्न चुनाव गर्नु हुन्न ।’ त्यसका साथै उनले थाइ-नेपाल चेम्बर अफ कमर्सको पनि स्थापना गरे । थाइल्याण्ड र नेपालको बीचमा पर्यटक बढाउने, लगानी बढाउने, आपसी सम्बन्ध बढाउने उद्देश्यले थाइ-नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको उनी बताउँछन् । उनी सो संस्थाको कार्यकारी उपाध्यक्ष काम गरेको पनि सुनाउँछन् । रेल यात्रामा प्रेम, फुटबलको क्रेजी भारतकाे काेलकत्ता नजिकैकाे टाटानगरमा पढ्दा हमाल रेलमा यात्रा गर्थे । रेल यात्राकै क्रममा उनको लभ पर्यो । पछि उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्दा गर्दै विवाह गरे । ‘मेरी प्रेमिका नैनीतालमा पढ्थिन, म टाटानगरमा पढ्थेँ, हाम्रो रेलमा भेटेपछि लभ परेको थियाे, पछि घरको सहमतिमा विवाह गर्यौं,’ उनले ती दिनहरु सम्झिँदै भने,‘ मेरो सफलतामा मेरो श्रीमतिको ठूलो हात छ ।’ हमालको श्रीमतिले पनि पूर्ण छात्रवृतिमा जेण्डर एण्ड डेभलपमेन्ट स्टडिज विषयमा स्नातकोत्तर गरेकी छन् । अहिले उनले हमालको बिजनेस सम्हालिरहेकी छन् । हमालका छोराछोरी अमेरिकामा बस्छन् । हमाल फुटबल क्रेजी हुन् । अहिले पनि उनी समय भएको समयमा फुटबल खेल्ने गर्छन् । उनी कोलकत्तामा पढ्दा आफ्नो कलेजको फुटबलको क्याप्टेन भएको पनि उनी सुनाउँछन् । ‘म सानैदेखि फुटबल खेल्न धेरै रुचाउँथे, जागिर खान्छु भन्ने कल्पना नै थिएन, दिनरात फुटबल खेल्थेँ, फुटबल खेल्न सौखिन भएपनि किन्ने पैसा हुन्थेन, फुटबल खेलेर जिविकापार्जन गर्न सकिन्न भन्ने कुरामा भने म सजग थिएँ, त्यसपछि फुटबललाई प्यासनकै रुपमा राखेर करियर बनाउन लागेँ, त्यतिबेला फुटबल खेल नछोडेको भए म अहिले ठूलो खेलाडी बन्थेँ होला,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनी टाटानगरमा पढ्दा आफु टेबलटेनिसको पनि च्याम्पियन भएको सुनाउँछन् । फुटबलसहित अन्य खेलकुदमा पनि नियमित भाग लिँदा पढाइमा सोच अनरुपको अंक ल्याउन नसकेको उनी सुनाउँछन् । नेपालको मायाले तानेपछि… अध्यक्ष हमालको परिवार । विदेशमा हमालको सुविधा सम्पन्न किसिमले जीवन चल्दै थियो । आफ्नै बिजनेस । सुखी र सानो परिवार । साथीभाइहरुका माझ पनि लोकप्रिय । नपुगेको केही थिएन । तर, हमाललाई एकाएक नेपाल फर्किन मन लाग्यो । ‘विदेशमा बसेर एउटा हाइट बनाइयो, अन्तर्राष्ट्रिय पहुँच भइसक्यो, तर, मनमा एउटा अधुरो सपना थियो कि नेपालका लागि केही गर्न सकिएन, नेपालमै केही गर्नु पर्छ भन्ने लाग्यो, नेपालमै जन्मिएँ, नेपालमै जन्मिएका कारण देश विदेश पुगेँ, तर नेपालका लागि केही गर्न नसकेको अनुभुति भयो, नेपालको मायाले तान्यो र २०७२ सालमा स्वदेश फर्किएँ,’ हमाल भन्छन्, अब जे गर्छु नेपालमै गर्छु ।’ अब नेपालमा आफु पनि लगानी गर्ने र विदेशीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने उनको योजना छ । उनले आफ्नो विदेशमा रहेको ओमस्टोन कम्पनीलाई ओमस्टोन एशियाको नाम दिएर लगानी गर्न थालेका छन् । उनकै लगानीमा काभ्रेको धुलिखेलमा अहिले सुविधासम्पन्न रिसोट बनिरहेको छ । उनले अहिले विदेशबाट परिवार पनि ल्याएर ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । गत वर्ष मात्रै उनी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भए । अर्थमन्त्री जनार्दन शर्मा समक्ष बोर्डका अध्यक्षका रुपमा सपथ लिँदै हमाल । ‘मलाई नेपालमै केही गर्ने योजना थियो, ८/९ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले नै मलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन आग्रह गर्नु भयो, उहाँले क्यापिटल मार्केट विकास हुन सकेन, बोर्डमा राम्रो नेतृत्व चाहियो, तपाईंमा अन्तर्राष्ट्रिय विज्ञता छ अध्यक्ष बन्नु पर्यो भनेपछि मैले कम्पनीको सबै काम श्रीमतिलाई सुम्पिएर बोर्डको अध्यक्ष बन्ने सहमति जनाएँ, ‘उनी भन्छन्, अब नेपाली पुँजी बजारको विकास लागि काम गर्छु ।’
टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ
काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो कुरा त के भने विनयले काम सुरु गरेको ४ वर्षमै खल्ति डिजिटल वालेको सीईओ बन्ने अवसर पाए । ‘२७ वर्षकै उमेरमा कसरी सीईओ बन्नु भयो, काम गरेको ४/५ वर्षमै सीईओ बन्न् सम्भव छ र ? भनेर धेरैले प्रश्न गर्नु हुन्छ, मैले पनि नेपालमा फिनटेक इन्ड्रस्टी आएको पनि ५/६ वर्ष नै त भयो भनेर जवाफ दिन्छु, व्यक्तिसँग अनुभव छैन भने ज्ञानले काम चलाउने हो,’ सीईओ बनिसकेपछि आफ्नो अनुभव सुनाउँदै खड्काले भने । खड्का आफुले उमेरलाई नम्बर मात्रै नभने पनि अनुभव र वर्षलाई भने तुलना गर्न नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘एक दिनमा २४ घण्टा हुन्छ, कोही मान्छेले बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्छ र अर्कोले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्छ भने त्यसमा उमेर र अनुभव तुलना गर्न मिल्दैन, कुनैले एक वर्षमा सिक्ने काम अर्कोले एक महिनामा पनि सिक्न र प्राप्त गर्न सक्छ ।’ ‘जे जस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आइरहेका छन्, एउटा कम्पनीको सीईओ त बनेँ तर सिक्नु पर्ने र गर्नु पर्ने काम धेरै छन्, अझै पनि म मेरो पफर्मेन्सप्रति सन्तुष्ट छैन,’ उनले थपे । खल्ति डिजिटल वालेटका सीईओ खड्काको घर नुवाकोटको शिवपुरीमा हो । वि.स. २०५१ सालमा जन्मिएका खड्का गत वर्षको कात्तिकमा खल्तिको सीईओ बने । उनी सीईओ बेनपछि अहिले खल्तिको विजनेस विस्तारमा रणनीतिक किसिमले काम गरिरहेका छन् । शिक्षित परिवारमा जन्म विनयका बुबा सरकारी शिक्षक । आमाले पनि सुरुमा गाउँमै बुवासँगै पढाउँथिन् । गाउँमा पढाइका लागि खासै राम्रो वातावरण नमिलेपछि विनयकी आमाले छोराछोरी (विनय र विनयकी बहिनी) लिएर काठमाडौं आइन् । ‘गाउँमा पढाइको लागि राम्रो वातावरण थिएन, नुवाकोट भएपनि त्यतिखेरै टुकी बालेर पढ्नु पर्ने अवस्था थियो, पछि आमाले बहिनी र मलाई काठमाडौं लिएर आउनु भयो,’ उनले आफ्नो बाल्यवास्था सम्झदै भने । सुरुमा उनीहरु काठमाडौंको बालाजुमा बसे । नुवाकोटको स्याउरेभूमि माद्यामिक विद्यालयमा कक्षा ४ मा पढेका उनी कक्षा ५ मा काठमाडौंको बालाजुमा पढे । काठमाडौंमा बसेर खर्च धान्न नसकेपछि उनकी आमाले नक्सालमा काम गर्न सुरु गरिन् । फेरि उनीहरु बालाजुबाट नक्सालमा बस्ने भए । उनी ६ कक्षामा काठमाडौं इङ्गलिस स्कूलमा भर्ना भए । उनले १० कक्षासम्म त्यही पढे । आमाले पनि कमाउन थालेपछि खर्च चलाउन सहज भयो । ‘कक्षा ८ सम्म म पढाइमा एकदमै कमजोर थिएँ, गाउँमा पनि खासै पढ्थेनँ, ८ कक्षापछि भने पढ्नु पर्छ भन्ने महसुस भयो, पछि पढाइ राम्रो हुँदै गयो,’ उनले आफ्नो विगत स्मरण गर्दै भने । जीवनको त्यो उत्कृष्ट अंक सानोमा विनयलाई धेरैले कमजोर विद्यार्थीका रुपमा चिन्थे । उनी भन्छन् ‘पछाडिबाट गन्दा म एक/दुई नम्बरमा पर्थें होला, कक्षा ‘बंक’ गर्ने हुन्थ्यो, स्कूल नजिकै खोला थियो, पढ्न छाडेर पौडी खेल्न जान्थें, बुबाको कक्षा पनि धेरै दिन बंक गरेर धेरै पटक पौडी खेल्न गएको छु ।’ तर उनी सधैं कमजोर बनेन् । कक्षा १० अर्थात् एसएलसी (एसईई) मा आफ्नो विद्यालयको सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी भने विनय । उनले एसएलसीमा ८३ प्रतिशत अंक ल्याए । जुन आफ्नो जीवनको सबैभन्दा बढी अंक भएको उनी सुनाउँछन् । ‘जिन्दगीको सबैभन्दा बढी अंक १० कक्षामा आयो, ८ कक्षासम्म पढ्नु पर्छ भन्ने बुद्धि आइसकेको थियो, गाउँमा पढ्दा कमजोर विद्यार्थी थिएँ तर ९/१० कक्षासम्म आइपुग्दा मेहेनती विद्यार्थीका रुपमा परिचित भइसकेको थिएँ, एसएलसीमा म पढ्ने स्कूलबाट दुई जनाले मात्रै डिस्टिङसनमा पास गर्यौं,’ उनले भने । ‘अहिले पनि पुरानो सर्टिफिकेट हेर्यो भने आफैलाई हाँसो लाग्छ, बल्ल-बल्ल पास हुन्थेँ, आफ्नै बुबा शिक्षक भइसकेपछि पढ्नु पर्छ भन्ने महसुस हुन्थेन, पढाइ भन्ने कुरा आत्मबोध नगर्दासम्म नहुने रहेछ, उनले मुस्कुराउँदै भने, ‘त्यतिखेर प्रथम भएको भएपनि के हुन्थ्यो होला र ।’ विनयले ‘प्लस टु’ पढ्नका लागि चाबहिलको सेन्ट लरेन्स कलेजमा भर्ना गरे । व्यवस्थापन विषयमा कम्प्युटर साइन्स विषय लिएर उनले पढ्न सुरु गरे । १२ कक्षा पनि उनले डिस्टिङसनमै पास गरे । सिए बन्ने रहर कक्षा १२ उत्कृष्ट अंकका साथ पास गरेपछि उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहर पलायो । घरको आर्थिक अवस्था मध्यम खालको थियो । बुबा नुवाकोटमै पढाउँथे । कक्षा १२ को परीक्षा दिएकै वर्ष उनी सीएमा भर्ना भए । सीएसँगै उनले शंकरदेव कलेजमा व्यवस्थापन संकायमा पनि भर्ना गरे । तर, शंकरदेव कलेजमा एक दिन पनि नगएर परीक्षा दिएको उनी सुनाउँछन् । ‘सीए बन्ने मेरो रहर थियो, सीए फेल भयो भने विकल्पका रुपमा शंकरदेवमा भर्ना गरेको थिएँ तर कलेज कहिल्यै गइनँ, नेपालमा इञ्जिनियर पढ्ने वा विज्ञान पढेर डाक्टर पढ्ने इच्छा हुनेले आर्थिक अवस्थामै कारण पढ्न नसक्ने अवस्था थियो, धेरै खर्च हुने तर त्यसको प्रतिफल के कस्तो आउने भन्ने सुनिश्चित पनि हुन्थेन, चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि ३/४ लाख रुपैयाँ भयो भने प्रशस्त हुन्थ्यो, बरु मेहेनत धेरै गर्नु पर्थ्यो,’ त्यसैले सीए नै रोजेँ,’ उनले भने । उनले सीएआई कोचिङ इन्स्टिच्यूटमा सीए पढे । पास पनि भए । सीए पढ्दा पढ्दै उनले जोशी एण्ड भण्डारी फर्ममा आर्टिकलसीप गरे । सोही बेला उनले देशका विभिन्न ५०/६० फर्मसँग जोडिएर अडिट गर्ने अवसर पाए । उनी अडिटको सिलसिलामा सुदूरपश्चिमको दार्जुला बझाङदेखि पूर्वी नेपालसम्म पुगे । ब्याजका टपर उनी सन् २०१७ का सिएमा आफ्नो ब्याचका टपर हुन् । तर, टपर बन्नका लागि उनले धेरै अंक भने ल्याउनु परेन । ‘म सेकेण्ड डिभिनवाला नेपाल टपर हो, अन्य क्षेत्रमा टप भनेपछि ९०/९५ प्रतिशत अंक आउँछ तर सीएमा त्यति धेरै आउँदैन, ५० प्रतिशत आएन भने फेल भइन्छ, ५२/५३ प्रतिशत आयो भने टप भइन्छ, त्यतिखेर नियमिततर्फ दुई जनामात्रै पास भएका थियौं, उनले भने, ‘म गोल्ड मेडलिष्ट र अर्को साथी सिल्भर मेडलिष्ट ।’ उनलाई आफ्नो रजिष्ट्रेसन नम्बर (१०२६) अहिलेसम्म स्मरण छ । त्यतिखेर सीएको नतिजा हरेक वर्षको अगष्ट १५ मा आउँथ्यो । तर, त्यो वर्ष अगष्ट १४ मा आएको उनलाई अहिलेसम्म सम्झना छ । ‘रिजल्ट आउँछ भन्ने कुनै मतलब नै थिएन, म आफ्नै तालमा थिएँ, एक जना दाईले फोन गरेर बधाइ दिनुभयो, मलाई जिस्केको जस्तो भयो, पछि आफैले देखेपछि धेरै खुसी भएँ, मेरो लागि त्यो अविस्मरणीय क्षण थियो,’ उनले सन् २०१७ अगष्ट १४ लाई स्मरण गर्दै भने । बैंकमा पनि काम गरेको अनुभव सीए टप भएपछि विनयलाई धेरै ठाउँबाट कामको अफर आयो । त्यो अफर एनआइसी एशिया बैंकबाट पनि आयो । उनले सोही बैंकमा काम गर्ने योजना बनाए । सन् २०१७ मै एनआइसी एशिया बैंकमा काम सुरु गरे । उनले एनआइसी एसिया बैंकमा ४/५ महिना काम गरे । ‘४/५ महिना काम गरेपछि बोर भयो, त्यसपछि काम छोडेँ, हरेक डिपार्टमेन्टको काम गर्ने तरिका विश्लेषण गरेर त्यसलाई परिवर्तन गर्नु पर्ने विभागमा म काम गर्थें, त्यो मेरा लागि ठूलो सिकाइ बन्यो, त्यसपछि डिजिटल सेगमेन्ट पनि हेर्न थालेँ तर पछि काम छोडेँ, उनले भने । उनले सन् २०१८ को सुरुवातमा एनआइसी एशियाबाट काम छाडेर इसेवामा गए । इसेवामा पनि कर्पोरेट डिपार्टमेन्टको नेतृत्वका रुपमा जिम्मेवारी पाए । इसेवामा पनि उनले एक वर्ष काम गरे । जहाँ आफूलाई एक्सपोज हुन धेरै सहयोग पुगेको उनी सुनाउँछन् । ‘एनआइसी एशिया बैंकमा आकर्षक तलब, ऋण सुविधा, बोनस लगायतका धेरै राम्रा सुविधा थिए तर ती सबै सुविधा छोडेर कम तलबमा म इसेवामा काम गर्न गएँ, किनकी मैले सिक्नु थियो, मेरो त्यो निर्णयले नै मलाई आजको दिनमा ‘पेअफ’ गरिरहेको छ, पैसा कमाउने, करिअर बनाउने र सन्तुष्ट हुने भन्ने कुरा फरक हुन्, उनी भन्छन्, ‘एउटा लेभलमा पैसा चाहिन्छ त्यसपछि तपाइँले खुसी र भिजन हेर्ने हो । फेरि उनी इसेवाबाट काम छोडेर एनआइसी एसियाम बैंकमै फर्किए । ‘मैले अहिलेसम्म ग्राउण्ड लेभलमा बसेर काम गरेको छैन, सिनियर पोजिसनमै रहेर काम गरेँ, एनआइसी एसियामा पनि हेड अफ डिजिटल मार्केटिङका रुपमा साढे २ वर्ष काम गरेँ,’ उनले भने । २७ वर्षको उमेरमा सीईओ उनी गत वर्ष डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को सीईओका रुपमा नियुक्त भए । नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरमा सीईओ बन्ने व्यक्ति हुन् विनय । धेरैले उनलाई सानै उमेरमा सीईओ बनेकोमा प्रश्न र जिज्ञासा राख्छन् । तर, उनी भन्छन्,‘ मैले काम गरेको ४/५ वर्ष भयो त्यसअघि पनि तीन वर्ष अडिटरका रुपमा ठूला–ठूला कम्पनीको अडिट गरेको छु, फिनटेक इन्ड्रस्टी आएको पनि त ५/६ वर्ष मात्रै भयो ।’ उनी खल्तीमा काम गर्ने हरेक कर्मचारी आफ्नो उमेरको भएकै कारण पनि आफूलाई काम गर्न सहज भएको सुनाउँछन् । ‘ट्यालेन्ट हुनु र पास हुनु फरक विषय हुन्, सबै ट्यालेन्ट मान्छे पास हुन्छन् भन्ने पनि हुँदैन, रिजल्ट ल्याउनु र दुःख गर्नुमा फरक छ, सबैको आ-आफ्नो फर्मुला हुन्छ तर मलाई काम गर्दै गर्दा फिल्डमा ब्याक हुनु परेको छैन, सबैले विश्वास गर्नु हुन्छ, धेरै कुरा बुझेर नै २७ वर्षको उमेरमा एउटा कम्पनीको सीईओको रुपमा सुम्पिनु पनि विश्वासको कारण नै हो, ‘उनी भन्छन्, ‘सीए टप हुुनु र मेरो काम गराइमा पनि धेरै समानता छ ।’ उनी व्यक्तिको पफर्मेन्सको कारण नै पोजिसन (पद) पाउने धारणा राख्छन् । तर, अहिले पनि आफू आफ्नो पफर्मेन्ससँग सन्तुष्ट नभएको धारणा राख्छन् । विनय भन्छन्, ‘गर्नु पर्ने धेरै छ, सम्भावनाहरु धेरै छन् तर तुलना कोसँग गर्ने भन्ने हो ।’ गत वर्ष हृदयघातको कारण उनका बुबाको कलिलै उमेरमै निधन भयो । बुबाको निधनले एक किसिमको जिम्मेवारी उनीमाथि थपिएको छ । आमा वन मन्त्रालयमा कार्यरत छिन् । परिवारसँगै आफ्नो काममा सन्तुष्ट हुने प्रयत्नमा विनय छन् । उनलाई ‘पोडकाष्ट’ सुन्न खुबै मन पर्छ । त्यस अलवा ट्रेकिङमा जान र युवाहरुसँग ‘इन्टरयाक्ट’ गर्न उनलाई धेरै मन पर्छ । अब उनी खल्ती डिजिटल वालेटको विजनेस विस्तारमा नै फोकस हुने सुनाउँछन् । ‘कर्मचारी, सेयरधनी र ग्राहक लगायतको जिम्मेवारी नेतृत्वमा नै हुनुपर्छ, एप्रोजमा परिवर्तन अवश्य नै हुन्छ, नेतृत्व सम्हालिसकेपछि चुनौति अवश्य नै हुन्छन् तर चुनौतिहरुसँगै रमाएर काम गर्न मलाई मज्जा लाग्छ,’ उनी भन्छन्,‘ जेजस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आउँछन् ।