बुबाको ‘इख’ले बैंकर बनेका सर्जु : ३ हजार तलबदेखि डीसीईओसम्म
काठमाडौं । लाजिम्पाटको एमबीएल टावरको पाँचौं तलामा एउटा भव्य कोठा । एसीसहितको सफा, चिटिक्क र सानदार कोठा । त्यही सानदार कोठाबाट देखिन्छ भरिभराउ काठमाडौं । काठमाडौंको कोलाहल त्यो भव्य कोठामा पुगेपछि शून्य हुन्छ । सायद मनको कोलाहल पनि त्यसमा काम गर्दै गर्दा शान्त हुन्छ होला । सोही कोठामा व्यस्त देखिन्छन् माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जु थापा । मैले सुरुवातमै डीसीईओ थापालाई प्रश्न गरेँ, ‘बैंकिङ जब’ कति राम्रो है ? उनले एकछिन सोचमग्न हुँदै भने, ‘हुन त झट्ट हेर्दा एसी रुम, बैंकरले टाइसुट लगाएको देखिन्छ, हँसिलो फुर्तिलो देखिन्छ तर, बैंकिङ जब कति तनावपूर्ण छ भन्ने कुरा काम गर्नेहरूलाई मात्रै थाहा हुन्छ, कहिलेकाहीँ त कामबाट घर फर्किंदा घरका सदस्यहरूसँग बोल्न पनि मन लाग्दैन ।’ उनी हाँस्दै प्रतिप्रश्न गर्छन्, ‘तर, बैंकर बन्न पनि त कहाँ सजिलो छ र ? मैले पुनः जिज्ञासा राखेँ, तपाईं कसरी बैंकर बन्नु भयो ? उनी जवाफ दिन्छन्, ‘म बैंकर बन्नुको पछाडि मेरो बुबाको ठूलो हात छ, बुबाले मेरो पढाइप्रति त्यति धेरै चासो र हौसला नदिएको भए आज म यो स्थानमा हुन्थेँ वा हुन्थेन, पढ्दै गएँ, मेहनत गर्दै गएँ, जीवनमा आएका अवसरहरूलाई ग्रहण गर्दै गएँ, आफ्नो जिम्मेवारीलाई सकेसम्म कुशलताका साथ पूरा गरेँ, त्यही कारणले पनि हुनसक्छ आज माछापुच्छ्रे बैंकको डीसीईओसम्म पुगेको छु ।’ २०३० सालमा संखुवासभाको वानामा जन्मेका सर्जु ४ वर्षकै हुँदा उनको परिवार झापाको चन्द्रगढीमा बसाइँ सर्यो । झापामा उनी ८ कक्षासम्म पढे । भारतको बनारसबाट आईए (अहिलेको प्सलटु)पास गरेका उनका बुवा झापामै एक विद्यालयको प्रधानाध्यापक थिए । उनका बुवा हेड मास्टर भएको विद्यालयको स्तरोन्नति भएर निम्न माध्यामिक विद्यालय (निमवि)बाट माद्यामिक विद्यालय (मावि) बन्यो । आईए पढेका उनका बुवालाई हेड मास्टरबाट हटाएर विद्यालय व्यवस्थापन समितिले बिए (स्नातक) पढेकोलाई हेड मास्टरमा नियुक्त गर्यो । हेड मास्टरबाट हट्नु परेको पछुतो उनले आफ्नो छोराहरूमाथि पोखे । अब नपढी हुँदैन भन्ने मानसिकताका साथ उनी आफ्नो छोरोहरूलाई पढाउनतर्फ लागे । ‘हुन त बुवाले बनारसबाट आईए पास गर्नु भएको थियो तर, बिए पढेको मान्छे हेड मास्टर बनेपछि उहाँलाई आफू नपढेकोमा पछुतो भयो, अब छोराहरूलाई राम्ररी पढाउनु पर्छ भन्ने कुरा उहाँको मनमा खेलिरह्यो, उहाँले हामी (तीन दाजुभाई) लाई कामभन्दा पनि पढाइमा ध्यान दिन भनिरहनु भयो, हुन पनि अहिले सबै भाइ राम्रै स्थानमा छौं,’ उनले विगत स्मरण गर्दै भने । झापाबाट ८ कक्षा पास गरेपछि उनी मामा घर धरान गए । धरानको शिक्षा निकेतनमा ९ र १० कक्षा पढे । वि.स २०४६ सालमा एसएलसीमा उनी ‘फष्ट डिभिजन’ मा पास भए । विद्यालय तहमा उनी जहिल्यै पहिलो र दोस्रो मात्रै हुन्थे । त्यतिखेर धरानको शिक्षा निकेतनबाट एसएलसीमा ५ जना मात्रै फष्ट डिभिजनमा पास भएको उनी सुनाउँछन् । इञ्जिनियर बन्ने रहर देशमा ठूलो राजनीतिक उतारचढाव थियो । २०४६/०४७ सालमा जनआन्दोलन चर्किँदै थियो । सोही समयमा उनी पढाइकै लागि भनेर धरानबाट काठमाडौं आए । थापाले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा फिजिक्स विषय लिएर भर्ना भए । उनको रहर इञ्जिनियर बन्ने थियो । अस्कल क्याम्पसमा पढ्दै गर्दा छात्रवृत्तिमा विदेश जाने मोह उनलाई नचलेको होइन । तर, त्यतिखेर छात्रवृत्तिमा नाम निकाल्नका लागि पनि ‘फोर्स’ चाहिने उनी सुनाउँछन् । कारणबस उनी छात्रवृत्तिमा छनोट हुन सकेनन् । ‘एसएलसी दिएपछि इन्जिनियर बन्ने रहर पलायो, त्यस कारण पनि अस्कलमा फिजिक्स लिएर पढेँ, २ वर्ष अस्कलमै बित्यो तर, पछि विज्ञान विषय छोडेर कमर्स पढ्नतर्फ लागेँ,’ उनले भने । अस्कल क्याम्पसमा दुई वर्ष विज्ञान विषय पढेपछि स्नातक पढ्न सर्जु शंकरदेव क्याम्पस पुगे । शंकरदेव क्याम्पसमा उनले व्यवस्थापन संकायमा भर्ना गरे । शंकरदेव क्याम्पसबाट उनले स्नातक र स्नातकोत्तर पास गरे । २०५६ सालमा स्नातकोत्तर पहिलो श्रेणीमै पास गरेको उनी सुनाउँछन् । ६ महिनाको ‘त्यो जब’ स्नातकोत्तरसम्मको पढाइ पनि सकियो । झापाबाट पढाइकै लागि भनेर काठमाडौं पुगेका सर्जु थापालाई अब काम गर्नुपर्छ भन्ने मानसिकता जाग्यो । उनले अब एउटा कन्ष्ट्रक्सन कम्पनीमा काम गर्न सुरु गरे । २०५६ सालमा स्नातकोत्तर पास गरेका उनले सोही वर्षदेखि एउटा कन्ष्ट्रक्सन कम्पनीमा अकाउन्टेन्टका रुपमा काम सुरु गरे । ‘धेरैले स्नातकोत्तर पास गरेको मान्छे त्यति सानो कम्पनीमा के काम गरेको पनि भने तर, मलाई जुनसुकै काम पनि ठूलो नै लाग्छ, त्यहाँ राम्रै काम गरियो, महिनाको तीन हजार रुपैयाँ तलब थियो, ६ महिनापछि काम छोडेँ,’ उनले आफूले सुरुमा काम गरेको कम्पनी स्मरण गर्दै भने, ‘साहुले पनि राम्रै माया गर्नुहुन्थ्यो ।’ २०५७ बाट बैंकिङ करियर सुरु व्यवस्थापन विषय स्नातकोत्तरसम्म पढेपछि अब बैंकमा जागिर गर्नुपर्छ भन्ने सर्जुको मनमा लागिसकेको थियो । ६ महिनाको अकाउन्टेन्टको जागिरले उनलाई अलिकति भए पनि काम गर्न सिकाइसकेको थियो । त्यतिखेर धेरै बैंकहरू थिएनन् । बजारमा नाम चलेका ४/५ वटा बैंकहरू थिए । २०५७ सालमा उनले आफ्नो बैंकिङ करिअर सुरु गरे बैंक अफ काठमाण्डूबाट । ‘बैंक अफ काठमाण्डू सन् २००० मा नयाँ व्यवस्थापनका साथ अगाडि बढ्दै थियो, कर्मचारीको माग गरेको रहेछ, मैले पनि परीक्षा दिएँ, पास पनि भइयो, बैंक अफ काठमाण्डू नै मेरो बैंकिङ करियरको पहिलो खुड्किलो बन्यो,’ थापाले भने । उनले सो बैंकमा जुनियर असिस्टेन्ट लेभलबाट काम सुरु गरे । तलब पाँच हजार रुपैयाँ थियो । बैंकिङ जागिरको सुरुवातमा उनले बैंक अफ काठमाण्डूमा धेरै सिक्ने मौका पाए । उनले बैंकमा क्रेडिट, लोन र ट्रेडमा काम गरे । उनले ४ वर्ष सोही बैंकमै काम गरे । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गर्दा एक वर्ष नेपालगञ्जको शाखा गएर काम गर्ने अवसर पनि पाएको उनी सुनाउँछन् । उनी नेपालगञ्जमा क्रेडिट चिफको रुपमा गएका थिए । त्यतिखेरसम्म धेरै बैंक आइसकेका थिए । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गरेपछि उनी माछापुच्छ्रे बैंकमा गए । त्यतिबेला माछापुच्छ्रे बैंक क्षेत्रीय बैंकमा रुपमा सञ्चालित थियो । कार्यालय पोखरामा थियो । उनले माछापुच्छ्रे बैंकमा सुपरभाइजरका रुपमा काम गरे । त्यहाँ उनी धेरै टिकेनन् । जागिर परिवर्तनसँगै उनको पद पनि बढ्दै गयो । उनी भन्छन्, ‘म काममा बढी प्राथमिकता दिन्छु, बढी मेहनत गर्छु, सफलता पाउनका लागि सपनाभन्दा पनि हार्ड वर्किङ गर्नुपर्छ भन्नेमा मेरो ध्यान जान्छ ।’ माछापुच्छ्रे बैंक छोडेर उनी अब सानिमा विकास वित्तीय संस्थामा आवद्ध भए । सानिमा विकास वित्तीय कम्पनीमा जुनियर अफिसर पदमा प्रवेश गरेका उनले अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, म्यानेजर तहसम्म त्यहाँ काम गरे । सुरुमा २०/२२ जना कर्मचारीबाट सुरु भएको सो संस्थामा ९ वर्षसम्म काम गरेर सबै सहकर्मीहरूको सहकार्य र ‘हार्ड इफोर्ट’ले सो संस्थालाई वाणिज्य बैंक सरह पुर्याएको उनी स्मरण गर्छन् । जुनियर असिस्टेन्टदेखि डेपुटी सीईओसम्म बैंकर थापा आफूले अहिलेसम्म काम नगरेको कुनै पनि पद बाँकी नरहेको बताउँछन् । उनले जुनियर असिस्टेन्टदेखि डीसीईओसम्मका सबै पदमा रहेर काम गरिसकेका छन् । थापाले बैंकिङ क्षेत्रमै काम गरेको २२ वर्ष भइसकेको छ । ९ वर्ष सानिमा विकास वित्तीय संस्थामा काम गरेका उनी २०७० सालमा माछापुच्छ्रे बैंकमा पुन: फर्किए । सानिमा विकास वित्तीय संस्थाबाट माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका रुपमा प्रवेश गरेका सर्जु असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर र अहिले डेपुटी सीईओ भएर काम गरिरहेका छन् । विगत ८ वर्षदेखि उनी माछापुच्छ्रे बैंकमै छन् । ‘बैंकिङ क्षेत्रले देशको अर्थतन्त्रमा धेरै योगदान दिएको छ, व्यक्तिको रोजिरोटीदेखि व्यापार व्यवसाय सफल बनाउनका लागि बैंकले महत्त्वपूर्ण भूमिका खेल्छ, थापा भन्छन्, ‘पहिले ग्राहकहरू बैंकमा आएर सेवा लिन्थे अहिले बैंकहरू नै घर–घरमा गएर सेवा दिनुपर्ने अवस्था छ, यो २२ वर्षको अनुभवले यही सिकायो ।’ उनी आफूले २२ वर्ष बैंकमा काम गर्दाको अनुभवले बैंकिङ क्षेत्रमा धेरै विकास भएको बताउँछन् । उनी बैंकरसँगै आफू जुनसुकै क्षेत्रमा काम गरे पनि सोही क्षेत्रमा स्थापित हुन सक्ने क्षमता राख्ने धारणा राख्छन् । ‘मैले क्रियटिभ चिजमा रुची राख्छु, स्पोर्टमा क्रिकेट मन पर्छ,’ उनी आफ्नो रुची सुनाउँछन् । अविस्मरणीय ‘त्यो दिन’ धेरैको जीवनमा आफ्नै किसिमका घटनाहरू हुन्छन् । अधिकांश ती घटनाहरू बिर्सिन्छन् पनि । तर, डीसीईओ थापाको जीवनमा एउटा घटना भने अहिलेसम्म मस्तिष्कमै बसेको छ । कहिले काहिँ उनी आफ्नो विगतलाई सम्झिन्छन् र भन्छन्, ‘थ्याङ्क यू मामा ’ २०४५ साल माघ १ गते सर्जुका मामा धनकुटा थिए । उनलाई फोन गरेर उनको मामाले माइजु पुर्याउन विराटनगर जान भने । उनी माघ १ गते विराटनगर गए । तर, माघ २ गते नेपालमा भूकम्प गयो । सर्जु सुत्ने कोठा भत्कियो । ‘अघिल्लो दिन म विराटनगर गएको थिएँ तर, पछिल्लो दिन म सुत्ने कोठा नै भूकम्पले भत्काएछ, बाजे बिहान बाहिर जानु भएको रहेछ, घरमा रहेकी बज्यैँलाई चोट लाग्यो, मामाले मलाई विराटनगर जानु नभनेको भए के हुन्थ्यो होला… उनी भावुक हुँदै अडिन्छन् । अन्तरजातीय विवाह बैंकर थापाले सन् २०१४ मा अन्तरजातीय विवाह गरे । माछापुच्छ्रे बैंकमा प्रवेश गरेकै वर्ष उनी बैंकर सुजता श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए । हाल सुजता पनि बैंकिङ क्षेत्रमै छन् । उनीहरूको एउटा छोरी पनि छिन् । ‘चिनजान भएको २/३ महिनामै हाम्रो विवाह भएको हो, जोडी नै बैंकर हुँदा एक अर्काका पीडा पनि बुझिने रहेछ तर, दुवै एउटै जागिरमा हुँदा बच्चाहरूलाई समय दिन नसक्ने हुँदो रहेछ,’ उनी भन्छन्, ‘छुट्टी लिन परे पनि सँगै पार्नुपर्ने, यसको आफ्नै फाइदा र बेफाइदा पनि छन् ।’ तीन दाजुभाइमा सर्जु माइलो हुन् । भाइ पनि बैंकिङ क्षेत्रमै काम गरिहरेको छन् भने उनको दाइ व्यापार व्यवसायमा छन् । आफूले बैंकमा काम गर्दै गर्दा अमेरिका, जापान, थाइल्याण्ड, जर्मन, दुबई लगायत ७/८ देशमा भ्रमण गरिसकेको उनी सुनाउँछन् । सीईओ बन्ने सपना नायव प्रमुख कार्यकारी अधिकृत सर्जु थापा अब आफूले बैंकिङ करियरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन मात्रै बाँकी रहेको सुनाउँछन् । आफूले बैंकिङ क्षेत्रमा काम गर्न अब ८/१० वर्ष मात्रै बाँकी रहेको बताउँदै उनी यो बीचमा सीईओका लागि अवसर आए ग्रहण गर्ने योजना रहेको बताउँछन् । ‘अब बैंकिङ क्षेत्रमै रहेर काम गर्न ८/१० वर्ष मात्रै बाँकी छ, अहिले पनि आफ्नो ग्रोथको हिसाबले टप लेभलमा पुगिसकेको छु, सीईओ प्रमोसनभन्दा पनि कन्ट्याक्ट लेभलको विषय हो, अवसर आयो भने म त्यसलाई ग्रहण गर्छु नै, बैंकलाई नेतृत्व गर्न सक्ने मसँग क्षमता पनि छ,’ उनले भने । बैंकबाट बाहिरिए पनि कुनै संस्थामा वित्तीय सल्लाहकारका रुपमा रहेर काम गर्ने योजना रहेको उनी बताउँछन् । ‘व्यक्तिले आफ्नो लागि काम गर्ने हो, संस्थाले रिकगनाइज् नगरे पनि अर्को संस्थाले रिकगनाइज् गर्छ, जसले आफ्नो लागि काम गर्छ त्यो मान्छे नै पनि अगाडि बढ्छ, उनी भन्छन्, ‘संघर्ष र मेहनतले नै मानिसको बाटो निर्धारण गर्छ, सपना मात्रै देख्ने होइन काम पनि गर्नुपर्छ ।’
गोरखकालीले रुवाएका किसानको हाँसो फर्काउँदै उमेशलालको कन्काई रबर उद्योग
काठमाडौं । तीन वर्षअघि उद्योगी उमेशलाल श्रेष्ठ प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई भेट्न गएका थिए । मुख्यमन्त्री राई त्यतिबेला रबर खेती गर्दै आएका किसानहरुको एक समूहसँग छलफलमा रहेछन् । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई मुख्यमन्त्रीले बैठक कक्षमा बोलाइहाले । किसानहरु आफ्ना समास्या सुनाउँदै थिए । गोरखकाली रबर उद्योग बन्द भएदेखि नै रबर खेती गर्दै आएका किसानहरु मारमा परेका रहेछन् । किसानको समस्या सुनेर उनलाई पनि नरमाइलो लाग्यो तर बोलेनन् । ‘रबर किसानले मुख्यमन्त्रीसँग गरेको गुनासो मैले ध्यान दिएर सुनें, गुनासो गर्न आउने किसानमध्ये एक जना मैले चिनेकै हुनुहुँदो रहेछ, मैले उहाँलाई एकछिन बाहिर पर्खन आग्रह गरें, मुख्यमन्त्रीसँगको बैठक सकेर बाहिर निस्कादा सबै किसानहरु पर्खिरहनु भएको रहेछ । उहाँहरुको कुरा विस्तृतमा सुनेँ । किसान गम्भिर समस्यामा रहेछ । केही त गर्नुपर्छ भन्ने मनमा लाग्यो । किसानसँग थप कुरा पछि गरौंला भनेर त्यहाँबाट म फर्र्र्किएँ,’ श्रेष्ठले भने । करिव ६० हजार रबरका बिरुवाबाट उत्पादन भएको चोप यतिकै खेर गएको जानकारी पाएपछि उमेशलाल श्रेष्ठको दिमागमा नयाँ उद्योगबारे सोच जाग्यो । क्वेष्ट फर्मास्यूटिकल्स इन्डष्ट्रिजलाई सफल औषधि उद्योगको रुपमा स्थापित गरिसकेका श्रेष्ठलाई नयाँ काम गर्न मन लागिरहेको थियो । मन मिल्ने केही साथीहरुसँग रबर उद्योग खोल्ने प्रस्ताव गरे । तर, साथीहरुले उद्योगको सम्भावना नभएको बताए । ‘यद्यपि मेरो मनले मानेन, मैले उद्योगको सम्भावना देखेँ, साथीहरुसँग उद्योग खोल्नुपर्छ भनेर जोड दिएँ, अन्ततः साथीहरु विश्वस्त हुनुभयो, उद्योग खोल्ने निर्णयमा पुग्यौं,’ उनले थपे । कन्काइ रबर इन्डष्ट्रिज दर्ता भएर काम शुरु भयो । झापाको कन्काइ नगरपालिकामा डेढ विगाह जमिन किनेर उद्योग खोल्ने प्रक्रिया अगाडि बढ्यो । उद्योग लगाउने तयारी गर्दै गर्दा कोरोना महामारी फैलियो । रबर उद्योगबारे अध्ययन गर्न, मेसिनरी सामान आयात गर्न बढी समय लाग्यो । तैपनि उद्योगले किसानलाई निराश हुन दिएन । किसानको उत्पादन खेर नजाओस भनेर कम्पनीले तीन वर्षदेखि नै चोप संकलन गर्दै म्यानुअली रबर उत्पादन गर्दै आएको छ । चोपबाट भ्यानुअली उत्पादन गर्दा ६० प्रतिशत रबर उत्पादन भएको तर उद्योग स्थापनापछि सबै कच्चा पदार्थको पूर्ण उपयोग हुने श्रेष्ठले बताए । २०७९ साल बैशाखदेखि उद्योग सञ्चालनमा ल्याउने तयारी भैरहेको उनले बताए । पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने रबर, जुत्ता जप्पलको सोल, सोलुसन (टाँस्ने पदार्थ) लगायत रबर जन्य उत्पादनहरु थालिने छ । उद्योगमा करिब ३० करोड लगानी भएको कम्पनीको अध्यक्ष श्रेष्ठले बताए । कम्पनीमा श्रेष्ठ सहित जयप्रसाद शिवाकोटी, रवीन श्रेष्ठ, दीपक प्रधान, अर्जुन शर्मा र बालकृष्ण सापकोटाको लगानी छ । जसमा बालकृष्ण सापकोटा र जयप्रसाद शिवाकोटी स्थानीय हुन् । संचालनमा आउन लागेको उद्योगका लागि नेपाली किसानबाट संकलित रबरको चोपले आधा मात्र पुग्ने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीलाई चाहिने कच्चा पदार्थको ५० प्रतिशत विदेशबाट नै आयात गर्नुपर्ने हुन्छ, किसानहरुलाई रबरखेतीमा प्रोत्साहित गर्न जरुरी छ,’ उनले थपे । नेपालमा हाल रबर (चोप) भारतको केरला, भियतनाम र थाइल्यान्ड लगायतका देशबाट आयात हुँदै आएको छ । कनकाई रबर उद्योगका प्राविधिक टीएन दाहालका अनुसार २५ समूह गोलबद्ध भएर रबर उद्योगमा आवद्ध भएका छन् । कनकाई रकम उद्योग स्थापना भएसँगै नयाँ किसानहरुमा उत्साह देखिएको छ । उनीहरुले थप नयाँ स्थानमा रबरका बोटहरु रोप्न पनि थालेका छन् । कनकाई रबर उद्योगले वार्षिक २ लाख ७६ हजार लिटर रबरको चोप, ६ लाख ४८ हजार लिटर जुत्ताको सोल, २ लाख ३७ हजार लिटर ट्युव र ३ लाख ५६ हजार किलो म्याट उत्पादन गर्ने जनाएको छ । लिटरको ५५ रुपैयाँ कनकाई रबर इन्डस्ट्रिजले किसानको घरघरमै गएर रबर संकलन गर्ने गरेको छ । किसानको घरबाटै संकलन गरेको रबरको उद्योगले प्रतिलिटर ५५ रुपैयाँ भुक्तानी गरिएको उद्योगको भनाई छ । गत वर्ष प्रतिलिटर ५० रुपैयाँमा रबर संकलन गर्ने गरेकोमा चालु आर्थिक वर्ष लागेसँगै लिटरको ५ रुपैयाँ बढाएको हो । कम्पनीले दैनिक २ हजार लिटर रबर संकलन गर्दै आएको छ । किसानहरुले वर्षमा ९ महिनासम्म रबरको चोप संकलन गरी बेच्न सक्छन् । माघ, फागुन र चैत गरी तीन महिना भने रबरको चोप निस्कदैन । रबर खेतीको ३० वर्ष २०४६ सालमा गोरखामा गोरखकाली रबर उद्योगका लागि रबर खेती सुरु गरेका किसानले ३० वर्षपछि कनकाई रबर उद्योगमा रबरको चोप बिक्री गर्न थालेका छन् । २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उनको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबरखेती गरेको थियो । हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै थियो । तर, गोरखकाली रबर उद्योग बन्द भयो । किसानहरुको मिहेनत पनि खेर गयो । केही सिप नलागेर किसानहरु रबरको रुख काटेर दाउरा बेच्ने मनस्थितिमा पुगेका थिए । तर, अहिले कन्काई रबर इन्डस्ट्रिज स्थापनासँगै किसानहरुमा नयाँ उत्साह जागेको छ । पुराना पीडा विर्सन थालेका छन् । झापामा सामुदायिक बन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दशौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको संख्या झापामा सयौँ रहेका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ । नेपालमा बिरुवा रोपेर चोप उत्पादन गर्ने गरिएको छ । बिरुवाबाट निकालिएको रबर प्राकृतिक हुने हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ ।
एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?
काठमाडौं । दुई आर्थिक वर्षमा ३८ वटा विदेशी कम्पनीहरूले २६ अर्ब सात करोड ६६ लाख ३९ हजार रुपैयाँ नाफा लगेका छन् । ३८ विदेशी कम्पनीहरूले दुई आर्थिक वर्षमा नेपालका विभिन्न कम्पनीहरूमा लगानी गरेबापत् सो रकम नाफा लिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार दुई आर्थिक वर्षमा सो रकम नाफा वाफत लिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७६/०७७ दुई आर्थिक वर्षमा नाफाबापत सो रकम लिएका हुन् । सबैभन्दा बढी नाफा लिने कम्पनी वेष्टइन्डिजको रेनोल्डस् होल्डिङ्स देखिएको छ । जसले एनसेलमा लगानी गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ९७ करोड १८ लाख ४० हजार रुपैयाँ नाफाबापतको लाभांश लिएको छ । यस्तै, सूर्य नेपालमा लगानी गरेको भारतको एमएस आइटीसी र अमेरिकन टोबाकोले नाफाबापत बढी लाभांश लिएको छ । यी दुई कम्पनीहरूले सूर्य नेपालमा लगानी गरेबापत आर्थिक वर्ष २०७६/७७ मा चार अर्ब ७५ करोड ४८ लाख ७७ हजार रुपैयाँ लाभांश विदेश लगेका छन् । नाफाबापत विदेशमा बढी लाभांश लिने कम्पनी हिमाल पावरमा लगानी गरेका दुई कम्पनी सिंगापुरको स्टारक्राफ्ट र नर्वेको बर्जनसेल्भोन्स कोमुनेल क्राफ्टसेलस्केपले तीन अर्ब ३६ करोड ८४ लाख २३ हजार रुपैयाँ लाभांश लगेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा भारतको वरुण बेभरेज कम्पनीले नेपालको वरुण वेभरेजमा लगानी गरेको गरेबापत ३० करोड ७८ लाख रुपैयाँ लाभांश भारत लगेको छ । नाफाबापतको रकम बढी विदेश लैजाने कम्पनी मणिपाल एजुकेशन पनि देखिएको छ । मणिपाल एजुकेशनले ३० करोड २९ लाख ६२ हजार रुपैयाँ लाभांश लगेको छ । यस्तै, नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लगानी गरेको अष्ट्रेलिया र बेलायतको स्ट्याण्डर्ड चार्टर्ड बैंकले २३ करोड ८९ लाख ४३ हजार रुपैयाँ लाभांश विदेश लगेका छन् । जुन एक आर्थिक वर्षको मात्रै लाभांश हो । यस्तै, नेपाल एसबिआई बैंकमा लगानी गरेको स्टेट बैंक अफ इण्डियाले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७७ लाख ७७ हजार रुपैयाँ लाभांश भारत लगेको राष्ट्र बैंक स्रोतले जनाएको छ । हिमालयन बैंकमा लगानी गरेको पाकिस्तानको हबिब बैंकले आर्थिक वर्ष २०७६/०७७ मा नौ करोड ३७ लाख २२ हजार रुपैयाँ लाभांश पाकिस्तान लगेको छ । एनएमबि बैंकमा लगानी गरेका नेदरल्याण्ड र मलेसियाका दुई कम्पनीले लाभांशबापत तीन आर्थिक वर्षमा ८ करोड ३६ लाख ३५ हजार रुपैयाँ लगेका छन् । सिभिल बैंकमा लगानी रहेको कोरियाको केडिबी क्यापिटल कम्पनीले तीन आर्थिक वर्षमा ९० लाख रुपैयाँ लाभांश मार्फत् विदेश लगेको छ । यस्तै, डाबर नेपाल, नबिल बैंकमा लगानी गरेको विदेशी कम्पनी एनबि इन्टरनेशनल, नेपाल बंगलादेशमा लगानी रहेको आईएफआइसीको लाभांश भने समेटिएको छैन । [pdf id=321888]