काठमाडौंमा थारुको माघीः यूट्यूब हेरेर घुँगी बनाउदै तामाङ महिला
काठमाडौं । माघी पर्व विशेष गरी तराई-मधेशका आदिवासी थारुहरुको पर्व हो । पर्व मात्रै होइन, नयाँ वर्ष सुरु हुने दिन पनि हो । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, माघी र घुँगी दुबैको पहिचान बदलियको छ । तराई-मधेशको माघी पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन थालेको छ भने परम्परागत थारु परिकार घुँगी अन्य जातिले पनि बनाउन थालेका छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउ छिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् । माघी पर्वको लागि काठमाडौं आउनेको संख्या बढ्दैछ । परापूर्वकालदेखि नै थारु समुदायले प्रमुख पर्वको रुपमा माघीलाई मनाउँदै आएका छन् । यसवर्ष थारु सम्वत २६४० सकिएर २६४१ सुरु भएको छ । २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । बहुजाति, बहुधर्म, बहुसंस्कृति, परम्परा तथा रहनसहन रहेको नेपालमा माघी पर्वको तयारी १ महिनादेखि हुने गर्छ । विशेषगरी दाङ, धनगढी, सप्तरी, नवलपरासी, रौतहट तथा तराईका अधिकांश जिल्लाबाट माघीकै लागि काठमाडौं आउनेको संख्या बढ्न लागेको छ । थारु समुदायका मानिसहरु एकै स्थानमा भेला भएर माघी मनाउने परम्परा छ । आफ्नो दिदी बहिनीसहित सुशिला चौधरी माघी महोत्सवका लागि यसपाली पनि काठमाडौं आइन् । योसहित माघीमा उनी काठमाडौं आएको ५ वर्ष भयो । गत सोमबार विहान काठमाडौं आइपुगेकी सुशिलाले मंगलबार अपरान्ह ४ वजे टुडिखेलमा स्टल राखेकी थिइन् । आफ्नो परम्परा र संस्कृतिलाई ध्यानमा राख्दै माघीकै लागि काठमाडौं आउने उनले थारु समुदायको परिकार घरबाटै तयार पारेर ल्याउने गरेको उनले बताइन् । उदयपुर घर भएकी सुमित्रा चौधरी भने पहिलो पटक काठमाडौंको माघी महोत्सवमा आइपुगेकी हुन् । उनले यस वर्ष पहिलो पटक माघी मेलामा स्टल राखेकी छन् । तर, टुडिखेलामा स्टल राख्न सजिलो छैन । एकदिने मेलाको लागि प्रतिस्टल ७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सुशिलाले वताइन् । भाडा महंगो भएपनि कमाइ पनि हुन्छ । गत वर्ष सुशिलाले ३५ हजार रुपैयाँ कमाएको सुनाइन् । माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ । धनगढीबाट माघी मेलाकै लागि भनेर काठमाडौं आएकी २७ वर्षीय दिपा चौधरीले विगत ४ वर्षदेखि यस मेलामा व्यापार गर्दै आएको छिन् । एक महिनासम्म तयारी गरी माघी मेला कै लागि काठमाडौं आउने गरेको उनले बताईन् । माघी पर्वमा विशेषता माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुना/टपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् । माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् । नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।
नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित
बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस
बल्ल बले ट्राफिक लाईट, १२ ठाउँका लाइट मर्मत गर्न साढे ९७ लाख खर्चियो
काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका ट्राफिक लाइट बल्न थालेका छन् । विगत आठ वर्षदेखि बिग्रिएर थन्केका ट्राफिक लाइटहरु बल्न थालेका हुन् । सडक विभागले ट्राफिक लाइट मर्मतको काम शुरु गरेसँगै ११ ठाउँमा रहेका लाइटहरुले काम गर्न थालेका हुन् । २०५७ सालमा जापान सरकारले जडान गरिदिएको ट्राफिक लाइट बिग्रिएपछि काम गर्न छोडेको थियो । जापान सरकारले लाइट जडान गरेको १० वर्ष चलेपछि बन्द भएका थिए । २०६८ सालदेखि ट्राफिक लाइट बन्द थिए । बन्द भएका लाइट नेपाल सरकारले मर्मत गर्न उत्सुकता देखाएको थिएन । तर, हाल ती सबै ठाउँमा लाइटहरु मर्मत गर्ने काम थालिएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मूख्य कारण पाइएपछि धमाधम बनाइकाे हाे । सडक विभागका सुचना अधिकारी शिबहरी सापकोटाले विभागले धमाधम रुपमा लाइटको मर्मत कार्य गरिरहेकाे बताए । ‘गत वर्ष लाइट मर्मत गर्ने ठेक्का प्रक्रियाकाे कार्य सम्पन्न गरेर यो वर्षदेखि लाइट मर्मत गर्न शुरु गरिएको हो, त्यतिखेर डेढ करोड रुपैयाँको अनुमान आएपनि २७ प्रतिशत बिगोमा ठेक्का लगाएर काम शुरु गरिएको हो,’ उनले भने । १२ वटा ठाउँको ट्राफिक लाइट मर्मत गर्न ९७ लाख ५० हजार रुपैयाँको ठेक्का दिएको उनले बताए । लाइटको अवस्था हरेर त्यसको लागत लाग्ने उनकाे भनाइ छ । ११ ठाउँकाे बत्ती बलेपनि एक ठाउँमा अझै बलेकाे छैन । कुन कुन ठाउँमा बले ट्राफिक लाइट ? हाल काठमाडौं उपत्यकाको ११ ठाउँमा ट्राफिक लाइट बलेका छन् । उपत्यकाको पुतली सडक, पद्मोदयमोड, सिँहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तिनकुने (बानेश्वर तर्फ), तिनकुने (एयरपोर्ट तर्फ), मुनिभैरव, ठिमी चोक र महापाल चोकका ट्राफिक लाइटहरु काम गरिरहेका छन् । यी सबै लाइटको व्यवस्थापन ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा ‘कनेक्सन’ गरिएको छ । यस्तै, केशरमहल, संग्रहालय दक्षिण गेट, माईतीघर, थापाथली, कालिमाटी, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, कौशलटार, सल्लाघारी र नारायण गोपाल चोकका लाइटहरुले काम गर्न सकेका छैनन् । उपत्यकामा दिनानुदिन सवारी साधनको चाप बढ्दो छ । यही बढ्दो चापलाई नियन्त्रण गर्न र उपत्यकाको ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन विभागले लाइट मर्मतको काम थालेको हो । ट्राफिक लाइट मर्मतको ठेक्का यार्सा टेक्नोलोजीले पाएको छ । यस्तै, काठमाडौं महानगरपालिको लगानीमा महाराजगन्ज चोक र शिक्षण अस्पताल अगाडि जेब्राक्रसमा पैदल यात्रुका लागि लाइट व्यवस्थापन गरिएको छ । साताभित्र थापाथली, कालिमाटी र मित्रपार्कमा पनि लाइट बनाइसक्ने बताइएको छ । इन्टरनेटको माध्यमबाट कुन चोकमा कुन लाइट कति समय थपघट गर्ने भन्ने चलाउन सकिन्छ । ‘कति मिनेटपछि लाइट रिभर्स हुने अर्थात् काउन्टिङ डिस्प्ले बनाउने भन्ने अब ट्राफिक प्रहरी कक्षबाटै गर्न सकिने भएकाे छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदम बहादुर बिष्टले भने । उनले उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको बताए । यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ । उनका अनुसार, चोक चोकमा ट्राफिक लाइटको अभावमा प्रत्येक चोकमा चारदेखि छ जना ट्राफिक प्रहरी खटाउनु परेको छ । यी सबै स्थानमा ट्राफिक लाइट हुने हो भने जनशक्ति पनि कम लाग्छ र ट्राफिक व्यवस्थापन पनि प्रविधिमा आधारित भएर चल्ने उनकाे भनाइ छ । ‘ट्राफिक लाइट जडान भए पछि सम्पूर्ण ट्राफिक व्यवस्थापन सिस्टममा चल्छ, सडकमा सवारीको चाप र जामको समस्या आफैँ समाधान हुन्छ, ट्राफिक नै उभिएर ट्राफिक व्यवस्थापन गर्दा एकातिर पाँच मिनेट रोक्न सक्छ र अर्कोतिर आठ मिनेट रोक्न सक्छ । यसले गर्दा पनि जाममा परेका सर्वसाधारण रुष्ट हुन सक्छन्,’ उनले भने । यो प्रविधि नेपाली इन्जिनियरहरुले नै विकास गरेका हुन् । बिग्रेको अवस्थामा उनीहरुले नै मर्मत गर्ने सहमति भएको छ ।