नेपालमा साढे चार करोड पर्ने ‘ल्याण्ड क्रुजर’ १ करोड यूनिट बिक्री, खास के छ यसमा ?
काठमाडौं । जापनिज अटोमोवाइल म्यानुफेक्चर कम्पनी टोयोटाको लङ्गेस्ट रनिङ्ग मोडेलको रुपमा रहेको छ ‘ल्याण्ड क्रुजर’ । सन् १९५१ बाट उत्पादन सुरु भएको सो मोडेलको आजका वर्षसम्म आइपुग्दा कुल एक करोड युनिट बिक्री भइसकेको छ । फोर–व्हिल ड्राइभमा आधारित ल्याण्ड क्रुजरको नेपालमा भने ‘भिएक्सआर’ भेरियन्ट उपलब्ध रहेको छ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले यस फुल–साइज एसयुभिको मूल्य चार करोड ५२ लाख रुपैयाँ तोकेको छ । यस एसयुभिका फिचरहरुको रुपमा ४.२ इञ्च टीएफटी सहितको थ्रीडी फेस डायल्स, लेदर र्याप्ड स्टेयरिङ्ग, वायरलेस फोन चार्जर, ४ जोन एयर कण्डिसनिङ्ग, फ्रन्ट र रियर एलईडी फग ल्याम्प, स्टेयरिङ्ग एडजस्टमेन्ट, स्टेयरिङ्ग माउण्टेड अडियो, प्याडल सिफ्ट, अटोमेटिक हेडलाइट, कर्नरिङ्ग लाइट्स, रेन सेन्सिङ्ग वाइपर्स जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी, ल्याण्ड क्रुजरको सेफ्टी फिचरको रुपमा १० ओटा एसआरएस एयरब्यागहरु, ईबीडी सहितको मल्टि टेरेन एबीएस, हिल स्टार्ट, डाउनहिल एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, क्रुज कन्ट्रोल, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् । यस एसयुभीमा ४४६१ सीसी ८ सिलिण्डर डिजेल इञ्जिन समावेस छ जसले २६१ बीएचपीको पावर र ६५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा ६–स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने यसले ११ केएमपीएलको माइलेज प्रदान गर्दछ । ल्याण्ड क्रुजरले ० देखि १०० को स्पिड ९.२ सेकेन्डमै तय गर्न सक्छ भने यसले २०० केएमपीएचको टप स्पिड पनि दिन्छ भनेर कम्पनीले दावी गरेको छ । ७ सिटर यस एसयुभिको लम्वाई ४९५० मिलिमिटर, चौडाई १९८० मिलिमिटर र उचाई १९१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ । त्यसैगरी २५८ लिटरको बुट स्पेस रहेको यस एसयुभिको फ्युल ट्याङ्क क्यापासिटी ९३ लिटरको रहेको छ । ल्याण्ड क्रुजरको चारओटै चक्काहरुमा भेन्टिलेटेड डिस्क ब्रेक दिइएको छ । युनाइटेड ट्रेडिङ्ग सिण्डिकेटले जनाए अनुसार हाल यस कारको खरिदमा पाँच लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको छ ।
‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक
काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु सँगै बैंकले नयाँ इतिहास र नयाँ उचाइ प्राप्त गरेकाे हाे । कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यी सबै परिसूचकमा नेपालका अरु बैंकहरु भन्दा ग्लोबल आईएमई अगाडि छ । ‘केही वर्षअघि मात्र राष्ट्रिय वाणिज्य बैंकले १०० अर्ब निक्षेप पुर्याएको दिन मैले गभर्नरको हैसियतमा राष्ट्रिय वाणिज्य बैंक नेतृत्वलाई बधाई दिएको थिए । नेपालका बैंक पनि ठूलो भए भन्ने लागेको थियो’ अर्थमन्त्री युवराज खतिवडाले भने-‘अहिले ग्लोबल आइएमई बैंकको निक्षेप २१३ अर्ब भयो, कर्जा लगानी २०० अर्ब नजिक पुग्यो । प्राथमिक पुँजी २४ अर्ब पुग्यो भन्दा मलाई निकै खुशी लागेको छ ।’ मर्जसँगै शाखा तथा सेवा केन्द्रको आधारमा पनि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । ७७ वटै जिल्लामा सेवा दिन सक्ने ग्लोबल आइएमई बैंक नेपालको एक मात्र बैंक भएको मर्जपछि ग्लोबल आईएमई बैंकको सञ्चालक रहेका केशवबहादुर रायमाझिले बताए । कर्मचारीको संख्या, ग्राहक संख्या र सरकारलाई राजश्वमा बढी योगदान गर्ने बैंक पनि ग्लोबल आईएमई बैंक हुने अध्यक्ष ढकालले बताए । ‘बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । गत वर्ष दुई बैंकले सरकारलाई ३ अर्बभन्दा बढी राजश्व तिरेको छ । यी आधारमा हामी अग्रणी बैंक भएको छौं’ ढकालले भने । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार शुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा यो मर्जसँग वाणिज्य बैंकको संख्या २७ वटा भएको छ । ३ वटा स्वस्थ्य अवस्थाका वाणिज्य बैंकसहित १८ वटा बैंक वित्तीय संस्था मर्जपछि बनेकाे याे संस्थाले मर्जकाे मामिलामा पनि इतिहास नै बनाएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक ठूलाे भएसँगै जिम्मेवारी पनि ठूलाे भएकाे बताए ।
जब मृत्युलाई जितेर हस्तकलामा रमाएँ !
काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग लडिवुडी गर्दै मान्छे अगाडि बढिरहन्छ । चाहे ऊ दुःखमा होस् वा सुखमा बाँच्ने चेष्टा गर्छ । कतिले जीवन आफुले सोचेजस्तो भएन भनेर भगवानलाई सराप्छन् त कतिपयले भाग्यलाई । खाइलाग्दो ज्यान, चलायमान हातखुट्टा राम्ररी देख्न–सुन्न सक्ने मान्छे । प्रष्ट भनौं एउटा शारीरिक तन्दुरुस्त मान्छेले भगवान र आफ्नो भाग्यमा भर पर्नु उचित होला र ? हो हामी त्यही मान्छे भाग्यको भरमा चलिरहेका हुन्छौं । एकछिन सोचौं त जसको हिँडडुल गर्ने खुट्टा नै चल्दैन उसले के सोच्छ होला ? उसको दैनिकी कसरी चल्छ होला ? उसले जीवनलाई कसरी बुझ्छ होला ? १८ वर्षको उमेर । सायद यो उमेरमा सबैलाई बैँसको उन्माद हुन्छ । धेरैले सोच्छन् पनि सायद मलाई कहिल्यै कुनै दु.ख पनि पर्दैन । धादिङका विष्णु पुकार श्रेष्ठले पनि यस्तै सोचेका थिए १८ वर्षको उमेरमा । खाइलाग्दो ज्यान, सहयोगी भावना, छिमेकी र साथीहरुले सहयोग भनेपछि अगाडि लागि हाल्ने । भन्छन् नि ‘राम्रो मान्छे दैवको पनि प्यारो हुन्छ रे ।’ त्यहि खाइलाग्दो १८ वर्षको उमेरमा विष्णुको जीवनमा ठूलो बज्रपात आइलाग्यो । ‘छिमेकीको घरमा प्लास्टर गर्ने काम भइरहेको थियो, सहयोग भनेपछि म हुरुक्कै हुने, म पनि काममा सघाउन गइहालेँ । काम अलि हतारिएर गर्ने मेरो बानी ।’ गहभरी आँसु निकाल्दै विष्णु भन्छन्, चारतलाको त्यो घरबाट म खसेछु, मैले थाहै पाइनँ । म बेहोस थिएँ । साथीहरुले वीर अस्पतालमा लिएर आएछन् । एकदिन पछि मेरो होस आयो । दुबै खुट्टाले काम गर्न छोडि सकेका थिए । मलाई यो सब सपनाझैँ लाग्यो ।’ उनले भने । गहभरी थुपारिएका आँसु तप्प चुहाउँदै विष्णुले भने, ‘मेरो मेरुदण्ड भाँचिएछ ।’ डाक्टरले विस्तारै ठीक भइहाल्छ भनेका थिए । त्यति सम्म कि पहिले जस्तै खुट्टा पाउने आशा थियो । पहिलेको जसरी नै हिड्ने, साथीसंगीलाई सहयोग गर्ने उनकाे आश कायमै थियो ।’ तर एक वर्षसम्म अस्पताल बस्दा पनि उनको खुट्टा ठीक भएन । उपचारमै १२ लाख रुपैयाँ सकियो । अब त उनको आशा पनि मर्यो । अन्तिममा केही नलागे पछि पहिलेको जस्तै खुट्टा पाउने आश मार्दै धादिङ फर्केर गए, उनले सुनाए । उनको त्यतिखेर दैनिकी एकदमै कष्टकर रह्यो । उनी भन्छन्, ‘एक मनले भन्थ्यो बाँच्नु धिक्कार छ, अर्को मनले भन्थ्यो केही गरेर देखाउनु पर्छ, म मेरो जीवनको घनचक्करमा थिएँ ।’ दुई वर्ष जसोतसो धादिङमै कटाएर पछि फेरी काठमाडौं आएको उनी बताउँछन् । काठमाडौंमा आएपछि बीआईएमा उनको घरमा आमाबुवा र ३ दिदिबहिनी छन् । धादिङबाट काठमाडौं आएसँगै विष्णु बीआए फाउण्डेसनमा भर्ना भए । जब उनी बीआईए फाउण्डेसनमा पुगे उनले देखेको र भोगेको संसार भन्दा त्यहाँकाे वातावरण अलि पृथक पाए । किनकी उनी जस्तै अपाङ्गता भएका मानिसहरु त्यहाँ धेरै थिए जसले उनलाई म मात्र अपाङ्ग रहेनछु भन्ने बोध गरायो । म जस्ता धेरै रहेछन् भनेर मैले चित्त बुझाएँ । उनले भने । बीआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर बसेका, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो । हुन पनि बीआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका पुरुष र महिलाहरु छन् । हाल फाउण्डेसनले त्यस्ता व्यक्तिलाई उनीहरु अनुसारको सिपमूलक काम सिकाउँदै आएको छ । सिप सिकाएर प्रमाणपत्र मात्र होइन उनीहरुलाई स्वावलम्वी बनाउने काम गरिरहेको छ । उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेका छन् । त्यहाँ पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन् । ह्विल चेयर म्याराथुनमा तृतिय खेलकुदप्रतिको उनको लगाव सानै देखिको हो । सानैदेखि खेल खेल्न मन पराउने उनी जब शारीरिक रुपमा अशक्त भए तब उनको खेल खेल्ने चाहना अधुरै रह्यो । हुनत खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले आफ्नो खेल खेल्ने सपना भने त्यसै मर्न दिएनन् । गत वर्ष फागुनमा बीआइए फाउण्डेसनले आयोजना गरेको तेस्रो ह्विल चेयर म्याराथुन प्रतियोगितामा उनी तेस्रो भए । २०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विष्णु तृतिय भएका थिए । उनी भन्छन्, अहिले पनि सक्ने जति प्रतियोगिताकमा सहभागिता जनाउँदै आएको छु । धेरै पढेर ठूलो मान्छे बन्ने सपना सबैको हुन्छ । त्यस्तै सपना उनले पनि बुनेका थिए । तर अशक्त भएकै कारण उनकाे कक्षा १० सम्ममा नै शैक्षिक योग्यता स्थगन हुन पुग्यो । बास्केट, क्रिकेट र स्विमिङ उनको फेवरेट खेल हुन् । राम्रो खेलाडी बनेर सेनामा जागिर खाने उनको इच्छा इच्छामै सीमित रह्यो । सेना बनेर देशको सेवा गर्ने मेरो सपना अधुरै रहेको उनी गुनासो गर्छन् । कोरेका चित्र विदेशमा निर्यात हाल उनी २७ वर्षका भए । अहिले बिआईएमा नै बसेर विभिन्न प्रकारका चित्रहरु कोर्ने काम गरिरहेका छन् । उनले विभिन्न प्रकारका चित्र थान्का पेन्टिङ गरेको पनि ६/७ वर्ष भइसकेको छ । उनीसँगै बीआईएमा धेरै साथीहरु बस्दै आएका छन् । उनी अहिले स्पाइनल (मेरुदण्ड)को समस्याले ग्रसित छन् । उनीहरुले कारेका चित्रहरु प्रायजसो विदेशमा निर्यात हुने गरेका छन् । उनले हालसम्म ५०/६० पेन्टिङ गरिसकेका छन् । विदेशीहरुले एउटा पेन्टिङको ५/६ लाख रुपैयाँ सम्म दिने गरेको उनी बताउँछन् । तर बेचेको चित्रको पैसा बीआईएले नै राख्ने गरेको छ । जसले गर्दा उनीहरुको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको फाउण्डेसनले बताएको छ । उनले हालसम्म विभिन्न व्यक्तिका पेन्टिङ, बुद्धको चित्र तारा लगायत विभिन्न चित्रहरु कारेका छन् । पेन्टिङका लागि पेपर कलर, ब्रस लगायत सामानहरु चाहिने उनी बताउँछन् । एउटा राम्रो चित्र कोर्न ४/५ महिना सम्म पनि लाग्ने गरेको छ । उनी हाल फाउण्डेसनमानै बसेर थान्का पेन्टिङ सिक्दै र कोर्दै आएका छन् । जीवन सकियो भन्ने लागेको थियो उनी भन्छन्,‘अहिले पहिले जस्तो बोर लाग्दैन, चित्र कोर्नमै व्यस्त हुन्छु । अब त खुसी नै छु ।’ अहिले उनी जीन्दगी खुसीका साथ बाँच्ने अठोट गर्छन् । अहिले ह्विल चेयर नै उनकाे सारथी बनेकाे छ ।