मासिक डेढ लाखको जागिर छोडेका युवा ६ अर्बको बजारमा जम्दै, १० वर्षकाे वारेन्टीसहित नयाँ उत्पादन ‘सिल्कवेयर’
राजन झा, निर्देशक- जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लि. छोटो अवधिमा ग्लोवल आईएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक हुँदै प्रोगे्रशिभ फाइनान्स लिमिटेडको डेपुटी सीईओ बनेका थिए राजन झा । मासिक करिब डेढ लाख रुपैयाँ तलब थियो । जागिर खानेहरुको लागि रोजाईको क्षेत्र बनेको बैकिङ क्षेत्रमा अझै उनले ३० औं वर्ष काम गर्न सक्थे । लण्डनबाट एमबीए गरेका झा वाणिज्य बैंकमा सीईओ बन्ने सम्भावना छँदै थियो । सबैलाई थाहा भएकै विषय हो वाणिज्य बैंकहरुको सीईओले वार्षिक २÷३ करोड रुपैयाँ बराबर तलब सुविधा पाउँदै आएका छन् । तर झा यो संसारमा रमाउन सकेनन् । धेरै नेपाली युवामा जागिर छोडेर उद्यमी तथा व्यवसायी बन्ने चाहाना बढेको छ । त्यस मध्येका एक हुन् राजन झा । उनी बैकिङ क्षेत्रबाट बाहिरिए । उनी अहिले उद्योग तथा व्यापारको क्षेत्रमा जम्दैछन् । उनी हाल जोनसन इन्टरनेशनल तथा इन्टरनेशल सिमेन्ट प्रा.लिका निर्देशक हुन्, पुँजी लगानीसहित । जोनसन इन्टरनेशनलले सिल्कवेयर ब्राण्डका धारा तथा फँसिट्, स्यानीटरी, एक्सेसरी उत्पादन गर्दैछ भने इन्टरनेशनल सिमेन्ट प्रा.लिले ओम सिमेन्ट उत्पादन गर्छ । सेवा तथा व्यापारजन्य व्यवसाय भन्दा उद्योग चलाउनु नेपालको लागि कठिन मानिन्छ । तर उनी त्यसलाई ‘हेर्ने नजर’ हो भन्छन् । ‘उद्योग व्यवसायबाहेक मोटिभेटर पनि हुँ । सकारात्मक सोचका साथ हेर्ने हो भने नेपालमा औद्योगिक क्षेत्रको सम्भावना धेरै छ’ उनले भने । उद्योग नै रोज्नुको कारणबारे उनले भने ‘बैदेशिक व्यापार घाटा धेरै नै छ । त्यसलाई कम गर्न औद्योगिक विकास हुनैपर्छ ।’ उद्योगमा पैसासँगै पहिचाहन पनि जोडिएको उनले बताए । चट्याङ मास्टरको व्याङ्ग्यात्मक कवितामा भनिएको छ ‘उद्योग नखोल बाबु, पार्टी खोल’ । त्यसमा यो देशमा उद्योगीहरुले भोग्नु परेको पीडा व्यक्त गरिएको छ र नेपालमा उद्योग चलाउनु सबैभन्दा गाह्रो कामको रुपमा चित्रण गरिएको छ । तर उद्यमी राजन झा उद्योग खोलेकोमा, उद्यमी भएकोमा रमाउँछन् । ‘नेपालमा भन्दा सिरियामा बहुत धेरै गाह्रो छ विजनेश गर्न । इरानमा झन् गाह्रो । त्यहाँ भन्दा नेपालमा व्यवसाय गर्न धेरै सजिलो छ ।’ उनी परिभाषामा गए । ‘उद्यमशिलता भनेको साहासिक काम हो । जोखिम लिनुपर्छ । व्यवस्थापन राम्रो हुनुपर्छ । तत्कालिन र दीर्घकालिन योजना, नीति, रणनीति लिनुपर्छ’ छोटकरीमा बताए । राजन झा उद्योग क्षेत्रमा संलग्न भएको एक वर्ष मात्र भयो । तर उनलाई लाग्दैन कि यो क्षेत्र मेरो लागि नयाँ छ । भन्छन्–‘बैकिङ क्षेत्रमा बसेर मैले उद्योग व्यवसायलाई राम्ररी हेरेको छु । ओल्टाईपल्टाई हेरेको छु । शून्यबाट ठूलो उद्योग भएको पनि हेरेको छु । ठूलो उद्योग शून्यमा झरेको पनि देखेको छु । बैंकका ऋणिहरु को कहाँ चुके, हामी बैंकमा बसेर राम्ररी देखेका छौं ।’ विश्वविद्यालयका प्राध्यापकले राजनीति सिकाउँछन् तर राजनीति गर्न वा सत्ता चलाउन जान्दैनन् । समाचार कसरी लेख्ने भनेर पत्रकारका गुरुहरुले सिकाउँछन् तर उनीहरु आफै गज्जब राम्रो समाचार लेख्न सक्दैनन्, जान्दैनन । बैंकर्सले कसरी उद्योग चलाउन सक्छ ? हामीले प्रश्न गर्यौ । प्रश्नमा उद्यमी झा सहमत भए । र, थपे–‘नजरिया पनि हो । हामीले विश्लेषण गरेका छौं । मैले मेरो क्षमता बुझ्ने प्रयास गरेको छु । जे सोच्छौं, त्यो गर्न सक्छौं । थ्याङ्स गड (भगवानलाई धन्यवाद) । एक वर्षमा मैले जे गर्न प्रयास गरे, त्यसमा म सफल भएँ ।’ मौका मिलेसम्म अरुलाई उत्प्रेरणा दिने झाले आफैलाई प्रेरित गरे । ‘आफूलाई बुझौ । भ्रमबाट बाहिर निष्कौं । विनासर्त खुशी हुने प्रयास गरौं ।’ सिमेन्ट उद्यमी राजन झा इन्टरनेशनल सिमेन्ट प्रा.लिका सञ्चाकल हुन् । एक वर्ष भयो ओम सिमेन्टको सञ्चालक भएको । विरगञ्जमा रहेको यो उद्योगले ओम ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भएको छ । यो अवस्थामा आएको नयाँ कम्पनीले राम्रो नतिजा दिईरहेको छ’ उनले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगको क्षमता छ । ओपीसी, पीपीसी सहित दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उनले जानकारी दिए । निर्माण क्षेत्रका काम बन्द जस्तै छ । सिमेन्ट र स्टीलको बिक्री घटेको छ । मूल्य पनि घटेको छ । तर झा निरास छैनन् । सरकारले बिटुमिन सडकको सट्टा कंक्रिट सडक बनाउन जोड दिने हो सिमेन्ट तथा स्टील उद्योग फस्टाउने उनको तर्क छ । भारत लगायत विकसित देशमा पनि कंक्रिट रोडको प्रयोग बढ्दैछ । यस्तो सडकको आयु पनि बढी हुन्छ । त्यस्तै, वायु प्रदुषण कम हुन्छ । यस्तो सडकमा गुड्ने सवारीको टायरको आयु भने छोटो हुनेछ । ‘सिमेन्ट उद्योगको लागि तत्कालका लागि केही कठिन छ तर भविष्य राम्रो देख्छु’ उनी आशावादी भए । सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा विदेशी लगानीको विरोध गरिरहेको छ । विदेशी लगानीले नेपालीको लगानी जोखिममा परेको धारणा पनि आईरहेको छ । राजन झा पनि यस संघको कार्यसमितिको सदस्य हुन् । भन्छन्–‘नेपालीहरुको लगानीले नै सिमेन्ट उद्योगमा हामी आत्मनिर्भर भएका छौं भने विदेशी लगानी आवश्यक पर्दैन ।’ ढुवानी लागत बढी हुने भएकोले सिमेन्ट निर्यात गर्न पनि नसकिने उनले बताए । दुई वर्षअघि ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ९०० रुपैयाँ माथि थियो । पीसीसी सिमेन्टको मूल्य ८०० भन्दा माथि थियो । अहिले ओपीसी ७०० र पीसीसी ६०० रुपैयाँमा झरेको छ । प्रतिस्पर्धाले उपभोक्तालाई लाभ पुगेको छ तर अवस्था यहि रह्यो भने सिमेन्ट उद्योगमा लगानी भएको पुँजी डुब्ने उनको बुझाई छ । ध्यान ६ अर्बको बजारमा केन्द्रीत युवा उद्यमी झा सिमेन्ट उद्योगमा मात्र सीमित छैनन् । उनले ‘सिल्कवेयर’ ब्राण्डका धारा उत्पादन थालेका छन् । घर तथा अफिसका किचेन, वासरुम, वाथरुममा प्रयोग हुने धाराहरु बजारमा ल्याईसकेका छन् । ‘हामीले काम थालेको ३ वर्ष भयो । जोनसन इन्टरनेशनलले उत्पादन गरेको सिल्कवेयर बजारमा उपलब्ध भईसकेको छ । औपचारिक रुपमा सार्वजनिक गरिएको छैन’ उनले भने–‘जोनसन इन्टरनेशनलले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाइसकेको छ ।’ सिल्कवेयर ब्राण्डका सामानमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको, १० वर्षभन्दा अघि बिग्रियो भने ७२ घण्टाभित्र नयाँ दिएर पुरानो फिर्ता लिने सुविधा ग्राहकलाई दिएको उनले बताए । जापानीज टेक्टोलोजिमा स्पाण्डल बनाईएको, जर्मन टेक्नोलोजिमा यसका जाली बनाएको यी धारा नेपाली भएपनि उच्च गुणस्तरको भएको उनले बताए । ७०० देखि ८००० रुपैयाँ पर्ने धाराहरु बजारमा उपलब्ध रहेको उनले जानकारी दिए । विरगञ्जमा उद्योग भए पनि यो उत्पादन देशभर बिक्री गर्न सकिने झाले बताए । नेपालमा खपत हुने सबै धारा विदेशबाट आयात हुन्छन् । नेपाली उत्पादन सिल्कवेयर मात्र हो । ‘हामीले आयातलाई पूर्णत विस्तावित गर्न समय लाग्छ तर हामी छोटो अवधिमा बजारमा विश्वास जित्नेछौं’ झाले भने । विदेशबाट आउने जुनसुकै प्रडक्टसँग प्रतिष्पर्धा गर्न सिल्कवेयर सक्षम हुने उनले बताए । बाथरुममा प्रयोग हुने स्यानीटरी, फँसिट्, एक्सेसरी सामानको बजार वार्षिक ६ अर्ब रुपैयाँ भन्दा बढीको भएको उनको अनुमान छ । यी सबै सामान उत्पादन गर्ने क्रममा रहेको उनले बताए । सबै सामान उत्पादन भईसकेपछि बजारिकरण गर्ने उनको तयारी छ ।
एनएमबि बैंकका सेयरधनीले ५०% कमाउँदा नेपाल बैंकका लगानीकर्ता ९% मा चित्त बुझाउँदै
काठमाडौं । राम्रो कम्पनीको सेयरमा लगानी गर्दा बजार घट्दा पनि नाफा नै हुने रहेछ । तर खराब कम्पनीको सेयर छान्नु भयो भने पुर्पुरोमा हात राखेर दिग्दारी मान्नुको विकल्प छैन । करिब डेढ वर्षअगाडि उस्तै प्रकृतिका दुई बैंकको सेयरमा गरिएको लगानी र त्यसबाट लगानीकर्ताले पाएको प्रतिफलबारे तुलनात्मक विश्लेषण यहाँ गरिएको छ । २०७५ जेठमा एनएमबी बैंकले जारी गरेको एफपीओमा लगानी गर्नेले करिब ५० प्रतिशत नाफा आर्जन गरेका छन् भने २०७५ असारमा जारी गरेको नेपाल बैंकको एफपीओमा लगानी गर्नेले करिब ९ प्रतिशतको मूल्य वृद्धिमा चित्त बुझाउनु परेको छ । बैंकले २०७५ जेठमा अंकित मूल्य १०० रुपैयाँको सेयरमा प्रिमियम मूल्य २३३ रुपैयाँ थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । जसमा लगानी गर्ने लगानीकर्ताको लगानी हालसम्ममा करिब ५० प्रतिशतले वृद्धि भएको छ । एनएमबि बैंकको एफपीओमा १००० कित्ता सेयर किन्न ३ लाख ३३ हजार लगानी गर्नेहरु अहिले ४ लाख ९८ हजार ९५९ रुपैयाँको मालिक भएका छन् । १ लाख ६५ हजार ९५९ रुपैयाँ चोखो नाफा गरेका छन् । अर्थात ४९ दशमलव ८३ प्रतिशत नाफा आर्जन गरेका छन् । एफपीओ बाँडफाँडपछि बैंकले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लाभांश वितरण गरेको छ । एफपीओका लगानीकर्ताले बोनस सेयर मात्रै २५ प्रतिशत पाइसकेका छन् । उनीहरुले अघिल्लो वर्षको नाफाबाट १५ प्रतिशत र पछिल्लो वर्षमा १० प्रतिशत बोनस पाएका छन् । १००० कित्ता लगानी गर्ने लगानीकर्ताको १५ प्रतिशत बोनसपछि ११५० कित्ता सेयर पुगेको थियो । त्यसपछि अर्को पटकको १० प्रतिशत बोनसपछि सेयर कित्ता बढेर १२६५ पुगेको छ । कात्तिक २७ गते कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँमा बन्द भयो । १२६५ कित्ता सेयर अहिलेको सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँको दरले कूल चार लाख ७८ हजार १७० रुपैयाँ हुन आउँछ । बोनससँगै बैंंकले दुई वर्षमा २०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गरेको छ । लगानीकर्ताले पहिलो वर्षमा बैंकले ०.७८९५ प्रतिशत र दोश्रो वर्षमा २० प्रतिशत नगद लाभांश पाएका थिए । एफपीओमा १००० कित्ता लगानी गर्ने लगानीकर्ताले दुई वर्षको नगद लाभांश मार्फत २० हजार ७८९ रुपैयाँ नगद पाइसकेका छन् । अर्को खुशीको समाचार पनि छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने भएको छ । धेरै कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकहरुले सेयरधनीको आलोचना खेपिरहेको बेलामा एनएमबि बैंकका उच्च व्यवस्थापक र सञ्चालकहरुले लगानीकर्ताको तर्फबाट स्यावासी पाईरहेका छन्, प्रशंसा खाईरहेका छन् । नेपाल बैंकका लगानीकर्ता निराश एनएमबि बैंकको एफपीओसँगै नेपाल बैंक लिमिटेडले पनि एफपीओ जारी गर्यो । उसले २०७५ असार ०५ गतेदेखि एफपीओ बिक्रीमा राखेको थियो । बैंकले २०७५ असारमा अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य १८० रुपैयाँ थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ जारी गरेको थियो । उक्त एफपीओमा लगानी गर्ने लगानीकर्ताले अहिलेसम्म लाभांशको स्वाद चाख्न पाएका छैनन् । बजार मूल्य पनि खासै वृद्धि भएको छैन । बुधबार नेपाल बैंकको सेयर कारोबार बन्द हुँदा प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको छ । १००० कित्ता सेयर किन्नले २ लाख ८० हजार रुपैयाँ लगानी गरेको थिए । अहिले बेच्दा ३ लाख ५ हजार आउँछ । अर्थात सेयरको भ्यालु जम्मा ८.९३ प्रतिशतले मात्र वृद्धि भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश बाढ्ने जनाएको छ । यस बैंंकका सेयरधनीले २३ वर्षपछि लाभांश पाउँदैछन् । तर साधारणसभा र लाभांशको टुङ्गो लाग्न बाँकी छ । सँगसँगै जसो एफपीओ बिक्री गरेका र बजारमा पनि ३०० भन्दामाथि सेयर मूल्य रहेका यी दुई बैंकको सेयर भ्यालुमा झण्डै ४१ प्रतिशतको अन्तर छ । नेपाल बैंकको तुलनामा एनएमबि बैंकको एफपीओ मूल्य र हालको सेयर मूल्य दुबै बढी भएकाले सेयर भ्यालूमा उक्त भिन्नता देखिएको भन्ने लाग्न सक्छ तर यस कारणले मात्र होइन । कुनै कम्पनीको सेयर भ्यालु बढ्नुमा उसले दिएको लाभांशको पनि ठूलो भूमिका हुन्छ । नेपाल बैंकले हालसम्म बोनस सेयर त परै जाओस् नगद लाभांश समेत सेयरधनीलाई दिएको छैन । यसकारणले कम्पनीको सेयर भ्यालु एनएमबि बैंकको भन्दा कम भएको हो । एनएमबिले दुई वर्षमा कूल २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गरेकाले बैंकको सेयर भ्यालू ५० प्रतिशतले बढ्न पुगेको हो ।
चण्डिराज ढकाललाई ३ अर्ब ८५ करोड ऋण मिनाह गरिदै, राजनीतिक संरक्षणमा बैंकलाई नोक्सानी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक बदमाशी हुन लागेको छ । अपारदर्शिक आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरि भित्रभित्रै गोप्य निर्णय हुन लागेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष चण्डिराज ढकालको कम्पनी मोमेन्टो एपरल्सले लिएको ऋणमा ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ मिनाह गर्ने अन्तिम तयारीमा बैंक पुगेको छ । उक्त ऋण मिनाहको निर्णय अपारदर्शी रुपमा हुन लागेको स्रोतले जनाएको छ । ‘आज भोलि नै निर्णय हुनसक्छ । यस निर्णयबाट बैंकले ठूलो नोक्सानी बेहोर्दैछ’ स्रोतले भन्यो । मोमेन्टो एपरल्सले लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले स्वीकार गरे । साँवा र साँवाको आधा व्याज लिएर २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा ३१ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको थियो । साँवा र साँवाको आधा व्याज जोडेर ४७ करोड ३४ लाख रुपैयाँ तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए । बैंकको कर्जा शाखाले दिएको जानकारी अनुसार यसरी कर्जा पुर्नसंरचना गर्दा बैंकलाई ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ नोक्सान हुनेछ । ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम त्यति पुगेको हो । २०५० सालमा शुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसका नियमित ब्याज ८६ करोड ४० लाख रुपैयाँ, पेलान ब्याज ९ करोड २७ लाख रुपैयाँ, व्याज पुँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ । कर्जा मिनाह गर्न लागेको विषयमा आफूलाई जानकारी नभएको बैंकमा अध्यक्ष महेन्द्रमान गुरुङले बताए । तर प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस कर्जाको बारेमा अन्तिम निर्णय हुन लागेको बताए । यति ठूलो ऋण मिनाह गर्ने प्रस्ताव सञ्चालक समितिमा नआएको र तत्काल बैंक सञ्चालक समितिको बैठक बस्ने तालिका पनि नरहेको अध्यक्ष गुरुङले विकासन्युजलाई बताए । बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकालले पनि कर्जा पुर्नसंरचना गर्न लागेको जानकारी दिए । ‘रुग्ण उद्योगले पाउने छुट मागेको छु । राष्ट्र बैंकले अहिले पेनाल व्याज, कम्पाउण्ड व्याज लिन नपाउने व्यवस्था गरेको छ’ ढकालले ऋणमा ३ अर्ब ८५ करोड छुट पाउने आधार पेस गर्दै विकासन्युजसँग भने । ढकालले हाल १० करोड रुपैयाँ बैंकलाई बुझाउन लागेका छन् । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने । चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको स्रोतले बतायो । ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच पछिल्लो समय निकै राम्रो सम्बन्ध स्थापित भएको छ । ‘यो कर्जामा सबै डिल सीईओले गर्नु भएको छ, माथि कै संरक्षणमा यस्तो भएको होला’ बैंक उच्च व्यवस्थापनमा रहेर काम गरिरहेका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने । ‘सरकारी बैंक हो । राजनीतिक नेतृत्वको संरक्षण पाएपछि सीईओले जे भन्यो त्यहि हुन्छ । हाम्रो केही लाग्दैन’ उनले भने । राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कै अगुवाईमा वाणिज्य बैंकको सीईओमा किरण श्रेष्ठ नियुक्त भएकोले यति ठूलो कर्जा मिनाहमा तालमेल मिलेको स्रोतले बतायो ।