सुरुङमार्गः सेयरमा उठाएको मात्रै हैन, सर्वे गर्दा खाएको र बसेको पैसा पनि तिर्न बाँकी
काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो । तर, उनको सपना २०७६ साल बितिसक्न लागे पनि पूरा भएको छैन । सपना पूरा नभएको मात्रै होइन, अब सुरुङमार्ग नबन्नेमा उनी पनि ढुक्क जस्तै छन् । काठमाडौं–हेटौंडा सुरुङमार्ग लामालाई अचेल पशुपाति शर्माको ‘लुटनसके लुट कान्छा…’ भन्ने गीत जस्तै लाग्न थालेको छ । सडक बन्ने कुरा गफ मात्रै जस्तो अनुभूति हुन थालेको छ । भीमभेदीमा रहेको लामाको सगरमाथा होटलमा सर्वे गर्ने टोली बस्यो । गाउँको मात्रै होइन, देशको मुहारै फेरिने परियोजनाका सर्वे गर्ने व्यक्तिहरुलाई राख्न पाउँदा लामाको खुसीको सीमा नै रहेन । उनले राम्रोसगँ सञ्चालन भइरहेको होटलमा सर्वेका लागि आएकाहरुलाई खाने बस्ने व्यवस्था सकेसम्म राम्रो पनि गरे । मकवानपुरबासी, व्यवसायी, राजनीतिक दलका नेता र उद्योगीसँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको कम्पनीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा लामा निकै उत्साहित थिए । सरकारले नगरेपछि हामी गछौंं भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) मार्फत सुरुङमार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने लामालाई विश्वास थियो । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको थियो । भीमफेदीमा नै किराना पसल, होटल र घर भएका लामाले यो अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले आफ्नो बुवा अंकल लामाको नाममा १० हजार रुपैयाँको सेयरसमेत किने । आफ्नै घर छेउमा सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी चिन्तित मात्रै होइन, आक्रोसित पनि छन् । लामाजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश छन् । सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सर्वेका लागि पठाएका व्यतिmहरुले खाना खाएको, र बसेको पैसा लिन कम्पनीको मुख्य कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट पैसा नपाएपछि लामालाई आफू ठगिएको हो कि भन्ने शंका लाग्न थालेको थियो । लामाले कम्पनीका कर्मचारीहरुले होटलमा खाना खाएको र बसेको पैसा अझसम्म पाएका छैनन् । र, सेयर वापत दिएको रकमको अत्तोपत्तो छैन । अरु सेयरबाट मात्रै ठगिएको छन् । धेरै सर्वसाधारणसँग एनपीबीसीएलले संस्थापक लगानी भन्दै करिब ३२ करोड रुपैयाँ उठाएको छ । तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुको छ । रकम सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् । कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र सर्वसाधारणबाट सेयर स्वरुप उठाएको रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् । सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु भएको छैन । २०६९ सालमा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टी जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् । एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् । भिडियोः प्रकाश वाग्ले सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र
देशभरका ५४ विमानस्थलः कुन विमानस्थल कस्तो अवस्थामा ?
काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नतीमा तिव्रता दिएको छ । पछिल्लो समय सरकारले देशभरका ५४ विमानस्थलको विस्तार तथा स्तरोन्नतीमा तिव्रता दिएको हो । देशभर रहेका ५४ विमानस्थलहरुमध्ये कुनै निर्माणको प्रक्रियामा छन् भने कुनै निर्माण भइसकेका छन् । निर्माण भइसकेका कतिपय विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन्। अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् तर ति विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ । विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाई, जनसंख्याको चापको कमि, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियामक निकाय बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार देशभरका विमानस्थलहरुको बारेमा जानकारी गराउँदै सरकारले विमानस्थल स्तरोन्नतीमा बढी प्राथमिकता दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले पछिल्लो साढे दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ र जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा भने ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिक विमानस्थलतर्फ साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । ५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्ने सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतीका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । नेपाल उड्डयन प्राधिकरणले देशको देशको हवाई पूर्वाधार र त्यसको निर्माणका लागि सो रकम खर्च हुने बताएको हो । प्राधिकरणले गर्दै आएको काम र आगामी गर्ने कामको बारेमा जानकारी गराउँदै प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना भएको बताए । । त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा हुनेछ । यस्तै, आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने भएको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुने प्राधिकरणले जनाएको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने अधिकारीले बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थल विस्तार, दुर्गमका विमानस्थलमा रनवेलाई नियमित मर्मत गर्ने गरी काम भइरहेको बताए । विभिन्न विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण गर्ने काम पनि भइरहेको उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५४ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तराष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थलहरु रहेका छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् । तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । सरकारले अहिले त्रिभुवन, नीजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेकाे छ । हाल गौतमबुद्धकाे भाैतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएकाे जनाइएकाे छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तराेन्नती गर्ने विभिन्न कार्य सकिएकाे छ भने केही काम गर्न बाँकी रहेकाे बताइएकाे छ । नीजगढ विमानस्थलकाे भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै, पाेखरा क्षेत्रिय विमानस्थलकाे पनि निर्माण कार्य भइरहेकाे छ । याे विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएकाे छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै, रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन । १६ विमानस्थल बन्द अवस्थामा हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् । यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् । जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । महानिर्देशक पाेखरेलले अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए । कुन प्रदेशमा कति विमानस्थल ? हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् । भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । ती विमानस्थलहरु विमानस्थलमा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेको छैनन् । यस्तै, सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल,अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ: मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। प्राधिकरणकाे उक्त कार्यक्रममा बाेल्दै उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । हवाई सुविधाको कमिले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्युन छ । देशभर ५४ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ । विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले यतखेर भ्रमण वर्ष २०२० काे सुरुवात गरेकाे छ । मुलुका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सेवा नपुगेकाेले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ ।
पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले उर्लाबारी उद्योग वाणिज्य संका अध्यक्ष प्रितम खड्गी, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जैसवाल, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार पोड्डार, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीसँग सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । अबको नेतृत्व राजनीतिकभन्दा पनि व्यवसायीक बनेस् प्रितम खड्गी, अध्यक्ष, उर्लाबारी उद्योग वाणिज्य संघ हालसम्मका नेतत्वहरु त्यति चलायमान भएका छैनन् । हाल महासंघ व्यक्तिगत स्वार्थमा चलिरहेको छ । नेपाल उद्योग वाणिज्य समहांघको अब आउने नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा समग्र उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्छ । प्रदेश एक पर्यटकीय रुपले प्रख्यात ठाउँ पनि महासंघले यहाँको पर्यटनको महत्व बुझी समग्र व्यवसायीहरुको पिरमर्का तथा समस्यालाई बुझ्ने खालको हुनु पर्छ । महासंघमा राजनीतिक भन्दा पनि व्यवसायीका पक्षमा काम गर्न जरुरी छ । ऐजेण्डासहितको नेतृत्व आउनु पर्छ पण्डित प्रसाद जैसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ रौतहट अन्य जिल्लाको दाँजोमा सानो उद्योग वाणिज्य संघ हो । हाम्रा धेरै समस्याहरु छन् । ती समस्याहरु समाधान गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । अबको नेतृत्वले नगर जिल्लाका व्यवसायी उद्योगीहरुका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर उचित लक्ष्य लिएर आउन आवश्यक छ । सरकारले ल्याएको ऐन कानुनले व्यवसायीलाई समस्या भएको छ । यी ऐन कानुनमा रहेर उद्योगी व्यवसायीमैत्री कानुन बनाउन अबको नेतृत्वले द्धभूमिका खेल्न सक्नु पर्छ । यी विधि समस्यालाई हाम्रा सम्बन्धित निकायमा पुर्याउने नेतृत्व आजको आवश्यकता हो । उहाँहरु राजधानीमा बस्नुहुन्छ । हाम्रा समस्या बुझ्ने प्रयास गरेको छैन । हामीले तिरेको करको उचित सुविधा पाएका छैनौं । देश पनि सम्बृद्ध होस् र व्यवसायीलाई पनि काम गर्न सहज वातावरण सिर्जना गर्ने नेतृत्व हामीलाई आवश्यक हो । अब हामी उहाँहरुका प्रतिवद्धता हेर्छौं । त्यसपछि राम्रै नेतृ्रत्व छनोट गर्छौं । हाम्रो सही कुरा सही ठाउँमा पुगोस् भन्ने चाहना छ । अहिले सम्मका नेतृत्वले हामीलाई ध्यान नै दिएका छैनन् । व्यवसायीक मुद्धा बुझेको नेतृत्व आजको आवश्यकता हो प्रमोद कुमार पोड्डार, अध्यक्ष, सिराहा उद्योग वाणिज्य संघ हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । सिराहा र राजधानीका ऐजेण्डाहरु फरक छन् । हामी भन्सार नजिककका व्यवसायी हौं । हामीले दैनिक रुपमा समस्याहरु खेप्नु परेको अवस्था छ । दैनिक रुपमा हाम्रो प्रशासन सँग विवाद हुन्छ । नेपालबाट आयात हुने वस्तु बर्डर नजिकै विक्रि वितरण गर्न दिदैन । खुल्ला बर्डरमा उपभोक्ता भारतमुखी हुने अवस्था छ । व्यापारीले भारतबाट सामान ल्याउँदा धेरै कर लिने अवस्था छ । यसले पनि नेपालका व्यापारी पलायन हुने अवस्था छ । अबको नेतृत्वले राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् राजु श्रेष्ठ, अध्यक्ष, चितवन उद्योग वाणिज्य संघ महासंघले समस्या समाधान गर्छ भन्ने विश्वास छैन । अहिलेसम्म जिल्ला नगरका व्यवसायीका लागि महासंघले केही पनि काम गर्न सकेको छैन । अस्ति भर्खर महासंघका प्रतिनिधीसहितको बैठक बसेको थियो । हामीले उहाँहरु सँग हाम्रा कुराहरु राख्यौं । उनीहरुले हामीले त अहिले सम्म केही पनि काम गरेका रहेनछौं भन्ने प्रतिक्रिया पनि दिए । हाम्रा समस्या धेरै छन् । तर, ती समस्या सुनाई हुनै सकेका छैनन् । समस्या समाधानका लागि महासंघ भन्दा पनि राजनीतिक दललाई गुहार्नु परेको अवस्था छ । व्यक्तिगत रुपमा लविङ गर्नु पर्ने अवस्था छ । हामीले अब नेपाल उद्योग वाणिज्य महासंङबाट हाम्रा समस्याहरु समाधान गर्छ भन्ने आशा पनि मारिसकेका छौं । सबै व्यवसायीलाई समान रुपले हेर्ने नेतृत्व आवश्यक छ रुद्र बहादुर खत्री अध्यक्ष, धादिङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । व्यवसायीको करले नै राष्ट्र चलेको अवस्था छ । तर, हामी व्यवसायीले तिरेको करले चलेको राष्ट्रमा तिनै व्यवसायीलाई काम गर्न सहज वातावरण छैन । यसमा आउने नेतृत्वले ध्यान दिनु पर्छ । सबैले मिलेर जानु पर्छ । उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्नका लागि अबको नेतृत्व सक्षम हुन जरुरी छ । सम्बन्धित सामग्री पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्