हजारको नोटमा अमेरिकी डलरको थ्रेड, हरेक दरका ४० करोड थानसम्म नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब छाप्न लागेको नयाँ नोटमा अमेरिकी डलरमा प्रयोग भएको जस्तो थ्रेड प्रयोग गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । हजारको नोट अमेरिकी कम्पनीलाई छाप्न दिने तयारी गरिएको छ,’ उनले भने-‘अन्य नोट अन्य देशका कम्पनीले पनि साट्न सक्छन् ।’ यो नोट विशेष तरिकाले छाप्न लागिएकोले अन्य देशका कम्पनीलाई नदिइ अमेरिकी कम्पनीलाई दिन लागिएको हो । राष्ट्र बैंकले ५ देखि एक हजार डेनोमिनेशनको नोट छपाउन लागेको हो । एक र दुई दरका नोट भने राष्ट्र बैंकले यसअघि नै छपाउन छाडिसकेको छ । नेपाली चलनचल्तीमा रहेका नयाँ नोट छाप्नका लागि ६ वटा विदेशी कम्पनीले चासो देखाएको उनले बताए । यसअघि नोट छाप्दा विभिन्न १० कम्पनी आएका थिए । बजारमा भएको नोटको पर्याप्तता, नष्ट गरिएको नोट र तीन वर्षमा भएको खर्च र आगामी वर्षमा हुन सक्ने खर्चको अनुमान गरी नोट छाप्ने गरिने प्रचलन छ । राष्ट्र बैंक हरेक अढाई वर्षमा आवश्यकताअनुसार विभिन्न दरका नोट छाप्ने गर्दछ । एक पटकमा २१ करोड थानदेखि ४० करोडसम्म नोट छाप्ने गरेको डेपुटी गर्भनरले बताए । साधारणतया नोटको आयु ३ वर्षको हुन्छ । राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा बनेको मुद्रा व्यवस्थापन समितिले अध्ययन गरी नोट छाप्ने प्रस्ताव राष्ट्र बैंक संचालक सञ्चालक समितिबाट स्वीकृत भएपछि ग्लोबल बिडिङ गरिन्छ,’ उनले भने-‘गुणस्तरीय नोट छाप्न सक्ने कम्पनीलाई यसको यसको जिम्मा दिने गरिएको छ ।’ देशमा आर्थिक कारोबार बढेसँगै राष्ट्र बैंकले नोट छाप्ने दर पनि बढाउन थालेको छ । तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको राष्ट्र बैंकले यो वर्ष करिब ३१ करोड थान छपाउने तयारी भएको छ । राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आव्हन गरेको छ । यहि कार्तिक ९ गते आव्हान गरिएको उक्त बोलपत्रको समयावधि मंसिर २४ गतेसम्म रहेको छ । इच्छुक कम्पनीले यो अवधिभित्र राष्ट्र बैंकले तोेकेको सेवा शर्त पुरा गरी टेण्डर हाल्नु पर्नेछ । राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका २० डेनोमिनेशनको नोट छाप्न बोलपत्र आह्वान गरेको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो । राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।राष्ट्र बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो । अहिले बजारमा २० दरका नोट बढी चलनचल्तीमा रहेको छ । यसअघि ५  दरका नोट बढी चल्ने गर्दथ्यो । पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । बजारमा २० रुपैयाँ दरका नोटको चाप बढी भएपनि राष्ट्र बैंकले भने साना दरका नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएको छ । अब ५०० र १०० दरका नोट करिव ३१/३१ करोड थान छाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले २० करोड थान १ हजार दरका नोट छपाएको थियो । तीन वर्ष अघि नै वित्तीय बजारलाई डिजिटलाइजेशन लैजाने रणनीति सरकारले अवलम्वन गरेपनि अहिले सम्म पुरा नहुँदा नोट छपाइमा ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले यस अघि नोट छाप्दा औसतमा दुई रुपैयाँ पर्न आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने-‘अब कति लाग्छ थाहा छैन, यस अघि भने ५ देखि १ हजार दरका नोट छाप्दा औसतमा प्रति नोट २ रुपैयाँको दरले खर्च भएको छ ।’

नेपाली हाेटलमा विदेशी व्यवस्थापन: ‘लगानी नेपालीको, कमाइ विदेशीको’

काठमाडौं । पछिल्लो समय ठूलो लगानीका होटलहरु खुल्ने क्रम बढ्दो छ । ठूलो लगानीका होटलहरु बढेसँगै विदेशी व्यवस्थापनसहितका ‘चेन ब्राण्ड’ नेपाल भित्रिने क्रम पनि बढ्दै गएको छ । अर्बौ रुपैयाँ लगानी गरेर खोलिएका होटलको व्यवस्थापन विदेशीलाई दिँदा ‘लगानी नेपालीको, कमाइ विदेशीको’ भएको छ । ठूला होटल व्यवस्थापन गर्न दक्ष जनशक्ति नेपालमा नहुँदा र होटल सञ्चालनका लागि राम्रो प्रणालीको विकास गर्न नसक्दा विदेशी व्यवस्थापन भित्र्याउनु पर्ने वाध्यता रहेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा बताउँछिन् । नेपालमा कुनकुन चेन ब्राण्ड छन ? हाल मेरियट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्विस, क्राउन लगायतका अन्तर्राष्ट्रिय होटल व्यवस्थापनका ब्राण्डहरु नेपालमा कार्यरत छन् । अमेरिकी होटल कम्पनी मेरिओटले एमएस समूहद्धारा सञ्चालिन होटल काठमाडौं मेरियटको व्यवस्थापन लिएको छ । भारतको ताज होटलले ललितपुरको होटल भिभान्ताको व्यवस्थापन गरिरहेकोछ । चौधरी ग्रुपको लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताजकै व्यवस्थापन छ । यस्तै चौधरी समूहको लगानी रहेको भरतपुरस्थित फ्रने रेसिडेन्सीमा भारतीय होटल तथा रिसोर्ट कम्पनी फ्रेनले व्यवस्थापन सम्हालेको छ । पोखरामा सञ्चालनमा आएको चारतारे होटल सरोवरमा स्विस इन्टरनेश्नलले व्यवस्थापन गरिरहेको छ । पाँचतारे अन्नपूर्ण होटलले भारतको ताज होटलको लगानी सहित व्यवस्थापन समेत भित्र्याएको थियो । त्यसैगरी सोल्टी होटलमा भारतीय होटल ओबरोय लाई व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । बन्द भएर पुनः सञ्चालनमा आएको एभरेष्ट होटलमा पनि शेराटनले व्यवस्थापन सम्हालेको थियो । तर यी ब्राण्ड लामो समय टिकेनन् । सोल्टीबाट ओबरोय फिर्ता गएपछि अहिले क्राउन प्लाजा छ । होटल र्याडिसन ब्राण्डमा सञ्चालित नेपाल ओरियन्टल होटलमा पनि र्याडिसनको फ्रेन्चाइजी मात्र छ । हायात होटलको ब्राण्डमा सञ्चालित तारागाउँ रिजेन्सीमा भने हायात कर्पोरेसनले व्यवस्थापन नै सम्हालेको छ । यस्तै थाइल्याण्डको चेन होटल दुसीत थानीले नगरकोटको हिमालयन रिसोर्ट एण्ड स्पाको व्यवस्थापन गरिरहेको छ । होटललाई गुणस्तरीय मापदण्डमा ल्याएको भारतीय आयो ब्राण्डले पनि नेपालका होटलहरुमा व्यापक विस्तार गरिसकेको छ । स्थानीय होटलहरुसँगको साझेदारीमा अहिले देशका करिब २०० भन्दा बढि होटलमा ओयोको उपस्थिति रहेको छ । वर्षेनी कति रकम विदेशिन्छ ? अन्तर्राष्ट्रिय चेन ब्राण्डहरुले होटलहरुको व्यवस्थापन गरेवाफत वर्षेनी ठूलो धनराशी विदेश लैजाने व्यवसायीहरु बताउँछन् । ‘कुल आम्दानीको २५ देखि ३० प्रतिशत मेरियटले नै लैजान्छ’ होटल काठमाडौं मेरियटका अध्यक्ष शशिकान्त अग्रवालले भने । उनीहरुले रेट पनि उच्च राखेका हुन्छन् । हाल काठमाडौंको पाँच तारे होटलमा प्रतिरात ६ हजार रुपैयाँमा कोठा पाइन्छ भने काठमाडौं मेरियटले १५ हजार घटी कोठा बेचिरहेको छैन । व्यवसायीहरुले ठूलो रकम वाहिरीने गरेको बताए पनि नियमक निकायसँग भने तिनीहरुले कति रकम विदेश लगेर जान्छन् ठ्याक्कै तथ्याङ्क छैन । नेपाल राष्ट्र बैंक विदेशी विमिमय विभाग प्रमुख सरिता भट्टका अनुसार चेन होटलमार्फत नेपालबाट विदेशमा कति रकम जान्छ त्यसको मात्रै ठ्याक्कै अलग्गै तथ्याङ्क राख्ने गरिएको छैन । पहिला होटलमा विदेशी व्यवस्थापन कम भएकाले यस्तो तथ्याङ्क नराखे पनि अबका दिनमा भने राख्नु पर्ने महशुस राष्ट्र बैंकले गरेको छ । कतिपय विदेशीहरुले नेपाली होटलमा लगानी गरेर रकम विदेश लैजाने गरेका छन् भने कतिपय चेनहरु नेपाली होटलमा पूँजी लगानी नगरी होटलको व्यवस्थापनवाफत कुल आय र कुल नाफाको निश्चित प्रतिशत शुल्क लिने गरेका छन् । होटलपिच्छे सहमति तथा सम्झौता अनुसार यस्तो शुल्क भने फरक हुने गरेको छ । साथै, अन्तर्राष्ट्रिय ब्राण्डसँग साझेदारी गरेपछि व्यवसाय नभएपनि निश्चित शुल्क तिर्नुपर्ने हुँदा लगानीकर्ता माथि थप दवाव पनि पर्ने गरेको छ । के भन्छन् होटल उद्यमी ? विदेशी सिस्टमका चेन मेनेज्मेन्टहरु नेपालमा भित्र्यानु लगानीकर्ताका लागि राम्रो भएको होटल उद्यमीहरु बताउँछन् । तर होटल नाफामा नभए शुल्क तिर्न पनि दवाव पर्ने उनीहरुको तर्क छ । नागपोखरीमा मेरियट र ठमेलमा फेयरफिल्ड होटल संचालनमा ल्याएका उद्योगी शशिकान्त अग्रवालले सयभन्दा बढि देशका ६÷७ हजार स्थानमा उपस्थिति रहेको मेरिओटका ब्राण्डसँग जोडिएर उनीहरुको नेटवर्क मार्फत मार्केटिङ गर्नु हाम्रो लागि ठूलो अवसर भएको बताए । ‘अन्तर्राष्ट्रिय ब्राण्डको प्रवेश सम्भाव्य विदेशी लगानीका लागि पनि सकारात्मक हुन्छ’ उनले भने, ‘ग्लोवल ब्राण्डको व्यवसायिक उपस्थिति भएको ठाउँ अरु लगानीकर्ताका लागि समेत चासोमा पर्छ ।’ होटल एशोसिएसन अफ नेपालकी अध्यक्ष सृजना राणाले अन्तर्राष्ट्रिय स्तरका चेन मेनेजमेन्टहरु नेपालमा आउनु राम्रो भएपनि सिस्टम अनुसारको उपलब्धि तथा नाफा हुन आवश्यक रहेको बताइन् । ‘नेपाली बजारमा उनीहरुको सिस्टम आउँछ’ उनले भनिन्, कर्मचारीले पनि राम्रो व्यवस्थापन भएको होटलमा काम गर्ने अवसर पाउँछन् ।’ बढ्दो लगानी दुई वर्ष अगाडीसम्म १० वटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ । तीन दशकसम्म दुईवटामा सीमित चारतारे होटल पनि पछिल्लो समय दुई वर्षमै ११ वटा पुगेका छन् । तीन तारेको संख्या ३४, दुईतारे ४३ र एकतारेको संख्या ३६ पुगेको छ भने पर्यटक स्तरका होटलको संख्या पाँच सय २३ पुगेको छ । यो तथ्याकं केलाउँदा पछिल्लो समय नेपालमा होटल क्षेत्रमा लगानी बढ्दै गएको देखिन्छ । होटलमा लगानीकर्ताहरुको आकर्षण बढेसँगै उनीहरुले विदेशी व्यवस्थापनसहितका ब्राण्डहरुलाई पनि स्वदेश भित्र्याईरहेका छन् । देशभरका होटलहरुमा १० खर्ब लगानी देशभरमा सञ्चालित होटलहरुमा १० खर्बको लगानी पुगेको छ । होटल एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभरका होटलमा १० खर्ब हाराहारीमा लगानी भइसकेको छ । पर्यटन विभागमा दर्ता भएका र सम्बन्धित होटलले दिएको विवरण अनुसार एक वर्षमा थप भएका चारवटा पाँचतारे होटलमा १० अर्बभन्दा बढि लगानी भएको छ । विभागमा सम्वन्धित होटलले बुझाएको विवरण अनुसार चारवटा पाँचतारे होटलको कुल पुँजी नै करिब १० अर्ब रुपैयाँ छ । गत आबमा थप भएका यस्ता पाँचतारे होटलमा दुई काठमाडौं र दुईवटा काठमाडौं बाहिर छन् । काठमाडौं भित्र एभरेष्ट हस्पिटालिटीको म्यारिओट काठमाडौं र छायाँदेवी कम्प्लेक्सको अलफ्ट काठमाडौं पाँचतारेमा थपिएका छन् । होटलमा व्यवसायमा विदेशी लगानी बढ्दै पछिल्लो समय नेपालको होटल व्यवसायमा विदेशी लगानी बढ्दै गएको छ । लगानी गर्न विदेशी लगानीकर्ताहरु आकर्षित भएका छन् । गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिबद्धतामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ होटलमा ४० वटा विदेशी होटल रहेका छन् । उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ । सो लगानी मध्ये सबैभन्दा धेरै चीनबाट रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ता अनुमति लिएको छ । यस्तै भारत, कोरिया र अमेरिकाले ३/३ होटल दर्ता अनुमति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख लगानी प्रतिबद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिबद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा सयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

महासंघको विधान संशोधन विवादमा सहमतिको संकेत, छलकपट भए मुठभेड हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका विषयमा उत्पन्न विवादमा सहमति हुन सक्ने संकेतहरु देखिएका छन् । अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान विधि अर्को निर्वाचनदेखि लागू हुने गरी विधान संशोधन गर्ने महासंघका अध्यक्ष भवानी राणाले राखेको प्रस्तावले असन्तुष्टि पक्ष शान्त भएका छन्, तर अध्यक्ष राणाको प्रस्तावमा छलकपट हुन सक्ने आशंका उनीहरुको मनमा यथावत देखिएको छ । महासंघको केन्द्रीय नेतृत्वको निर्वाचनको लागि यसै वर्ष चैतको अन्तिम साता हुँदैछ । उक्त निर्वाचनलाई प्रभावित पर्नेगरी महासंघको विधान संशोधनको गर्न यहि कात्तिक २९ गते विशेष साधारणसभा बोलाईएको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार विधान संशोधनका लागि करिब ३५ बुँदे प्रस्ताव विशेष साधारणसभामा पेस गरिदैछ । त्यसमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरेर अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष मतदानबाट गर्ने प्रस्तावमा ठूलो विवाद छ । प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरी विधान संशोधन हुँदा यसअघि प्रत्यक्ष मतदानबाट बरिष्ठ उपाध्यक्ष भएका शेखर गोल्छा फेरी चुनाव लड्नु पर्छ वा अध्यक्ष बन्ने प्रक्रियाबाट वाहिरिनु पर्छ । यस्तो अवस्थामा गोल्छा निर्वाचनमा भाग नलिने र माडवरी समूदायका सदस्यहरुले महासंघ परित्याग गर्ने बताइएको छ । महासंघमा हुने सम्भावित दुर्घटना रोक्न अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने, तर यसअघि भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बनेको गोल्छालाई अध्यक्ष बन्न रोक्न नहुने प्रस्ताव आफूले गरेको अध्यक्ष राणाले बताइन् । ‘संस्थालाई कमजोर बनाउने गरी विधान संशोधन गर्ने पक्षमा हामी छैनौं । सहमतिको लागि मैले मध्यमार्गी प्रस्ताव गरेको छु’ राणाले विकासन्युजसँग भनिन् । होहल्ला र मुडभेडको जोखिम नेतृत्वले विधान संशोधनको प्रस्ताव सर्वसहमतिमा पेश नगरेमा महासंघको विशेष साधारणसभामा होहल्ला र मुडभेडको जोखिम रहेको महासंघका सदस्यहरु बताउँछन् । विधान संशाेधनका प्रस्तावित विषयहरूमा महासंघकाे अध्यक्ष र उपाध्यहरूबीच नै विवाद देखिएकाे छ । यस विषयमा महासंघकाे कार्यसमितिमा र पूर्व अध्यक्षहरूबीचमा भएका विवादहरू छरपस्ट रूपमा बाहिर आएका छन् । ‘अध्यक्ष, पदाधिकारी र कार्यसमितिले सर्बसहमतिमा विधान संशोधनको प्रस्ताव ल्याएमा विशेष साधारणसभाले त्यसलाई सहमतिमा नै अनुमोदन गर्ने छ’ महासंघका प्रभावशाली एक नेताले भने–‘विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्तावमा पदाधिकारी र कार्यसमितिबाटै विरोध भयो भने साधारणसभामा जम्मा हुने मास विभाजित हुन्छ र ठूलो विवाद हुन्छ ।’ विधान संशोधनको प्रक्रियामा समेत गम्भिर त्रुटिहरु देखिएकोले विवाद हुने देखिएको छ । महासंघको विधानमा संशोधन गर्न चाहेको विषयहरु कार्यसमितिले पास गरेर सदस्य संघहरुलाई तीन महिना अघि नै जानकारी दिनु पर्ने प्रावधानको पालना नभएको महासंघका  सदस्यहरुले बताएको छ । ‘कात्तिक २९ गते विशेष साधारणसभा छ । अझै पनि सदस्यहरुको राय सुझाव लिने प्रक्रिया जारी छ । विधानको धारा ६६ १(क) पालना भएको देखिएन’ उनीहरूकाे भनाइ छ । विधान संशोधनको विषयमा विवाद हुँदा ध्वनी मतको आधारमा पास वा फेल भएकाे निर्णय गर्ने वा मतदान नै गर्ने भन्ने विषयमा पनि महासंघका सदस्यहरु बीच विवाद देखिएको छ । ध्वनी मतका आधारमा सभाको सभापतिले पास वा फेल भनेको आधारमा निर्णय हुने एक थरीको भनाई छ भने मतदान नै हुनुपर्ने अर्कोथरीको विचार छ । विधानमा भने मतदान हुने व्यवस्था प्रष्ट रहेकाे देखिन्छ ।