प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले नगद रु ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) तर्फ कास्य पदक विजेता मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरे । सोही अवसरमा असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो । साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउँदै लगनशील भई व्यावसायिक हिसावले समर्पणभावका खेलजगतमा रमाउनसके सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । 'हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडी व्यावसायिक रुपमा अगाडि बढेका छन्', प्रधानमन्त्री ओलीले भने, 'म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षक लगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।' युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षकोभन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुरमा निर्माण भइरहेको क्रिकेट खेल मैदानको काम करिब अन्तिम चरणमा पुगेसँगै मुलुकको खेलकुद क्षेत्र उत्साहित भएको बताए । 

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।  रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।  निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।   

२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।