विश्वविजेता कार्लोस सिंहदरबारमा : प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ । भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ । लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीहरूले सिटीमाथि ६ गोल गरेका थिए । लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरीसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्ये ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोली हो । यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ । एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ । भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ, जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ । अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’को रूपमा उदाएको छ । यो निरन्तरता र साहसी प्रदर्शन क्लबको एकाग्रता, परिपक्व रणनीति र ‘टिम फर्स्ट’ मानसिकताकै कारण सम्भव भएको क्लबले जनाएको छ । एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई प्रेरणा दिइरहेको छ । क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरूको मुख्य भूमिका रहेको क्लबले जनाएको छ । क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाइमा एनसेल रहँदा, मुख्य साझेदारमा बीवाईडी छन् भने सह–साझेदारहरूमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स रहेका छन् । क्लबले यी सबैलाई केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वासका साझेदारका रूपमा मानेको छ । भाटभटेनीले फुटबल मात्र नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आएको छ । भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरिएको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।
फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।