राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा  निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ ।  सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।   

सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि रामे मगरको टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ।  रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो । एमेच्योर गल्फरहरू सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।  प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । टिमका एमेच्योर खेलाडीहरु रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।  यस्तै प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोर सहित तेस्रो भयो । एमेच्योर खेलाडीहरु स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे ।  महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् ।  यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा कुल ९० एमेच्योर गल्फरको सहभागीता रहेको थियो ।  प्रतियोगिताका विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।  हिजो सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए । उनले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए ।  अब सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रो-एम जुन १४ मा हुने बताइएको छ ।

सूर्य नेपाल च्यालेन्ज भोलिदेखि सुरु, ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडी सहभागी हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ ।  ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन् ।  चार दिने प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोहीअनुसार कठीन बनाइएको छ । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।  यो पटक नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले व्यक्तिगत कारण सहभागीता नजनाउने भएका छन् । सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीहरूलाई कडा चुनौती दिन सक्ने आँकलन गरिएको छ ।  प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशस् ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् ।