महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–५ को उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको हो । जेठ १७ गतेदेखि जेठ २० गतेसम्म भएको उक्त प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमको सहभागिता रहेको थियो । विजेतालाई ट्रफी हस्तान्तरण कार्यक्रम शुक्रबार (२०८३/०२/२२) सम्पन्न भएको छ। कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा विजेता प्राइम कमर्सियल बैंकलाई च्याम्पियन ट्रफी तथा माछापुच्छ्रे बैंकलाई उपविजेता ट्रफी प्रदान गरिएको हो । व्यक्तिगत विधातर्फ लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर घोषित भए भने सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर बने । नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ उत्कृष्ट बलर तथा माछापुच्छ्रे बैंकका सृजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य बनेका छन् । फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले हात पारेको छ । महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

भूटानविरुद्धको खेलमा विवाद भएपछि क्यानले माग्यो माफी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली संलग्न खेलमा भूटानी ब्याटरलाई ‘टाइम–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति गम्भीर खेद प्रकट गर्दै माफी मागेको छ । क्यानका जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार आज सम्पन्न खेलमा भूटानी ब्याटरलाई जसरी आउट गरियो, त्यसले क्यानले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य–मान्यता र खेल भावनालाई प्रतिनिधित्व गर्दैन । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट भएको यस कार्यप्रति नेपाल क्रिकेट संघका तर्फबाट हामी हार्दिक माफी चाहन्छौं । यद्यपि उक्त आउट क्रिकेटको नियमभित्रै रहेर गरिएको भए तापनि खेलको वास्तविक मर्म र भावना लिखित नियमभन्दा माथि हुन्छ र हाम्रो हरेक व्यवहारमा यो सदैव झल्किनुपर्छ भन्ने कुरामा हामी दृढ छौं ।’ एक विकासोन्मुख क्रिकेट राष्ट्रको रूपमा नेपालले खेलकुद कौशल, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिँदै आएको क्यानले उल्लेख गरेको छ । यस घटनाले ती मापदण्डहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट पर्न गएको कुनै पनि प्रकारको निराशाप्रति संघले दुःख व्यक्त गरेको छ । नेपाल क्रिकेट संघले मैदानभित्र र मैदानबाहिर खेलको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।

कास्कीका सामुदायिक विद्यालयमा मेटलाइफ नेपालको सहयोग, फुटबलमार्फत शिक्षा र नेतृत्व विकासमा टेवा

काठमाडौं । विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सुरु गरेको छ । 'शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने' लक्ष्यसहित सुरु गरिएको यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षामा अवसर विस्तार गर्दै आएको छ । कार्यक्रममार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू कोन, गोलपोस्ट नेट, एयर पम्प लगायतका उपकरणहरू उपलब्ध गराइनेछ । साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयमा व्यवस्थित खेल गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ । यो पहल मेटलाइफ नेपालको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । यसले कक्षाकोठाको शिक्षासँगै खेलकुदमार्फत सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरूको विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, 'अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ। फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि र चुनौती सामना गर्ने क्षमता विकास गर्न हामी प्रतिबद्ध छौँ ।'