एनपीएलको अफिसियल अम्पायर पार्टनर नेपाल पे, खड्का र प्रधानले गरे सम्झौता
काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल आजदेखि टियूको क्रिकेट मैदानमा शुरु हुँदैछ । राष्ट्रिय स्तरको भुक्तानीका पूर्वाधारहरू प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको हो । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नृपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।
दुलही झैँ सिङ्गारिएको कीर्तिपुर, ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरिसकेका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए । त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी-२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो । विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब ३ करोड रुपैयाँ माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब ३ करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा १ करोड रुपैयाँभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ । जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ । त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट नेपाल प्रिमियर लिग (एनपीएल) मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
राहुलले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, तोरण एक स्ट्रोकले पराजित
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन् । अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरणविक्रम शाहीलाई एक स्ट्रोकले माथ दिएका हुन् । राहुलको सूर्य नेपाल गल्फ टुरमा करिअरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए । समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्तरूपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी, समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए । यसैगरी, समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे । ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए । अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे । आज एमेच्योर गजेन्द्र गुरुङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे। अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभाव विरुद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने संभावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरेर उपाधि आफ्नो पोल्टामा पारे ।