एक पालिका, एक खेल मैदान योजनामैै सीमित

काठमाडौं । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको ८ करोड रुपैयाँ बजेट फिर्ता गएको छ । यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रङ्गशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन । रङ्गशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए । बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ । ‘खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकूद गतिविधि ठप्प जस्तै छन्,’ उनले भने, ‘बाङ्गेचौर खेलमैदान बनाउन ३० करोड रुपैयाँ लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर ५० करोड रुपैयाँ पुगेको छ ।’ बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताए । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने देखिन्छ । तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा सङ्घीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘पालिकाको बजेटले रङ्गशाला बनाउन असम्भव छ, यसका लागि कम्तिमा १० करोड रुपैयाँ बजेट चाहिन्छ,’ उनले भने ।

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे बिहीबार नेपाल आउँदै

काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएको छ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का)  प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए । यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत भएका थिए । इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए । ‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए  । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए । उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको  परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउँनेछन् ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, यस्तो छ तालिका ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेल तालिका ? मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं  गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौं गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।