विश्वकपमा नेपाल, यूएईसँग नेपालको सानदार जित
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । यो जितसँगै नेपाल विश्वकपमा छनोट भएको छ । वर्षौंदेखिको विश्वकप खेल्ने नेपालको सपना साकार भएको छ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हाे । अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।
यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १/१ विकेट लिए । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।
नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्रिकेट संघसँग डिशहोमको साझेदारी
काठमाडौं । टि२० विश्वकप एशिया छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न नेपाल क्रिकेट संघसँग डिशहोम फाईवरनेटको साझेदारी गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम फाईवरनेट), ले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको हो। डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन् । चलिरहेको टि२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाईवरनेट को सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको छ । डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष श्री रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’