राइजिङ स्टार खुला टेनिस यू–१४ सिंगल्सको उपाधिबोरिस र शिभालीलाई

काठमाडौं । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ सिंगल्सको उपाधि बोरिस अधिकारी र शिभाली गुरुङले जितेका छन् । बोरिसले ब्वाइजतर्फको र शिभालीले गल्र्सतर्फ उपाधि सुरक्षित गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यू–१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकीजुवेन रावत र आरभ सम्राट हाडाको जोडी पहिलो बनेका छन् । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले स्तब्ध पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त प्रतियोगिताको फाइनलसँगै पुरुष÷महिला सिंगल्सको पनि फाइनल हुनेछ ।

वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै  नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन् । अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनको अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ । यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरी, माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो ।