एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पेश गरेका थिए । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई समेत दिएका छन् । उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

क्यान पदाधिकारीलाई बोलाएर खेलकुदमन्त्रीले भने–खेलाडीमाथिको कारबाहीबारे पुनर्विचार गर्नुहोस्

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनबिचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गरे । उनले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन दिए । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बिषयमा समेत चासो राखेका थिए । गत मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनविचार गर्न आग्रह गरेका हुन् ।

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि १ मा प्रशारण हुँदै

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ ले लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन । ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ ।