त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ
काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरेका थिए । नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रबन्धक विनोद दासले आइएमई ग्रुप र सलाम एयरले यात्राकाे लागि गरेकाे सहयोगले आफु र आफ्नो टीमलाई हौसला मिलेकाे बताए । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो । यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) साेमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन । क्यानले खुल्ला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । उक्त नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । उनले पुरस्कार स्वरूप नगद १ लाख हात पारेका छन् । नेपाली टोलीले उक्त नयाँ जर्सी ओमान भ्रमणमा प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ । भदौ २८ देखि असोज ४ गतेसम्म नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आयोजना हुनेछ ।
दरबारमार्गमा खुल्याे एन्फा सोरुम, राष्ट्रिय टिमको आधिकारिक जर्सी र खेल सामाग्री बेचिने
काठमाडाैं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रायाेजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।