डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने
काठमाडौं । असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्ग गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै, एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यस अघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।
टोकियो ओलम्पिक: ४० पदकसहित चीन शीर्ष स्थानमा
काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्ट्रेलिया नौ स्वर्ण, दुई रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेकी थिइन् । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
एन्फा कार्यसमितिको आकस्मिक बैठक चल्दै, यस्तो छ एजेण्डा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुर स्थित एन्फा मुख्यालयमा बसिरहेको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छलफल हुने बताइएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्ने जनाएका थिए । राजीनामाका कारण उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भएको बताएका थिए । नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए । यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए । यस्तै बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।