प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्त रूपमा शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले राष्ट्रकै गौरवको रूपमा निर्माण भइरहेको रङ्गशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले वडास्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान तथा अण्डर–१९ टोलीका प्रशिक्षक दासले पर्यटकीय क्षेत्रको रूपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रूपमा विश्वले चिन्ने बताए । कार्यक्रममा भरतपुर–२१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकूद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका–१५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनियालगायतले भरतपुरलाई क्रिकेट खेलको केन्द्र बनाउन जोड दिएका थिए । प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वकप्तान खड्कालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले विजयी शुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा भरतपुर–५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले विजयी शुरुआत गरेको हो । निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर–५ ले १८ ओभरमा ९१ रन मात्र बनायो । प्रतियोगितामा महानगरका २८ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी तथा उपविजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस

नवलपुरले जित्याे अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि

पाेखरा । पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अङ्क थियो । अन्तिम तथा निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५६ रनको योगफल तयार गरेको थियो । जितका लागि १५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १०८ रनमा समेटियो । फाइनल खेलमा हृयाट्रिक गर्न सफल नवलपुरका बलर सुशील क्षेत्री म्यान अफ द म्याच भएका थिए । प्रतियोगितामा बागलुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्वीकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका नवलपुरकै दीपक डुम्रे उत्कृष्ट ब्याट्सम्यान भए । जितसँगै नवलपुरले नगद रु २० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी), प्रशिक्षक रिजन प्रजुलगायतले विजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका हुन् । सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ पाइलट सविता तामाङले प्याराग्लाइडिङ टिकट उपहार प्रदान गरिन् । आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । रासस

कामना सेवा विकास बैंकले जित्याे कर्पोरेट सुपर सिजन-६

काठमाडौं । कामना सेवा विकास बैंकले कर्पोरेट सुपर सिजन–६ जितेको छ । क्रिकेट प्रतियोगिताको फाइनलमा बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो । एसएस इभेन्टसद्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेतले खेलाडीहरुलाई हौसला दिएका थिए ।