टेलिकमका जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सुरु गरेको छ । कम्पनीमा रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाइन प्रणालीमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो । गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको थियो । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराइएको हो । यस सेवाअन्तर्गत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत जानकारी तथा आफूले धेरै सम्पर्क गर्ने पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले अन्य सरकारी निकायमा समेत आफ्ना विवरण अद्यावधिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले यो सेवाले ग्राहकलाई सरल, सुरक्षित र छिटो माध्यमबाट विवरण अद्यावधिक गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।   

यसरी बन्यो एनभीडीया विश्वकै पहिलो ५ ट्रिलियन डलरको कम्पनी

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एनभीडीयाले कृत्रिम बौद्धिकता (एआई) बुममा खेलेको निर्णायक भूमिकाका कारण २०२५ को अक्टोबरमा क्षणिक रूपमा ५ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पार गर्दै कर्पोरेट इतिहासमै पहिलो कम्पनी बन्न सफल भयो। विश्वभरका कम्पनीहरूमा एआई चिप्सको अत्यधिक मागका कारण एनभीडीयाले डेटा सेन्टर चिप्सको राजस्वका आधारमा ८१ प्रतिशत बजार हिस्सा कब्जा गरिसकेको छ । यो तथ्यांक अन्तर्राष्ट्रिय डाटा कर्पोरेसन (आईडीसी) को अनुसन्धानमा आधारित हो । यही दबदबाले एनभीडीयाको सेयरमा निकै वृद्धि भएको छ । नोभेम्बर २०२२ मा ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएयता सेयर मूल्य १२ गुणासम्म बढेको छ । अक्टोबर त्रैमासमा एनभीडीयाको बिक्री र नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले वृद्धि भयो, जुन वाल स्ट्रिटका अनुमानभन्दा निकै माथि थियो । गत महिना कम्पनीले नयाँ पुस्ताको ‘भेरा रुबिन’ चिप सार्वजनिक ग‍र्यो, जसलाई एनभीडीयाको अर्को ठूलो वृद्धि इञ्जिनका रूपमा हेरिएको छ । कम्पनीले सन् २०२६ मा कुल बिक्री नयाँ रेकर्डमा पुग्ने अपेक्षा गर्दै झन्डै ५०० अर्ब डलर राजस्व प्रक्षेपण गरेको छ । तर यति ठूलो सफलताबीच पनि एनभीडीयाले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ, जस्तै– बढ्दो प्रतिस्पर्धा, एआई बबलको डर र लगातार तीव्र वृद्धि पछि पनि परिणाम देखाइरहनुपर्ने दबाब । एनभीडीयाको उदय एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले सन् १९९३ मा भिडियो गेमका लागि प्रयोग हुने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) मा केन्द्रित भएर कम्पनी स्थापना गरेका थिए । पछि यी जीपीयूहरू एआई ट्रेनिङका लागि अत्यन्त उपयुक्त भए । तर एनभीडीयाको वास्तविक ब्रेकथ्रु भने च्याटजीपीटी सार्वजनिक भएपछिमात्रै भयो, जसलाई आजको एआई बुमको सुरुआत मानिन्छ । त्यसपछि एनभीडीयाको सेयर तीव्र गतिमा उकालो लाग्यो । सन् २०२३ मा स्थापना भएको तीन दशकपछि एनभीडीया १ ट्रिलियन डलरको मूल्यांकन पुग्ने विश्वको नवौं कम्पनी बन्यो । पछिल्ला महिनाहरूमा केही मूल्य घटे पनि एनभीडीया अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । हाल एनभीडीया ४.५ खर्ब डलरको कम्पनी हो । एनभीडीयाको सफलता जीपीयूमा मात्र सीमित छैन एनभीडीयाको सफलता केवल जीपीयूमा सीमित छैन । कम्पनीले एआई वर्कलोडका लागि आवश्यक अन्य चिप्ससहितका पूर्ण सर्भर र्याक र डेभलपरहरूले चिपको अधिकतम उपयोग गर्न सक्ने सफ्टवेयर प्लेटफर्म पनि उपलब्ध गराउँछ । अब एनभीडीयाले भविष्यका डाटा सेन्टरलाई ‘एआई फ्याक्टरीज’ को रूपमा विकास गर्ने आधार तयार गरिरहेको छ । साथै रोबोटिक्स, क्वान्टम कम्प्युटिङ र स्वचालित सवारी साधनजस्ता उदीयमान प्रविधिको केन्द्रमा आफूलाई उभ्याउने रणनीतिमा छ । गत वर्ष एनभिडियाले उबरसँग स्वचालित गाडी विकासका लागि साझेदारी गर्‍यो भने अमेरिकी ऊर्जा विभाग सँग मिलेर एआई चिप प्रयोग हुने क्वान्टम सुपरकम्प्युटर विकास गर्ने सम्झौता पनि ग‍र्यो । विशाल लगानी र रणनीतिक साझेदारी सन् २०२५ को अधिकांश समय एनभीडीयाले अन्य प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सम्झौता र लगानी तीव्र बनायो । अप्रिलमा कम्पनीले आफ्ना साझेदारहरूसँग मिलेर अमेरिकामा ५०० अर्ब डलर बराबरको एआई पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक ग‍र्यो । सेप्टेम्बरमा एनभीडीयाले इन्टेलमा ५ अर्ब डलर लगानी गर्दै कस्टम डाटा सेन्टर विकासको घोषणा गर्‍यो । त्यसको केही दिनमै ओपनएआईसँग रणनीतिक साझेदारी गर्दै १०० अर्ब डलरसम्म लगानी गरेर एनभीडीयाका चिप्समा आधारित एआई डाटा सेन्टर विस्तार गर्ने सहमति गरियो । पछिल्ला दिनहरूमा दुई कम्पनीबीच तनावको चर्चा भए पनि दुवै पक्षका कार्यकारीहरूले सम्झौताप्रति प्रतिबद्धता दोहोर्‍याएका छन् । एनभीडीयाको वैश्विक महत्त्वाकांक्षा एनभीडीयाका चिप्स विश्वव्यापी एआई उद्योगको मेरुदण्ड बन्दै जाँदा कम्पनीको साझेदारी उत्तर अमेरिकाभन्दा बाहिर पनि तीव्र रूपमा विस्तार भइरहेको छ । युरोपमा एनभीडीया फ्रान्स, जर्मनी, इटाली र बेलायतका सरकार तथा टेलिकम कम्पनीहरूसँग मिलेर ‘सार्वभौम एआई पूर्वाधार’ र एआई प्रविधि केन्द्र निर्माणमा जुटेको छ । दक्षिण कोरियामा भने सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै २६ हजारभन्दा बढी चिप्स तैनाथ गर्ने योजना अघि बढाइएको छ । तर एआई बबलको डरले बजारमा अनिश्चितता बढाइरहेको छ, जसलाई हुआङले बारम्बार अस्वीकार गर्दै आएका छन् । यससँगै एएमडीजस्ता प्रतिस्पर्धी र आफ्नै चिप विकास गरिरहेका ठूला ग्राहकबाट दबाब पनि बढ्दो छ । चीन र भू–राजनीतिक चुनौती एक समय एनभीडीयाको ठूलो बजार रहेको चीनमा अमेरिकी प्रविधि नियन्त्रणका कारण उच्च क्षमताका चिप्स निर्यातमा रोक लाग्दा बिक्रीमा ठूलो असर परेको छ । हुआङले राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही प्रतिबन्ध उल्ट्याउन मनाए पनि चीन सरकारले ती चिप्स खरिद गर्न दिने/नदिने विषय अझै स्पष्ट गरेको छैन । यस्ता चुनौतीबीच पनि एनभीडीया रोकिएको छैन । हाल उत्पादनमा रहेको रुबिन चिप सन् २०२६ को दोस्रो अर्धभागमा बजारमा आउँदैछ । माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेस, गुगल क्लाउड र कोरवेवजस्ता प्रमुख क्लाउड प्रदायकहरू यसको पहिलो प्रयोगकर्ता हुनेछन् । व्यवसाय विविधीकरणको प्रयासस्वरूप हुआङले स्वचालित ड्राइभिङ र रोबोटिक्सका लागि नयाँ एआई मोडलहरू पनि सार्वजनिक गरेका छन् ।

साइबर सुरक्षा र मिथ्या सूचना स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि गम्भीर चुनौती

काठमाडौं । आगामी फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको सन्दर्भमा साइबर सुरक्षा र मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमप्रति डिजिटल राइट्स नेपाललगायत विभिन्न सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सरोकारवाला संस्थाहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनअघिको समग्र अवस्था क्रमशः संवेदनशील बन्दै गएको उल्लेख गर्दै विशेषगरी मतदान अघिका तीन दिन अत्यन्तै जोखिमपूर्ण हुन सक्ने बताएको छ । विज्ञप्तिमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन भन्नाले केवल भौतिक मतदान प्रक्रियाको सुरक्षा मात्र नभई सूचना वातावरण मिथ्या सूचना, दुष्प्रचार र सूचना हेरफेरबाट मुक्त हुनु पनि उत्तिकै आवश्यक रहेको उल्लेख छ ।  योजनाबद्ध रूपमा फैलाइने गलत सूचनाले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको धारणा छ । विज्ञप्तिअनुसार निर्वाचन आयोग र केही नागरिक समाज मिथ्या सूचना पहिचान तथा विश्लेषणमा सक्रिय देखिए पनि समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र पर्याप्त रूपमा सक्रिय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।  मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सचेतना अभियान तीव्र बनाउन, सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाजबीच प्रभावकारी समन्वय गर्न तथा पत्रकारहरूका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्न सुझाव दिइएको छ । त्यस्तै, डिजिटल युगमा निर्वाचनका बेला साइबर सुरक्षाले सार्वजनिक विश्वास र लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटरहरूलाई जिम्मेवार सूचना प्रवाहका लागि सचेत गराउन तथा मेटा र टिकटकजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँग निर्वाचन आयोगले समन्वय गरी मिथ्या सामग्री नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा नेपालको लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता सुरक्षित मतपेटिकाले मात्र नभई तथ्यपरक र सचेत सूचनामा आधारित जनमतले निर्धारण गर्ने उल्लेख गर्दै यस पहलको नेतृत्व निर्वाचन आयोगले गर्नुपर्ने धारणा राखिएको छ ।