गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा
पाेखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिए । उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए । उनले भने, ‘हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ ।’ उनले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाए । उनका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ । तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताए । उनले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताए । उनले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उनको भनाइ छ । नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिए । रासस
नमस्ते पेबाट विद्युत र खानेपानीको महसुल भुक्तानीसँगै बैंकबाट रकम लोड गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले नमस्ते पे सेवा सुरु गरेको हो । सो सेवा सुरु भएसँगै नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछ । यसैगरी, मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । अन्य बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ । बैंकसगैँ देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गर्नका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको जनाएको छ । कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई तथा सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिका कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाई भएको थियो । कम्पनीले सुरुवाती चरणमा एण्ड्रोइड मोबाइल सेटमा मात्र सो सेवा सुचारु गर्न सकिने जनाएको छ । बजारमा ९५ प्रतिशतभन्दा बढी हिस्सा एण्ड्रोइड सिस्टमको मोबाइलको रहेको भन्दै विस्तारै आइओएसको लागि सेवा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको सञ्चालन गर्न सकिनेछ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने साे सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएकाे छ । कम्पनीले टेलिकमको मोबाइल ब्यालेन्सबाट नै पैसाको रुपमा उपयोग गर्न नसकिने भन्दै नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिने जनाएको छ । मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाईन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने कम्पनीले जनाएको छ । सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ ।
विद्युतीय माध्यमबाट गर्ने कारोबारको सीमा बढ्यो, उपभाेक्ताले पनि बढी शुल्क तिर्नु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंक्ले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ । मंगलबार भुक्तानी प्रदायक संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कारोबारको सीमा बढाएको हो । अब बैंक खाताबाट वालेटमा गरिने प्रति कारोबार ५० हजार र प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न पाइने ब्यवस्था गरेको हो । यसअघि यस्तो कारोबार प्रति कारोबार २५ हजार प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो । यस्तै, वालेट मार्फत बैंक खातामा गरिने कारोबारको सीमा ५० हजार रुपैयाँ पुर्याएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोवाइल बैंकिङ मार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिने शुल्क पनि बढाएको छ । निर्देशनमा ५० हजार रुपैयाँसम्म कारोबार गर्नेले १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार गर्नेले २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेले ३० रुपैयाँ तिर्नु पर्ने भएको छ । विद्युतीय कारोबारमा लिइने सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रूपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रष्ट देखिने गरी सार्वजनिक गर्नुपर्नेछ ।