अदालतको फैसलाले एप्पललाई ठूलो झट्का, कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो

काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ । शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का लागेको हो । न्यायाधीशले एप्पललाई एप डेभलपरहरुमा प्रतिबन्ध सहज बनाउन पनि आदेश दिएका छन् । एप्पल विरुद्द गत वर्ष फोर्टनाइटको निर्माता कम्पनी एपिक गेमले मुद्दा दायर गरेको थियो । जसको सुनुवाई शुक्रबार मात्रै भएको हो । सो एप स्टोरहरुमार्फत मनग्य आम्दानी गर्दै आएको कम्पनीका लागि अब व्यापारमा केही नोक्सान व्यहोर्नु पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । अदालतको यो आदेशले कम्पनीले ठूलो रकम गुमाउन सक्ने प्रक्ष्येपण पनि गरिएको छ । अदालतको यो फैसलापछि एप्पलको शेयर शुक्रवार दिउँसो कारोबारमा दुई प्रतिशत भन्दा धेरै तल झरेको थियो । अदालतको यो निर्णयले कम्पनीको वार्षिक आम्दानीमा अरबौं डलरको घाटा हुन सक्ने अनुमान लगानीकर्ताको छ । हाल एप्पलले उसको स्टोरमा राख्ने एपमा ३० प्रतिशत कमिसन लिँदै आएको छ । अदालतको निर्णयले उपभोक्ताहरुलाई सहज हुुनेछ भने कम्पनीको आम्दानी घट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा 

५ लाख सम्मको बिजुली बिल खल्ती मोबाइल वालेटबाट तिर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र खल्ती वालेटबीच सम्झौता भएको छ । सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई ५ लाख रुपैयाँसम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता भएको हो । विगत ४ वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेट ले सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक, मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक, श्री जोनाम भुर्तेल बीच हस्ताक्षर भएको थियो । खल्ती एप को होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकन मा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ । विद्युत प्राधिकरण सँगको उक्त सहकार्यले विद्युत महशुल तिर्न काउन्टर धाईरहनु पर्ने झन्झटलाई न्युनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेल ले बताए । २० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ । खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरेका हुन । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्दै उनले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । उनले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीको क्षमता विकासमा विशेष पहल गरिने उल्लेख गरे । सो प्रणालीको विकासले स्थानीय तहमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न थप बल पुग्नेछ । चेकबाट गरिने कारोबारभन्दा विद्युतीय कोष हस्तान्तरणबाट छिटोछरितो भुक्तानी हुनेछ । चेक क्लीयरिङलगायत बढी समय लाग्ने अवस्थाको अन्त्य हुने, चेक कारोबारबाट भुक्तानीको लागि गर्नुपर्ने प्रक्रियागत झन्झट हट्ने र कम जनशक्तिबाट प्रभावकारी सेवा प्रदान गर्न सहज हुने विश्वास लिइएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।