मौसमजन्य विपद्को पूर्वसूचना थप प्रभावकारी बनाउन टेलिकम र मौसम विभागबीच सहकार्य

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना र आवश्यक जानकारी एसएमएसबाट पठाइनेछ । यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता प्रकोपबारे समयमै पूर्वसूचना उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायत नदी तटीय क्षेत्रका एसएमएस पोलिगन, आकस्मिक बाढी सम्भावित क्षेत्र, स्थानीय तह तथा जिल्लागत नक्सासहित आवश्यक भौगोलिक विवरण नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ । सोही आधारमा जोखिम क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई लक्षित गरी पूर्वसूचना पठाइने व्यवस्था मिलाइनेछ । नेपाल टेलिकमले विपद्सम्बन्धी एसएमएस सेवा विगतदेखि नै निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसका लागि कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको ७०० वटा डाटा सहितको सिममा थप १०० वटा सिम थपेर अब ८०० वटा सिम निःशुल्क उपलब्ध गराउने जनाएको छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा २०७३ सालदेखि नै मौसमजन्य विपद्को पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह हुँदै आएको छ । दुवै पक्षले यसअघि प्रदान हुँदै आएको सेवाप्रति एकअर्कालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको यो सेवाबाट हालसम्म लाखौं नागरिक लाभान्वित भएको र आगामी दिनमा अझ बढी नागरिकसम्म पूर्वसूचना पुर्‍याउने अपेक्षा गरेको छ ।

आईबीएमको सेयरमा पहिरो, बजार मूल्यमा ७० अर्ब डलर गिरावट

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी आईबीएमले दोस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय नतिजा अपेक्षाभन्दा कमजोर रहने संकेत दिएपछि कम्पनीको सेयर कारोबारका क्रममा २६ प्रतिशतसम्म घटेको छ । यससँगै कम्पनीको बजार मूल्य करिब ७० अर्ब अमेरिकी डलरले घटेको छ । यदि कारोबार अन्त्यसम्म यही गिरावट कायम रहे यो सन् १९८७ पछिकै आईबीएमको सबैभन्दा ठूलो एकदिने सेयर गिरावट हुने अनुमान गरिएको छ । आईबीएमले दोस्रो त्रैमासिकमा १७.२ अर्ब अमेरिकी डलर आम्दानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ, जुन वाल स्ट्रिट विश्लेषकहरूको १७.८६ अर्ब डलर अनुमानभन्दा कम हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द कृष्णाका अनुसार ग्राहकहरूले सफ्टवेयर तथा परम्परागत आईटी सेवामा हुने खर्च घटाएर एआई पूर्वाधारका लागि आवश्यक सर्भर, स्टोरेज र मेमोरी खरिदमा पूँजी केन्द्रित गर्न थालेका कारण कम्पनीको आम्दानी अपेक्षाअनुसार हुन सकेन । लगानीकर्तालाई पठाएको पत्रमा उनले बजारको तीव्र परिवर्तनसँग कम्पनीले अपेक्षित गतिमा आफूलाई अनुकूल बनाउन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार केही ठूला सम्झौताहरू अपेक्षित समयमा सम्पन्न हुन नसक्दा राजस्व प्रभावित भएको हो । आईबीएमको कमजोर प्रक्षेपणको असर अन्य सफ्टवेयर कम्पनीहरूमा पनि देखिएको छ । माइक्रोसफ्टको सेयर करिब २ प्रतिशत, वर्कडेको ६.३ प्रतिशत, सेल्सफोर्सको ३.२ प्रतिशत, अटोडेस्कको २.४ प्रतिशत तथा अमेरिकामा सूचीकृत एसएपीको सेयर ३.४ प्रतिशतले घटेको छ । सफ्टवेयर क्षेत्रको प्रदर्शन मापन गर्ने आईसेयर्समा पनि कारोबारका क्रममा २.७ प्रतिशतसम्म घटेको थियो, यद्यपि पछि केही सुधार देखिएको थियो । आईटी सेवा कम्पनीहरू पनि दबाबबाट अछुतो रहेनन् । एक्सेन्चरको सेयर २.९ प्रतिशत, कग्निजेन्ट टेक्नोलोजी सोलुसन्सको २.२ प्रतिशत र इन्फोसिसको २.८ प्रतिशतले घटेको छ । बजार विश्लेषकहरूले आईबीएमको नतिजालाई सफ्टवेयर उद्योगका लागि चेतावनीका रूपमा लिएका छन् । भाइटल नलेजका संस्थापक एडम क्रिसाफुलीका अनुसार कम्पनीहरूले पूँजीगत खर्च एआई पूर्वाधारतर्फ मोड्दै जाँदा परम्परागत सफ्टवेयर र आईटी सेवा कम्पनीहरू थप दबाबमा पर्न सक्ने जोखिम बढेको छ । यस वर्ष एआईसँग सम्बन्धित हार्डवेयर र सेमिकन्डक्टर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भने परम्परागत सफ्टवेयर कम्पनीहरू दबाबमा परिरहेका छन् । आईबीएमको पछिल्लो नतिजाले पनि यही प्रवृत्तिलाई थप स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ ।

एआईको मागले चीनको निर्यातमा नयाँ रेकर्ड

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।      चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।      जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताए । उनका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ । भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ । बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए । उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ । जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो । चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पुर्याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् । रासस