दुगुनागढी किल्लामा बढ्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण
चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन् । आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन् । स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ सालमा श्री ३ जंगबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो, जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो । युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । उनका अनुसार राष्ट्रकै पुरातात्तिवक सम्पदाभित्र पर्ने दुगुनागढीबाट नेपाल र तिब्बतबीच तीन पटकसम्म भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएका थिए । भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ । यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठ बताउँछिन् । प्राचीन सभ्यतालाई प्रतिविम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान भएको भोटेकोसी गाउँपालिका– ३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ । चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै इतिहास झल्काउने गरी काम भइरहेको शेर्पाको भनाइ छ । बढीजसो इतिहासका बारेमा चासो राख्नेहरू यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएका रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् । यो स्थानमा एकपटक पुगेकाहरू पुनः साथीभाइ, परिवार र आफन्त लिएरसमेत जाने गरेका छन् । नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग/बाटो तथा कोटको पहिचान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस गर्दै आएको छ । रासस
वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्वाचित
काठमाडौं । वायुसेवा संचालक संघ (आवोन) को २५औँ वार्षिक साधारण सभाबाट प्रतापजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डे कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडका सञ्चालक हुन् । शुक्रबार लाजिम्पाटमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सभाबाट प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन् । यस्तै, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन् । कार्यसमितिका सदस्यमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।
होटेल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।