गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताए । 'हामीले राइनो क्रुजलाई यातायातका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने तयारी गरेका छौँ', उनले भने, 'हामीले डिनर क्रुज (क्रुजभित्रै खाना खाने प्याकेजसहित)लाई केन्द्रित गरी राइनो क्रुज सञ्चालन गर्दैछौँ ।' यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताए । दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको ढुङ्गेलको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उनले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताए। यस राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उनले बताए। क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिए । 'राइनो क्रुज नियमित सञ्चालनमा आएपछि हामीले प्याकेज र शुल्क सार्वजनिक गर्नेछौँ', ढुङ्गेलले भने, 'अहिले हामीले होटल रिभर क्राउन र क्रुजमा गरी रु ५० करोड लगानी गरेका छौँ, यहाँ ५० जनालाई प्रत्यक्ष रोजगारीसमेत सृजना भएको छ ।' होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार)होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिए । 'गैँडाकोटको पुलचोक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको र यहाँ आउने पर्यटकका लागि सहज पहुँच पनि भएकाले रिभर क्राउनबाट राइनो क्रुज सञ्चालन हुन लागेको हो', उनले भने, 'मनोरञ्जनसहित डिनर केन्द्रित क्रुजमा तीन घण्टासम्म समय बिताउन सकिनेगरी प्याकेज तयार हुँदैछ ।' गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुङ्गेलले बताए । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रे घाटमा सञ्चालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएपछि पुनर्निर्माणसँगै गैँडाकोटबाट सञ्चालन गर्न लागिएको हो । काभ्रेघाट वरिपरि नारायणी नदीको बहाव, अवस्थिति धेरै कारणले त्यहाँ क्रुज यात्रा सहज नहुँदा यो बर्खामा विभिन्न उपकरण प्रयोग गरी क्रुजलाई गैँडाकोटसम्म ल्याइएको थियो । 'सबै कुराले गैँडाकोट उपयुक्त रहेकाले अब यस क्रुजलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजनासहित होटललाई समेत जोडेर हामी अगाडि बढेका हौँ', उनले भने, 'क्रुजलाई देवघाटसम्म सञ्चालन गर्दा नवलपुरसँगै चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थपिने हाम्रो विश्वास छ ।' क्रुज सञ्चालनका लागि कम्पनीले यसअघि नै पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाइसकेको छ । रासस
होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
हानको हीरक जयन्त्रीमा नेपाली हस्पिटालिटीको विगत, वर्तमान र भविष्यको लेखाजोखा
काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् । उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ । सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो । त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए । शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ । पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ । पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए । यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।