एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई लक्षित गर्दै पोखरास्थित फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवामा छुट सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित उक्त दुई लजबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापछि बैंकका ग्राहकहरूले फिस्टेल लज (लेकसाइड, पोखरा) र जगतपुर लज (चितवन) मा सेवा लिँदा विशेष छुट पाउनेछन् । समझदारीअनुसार ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् भने आवासीय सेवामा कर्पोरेट दर लागू हुनेछ । यस सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।   

टरिगाउँ विमानस्थल : बजेट आउँछ तर काम अघि बढ्दैन

दीपक बोहरा तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । विसं २०११ मा सञ्चालनमा आएको हो तर यस विमानस्थल सुरुआतदेखि जत्रो थियो, त्योभन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला विमानहरु बस्न सक्दैनन् । उन्नाइस सिट क्षमताको जहाज मात्रै बस्छन् । त्योभन्दा ठूला जहाज बस्न नसक्दा नियमित पनि हुन सकेको छैन भने भाडा पनि महँगो हुँदा प्रभावकारी रुपमा सेवा सञ्चालन हुन सकेको छैन ।  'हामीले हप्तामा चार दिन हवाई सेवा सञ्चालन गरिरहेका छौँ', नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले भने, 'तर, नियमित छैन, कहिले महिनामा दुई दिन मात्रै पनि चल्छ ।' आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने भनिए पनि नियमित हुन सकेको छैन । कहिले यात्रु नभएर समस्या हुन्छ भने कहिले मौसमले पनि आउन सक्दैन । यसले गर्दा यहाँका यात्रुहरु भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । अहिलेको धावनमार्ग ७५० मिटर मात्रै लम्बाई हुँदा ठूला जहाज बस्न सक्दैनन् । यसको धावनमार्ग विस्तारका लागि पटक–पटक आवाज उठे पनि पूरा हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा विमानस्थल स्तरवृद्धिको पहलका लागि समिति गठन गरी काम अगाडि बढाएको थियो । 'स्तरवृद्धिका लागि भनेर पटक–पटक मन्त्रालय धाउँदा पनि खासै उपलब्धि हुन सकेन । हाम्रो पालिकाभित्र भएकाले हामीले पहल लिइरहेका छौंँ', उपप्रमुख चौधरीले भनिन् । उनका अनुसार उपमहानगरपालिकाले यसअघि आफैँले केही यात्रु बराबरको भाडा तिरिदिनेसहमति गरेर विमान नियमित बनाएको थियो भने तुलसीपुर उद्योग वाणिज्य सङ्घले पनि पटक–पटक विमान नियमित बनाउनलाई पहल लिइरहेको थियो ।   सुरुआतमा दाङको टरिगाउँ विमानस्थलबाट जहाज रुकुमको सल्ले, चौरजहारी तथा बाँकेको नेपालगञ्ज समेत जान्थ्यो । सुरुमा टरिगाउँ विमानस्थलमा आएर यात्रु लैजानका लागि एक दिन नेपालगञ्ज हुँदै काठमाडौं जाने गरेको नागरिक समाजका पूर्वअध्यक्ष टीकाराम रेग्मीले बताए । उनका अनुसार अर्को दिन टरिगाउँबाट रुकुमको चौरजहारी गएर पुनः काठमाडौं जान्थ्यो भने तेस्रो दिन रुकुमको सल्ले गएर काठमाडौं जान्थ्यो । त्यतिबेला ‘डकोटा’ नामको विमान चल्थ्यो । यसरी नियमित तीन दिन हवाई सेवा सञ्चालनमा हुन्थ्यो । वक्तव्यमा आउथ्यो, किताबमा आउँदैनथ्यो आर्थिक वर्ष २०६८/६९ को बजेट वक्तव्यदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमितजसो बजेट वक्तव्यमा आउने गथ्र्यो तर बजेट भने नआउने समस्याले यस क्षेत्रका नागरिक आजित छन् । आव २०६८/६९ मा धावनमार्ग कालोपत्रे भएको थियो । 'जतिबेला कर्मचारी सञ्चय कोषबाट ऋण लिएर देशका विभिन्न विमानस्थलहरुको कालोपत्रे गरिएको हो, त्यतिबेला हामीसँग पैसा थिएन', तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले भने, 'कर्मचारी सञ्चय कोषबाट ऋण लिएर भए पनि कालोपत्रे गरेका हौँ ।' त्योभन्दा अघि टरिगाउँ विमानस्थल घाँसेमैदान थियो । करिब साढे आठ करोड रुपैयाँ लागतमा अस्पाल्ट प्रविधिबाट विमानस्थल कालोपत्रे भएको हो । त्यसपछि २०७८ सालतिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो । त्यसबाहेक अन्य बजेट आएको छैन । आगामी आव २०८३/८४ का लागि पनि बजेट वक्तव्यमा समावेश भएकाले यसपटक बजेट बिनियोजन हुने दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताए । उनले पहिलो चरणमा २५ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरेर बहुवर्षीय बनाउने गरी तयारी गरेको बताए । बहुवर्षीय बनाएमा यो विमानस्थल स्तरवृद्धि हुने उनको विश्वास छ ।   खासगरी टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट आवश्यक हो । हाल ७५० मिटर लम्बाइ भएको धावनमार्गलाई बढाएर १५ सय मिटरसम्म बनाउन सकेमा मात्रै ठूला जहाज बस्न सक्छन् तर हाल १९ सिट क्षमताका टुइनेटर जहाज मात्रै बस्ने र सानो हावा वा हुस्सु लागेपछि बस्न नसक्ने अवस्था रहेको छ । कहिले आउने र कहिले नआउने हुँदा यात्रुहरुको विश्वास समेत जित्न नसक्दा यस क्षेत्रका यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता छन् । २०११ सालदेखि २०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको विमानस्थल त्यस बीचमा नियमित हुन सकेको थिएन । तै पनि कहिले आउने र कहिले नआउने गर्दै २०५८ सालसम्म चल्यो ।  कालोपत्रे गरेपश्चात् पुनः २०७२ जेठ १४ गते गोमा एयरले उडान भर्न सुरु गरेको थियो तर त्यो एक वर्ष पुग्दानपुग्दै अवरुद्ध बन्न पुग्यो । हाल कहिलेकाहीँ नेपाल एयरलाइन्सले यस विमानस्थलमा उडान भरिरहेको छ । बादल वा हुस्सु लाग्यो वा सानो हावा लाग्यो भने पनि उडान हुँदैन । हाल हप्तामा चार दिन भनिए पनि महिनामा दुई दिनजसो मात्रै उडान हुने गरेको एयरलाइन्सका दाङ शाखा प्रमुख बलबहादुर सुनारले बताए । 'हप्तामा चार दिनको तालिका छ', उनले भने, 'तर, महिनाको दुई दिन पनि जहाज धौ–धौ आउँछ ।' वैकल्पिक उपायको खोजी      दाङमा वैकल्पिक विमानस्थलको बहस पनि थालियो । त्यसको मारमा पनि टरिगाउँ विमानस्थल परेको छ । आव २०७५/७६ को बजेटमै जिल्लामा वैकल्पिक विमानस्थलको खोजी गर्ने भनी बजेट आयो । त्यसकै जगमा आव २०७७/७८ र आव २०७८/७९ मा नारायणपुरमा अन्तरराष्ट्रियस्तरको विमानस्थल बनाउने भनी बजेट वक्तव्यमा समावेश भयो । केही बजेट पनि आयो तर काम हुन नसकी ‘फ्रिज’ भयो ।  विमानस्थल विस्तारका लागि चार विकल्प दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ तर पहिलो विकल्प अनुसार नै काम गर्ने गरी अगाडि बढे पनि त्यो हुन सकेको छैन । पहिलो विकल्प भनेको हाल भइरहेको धावनमार्ग नै विस्तार गरी १२३० मिटर लम्बाई ‘रनवे’ हुन सक्छ भन्ने रहेको छ । यसका लागि ५७ बिघा जग्गा चाहिन्छ । अहिले विमानस्थलको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक बनको १२ विघा, अधिग्रहण १।२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्ने हुन्छ ।  यसरी विमानस्थल बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय रुपैयाँ लागत अनुमान गरिएको छ । यसमा फुटपाथ तथा संरचना निर्माणका लागि दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार ८६० रुपैयाँ, भवनलगायतका सामग्रीहरुका लागि तीन अर्ब १३ करोड ४२ लाख ४० हजार रुपैयाँ, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार रुपैयाँ र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।  यस विकल्पअनुसार अहिले रहेका घरहरु हटाउनु पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्न कठिन हुन्छ । रातको समयमा हवाई अवतरण गर्नका लागि थप ४५० मिटर जमिन चाहिन्छ । यस अनुसार अनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ । यसमा आइई र इआइए गर्न दुई वर्ष लाग्नुका साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्ने बताइएको छ ।   इन्धन डिपो पनि मारमा   हाल सोही ठाउँमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरिसकेको छ । त्यो सबै खर्च नेपाल आयल निगमको हो । विमानस्थलको जग्गा मात्रै निगमलाई उपलब्ध गराइएको हो तर महिनामा एक/दुई पटक मात्रै इन्धन खपत हुने गर्दा त्यसबाट खासै आम्दानी लिन नसकिएको इन्धन डिपो कार्यालय तुलसीपुरका लेखा अधिकृत कैलाश देवकोटाले बताए । 'महिनामा एक–दुई पटक मात्रै इन्धन खपत हुन्छ', उनले भने, 'त्यसले त हाम्रो लगानी अनुसार घाटा नै हुन्छ ।' उनका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ४० हजार ८६५ लिटर मात्रै इन्धन खपत भएको छ । रासस  

हप्ताको दुई दिन बिदाको प्रभाव : पर्यटकीय गन्तव्यमा थप चलायमान

चितवन ।  शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन् । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो । विशेष गरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ । वरिष्ठ पर्यटन व्यवसायी एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला समयमा चिवनमा आन्तरिक पर्यटककको आगमन पनि बढ्दो अवस्थामा रहेको जानकारी दिनुुभयो । सरकारले शनिबार र आइतबार दिएको दुुई दिने बिदाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको उनले बताए । 'विशेष गरी यो याम चितवनमा गर्मी हुने भएकाले पर्यटकको यामका रुपमा लिइँदैन', उनले भने 'दुुई दिने बिदाको समय घुमफिर गरी उपयोग गर्नका लागि गर्मीको कुनै प्रवाह नगरी पर्यटक आउने गरेका छन् ।' पछिल्ला समयमा बिदालाई अधिकांशले घुमफिरमा उपयोग गर्न थालेको उल्लेख गर्दै उनले यसअघि लगातार चार दिनसम्म बिदा पर्दा एउटै समूहका व्यक्तिहरू चितवनको सौराहादेखि लुम्बिनी हुँदै पोखरासम्म्म भ्रमण गरेको आफूले प्रत्यक्ष देखे भोगेको जानकारी गराए । पर्यटकको सुविधालाई लक्षित गरी सहकारीले हाल ३० वटा हात्ती सफारीका लागि प्रयोग गरिरहेको उनले जानकारी दिए । पर्यटकले यहाँ आएर बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म, दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्मका साथै बेलुका ४ः३० बजेदेखि ६ः०० बजेसम्म हात्ती सफारी गर्न पाउँछन् । करिब १ः३० घण्टा समयावधि हात्ती सयर गरेबापत आन्तरिक पर्यटकले रु एक हजार ६५० बुझाउने पर्यटन व्यवसायी अमित गुरुङले जानकारी दिए । स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक चितवन आएर हात्ती सफारीमा रमाउने गरेको उनले बताए । अर्का पर्यटन व्यवसायी आशिष रेग्मीका अनुुसार हात्ती सयर चितवनको महत्वपूर्ण पर्यटकीय आकर्षण बने पनि कोभिड–१९ यता हात्तीको किनबेच भएको छैन । यसअघि रहेका हात्तीबाट नै हात्ती सयर गराउँदै आइएको छ । एउटा हात्तीलाई पाल्नका लागि दुई जना कर्मचारीसहित महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए। उनका अनुसार सामान्यतः एउटा हात्तीलाई दिनमा करिब २५ किलो धान, दुई किलो चना, ढिके नुन, सक्खर आदि आवश्यक पर्दछ । पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए । पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही पर्यटकलाई खान बस्नको असुविधा नरहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षण युक्त स्थान बनेको छ । हात्ती तथा जीपमा सयर गरी जङ्गल सफारी, वन्यजन्तु अवलोकन, चरा अवलोकन, राप्ती नदीमा डुङ्गा सयर गर्दै चराचुरुङ्गी, गोही आदिको अवलोकन, सूर्यास्त अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यस्तै स्थानीय थारु संस्कार र संस्कृतिको अवलोकन पनि यहाँका प्रमुख आकर्षणका रुपमा रहेका छन् । बालकदेखि वृद्धसम्म सबैजसो उमेर समूहका व्यक्तिहरूले यहाँ आएर हात्ती सफारी गरी बँदेल, बाघ, गैँडा, गोही, बाँदर आदि वन्यजन्तुुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्ने गर्दछन् । सफारीका क्रममा देखिने हरियालीका साथै घाँसे मैदानहरूले पनि यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँको राप्ती नदीमा डुङ्गामार्फत जलविहारका क्रममा नदी किनारामा घाम तापेर बसेका देखिने गोही, ठाउँठाउँमा देखिने गैँडालगायतका वन्यजन्तुु, चराचुरुङ्गी आदिले जो कोहीलाई लोभ्याउने गरेको छ । पर्यटकको बढ्दो आगमनसँगै यस क्षेत्रका होटेल तथा रेष्टुराँहरू राम्रैसँग चलिरहेको टिफिन होम एण्ड रेष्टुराँका सञ्चालक स्वस्तीका भट्टले जानकारी दिए । पछिल्ला वर्षमा सबैजसो याममा यस क्षेत्रमा पर्यटकको आगमन बढिरहेको उनले भने, 'पछिल्ला समयमा यो वा त्यो जुनसुकै महिनामा पर्यटक चितवन आउने गरेका छन् ।' हप्ताको दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक परिवर्तन देखिएको व्यवसायीको अनुभव छ । रासस