पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पूर्व सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, पूर्व सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलगातयका विरुद्ध मुद्धा दायर भएको छ । रेग्मीका अनुसार अहिले उनीहरुविरुद्ध मुदा दर्ता प्रक्रियामा रहेको छ ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै, नारा ‘सुरक्षित आकाश’
काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्र सङ्घको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ । आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आइकाओले जनाएको छ ।
पौने ३ लाख विदेशीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण, अब मार्चपछि मात्रै पर्यटक बढ्ने
काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा २ लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १ लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा ९ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । फेब्रुअरीमा १२ हजार ६८ जना, मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगष्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टुबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा सन् २०२५ को पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मेमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा भने गत वर्षको तुलनामा बढी पर्यटक आएको आयोजना प्रमुख डा. कडरियाले बताए । जाडो याम सुरू भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने उनको भनाइ छ । यस क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको हो । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भाव्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटन मैत्री पूर्वाधार, हावापानी, स्थानीयबासीको आतिथ्य र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ ।