हिमपातपछि पदयात्रा स्थगित, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् ।  गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।  'सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन', उनले भने, 'जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ ।' मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ ।   मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक पनि वर्षा र हिमपातका कारण प्रभावित भएका छन् ।  अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए । 'अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए', उनले भने, 'वर्षात् र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।' अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए । घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले  मौसममा खराबी आएपछि पर्यटकले पदयात्रा स्थगित गरेर बसेका जानकारी दिए ।  'पुनहिलको दृृश्यावलोकन हेर्न र गन्तव्यतर्फ जाने पर्यटक बिहानैदेखि ‘डाइनिङमा ब्रेक फास्ट’ खाएर कोठामै बसेका छन्', उनले भने, 'चिसोका कारण स्वास्थ्यमा समस्या आउने, हिउँले पदमार्ग ढाकिँदा बाटो बिराउने, लडेर दुर्घटना हुने जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौँ ।' रासस

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

जमुना वर्षा शर्मा काठमाडौं । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिमशृङखलाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ । पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ । फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आएकी सबिना मगरले बताइन् ।  ‘चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ । उचाइदेखि डर लाग्ने भएकाले धेरै चोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडान सफल भए, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो,’ उनले भने ।  पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उनको अनुभव छ । नेपालगञ्ज का सुजित जोशी पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताउँछन् । साहसिक खेल पारखी जोशीले बञ्जी, स्विङको अनुभव लिइसकेको बताए ।  ‘म पोखरा आइराख्छु, अनुकूल मौसम भयो भने प्याराग्लाइडिङ गर्छु । पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय छ, यसले मलाई साहसिक अनुभव गराउँछ,’ उनले भने, ‘यहाँको दृश्य निकै सुन्दर छ । ताल, पहाड र हिमालको संयोजनले यो अनुभवलाई झनै विशेष बनाउँछ, पोखराको मौसम खुलेको दिन उड्न मन पर्छ ।’ पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढाउने माध्यम भएको बताउँछन् । उनले भने, ‘यो केवल एउटा साहसिक गतिविधि मात्र नभएर, पोखराको प्राकृतिक सौन्दर्यलाई आकाशबाट नियाल्ने अवसर पनि हो, यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको साथै पोखराको पहिचानलाई विश्व सामु पुर्याएको छ ।’ पोखराको आकाशमा बेलाबेलामा हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले पनि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको बताए । पोखराको दिगो पर्यटन विकास र प्रबर्द्धनका लागि प्याराग्लाइडिङको निरन्तर विकास र व्यवस्थापन खाँचो रहेको उनको भनाइ छ । पोखराको मौसम प्याराग्लाइडिङका लागि सधैँ उत्कृष्ट रहँदै आएको छ । विशेषगरी अहिलेको समयमा आकाश खुला र मौसम स्थिर हुँदा उडान गर्न निकै सहज भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए । ​​​​​​​ ‘पर्यटकीय मौसम भए पनि आन्दोलन र प्रतिकूल मौसमले प्रभावित भइरहेको प्याराग्लाइडिङ तिहार, छठको लामो बिदा र पोखरामा आन्तरिक पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ,’ केसीले भने ।  प्याराग्लाइडिङ कम्पनीहरूले सुरक्षित उडानका लागि मापदण्डलाई कडाइका साथ पालना गर्दै अहिले दैनिक २५० उडान हुँदै आएको उनको भनाइ छ । त्यसो त कोभिड महामारी अगाडिको पर्यटकीय मौसममा दैनिक कम्तीमा ५०० भन्दा बढी उडान गर्न सफल यो व्यवसाय पछिल्लो समय कोभिड महामारी र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्ववत् उडान स्थल स्थानान्तरणका कारण यो व्यवसायले समस्या झेल्दै आएको थियो । अध्यक्ष केसीका अनुसार पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ४००  जना लाइसेन्स प्राप्त प्यारा पाइलट छन् । जसमध्ये २६० जना अहिले उडानमा सक्रिय छन् । ५ सय जनाले प्रत्यक्ष रोजगार र १५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । करिब ५५ करोड रुपैयाँ बढीको लगानी रहेको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै स्थानान्तरणको मारमा प्याराग्लाइडिङ व्यवसाय परेको थियो । सराङकोट र तोरी पानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रे ढुङ्गा स्थानान्तरण गरिएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिर जस्तो बन्न पुगेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा  पुरानै ठाउँमा अवतरण गर्ने निर्णयपश्चात् यस क्षेत्र अहिले विस्तारै चलायमान हुँदै गएको हो । अहिले सराङकोट र तोरी पानीको बाहाकोटबाट उडान (टेक अफ) गरेर खपौदी (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुन्छ । “यसअघि हामीलाई प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्या युक्त थियो । व्यवसाय धान्न पनि मुस्किल थियो । तोरि पानीमा सारेपछि उडान भर्नेहरू पनि विस्तारै बढ्न थालेका छन्”, नाका उपाध्यक्ष माधव तिवारीले भने ।  तिवारीका अनुसार अहिले बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुँदै आएको छ । पहिले रु १२ हजार शुल्क तोकिएकामा अहिले ८ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।       नेपालमा सन् १९९७ मा सन्राइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (आरएओसी) लिनुपर्ने प्रावधान छ । ​​​​​​​रासस

मानुङकोटमा पर्यटकको ओइरो, १२ सयमै रातको बास, खाना र बिहानको नास्ता उपलब्ध

काठमाडौं । ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,’ पोखराकी लक्ष्मी कार्कीले भने, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङखलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरे भन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उ उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर ४ जना मिलेर आएका हौँ ।’ काठमाडौंबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् ।  ‘आउन मन भए पनि पहिला विविध कारणले आउन पाएकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो,’ उनले भनिन् । दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए ।  चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेस सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति १ हजार २०० रुपैयाँमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ,’ उनले भने । आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको उनले जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् ।  दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदल मार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेद व्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको ४ हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।