एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए । दक्षिण एसियाली मुलुक ९सार्क० बाट ३९।३ प्रतिशत पर्यटक नेपाल आएका थिए । अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए । मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए ।
ज्योति विकास बैंकका ग्राहकलाई चितवनको राइनो लज एन्ड होटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहास्थित राइनो लज एन्ड होटल (Rhino Lodge and Hotel) सँग आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलमा उपलब्ध सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय आतिथ्य सेवाका कारण राइनो लोज एन्ड होटल चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । बैंक–होटलबीचको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा किफायती दरमा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नवीन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आफ्नै मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको दाबी गरेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको आधार भन्ने मान्यताका साथ बैंकले नवजात शिशुको जीवन रक्षा गर्ने उद्देश्यले ‘न्यानो नानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा हुँदै आएको बैंकको भनाइ छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच सहकार्य
इटहरी । पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारी भएको छ । होटलको उद्घाटनको पूर्वसन्ध्यामा सम्पन्न उक्त सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन तथा उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ । साझेदारी अन्तर्गत धरान गल्फ कोर्स संघका देशभरका विशिष्ट सदस्य तथा गल्फ खेलाडीहरूले रमाडा बाइ विन्डहम इटहरीका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा–सुविधा होटल सञ्चालनपूर्व नै अनुभव गर्न पाउनेछन् । यस पहलले गल्फ पर्यटनको बढ्दो संस्कृतिलाई स्तरीय आतिथ्य सेवासँग जोड्दै पूर्वी नेपाललाई उच्च मूल्यका आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखेको जनाइएको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै रमाडा बाइ विन्डहम इटहरीका महाप्रबन्धक अभिमन्यु कायस्थले धरान गल्फ कोर्स संघसँगको सहकार्य दीर्घकालीन दृष्टिकोणको हिस्सा भएको बताए। उनले यस सहकार्यमार्फत गन्तव्यको समग्र आकर्षण वृद्धि गर्दै विश्वस्तरीय आतिथ्य सेवा र स्थानीय सान्दर्भिकतालाई एकीकृत गर्ने प्रयास गरिएको उल्लेख गरे । महेन्द्र राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा अवस्थित रमाडा बाइ विन्डहम इटहरी विराटनगर विमानस्थलबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ। होटलमा ८१ आधुनिक कोठा तथा सुइट, स्वीमिङ पुल, वेलनेस सुविधा तथा ‘ग्लोबल अल डे डाइनिङ’, ‘सत्रा लाउन्ज’, ‘पूलसाइड डाइनिङ’ र छतमा अवस्थित ‘शुक्रा बार’ जस्ता विशेष भोजन तथा मनोरञ्जन स्थल रहने जनाइएको छ । विश्वकै ठूला होटल समूहहरूमध्ये एक विन्डहम होटल्स एन्ड रिसोर्ट्स अन्तर्गत सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरीले रणनीतिक साझेदारी, सेवा उत्कृष्टता र अन्तर्राष्ट्रिय मापदण्डमार्फत पूर्वी नेपालमा लक्जरी आतिथ्य र गन्तव्य–आधारित पर्यटनको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।