हानको हीरक जयन्त्रीमा नेपाली हस्पिटालिटीको विगत, वर्तमान र भविष्यको लेखाजोखा

काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् । उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ । सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो ।  त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए । शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्‍याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ ।  पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ । पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए । यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं वाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई तीन हजार र नेपालीलाई एक सय रुपैयाँका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व संकलन भएको जानकारी दिए । काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । रासस

कोशी प्रदेश र चितवनबीच पर्यटन प्रवर्धन र सहकार्यबारे छलफल

काठमाडौं । कोशी प्रदेश र चितवनबीच पर्यटन विकास, प्रवर्धन तथा सहकार्यलाई अघि बढाउने उद्देश्यले मंगलबार छलफल सम्पन्न भएको छ । चितवनको नारायणगढमा सम्पन्न उक्त छलफल कोशी प्रदेश पर्यटन वर्ष २०८२ र चितवनका पर्यटन सरोकारवाला व्यवसायी सङ्गठनहरूबीच भएको हो । छलफलमा बागमती प्रदेशको दक्षिणी क्षेत्र र कोशी प्रदेशबीच ‘डाइभर्सिटी टुरिजम’ का सम्भावनाबारे विचार–विमर्श गरिएको थियो । साथै, दुई क्षेत्रबीच पर्यटन सहकार्य र अनुभव आदानप्रदान गर्ने विषयमा अनौपचारिक सहमति समेत भएको छ । कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले दुवै क्षेत्रबीच पर्यटनका अथाह सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट दुबै पक्षले ठोस उपलब्धि हासिल गर्न सक्ने बताए । उनले भरतपुर भ्रमण वर्ष २०२४ को अनुभव कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि अनुकरणीय हुने धारणा राखे । त्यसैगरी, चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकप्रति गरिने व्यवहारले पर्यटन व्यवसायको सफलता निर्धारण गर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटनविद् डा. विश्व सुवेदीले भरतपुर भ्रमण वर्षको अनुभव प्रस्तुत गर्दै चितवन र कोशी प्रदेशबीच धार्मिक, पर्यावरणीय, पर्या–पर्यटन, हिमाली पर्यटन, पदमार्ग, जङ्गल तथा जल पर्यटनमा सहकार्य र व्यवसाय आदानप्रदानका व्यापक सम्भावना रहेको बताए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारा कार्की, सुमन घिमिरे, ओम पाण्डे, गोपाल भट्टराई, बसन्त पराजुली र ऋषिकेश अर्याललगायतले दुई पक्षबीच रहेका सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पर्यटन वर्ष समितिका सहसंयोजक भविष्यकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य राजन दङ्गालले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि औपचारिक निमन्त्रणासमेत प्रदान गरिएको थियो ।