बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा
काठमाडौं । बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा सञ्चालन हुने भएको छ । बुधबार बन्दीपुर होटल र लेमन ट्री होटल्स लिमिटेडबीच १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भयो। सम्झौतापछि बन्दीपुरस्थित होटल अब लेमन ट्री होटल्स ब्राण्डको नेटवर्कमा सामेल हुँदै अन्तर्राष्ट्रिय स्तरमा परिचालन हुनेछ। सम्झौतापत्रमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरे । यो सम्झौताले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण बढाउने र स्थानीय रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ । बन्दीपुरको होटल शीघ्र औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुसार सञ्चालनमा आउने जनाइएको छ ।
चितवन हात्ती तथा पर्यटन महोत्वस पुस ११ गतेदेखि, पर्यटक आगमन ३० प्रतिशतले वृद्धि हुने
काठमाडौं । आगामी पुस ११ गतदेखि चितवनको सौराहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन गइरहेको महोत्सव तीन दिन अर्थात १३ गतेसम्म हुने छ। आयोजकका अनुसार सहआयोजकमा महोत्सवको संरक्षकत्वमा रत्ननगर पालिका युनाइटेड हात्ती सञ्चालन सहकारी र रेष्टुरेन्ट एण्ड एशोसिएन नेपाल, संरक्षकत्वमा रत्ननगर नगरपालिका रहेको छ । दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमन वृद्धि हुने गरेकोमा यो वर्ष पनि त्यसले निरन्तरता पाउने आयोजकको भनाइ छ । आयोजकका अनुसार महोत्सवलाई सफल बनाउन बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग र समन्वय रहेको छ । महोत्सवको उद्देश्य चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनाउने रहेको क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले बताए । उनका अनुसार महोत्सवमा यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्री अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने छ । महोत्सवका आकर्षणहरू महोत्सवको अवसरमा क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहमा आवद्ध सदस्यहरूको रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुट दिने भएका छन् । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ८० वटा हात्तीहरू सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज कार्यक्रम रहेको छ । त्यस्तै, टुरिजम प्रवर्द्धनको लागि अतिथि पाहुनाहरूलाई हात्ती सफारी/जीप सफारी, हात्तीको स्वास्थ्य शिबिर, हातिको दिनचर्या बारे जानकारी, पालिका स्तरीय बुश दौड प्रतियोगिता, हात्तीमैत्री प्रतियोगिताहरु आयोजना हुनेछन् । यस्तै, चितवनमा पर्यटनको सम्भावना तथा चुनौतीसम्बन्धी बीटुबी अन्तरक्रिया कार्यक्रम आयोजना हुने छ । अन्तक्र्रिया कार्यक्रम पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरू र स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग हुने आयोजकले जनाएको छ । महोत्वसको अन्य आकर्षणहरूमा मानव वन्यजन्तु सहअस्तित्व र पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्त्व सम्बन्धमा लाइभ चित्रकला प्रतियोगीता, कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू रहेका छन् । यसबाहेक कार्यक्रममा महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, वातावरणविद् पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक श्रव्यदृष्य सामग्री निर्माण गर्ने कार्यक्रमसमेत रहेको छ । विसं. २०४५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले चितवन जिल्लाको पर्यटन विकासमा योगदान दिँदै आएको छ । महोत्सवमा हात्तीलाई पूर्ण जिम्मेवार व्यवहार गरिने स्थापित मापदण्ड अनुसरण गरी कुनै पनि क्रूर व्यवहार नहुने आयोजकले जनाएको छ । ‘हात्ती हाम्रो धर्म संस्कृति र पर्यटन सग जोडिएको छ, यसलाई हामीले आफ्नै सन्तान जस्तै गरेर पालेको हुँदा हामीलाई हात्तीको धेरै माया लाग्छ,’ महासचिव खनालले भने, ‘ आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकहरूको सहकार्यमा कडा मापदण्डहरू बनाइएका छन्, धारिलो वा हानिकारक उपकरणको प्रयोग कडाइका साथ निषेध गरिएको छ ।’
बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे सम्झौता, होटेल अन्तर्राष्ट्रिय ब्रान्डमा सञ्चालन हुने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको छ । सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित हुनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । १०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व तथा एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइलस्टोन हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।