१ अर्ब ८५ करोड लगानीमा एकै ठाउँ होटल र सपिङ स्टोर, लक्ष्मी सनराइज बैंकको सहकार्य
चितवन । चितवनमा होटल ‘लर्ड्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको छ । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल १ अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा २५ करोड लगानी रहेको बताए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिए । अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लर्ड्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताए । ‘होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन्,’ उनले भने । होटल शुभारम्भका अवसरमा सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भने, ‘रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।’ भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उनले जानकारी दिए । कम्प्लेक्सको तीनवटा तलामा सेल्सबेरीको ३८औं शाखा सञ्चालनमा आएको भन्दै उनले भने, ‘ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा रहेका छन् ।’ कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उनको भनाइ थियो । भवनको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै उनले जहाँ चारपाङ्ग्रे (कार) ८० वटा र दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) २०० वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताए । यहाँका स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यो व्यवसायमा लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरिएको छ । रासस
पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
काठमाडौं । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरद यामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका-४ मा स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिम श्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । शहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउँदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए । ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रय स्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ५ लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरूमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।
दशैं आयो, भाडा बढ्यो
काठमाडौं । दशैं नजिकिदै गर्दा हवाई भाडा उच्चदरले वृद्धि भएको छ । भाडा वृद्धि मात्र होइन, विगतका वर्षहरूमा झैं यस वर्ष पनि दशैंअघि राजधानी बाहिर जाने टिकट पाउन सहज नभएको व्यवसायीहरूले बताएका छन् । हवाई सेवा प्रदायक कम्पनीहरूले भनेका छन–दशैंअघि राजधानीबाट बाहिर जाने ७५ प्रतिशत टिकट बिक्री भईसकेका छन् र बाँकी टिकट पनि घटस्थापनाको दिनसम्ममा बिक्री भइसक्ने अनुमान छ । एयरलाइन्सका कर्मचारीहरूका अनुसार दशैंको घटस्थापनादेखि पछिका काठमाडौं बाहिर उड्ने सबै रुटको टिकटमध्ये ९० प्रतिशत बुक भइसकेको छ । खास गरी काठमाण्डौबाट विराटनगर, भद्रपुर, तुम्लिंगटार, सिमरा, भरतपुर लगायतका गन्तव्यको सिट बुक भइसकेको छ । उच्च मागको अवसरलाई मौकामा बदल्दै एयललाइन्सहरूले यात्रुहरुसँग अधिकतम भाडा असुल्न थालेका छन् । नागरिक उड्ययन प्राधिकरणले तोकेको अधिकतम भाडादर सीमा तोड्दै हवाई सेवा सञ्चालकहरूले महँगो दरमा टिकट बेचिरहेको अनलाइन विवरणहरू भेटिएका छन् । एयलाइन्सहरूले अनलाइनमा राखेको भाडादरअनुसार धनगढी जानलाई मात्रै एकजनाले १७ हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । जबकि प्राधिकरणले धनगढीको टिकट अधिकतम १४ हजार ९६७ रुपैयाँ निर्धारण गरेको छ । प्राधिकरणले विराटनगरको उडानको लागि अधिकतम भाडादर ८ हजार १३७ रुपैयाँ तोकेको छ । तर एयरलाइन्सहरूले साढे ९ हजार रुपैयाँसम्म लिन थालेका छन् । त्यस्तै, प्राधिकरणले भैरहवाको लागि अधिकतम भाडादर ९ हजार ६६७ रुपैयाँ, पोखराको लागि ५ हजार ३७७ रुपैयाँ, भद्रपुरको लागि १० हजार १७४ रुपैयाँ, जनकपुरको लागि ४ हजार ३५९ रुपैयाँ, सिमराको लागि ३ हजार ५२ रुपैयाँ, भरतपुरको लागि ३ हजार ६३३ रुपैयाँ निर्धारण गरेको छ । एयलाइन्सका कर्मचारीहरू भने प्राधिकरणले स्वीकृत गरेको भाडादर अनुसार नै एयरलाइन्सहरूले हवाई भाडाको अधिकतम सीमा र न्यूनतम सीमाअनुसार नै भाडा लिने गरेको दावी गरेका छन् । दशैं–तिहारको समयमा एयलाइन्सहरूमा एकतर्फी लोड पर्ने र आउँदा रित्तो फर्किनुपर्ने भएको हुँदा एयरलाइन्सहरूले दुवैतर्फको भाडा उठ्ने गरेर निर्धारण गरेको उनीहरुको तर्क छ । सीमामा बस्न निर्देशन नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल प्राधिकरणले तोकेको अधिकतम भाडादर भन्दा महँगोमा टिकट बेच्न नपाइने बताउँछन् । त्यस्तै, एयरलाइन्सहरूले केही टिकट अधिकतम दरमा बेच्न पाइने भएपनि सबै टिकट अधिकतम दरमा बेच्नु गलत रहेको उनी बताउँछन् । सूचना अधिकारी भुलले चाडवाडमा पैसा कमाउने उद्देश्य मात्र नराखी मानवीय पक्षको पनि ख्याल गर्न आग्रह गरे। सामान्य अवस्थामा विभिन्न हवाई रुटमा तोकिएको भाडादर भन्दा कम रकम लिएर यात्रु उडाउने एयरलाइन्सहरूले पर्वमा भने भाडादरमा कस्ने गरेका छन् । काठमाडौं-विराटनगरका लागि तोकेको प्रति यात्रु एकतर्फी भाडादर ७ हजार १ सय ४ रुपैयाँ हो । यस रुटमा एयरलाईन्सहरुले कुनै बेला ३५ सय रुपैयाँसम्ममा पनि टिकट बेच्ने गरेका छन् भने दशैंको अवधिमा भने ७ हजार १ सय ४ रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ । ठूला पर्वको बेला हवाईभाडमा एयरलाइन्सहरूले अधिकतम भाडादर तोक्दा सहज सडक यातायातको व्यवस्था नभएका क्षेत्रहरूका यात्रुले बढी दुःख पाउने गरेका छन् । त्यस्ता ठाउँका यात्रुहरूले एयरलाइन्स कम्पनीहरूले नै तोकेको भन्दा पनि बढी भाडा तिर्नुपर्ने बाध्यतासमेत छ । त्यस्ता रुटमा टिकटमा कालोबजारी हुने र दशैंका लागि घर फर्किन चाहने यात्रुहरूको बाध्यतामा खेल्दै धेरै रकम असुल्ने गरिएको छ । यात्रुहरूको चाप र बाध्यतालाई बुझेका एयरलाइन्स कम्पनीहरूले दशैंलाई कमाउने मौकाको रुपमा उपयोग गर्दै फूल भाडादरमा एकपैसा पनि नघट्ने गरी एउटै भाडादर सबैले कार्यान्वयन गराउने सहमति गरेका छन् । एयरलाइन्स एशोसिएसन अफ नेपालले तय गरेको भाडादरलाई प्राधिकरणले समेत स्वीकृत दिएको छ । उनीहरूले दशैं सुरु (घटस्थापना) को दिनदेखि पछिको काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि महंगो भाडादर कायम गरी त्यसको सूची नै सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय उडानको भाडादर भने सरकारको नियमनभित्र पर्दैन । अन्तर्राष्ट्रिय भाडादरको निर्धारण माग र आपूर्तिको आधारमा बजारले नै गर्छ । तर आन्तरिक उडानका भाडादर निर्धारणमा भने प्राधिकरण पनि संलग्न हुने गरेको छ । भाडादर : स्रोत ईसेवा