दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित
काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरेकाे छ। पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरेकाे हो। दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन् । विश्वभरी बाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै कृयाशील व्यक्तित्व लाई प्रदान गरिने सो अवार्ड पाउने अन्यव्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भुप पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन का निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन ।
मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय
दमाैली । कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे । कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भए, कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय दमौलीका होटल व्यवसाय विस्तारै तङ्ग्रिने प्रयासमा छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेका छन् । दमौलीस्थित होटल ससइनका सञ्चालक जीवन शाहीले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । “कोभिडले धरासायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा छ, एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक छ”, शाहीले भने, “दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको छ ।” श्रेष्ठको होटलमा ११ कोठा रहेकामा दैनिक २०/२५ जना पर्यटक बास बस्ने गरेका छन् । “मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिक पर्यटक ह्वात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको छ”, उनले भने । मानहुँकोट दमौलीवासीका लागि गर्व गर्ने ठाउँ रहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीले सुझाव दिए । व्यास नगरपालिका–५ चापाघाटस्थित न्यू ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । “कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले ऊर्जा भरिदिएको छ”, उनले भने, “मानहुँकोट जान आएका पर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् ।” उनका अनुसार होटलमा २० कोठा रहेकामा सबै भरिभराउ छन् । व्यास नगरपालिका–३ मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५/३० जना आन्तरिक पर्यटकले आफ्नो होटलमा रात बिताउने गरेको जानकारी दिनुभयो । “चार÷पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा छ”, उनले भने । क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएको जानकारी दिए । “मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका छन्”, उनले भने, “कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गर्दै आएका छौँ ।” सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको श्रेष्ठले जानकारी दिए । “दैनिक करिब एक हजारभन्दा बढी पर्यटक मानहुँकोट आएका छन्”, उनले भने, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।” मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ । रासस
नेपाल घुम्न आउने विदेशी पर्यटक बढ्दै, गत वर्षभन्दा भने ७० प्रतिशत कम
काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल आउन ठप्प बनेको विदेशी पर्यटक केही महिना यता भने नेपाल आउन थालेका छन् । केही महिना यता विदेशी पर्यटकहरु नेपाल आउने क्रम बढेको छ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म २ लाख १८ हजार १ सय ७३ जना विदेशी पर्यटकहरु नेपाल आएका छन् । चैतदेखि ठप्प विदेशी पर्यटकहरु नेपाल आउन ठप्प रहेको थियो । तर, केही महिना यता भने विदेशी पर्यटक नेपाल आउन थालेका छन् । जसको कारण मासिक विदेशी पर्यटक बढ्दै गएका छन् । सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायीहरु बताउँछन् । सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट नेपाल खुला भएको घोषणा गरेको हो । बोर्डका अनुसार जुलाईमा कुल १ सय ९५ जना विदेशी नेपाल आएका छन् भने अगष्ट मा विदेशीको आगमन बढेर २ सय ६८ पुगेको छ । सप्टेम्बरमा ५ सय ८२ र अक्टाेवरमा १८ सय ७४ जना विदेशी पर्यटकहरू नेपाल आएका छन् । गत वर्षको अक्टाेवर महिनामा १ लाख ३४ हजार ९६ जना पर्यटक नेपाल आएका थिए । तर, यो वर्षको अक्टाेवरसम्म १ हजार ८ सय ७४ जना मात्र नेपाल आएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत कम हो । यस्तै गत वर्ष ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका थिए भने यस वर्ष हालसम्म २ लाख १८ हजार १ सय ७३ जना विदेशी पर्यटक नेपाल आएका छन् । तथ्याकं हेर्दा मासिक नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । नाेभेम्बरमा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बताए । उनका अनुसार नेपालमा अब पर्यटकीय गतिविधि बढेकोले यो महिना झन पर्यटक बढ्न सक्नेछन् । उनले विदेशी सँसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि सरकारले र पर्यटन व्यवसायी मिलेर टुर प्याकेजको व्यवस्था पनि गरेकोले त्यसले पनि पर्यटक बढाउन सहयोग पुग्ने बताए ।