दश वर्षपछि दिपायलमा हवाइ सेवा, प्रतिव्यक्ति ३२०० भाडा
डोटी । लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो । आज पहिलो उडानमार्फत सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो । डोटीबाट निर्वाचित सङ्घीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि आज पहिलो उडान भएको हो । नेपाल सरकारको ८ करोडको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले आजबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए । समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको जनाए । तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति तीन हजार २०० भाडा निर्धारण गरिएको छ । सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए । रासस
शुरु भयो डोटीमा नियमित प्याराग्लाइडिङ
डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो । गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा शुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा असङ्ख्य पर्यटकस्थल रहेका छन्, जसको प्रचारप्रसार हुनसकेको थिएन, अहिले हामीले प्याराग्लाइडिङमार्फत ती क्षेत्रको प्रचारप्रसार गर्दैछौँ र पर्यटक पनि आउन थालेका छन् ।” रुबसकाँडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको कूल चार हजार लाग्ने आयोजकले जनाएको छ । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए । रासस
पाटाको सचिव/काेषाध्यक्षमा सुमन पाण्डे निर्वाचित
काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा.लि.का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव /कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को १२ नोभेम्बरमा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फाईज फधीलिल्लाह माथि विजय प्राप्त गरेका हुन् । त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् । वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नुहुनेछ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, सर्मिट एयर, अलफ्ट काठमाण्डौ होटल र छायाँ सेन्टरका सञ्चालक पनि हुन् । पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालको अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्य समेत भएको थिए ।